+
+
Shares

उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु र बियर

एक महिनादेखि घटना गुपचुप

२० दिनअघि १ जेठमा मात्रै यही कारागारबाट अपहरण तथा व्यक्ति हत्या मुद्दामा जन्मकैदको सजाय सुनाएकी कैदी सपना तामाङ फरार भएकी थिइन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ २१ गते १६:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैदी अनुप भण्डारीलाई उपचारका बहानामा होटल लगी मदिरा खुवाउने र युवतीसँग समय बिताउन दिने दुई प्रहरीलाई बर्खास्त गर्न सिफारिश गरिएको छ ।
  • प्रहरीको आन्तरिक छानबिन प्रतिवेदनले सहायक हवल्दार होमबहादुर कुँवर र जवान टेकबहादुर विकले ड्युटीमा गम्भीर लापरबाही गरेको पुष्टि गरेको छ ।
  • सुन्धारा कारागारमा एक महिनाभित्र कैदी फरार, बन्दीगृहमा झडप र सुरक्षा लापरबाही जस्ता तीन ठूला घटना भएपछि सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ ।

२१ जेठ, काठमाडौं । उपचार गर्ने भन्दै कैदीबन्दीलाई कारागारबाट निकालेर होटल लगी प्रहरीले मासु, बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको खुलेको छ ।

चौबीसै घण्टा प्रहरीको सुरक्षामा हुने कारागारमा प्रहरीकै योजना र संरक्षणमा कैदीबन्दीलाई मासु र बियर ख्वाउनुका साथै होटल बुक गरेर युवतीसँग समय बिताउन दिएको खुलेको हो ।

घटना १ जेठको हो । केन्द्रीय कारागार सुन्धारा तथा जग्गनाथदेवमा अनुप भण्डारी नाम गरेका कैदी छन् । उनी ठगी कसुरमा कारागार चलान भएका हुन् । उनै कैदी भण्डारीलाई उपचार गर्न बिनायक अस्पताल तथा प्रसूति गृह प्रालि सामाखुसी लाने भन्दै होटलमा लगेर प्रहरीले मस्ती गराएको हो ।

कैदी भण्डारीको ढाडको उपचारका लागि भन्दै कारागारको सुरक्षामा रहेको नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नादेवलले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई पत्रसाथ पठाएको थियो । कारागार प्रशासनको पत्रपछि उनीहरूलाई भण्डारीको जिम्मा लगाएर उपचारका लागि पठाइएको थियो ।

तर, सहायक हवल्दार कुँवर र जवान विकले कैदी भण्डारीलाई सामाखुसीको दीप सागर गेस्ट हाउसमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग ३ घण्टा बिताउन दिएको प्रहरी स्रोतले बतायो ।

कैदी भण्डारीले गेस्ट हाउसमा मासु र बियर खानुका साथै युवतीसँग पनि समय बिताएको सूचना चुहिएपछि आन्तरिक छानबिन गरिएको थियो । एसपी नरहरि रेग्मीसहितको टोलीले छानबिन सकेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।

सुरुमा अस्पताल लगेको तर डाक्टर आउन समय लाग्ने बताएकाले त्यहाँबाट गेस्ट हाउस पुर्‍याइएको भण्डारीले बताएका छन् ।

स्रोतका अनुसार दिउँसो १:४५ बजेबाट दीप सागर गेस्ट हाउसको पहिलो तलाको कोठा नम्बर ५०२ मा बसेर कैदी भण्डारीले मासु, बियर खानुका साथै ३२ वर्षीया एक युवतीसँग ३ घण्टा समय बिताएका हुन् । उक्त कुरा गेस्ट हाउसका मेनेजर किसान गुरुङले पनि बताएका छन् ।

त्यतिबेला कैदी भण्डारीसँगै प्रहरी सहायक हवल्दार कुँवर र जवान विक बर्दीमै हतियारसहित रहेको बताइएको छ । तर उनीहरूले कैदी भण्डारीको हतकडी खोलेर गेस्ट हाउस लगेको अनुसन्धानमा देखिएको छ ।

यो कुरा कैदी भण्डारीले समेत स्वीकारेका छन् । सुरुमा अस्पताल लगेको तर डाक्टर आउन समय लाग्ने बताएकाले त्यहाँबाट गेस्ट हाउस पुर्‍याइएको भण्डारीले बताएका छन् । ‘डाक्टर आउन समय लाग्ने भएपछि होटल लगेर हतकडी फुकाली मादक पदार्थ सेवन गर्न दिनुका साथै महिलासँग बस्न दिएको ठिक साँचो हो,’ कैदी भण्डारीले भनेको कुरा छानबिन प्रतिवेदनमा उल्लेख छ ।

छानबिन सकिँदा पनि घटना गुपचुप

यो घटनाको आन्तरिक छानबिन सकेर प्रतिवेदन बुझाउँदा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटना गुपचुप राखेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीले भने आफूलाई केही थाहै नभएको भन्दै अनविज्ञता प्रकट गरे ।

‘घटना के कसो हो, मलाई जानकारी भएन । थाहा नभएको विषयमा बोल्ने कुरा पनि भएन,’ एआईजी कार्कीले भने ।

जबकि, छानबिन समितिले सुरक्षामा गम्भीर लापरबाही गरी कैदीबन्दीलाई महिलासँग समय बिताउन दिएको र होटलमा मासु-बियर खुवाएको भन्दै बर्खास्त गर्नुपर्ने औंल्याएको छ ।

‘कैदीबन्दीको सुरक्षा जस्तो अति संवेदनशील ड्युटीमा समेत सचेत नभई प्रहरी आचरणविपरीत गैरजिम्मेवार, लापरबाहीपूर्ण एवं अनुशासनहीन कार्य गरेको पाइएको हुँदा यस्ता कर्मचारीलाई संगठनमा राख्दा संगठनको उद्देश्य प्राप्तिमा समेत आँच आउने हुँदा बर्खास्त गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यता, बर्खास्त सिफारिस भएका प्रहरी कर्मचारीले पनि कैदीलाई होटल लगेर मासु, बियर खुवाएको र युवतीसँग समय बिताउन दिएको स्वीकार गरेका छन् ।

सुन्धारा कारागारको सुरक्षा कमान्ड डीएसपी शैलेश न्यौपानेले गरेका छन् । २० दिनअघि १ जेठमा मात्रै यही कारागारबाट अपहरण तथा व्यक्ति हत्या मुद्दामा जन्मकैदको सजाय सुनाएकी कैदी सपना तामाङ फरार भएकी थिइन् ।

यसको करिब १५ दिन जतिअघि मात्रै कारागारको महिला बन्दीगृहमा झडप भएको थियो । कारागारको सुरक्षा कमान्ड उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत पर्छ । एक महिनाको अवधिमा भएका यी तीन ठूला घटनाले कारागारको सुरक्षामा प्रश्न उब्जाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?