+
+
Shares

खिम्ती जलविद्युत्‌काे सेयर स्वामित्व हस्तान्तरण विषयमा अध्ययन गर्न वार्ता समिति पुनर्गठन 

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरण र सञ्चालनबारे छलफल गर्न अंशुकिरण शाहीको संयोजकत्वमा वार्ता समिति पुनर्गठन गरेको छ ।
  • सम्झौता अनुसार व्यावसायिक उत्पादन शुरू भएको २० वर्षपछि खिम्ती आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ ।
  • प्राधिकरणले महसुल र जरिबानासम्बन्धी विवाद समाधानका लागि कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति समेत गठन गरेको छ ।

२१ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुनर्गठन गरेको छ ।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो ।

समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानी लगायत विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने छ ।

खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडेल अन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो । आयोजनाले २७ असार २०५७ देखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो ।

विद्यमान् सम्झौता अनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ । तर, विविध कारण हुन सकेको छैन ।

योसँगै आयोजनाबाट उत्पादित विद्युत्को नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा करसम्बन्धी व्यवस्था पनि टुंगो लगाउनुपर्ने छ ।

त्यस्तै प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ । उक्त समितिले विद्युत् महसुल, जरिबाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवाद पुनरावलोकन र समाधानका लागि काम गर्ने छ ।

सञ्चालक समिति बैठकले प्राधिकरणमा रिक्त विभिन्न पदमा पदपूर्ति प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?