News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ ।
- संघका अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका थिए ।
- सल्लाहकारहरूको नेतृत्वमा गठित प्रबन्ध समितिले आगामी २४ जेठमा संघको विशेष साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गर्ने भएको छ ।
२० जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ ।
संघको नेतृत्व हस्तान्तरण र नयाँ कार्यसमिति चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष भुवनसिंह गुरूङ नेतृत्वको कार्यसमिति विघटन निर्देशन गरेसँगै नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया अघि बढेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध समितिले निर्वाचन प्रक्रिया अघि बढेको जनाएको हो । विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको नेतृत्वमा प्रबन्ध समिति गठन गरिएको थियो । उक्त प्रबन्ध समितिले जेठ २४ गते संघको विशेष साधारणसभासहित निर्वाचन प्रक्रिया अघि बढेको जनाएको हो ।
संघका निवर्तमान अध्यक्ष तथा प्रबन्ध समिति सदस्य राजेन्द्र भण्डारीले संघका दुई तिहाइ पदाधिकारीको सामूहिक राजीनापछि विधान बमोजिम प्रबन्ध समिति गठन भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि विशेष साधारणसभा तथा निर्वाचन प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।
हाल निर्वाचनका लागि प्रतिनिधि संकलन कार्य जारी रहेको र विशेष परिस्थितिमा हुन लागेको निर्वाचनमा सहभागी भएर नयाँ नेतृत्व चयन गर्न व्यवसायीहरूलाई भण्डारीले अनुरोध गरे । प्रबन्ध समितिले वर्तमान परिस्थितिमा सम्पूर्ण व्यवसायीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गर्दै संघको स्थायित्व, संस्थागत विकास र सक्षम नेतृत्व निर्माणमा योगदान दिन आह्वान गरेको हो ।
संघका अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ पदाधिकारीसहित कार्यसमितिका सदस्यहरूले वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए ।
अध्यक्षको कार्यशैली संस्थागत भन्दा व्यक्तिगत हावी भई निजी कम्पनीको शैली झल्किएको, निर्णय प्रक्रिया निष्पक्ष, पारदर्शी र सामूहिक नभएको, सरकारी निकाय, व्यवसायी, कार्यसमिति तथा सरोकारवालासँग समन्वयकारी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको, वैदेशिक रोजगार व्यवसाय तथा वैदेशिक रोजगारीमा जाने श्रमिकरुको हकहित र संरक्षणलाई पर्याप्त प्राथमिकता नदिएकोजस्ता आरोप लगाउँदै महासचिव महेश बस्नेतसहितका ११ जनाले राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामापछि संघको वर्तमान कार्यसमिति विघटन गर्दै पूर्व अध्यक्षहरू तथा सल्लाहकारसहितको प्रबन्ध समिति बनेको थियो । तर, अध्यक्ष गुरूङले प्रबन्ध समितिको निर्णय नमान्ने, आफू नै निर्वाचित अध्यक्ष भएको दाबी गर्दै आएपछि जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्दै कार्यसमिति विघटन गरेको थियो ।
प्रतिक्रिया 4