News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशला गुरुङ र राएबाको सहकार्यमा नयाँ दोहोरी शैलीको गीत 'ए कान्छी' सार्वजनिक भएको छ ।
- र्यापर डोङले वाइल्ड मार्टिन र बुल पीसँगको सहकार्यमा नयाँ गीत 'रियागम्यान' सार्वजनिक गरेका छन् ।
- गायक गौरव कार्कीको 'जुनकिरी' एल्बमको दोस्रो गीत 'तिमी' सार्वजनिक भएको छ ।
गीतहरू पनि मान्छेजस्तै हुने रहेछन् । जन्मिन्छन् । हुर्किन्छन् । तीनको आफ्नै यात्रा हुन्छ । आफ्नै उद्देश्य हुने रहेछ । अहिले हरेक हप्ता कति धेरै नयाँ गीतहरू निस्किन्छन् । फिल्मको, ब्यान्डको, इन्डी आर्टिस्टको आदि । ती सबै गीतहरू प्रचार गरिँदैनन् । त्यस्तै प्रचार नगरिएका र मुख्यत: आफ्नै यात्रामा हिँडिरहेका यस हप्ता आएका नयाँ गीतहरू :
साहारा : श्रावण के श्रेष्ठ
उनी नेपाली संगीत क्षेत्रमा नयाँ छन् । साहारा, उनको शब्द, संगीत रहेको यो गीत हो । नाम जस्तै यो गीतमा आफ्नो प्रेमको साहारा गाइएको छ । एउटा प्रेमीको अपेक्षा, उनको प्रतिज्ञा र समग्रमा एउटा प्रेमको मूर्ततका कुराहरू यो गीतमा छ । यो गीतको म्युजिक भिडियो पनि उस्तै उत्कृष्ट रहेको छ ।
सहारा बनिदेऊ
बस मुटुमै
एक मुठी सास बनी
अँगालो भरिदेऊ तिम्रै मायाले
हरेक सासको सरगम बनी
जीन्दगीको यो बाटोमा
थमाउँला तिम्रो हातमा
पलहल तिमीसँगै
तिम्रो साथमा
चाहना : विपुल महत
यो गीत निकै रमाइलो सुनिन्छ । फोक, फन्क, कन्ट्रीजस्ता विधाको भाइब्स रहेको यो गीत अपेक्षा माथि बनाइएको सुन्दर रचना हो । यसमा आफ्नो प्रेमलाई लिएर राखिएका अपेक्षाका आयामहरू गाइएको छ । जस्तो, प्रेमीलाई प्रेमिकाको याद बनेर बस्न मन लाग्छ । छायाँ बनेर उसलाई सधैंभरी माया गरेर बस्न मन लाग्छ । यो गीतमा शब्द, संगीत विपुलकै रहेको छ ।
कहीँ कतै उसलाई म फेरि याद बनेर
उसकै छेउ रहन पाउँ छायाँ बनेर
सधैंभरी उसलाई नै म माया गरेर
ए कान्छी : राएबा र त्रिशला गुरुङ
यो एउटा रमाइलो गीत हो । दोहोरी शैलीमा गाइएको यो गीतमा प्रेमका लागि केटा र केटीका तर्फबाट आ-आफ्नो तर्कवितर्क गरिएको छ । जुन सुन्न निकै रमाइलो हुन्छ । दुवैले एकअर्कालाई प्रेम गर्छन् । त्यहाँ केही समस्या छ । अनि त्यही सेरोफेरोमा गीत अघि बढेको छ ।
ए कान्छी दिएँ तिमीलाई मेरो मन
ए कान्छी अरू मेरो को नै छ र
ए कान्छी किन जान्छौं तिमी पर आउन
धेरै नसताऊ गाँसिदेऊ मन यो मनसँग
ज्योतिषीलाई देखाउँला माया गर्नु अघि
घरमा आमाबुबा छन् हो निस्किहाल तिमी
भेट्न आउँछु साँझ म तिमीलाई क्षितिज पारी
आँखा रसाइराछन् मेरो तिम्लाई भेट्न भनी
सम्हाल्दै छु : जून
विशुद्ध रक भाइब्स दिने यो गीतमा केही ठाउँ बहुतै सुन्दर तरिकाले अडियोमा खेलिएको छ । त्यसले एक प्रकारको छुट्टै अनुभव दिन्छ । गीत भनेको विछोड पछिको समयको हो । आफ्नो प्रेम छुटेपछि एउटा व्यक्तिमा के हुन्छ ? उसले के सोच्छ ? उसलाई कस्तो हुन्छ ? उसले के गर्छ ? यही कुरा नै गीतको मुख्यविषयवस्तु हो ।
सम्झिँदै अझै तिम्रो मुस्कान र मायालाई
सक्दिनँ होला भुलाउन
माया तिम्रै साँचिराख्छु होला अन्तिम साससम्म
बिर्सिदेऊ भन्छु तर सक्दिनँ
सम्हाल्दै छु आज एक्लो मनलाई
सम्झाउँदै छु टुक्रिएको मेरो मनलाई
रियागम्यान : डोङ
नेपाली र्याप सिनमा चलेका र्यापर हुन्, डोङ । सक्दिनँ, अङ्गाल्ने छु, रावणजस्ता उनका चर्चित गीत छन् । यस पटक उनी उस्तै दमदार र्यापसहित आएका छन् । यो र्यापमा उनले वाइल्ड मार्टिन र बुल पीसँग सहकार्य गरेका छन् । सामाजिक सञ्जालको कुरीति, व्यक्तिगत जीवनको संघर्ष, मित्रता, व्यक्तित्व जस्ता विषयवस्तुमाथि र्याप गाइएको छ । र्याप त्यति अश्लील छैन । र्यापमा फरक-फरक टेम्पोमा गाइएको छ । जसले गर्दा सुन्न फरक अनुभव दिन्छ । यो गीत प्रतिबिम्ब भोल्युम २ मा समावेश छ ।
खेलमा आगमन गरे
यस्तो सीमामा म चैं पागलपन…
हात्ती, घोडा साथमा ऊँट केही ख्याँस्दैन प्युँसोले…
नसिका मलाई फेम
हात्ती, घोडा साथमा ऊँट केही ख्याँस्दैन प्युँसोले…
चिसो हावाले : सुभान
सुभान नेपाली संगीतका लागि नयाँ हुन् । उनले केही गीत निकालेका छन् । यो उनको लामो समयको अन्तरालपछि आएको गीत हो । यो गीत प्रेमिल सुनिएको छ । आफ्नो प्रेमिसँगको रोमान्टिक कुरा गीतमा गाइएको छ । रोमान्टिक भाइब्स दिने यो गीत यात्रा गर्दा प्ले लिस्टमा थप्न सकिन्छ ।
भन तिमीलाई मसँग रम्न मन छ कि छैन ?
मेरो मनको चाह तिमीलाई
याद छ कि थाहा छैन
सुन
म भन्छु तिमीलई आज
बुझन मेरा सारा मनका चाह
तिमीसँगै हुने
जिन्दगी कटाउने…
तिमी : गौरव
यदि तपाईंलाई इन्डी शैलीको, इन्स्ट्रुमेन्ट धेरै भएको गीतहरू मन पर्छ भने यो तपाईंको नयाँ प्लेलिस्ट हुन सक्छ । यो गीतका शब्दहरू पनि प्रेरणादायी छन् । तपाईं एक्लो भएको बखत अथवा तपाईं ‘लो’ महसूस गरिरहनु भएको बेला सान्तवना दिने, हौसला दिने माध्यम बन्न सक्छ यो गीत । यो गौरव कार्कीको जुनकिरी एल्बमको दोस्रो गीत हो ।
तिमीले देखेको यो सपनाहरू
पुरा हुन्छ
तिमीले चाहे जति माया सबै
पाउने छौ
अब तिमी कसैको आशामा नबस्नू
कहिले पनि
यस्तै हुन्छ जीवन हाम्रो
कहिले घाम कहिले छायाँ
यी बाहेक मनिष अधिकारीको एउटा शब्द, कमल प्रसाईंको निम्तो, एड्रिन प्रधानको मे सायर हुँ, मेलिना राईको टुक्राएर मेरो माया, कुरो बुझेसी, एलिना चौहानको दोषी होइन दोषी देखाइस्, वाङको सकिनँ लगायतका गीतहरू पनि सुन्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4