News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्त्वपूर्ण हुने बताएका छन् ।
- उनले लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोकाहरू खोलेको भन्दै बिनाआधार कसैको मानमर्दन गर्न नहुने उल्लेख गरे ।
- कुनै पनि गल्ती वा कमजोरीमा प्रमाणका आधारमा मात्र कारबाही गरिनुपर्ने उनको भनाइ छ ।
२२ जेठ, काठमाडौं । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्त्वपूर्ण हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोकाहरू खोलेको बताए ।
उनले केही समय अघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको उदाहरण दिँदै यो व्यवस्थामा सबैलाई समान अवसर रहेको स्पष्ट पारे ।
उनले कसैलाई पनि बिनाआधार मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ (सन्देहको लाभ) दिनुपर्ने धारणा राखे ।
गृह प्रशासनको कार्यशैलीका विषयमा चर्चा गर्दै उनले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना गर्ने वा कारबाही अगाडि बढाउने गरेको दाबी गरे ।
उनले भने, ‘गणतन्त्र र लोकतन्त्रमा सबैका लागि सम्भावनाका ढोका खुलेका छन् । कसैले कसैको मानमर्दन गर्नु हुँदैन । सबैलाई ‘बेनिफिट अफ डाउट’ दिनुपर्छ । कहीँ गल्ती, कमी–कमजोरी गरेको छ भने प्रमाणका आधारमा कारबाही हुनुपर्यो । तर यत्तिकै दोषारोपण गरेर, अरूको मानमर्दन गर्दै अगाडि बढ्दा मुलुक बन्दैन । गृह प्रशासनले पनि त्यस्तो गरेन ।’
उनले अगाडि भने, ‘मानमर्दन गर्ने र दोषारोपण गर्ने क्रम अझै पनि जारी छ। यी कुराहरू रोकिनुपर्छ। हाम्रो लोकतन्त्र सुदृढ हुँदै जाँदा यी कुरा पनि रोकिनेछन् । अहिलेको सरकारले पनि यस विषयमा विशेष रूपमा ध्यान दिनेछ भन्ने मलाई लाग्छ ।’
समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने क्रम जारी रहेकोमा चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता प्रवृत्तिहरू स्वतः रोकिने विश्वास व्यक्त गरे ।
उनले वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4