News Summary
Generated by OK AI. Editorially reviewed.- बालबालिकामा अत्यधिक स्क्रिन प्रयोगले मानसिक स्वास्थ्य, निद्राको गुणस्तर र शारीरिक गतिविधिमा गम्भीर नकारात्मक असर पारिरहेको अध्ययनले देखाएको छ।
साँझको खाना तयार छ । आमाले बच्चालाई बोलाउँछिन् । बच्चा आउँछ, बस्छ, तर आँखा मोबाइलको स्क्रिनमै अडिएको छ । एक चम्चा भात मुखमा हाल्छ, फेरि स्क्रिनमा फर्किन्छ । आमाबाबु पनि आ-आफ्नै फोनमा व्यस्त छन् । टेबलमा चार जना छन्, तर कुराकानी कमै हुन्छ । यो दृश्य आज धेरै नेपाली घरको यथार्थ बनेको छ ।
त्यसैले आजको समाजमा बाल्यकालको अनुभव पहिलेभन्दा निकै फरक भइसकेको छ । बिहान उठेदेखि राति सुत्ने बेलासम्म बालबालिकाको ध्यान स्क्रिनमै केन्द्रित देखिन्छ । मोबाइल, ट्याबलेट, टेलिभिजन र ल्यापटप उनीहरूको दैनिक जीवनको साधारण हिस्सा बनिसकेका छन् । धेरै घरमा खाना खुवाउन मोबाइल देखाउने, बच्चा रोएमा भिडियो लगाएर शान्त पार्ने गरिन्छ । किशोरकिशोरीहरू राति अबेरसम्म अनलाइन गेम र सामाजिक सञ्जालमा झुण्डिएर बस्ने प्रवृत्ति सामान्य भइसकेको छ ।
बच्चा बाहिरबाट शान्त देखिए पनि भित्रभित्रै ऊ कसैसँग भावनात्मक रूपमा जोडिएको हुँदैन, केवल डिजिटल रूपमा व्यस्त हुन्छ । यो बाहिरबाट सजिलो समाधानजस्तो देखिए पनि भित्रभित्रै बच्चाको ध्यान, भावना, सम्बन्ध र व्यवहारमा निरन्तर असर परिरहेको हुन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् कि स्क्रिन समय र बालबालिकाको मानसिक स्वास्थ्यबीचको सम्बन्ध निजकै जटिल तरिकाले जोडिएको हुन्छ ।
स्क्रिन र मानसिक स्वास्थ्यको दुष्चक्र
विभिन्न अध्ययनहरूका अनुसार बढी स्क्रिन प्रयोगले बालबालिकामा भावनात्मक समस्या बढाउन सक्छ । तर यो सम्बन्ध एकतर्फी होइन । भावनात्मक रूपमा असहज, तनावमा परेका वा एक्लो महसुस गर्ने बालबालिकाहरू पनि स्क्रिनतर्फ अझ बढी आकर्षित हुन्छन् ।
यो चक्र यसरी चल्छ– बच्चाले तनाव, डर, खालीपन वा एक्लोपन महसुस गर्छ । उसँग त्यो भावना व्यवस्थापन गर्ने सीप विकसित भएको हुँदैन । स्क्रिनले तुरुन्तै ध्यान अन्यत्र मोड्छ र असहजता केही बेरका लागि कम पार्छ । तर भित्रभित्रै मस्तिष्कको ‘रिवार्ड सिस्टम’ सक्रिय हुन्छ, तत्काल आनन्द खोज्ने बानी बस्छ, धैर्य र भावनात्मक सहनशीलता घट्दै जान्छ ।
बिस्तारै निद्रा बिग्रिन्छ, चिडचिडापन बढ्छ, साथीभाइ र परिवारबाट टाढिँदै जाने हुन्छ । अनि बच्चा फेरि स्क्रिनतर्फ नै फर्किन्छ । यसरी समाधानजस्तो देखिने व्यवहार नै समस्याको हिस्सा बन्न पुग्छ ।
अत्यधिक र असन्तुलित स्क्रिन प्रयोग गर्ने बालबालिकामा चिन्ता, डिप्रेसन, व्यवहारजन्य समस्या र ध्यान केन्द्रित गर्न नसक्ने समस्या उल्लेखनीय रूपमा बढी देखिन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन् । तर वैज्ञानिक रूपमा यो पनि बुझ्न जरुरी छ कि स्क्रिन समय मात्रैले बच्चाको मानसिक स्वास्थ्य निर्धारण गर्दैन । पारिवारिक वातावरण, निद्राको गुणस्तर, सम्बन्धको न्यानोपन र अभिभावकको उपस्थिति अझ बढी महत्त्वपूर्ण मानिन्छन् ।
स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असर
लामो समय स्क्रिन प्रयोगले बच्चाको शारीरिक सक्रियता घटाउँछ । शारीरिक निष्क्रियताले मनोदशा सन्तुलनमा राख्ने मस्तिष्क-रसायन (जस्तै, सेरोटोनिन) कम गर्छ र तनाव-हार्मोन (कोर्टिसोल) बढाउँछ, जसले बच्चाको आत्मविश्वास र भावनात्मक स्थिरतामा असर पुर्याउँछ ।
विशेषगरी राति स्क्रिन प्रयोगले सुत्ने समय ढिलो बनाउँछ, गहिरो निद्रा घटाउँछ र बिहान थकान तथा चिडचिडापन बढाउँछ । स्क्रिनबाट निस्कने नीलो प्रकाशले निद्रा ल्याउने हार्मोन मेलाटोनिनको उत्पादन घटाउँछ, जसले शरीरको प्राकृतिक निद्रा-चक्र नै बिगार्छ।
डिजिटल प्लेटफर्महरू तुरुन्तै ‘रिवार्ड’ दिने ढाँचामा बनेका हुन्छन् । यसले बच्चामा पर्खने धैर्यता, असहज अवस्थामा सहने क्षमता र सन्तुष्टिका लागि कुर्ने बानी कम गर्छ । किशोर अवस्थामा सामाजिक सञ्जालले ‘म पर्याप्त छैन’ भन्ने भावना, आफ्नो शरीरप्रति असन्तुष्टि र सामाजिक चिन्ता बढाउन सक्छ । लामो समयमा यसले डिप्रेसनको जोखिम पनि बढाउँछ।
सबै स्क्रिन खराब होइनन्, सन्तुलन नै मुख्य कुरा हो
समस्या स्क्रिन आफैँमा होइन । समस्या यसको मात्रा, समय, उद्देश्य र निर्भरतामा छ । सही ढंगले प्रयोग गर्दा स्क्रिनले सिकाइ, सिर्जनात्मकता र परिवारसँगै हेर्ने-सिक्ने गतिविधिमा सकारात्मक भूमिका खेल्छ । तर समस्या तब हुन्छ, जब स्क्रिन भावनात्मक राहतको एकमात्र उपाय बन्छ, निद्राको विकल्प बन्न पुग्छ, साथीभाइसँगको साँचो भेटघाटलाई विस्थापित गर्छ वा लतजस्तो व्यवहारमा परिणत हुन्छ ।
बच्चाको मस्तिष्क अझै विकास हुँदै गरेको हुन्छ । निर्णय र आत्म-नियन्त्रणको केन्द्र मानिने अग्रमस्तिष्क २०-२५ वर्षको उमेरसम्म पूर्णविकसित हुँदैन । यसैले उनीहरूको आवेग नियन्त्रण कमजोर हुन्छ, निर्णय क्षमता अपरिपक्व हुन्छ र भावना सम्हाल्न उनीहरूलाई बाहिरी सहयोग चाहिन्छ ।
त्यसैले बच्चालाई केवल नियम र नियन्त्रण होइन, भरोसा गर्न सकिने वयस्कको साथ चाहिन्छ, जसको सान्निध्यमा रहेर उनीहरूले भावना व्यवस्थापन गर्न सिकुन् ।
उमेरअनुसार अभिभावकका लागि सुझाव
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ, २०१९) र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी, २०१६) का मार्गदर्शनहरूका आधारमा बालबालिकाको स्क्रिन प्रयोगलाई उमेरअनुसार सीमित गर्नुपर्छ । दुई वर्षभन्दा साना बालबालिकालाई स्क्रिन प्रयोग गराउनु हुँदैन । टाढाका आफन्तसँग भिडियो कल गर्ने अवस्थाबाहेक अन्य स्क्रिन प्रयोग सामान्यतया सिफारिस गरिँदैन ।
दुईदेखि चार वर्षका बालबालिकाका लागि दैनिक एक घण्टाभन्दा कम, त्यो पनि अभिभावकको साथमा गुणस्तरीय सामग्री हेर्ने व्यवस्था राख्नुपर्छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि स्पष्ट समय-सीमा तोक्नुपर्छ । खाना खाने र सुत्ने बेलामा स्क्रिन-मुक्त नियम कडाइका साथ लागू गर्नुपर्छ । किशोर अवस्थामा आत्म-नियन्त्रण सिकाउने, सामाजिक सञ्जालको मनोवैज्ञानिक असरबारे खुला कुराकानी गर्ने र राति सुत्ने बेलामा डिभाइस कोठाबाहिर राख्ने अभ्यास बसाल्नुपर्छ ।
ध्यान दिनुपर्ने संकेतहरू
स्क्रिन बन्द गर्दा बच्चाले अत्यधिक रिस वा रुवाइ देखाउनु, निद्राको तालिका बिग्रिनु, पढाइमा ध्यान घट्नु, साथीभाइ र परिवारबाट टाढिनु, मूडमा अस्थिरता र चिडचिडापन बढ्नु, अनि निरन्तर डिजिटल लालसा देखिनु– यी केवल बानीका कुरा होइनन् । यी गहिरो भावनात्मक र व्यवहारजन्य असन्तुलनका संकेत हुन सक्छन् ।
यदि यी लक्षणहरू लामो समय रहिरहेमा विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ । समयमै सहयोग खोज्नु कमजोरी होइन– यो जिम्मेवार अभिभावकत्वको पहिचान हो ।
नियन्त्रण होइन, सन्तुलित वातावरण
असली समाधान भनेको स्क्रिन पूरै हटाउनु होइन । बरु बच्चाका लागि सन्तुलित विकासात्मक वातावरण बनाउनु हो । खाना खाने बेलामा डिभाइस-मुक्त नियम, सुत्नुअघिको स्क्रिन-मुक्त दिनचर्या र दिनभरिको स्पष्ट समय-सीमा बच्चाको विकासका लागि महत्त्वपूर्ण हुन्छन् । खेलकुद, बाहिरी खेल र परिवारसँग बिताइने सक्रिय समयले बच्चाको शरीर र मन दुवै स्वस्थ राख्छ ।
भावनात्मक समर्थन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । बच्चाको भावनालाई स्वीकार गर्ने सरल कुराकानी आवश्यक छ । ‘तिमीलाई गाह्रो भइरहेको छ भन्ने मलाई थाहा छ’ भन्ने सरल वाक्यले पनि ठूलो असर पार्छ । सजायभन्दा समझदारीले स्थायी परिवर्तन ल्याउँछ ।
बच्चाहरूले उपदेश होइन, व्यवहार सिक्छन् । अभिभावक आफैँ फोनमा व्यस्त रहँदा बच्चालाई ‘स्क्रिन नचलाऊ’ भनेर सिकाउन सम्भव हुँदैन । त्यसैले परिवर्तन घरबाटै, ठूलाहरूबाटै सुरु हुनुपर्छ ।
डिजिटल युगमा स्क्रिन जीवनको अनिवार्य हिस्सा बनिसकेको छ । तर बच्चाको विकसित हुँदै गरेको मस्तिष्कको सन्दर्भमा यसको असन्तुलित प्रयोगले गहिरो मनोवैज्ञानिक असर पार्न सक्छ ।
वैज्ञानिक प्रमाणहरूले देखाउँछन् कि स्क्रिन समय, निद्रा, शारीरिक गतिविधि र मानसिक स्वास्थ्यबीच जटिल सम्बन्ध छ।
प्रतिक्रिया 4