News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीको राजीव गान्धी अस्पतालमा उनको सफल शल्यक्रिया भएको छ, जहाँ कुरुवा बसेका श्रीमान्ले जटिल मेडिकल रिपोर्ट बुझ्न एआई प्रविधिको प्रयोग गरे।
भनिन्छ, आँधी आउनुपूर्वको मौसम निकै शान्त हुन्छ । म पेसाले फोटोग्राफर । जीवन आफ्नै गतिमा अघि बढिरहेको थियो ।
क्यामराको लेन्सबाट संसारका सुन्दर र उज्याला रङहरू कैद गर्नु, रातभर कम्प्युटरको स्क्रिन अगाडि बसेर फोटो र भिडियो सम्पादन गर्नु अनि डिजिटल बजारको भूलभुलैयामा हराउनु मेरो दैनिकी थियो ।
एउटा ३१ वर्ष पुरानो स्थापित फोटो स्टुडियोको जिम्मेवारी र हाँसोखुसीले भरिएको मेरो सानो संसारमा अचानक एउटा यस्तो आँधी आयो, जसले हाम्रो जीवनको जग नै हल्लाइदियो।
त्यो २०८२ कात्तिक महिनाको कुरा थियो । श्रीमतीलाई केही समयदेखि पेटको समस्या भइरहेको थियो । सुरुमा हामीले यसलाई सामान्य ग्यास्ट्रिक मान्यौँ । नेपालीको बानी– पेट दुख्नेबित्तिकै ‘ग्यास्ट्रिक होला’ भनेर टार्ने वा एकाध चक्की औषधि खाएर चित्त बुझाउने । तर, यसपटक समस्या त्यतिमा मात्र सीमित रहेन। बिस्तारै वाकवाकी लाग्ने र दिसामा कालो रगत देखिने जस्ता गम्भीर लक्षणहरू देखिन थाले ।
दुखाइ र असहजता बढ्दै गएपछि हामीलाई लाग्यो– अब ढिला गर्नु हुन्न । हतार-हतार टोखामा रहेको ग्रान्डी अस्पताल पुग्यौँ । अस्पतालको त्यो सेतो भित्ता, औषधिको गन्ध र बिरामीहरूको भीडबीच मेरो मनमा एउटा अज्ञात डरले डेरा जमाउन थालिसकेको थियो।
डा. कस्यपले बिरामीको अवस्था निकै गम्भीरताका साथ हेर्नुभयो। लक्षणहरू सुन्नेबित्तिकै उहाँको अनुहारमा एउटा गम्भीरता छायो, जसले मलाई भित्रभित्रै त्रसित बनाइरहेको थियो ।
‘केही विशेष परीक्षणहरू तुरुन्तै गराउनुपर्छ’ डाक्टरको यो वाक्यले मलाई सचेत बनायो । हामी त सामान्य ग्यास्ट्रिकको अनुमानमा अस्पताल पुगेका थियौं । तर, हाम्रो उपचारको दिशा नै बदलियो । एन्डोस्कोपी, कोलोनोस्कोपी र अन्य भिडियो एक्सरेहरू गरिए । रिपोर्टहरू आउने क्रम सुरु भयो।
त्यही बीचमा डा. देविश प्याकुरेल र आदरणीय दाजु रबीश शर्माबाट प्राप्त सहयोगले सही निदान र सही रिपोर्ट छिटो निकाल्न ठूलो मद्दत पुर्यायो। रिपोर्टहरू टेबलमा आउँदा डाक्टरको शंका सत्य साबित भइसकेको थियो ।
डा. कस्यपले रिपोर्ट मतिर सार्दै गम्भीर आवाजमा भन्नुभयो, ‘यो सामान्य ग्यास्ट्रिक वा पेटको इन्फेक्सन होइन । ठूलो आन्द्राको बायाँ भागमा मासु पलाएर बनेको क्यान्सर हो । ‘क्यान्सर’ ! यो एउटा यस्तो शब्द हो, जुन सुन्नेबित्तिकै मान्छेको सातो जान्छ । क्षणभरका लागि वरिपरिको संसार ठप्प भयो । आँखाअगाडि अन्धकार छायो ।
३७ वर्षकी उनी, जसको काँधमा दुई साना छोरीहरूको भविष्य र मेरो पूरा संसार अडिएको थियो । डा. कस्यपले हामीलाई सम्हालिन समय दिनुभएन उहाँले भन्नुभयो, ‘डराउने समय छैन । यो सुरुआती चरणको क्यान्सर जस्तो देखिन्छ । हामीले छिटोभन्दा छिटो उपचारको तयारी गर्नुपर्छ ।’
उहाँले दिएको छिटो निर्णय गर्ने हौसलाप्रति म आभार प्रकट गर्छु । नेपालमै उपचारको सुरुवात भयो । आन्द्रामा भएको त्यो ट्युमरको कारण भित्र पिप जमेर ठूलो फोको बनिसकेको थियो ।
डाक्टरहरूले पहिलो चरणमा त्यो पिप निकालेर संक्रमण कम गर्ने औषधि र उपचार सुरु गरे । यस कठिन यात्राको पहिलो पाइलामै धापासी निवासी मेरा प्रिय साथी डा. बिबुश शर्माले आफ्नो व्यस्त समयका बाबजुद पनि उपचारको हरेक चरणमा सघाउँदै निरन्तर साथ दिनुभयो।
डाक्टर साथीहरूको यो साथ मेरा लागि अस्पतालको त्यो निरस वातावरणमा एउटा ठूलो मानसिक ओत थियो । अस्पतालको शैयामा सुतिरहेकी श्रीमतीको अनुहार हेर्दै मैले मनमनै एउटा संकल्प गरेँ, “रोग जतिसुकै ठूलो होस्, म हार्ने छैन । म लड्ने छु ।’
एउटा श्रीमान् मात्र भएर होइन, एउटा बलियो सिपाही र केयरगिभर बनेर साथ दिने अठोट लिएँ ।
नेपालको यो बिसौनीले हामीलाई रोगको पहिचान त दियो, तर मुख्य युद्ध अझै बाँकी थियो । डाक्टरहरूको सल्लाह र हाम्रो आफ्नै अनुसन्धानले अबको गन्तव्य तय गर्यो– भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट । नयाँ देश, नयाँ अस्पताल र क्यान्सरविरुद्धको एउटा महायुद्ध सुरु भयो।
दिल्लीको यात्रा
एउटा अनिश्चित भविष्यतर्फ चालिएको पाइला थियो त्यो यात्रा । मनमा अनेकौँ कुरा खेलिरहेका थिए– छोरीहरूको याद, व्यवसायको चिन्ता, र सबैभन्दा ठूलो कुरा, श्रीमतीको स्वास्थ्य । आँखामा आँसु लिएर युद्ध जित्न सकिँदैन भन्ने राम्ररी थाहा थियो । मैले आफ्नो डरलाई टोखा र गोदावरीकै माटोमा लुकाएँ । एउटा अदम्य साहस बोकेर दिल्ली पुग्यौँ ।
राजीव गान्धी अस्पतालको गेटभित्र छिर्दा त्यहाँको विशालता र बिरामीहरूको भीड देख्दा जोकोहीको पनि मुटु काँप्थ्यो । त्यहाँ संसारभरिबाट आएका हजारौँ क्यान्सर पीडित र तिनका कुरुवाहरू आँखामा आशा र निराशाको एउटा अनौठो मिश्रण बोकेर दौडिरहेका देखिन्थे ।
अस्पतालमा सुरु भयो रिपोर्ट, परीक्षण र डाक्टरका नोटहरूको एउटा नयाँ श्रृखला । हामीजस्ता सामान्य मानिसका लागि मेडिकल भाषा एउटा अभेद्य किल्लाजस्तै हुन्छ । डाक्टरहरूले लेख्ने ‘कोलोन कार्सिनोमा’, ‘म्युसिनस एडेनोकार्सिनोमा’, ‘ड्रेनेज’, वा ‘बायोप्सी’ जस्ता प्राविधिक शब्दहरू सुन्दा सुरु-सुरुमा म अलमल्ल पर्थेँ । डाक्टरहरू निकै व्यस्त हुन्थे । हामीसँग संक्षिप्तमा कुरा गर्थे र अर्को बिरामीतिर लाग्थे।
मनमा उब्जिएका सयौँ प्रश्नहरूको जवाफ कसले दिने? रोगको वास्तविक अवस्था के हो ? अब कुन परीक्षण किन गरिँदै छ ? अगाडिको बाटो कस्तो होला ? यी प्रश्नहरूले भित्रभित्रै पिरोल्न थाल्यो । म केवल ‘हेरेर बस्ने’ कुरुवा मात्र हुन चाहन्नथेँ ।
पेसाले फोटोग्राफर र डिजिटल क्षेत्रमा काम गर्ने भएकाले प्रविधिको शक्तिलाई बुझेको थिएँ । मैले यसअघि छोरीको शिक्षा र मेरो फोटोग्राफी अनुसन्धानका लागि ‘परप्लेक्सिटी एआई’ प्रविधिको ‘पेड भर्सन’ खरिद गरेर प्रयोग गर्ने गरेको थिएँ । मैले सोचें– यस प्रविधिलाई जीवनको यो सबैभन्दा ठूलो संकटमा किन प्रयोग नगर्ने ?’
त्यसपछि मेरो एउटा नयाँ दैनिकी सुरु भयो । अस्पतालले दिने प्रत्येक मेडिकल रिपोर्ट, सिटी स्क्यानको विवरण, र डाक्टरको हातले लेखेका नोटहरू म मोबाइलबाट स्क्यान गरेर सोझै एआई मा अपलोड गर्न थालेँ । अनि एआईले जादुमयी तरिकाले ती जटिल र भयानक देखिने मेडिकल परिभाषाहरूलाई एकदमै सरल, बुझिने भाषामा परिवर्तन गरेर मेरो अगाडि राखिदिन्थ्यो।
एआईले मलाई बुझायो– मेरी श्रीमतीको क्यान्सर ठ्याक्कै कहाँ छ र यसको प्रकृति कस्तो छ, कुन-कुन परीक्षण किन गरिँदै छन्, र , त्यसको सम्भावित नतिजा के हुन सक्छ । आगामी सर्जरी र उपचारको प्रक्रियाको अर्थ र आवश्यकता के हो।
यो प्रविधिको मद्दतले म डाक्टरहरू भन्दा एक कदम अगाडि रहन सफल भएँ । डाक्टरको क्याबिनमा पस्नुअघि नै मलाई बिरामीको अवस्थाबारे पूर्ण जानकारी हुन्थ्यो । म डाक्टरको कुरा केवल मूकदर्शक भएर सुन्ने मात्र होइन, उनीहरूका कुरालाई प्रविधिसँग जुधाएर, बुझेर थप तार्किक प्रश्नहरू गर्ने गर्थेँ । कुन अस्पताल सही हो, कुन डाक्टर उपयुक्त हुन् र उपचारको योजना कसरी बन्दै छ भन्ने निर्णय लिन मलाई यसले असाधारण आत्मबल दियो ।
अस्पतालको प्रविधि, डाक्टरहरूको विज्ञता, र एआईको यो डिजिटल सारथिको त्रिवेणीले मलाई स्पष्ट पारिदियो कि हामी सही मार्गमा छौँ । दिल्ली आएको केही दिनमै नयाँ सिटी स्क्यानको रिपोर्ट आयो, जसले हाम्रो अगाडि एउटा सुखद् र स्पष्ट चित्र कोरिदियो ।नेपालमा सुरु भएको औषधि र उपचारले राम्रो सुधार देखाएको थियो– त्यो भित्र भएको ठूलो पिपको फोको धेरै घटेर सानो भइसकेको थियो।
सबैभन्दा ठूलो राहतको कुरा त के थियो भने, क्यान्सर आन्द्राको त्यही एउटै ठाउँमा मात्र सीमित थियो; कलेजो, फोक्सो वा मिर्गौलाजस्ता अन्य अंगमा यो फैलिएको थिएन ।
‘अब आन्द्राको त्यो खराब भागलाई सर्जरी गरेर पूर्णरूपमा निकाल्नुपर्छ’ डाक्टरहरूले अन्तिम निर्णय सुनाए । अप्रेसनको मिति तय हुँदै थियो । खर्चको अनुमान साढे चार लाख देखि झन्डै पौने १० लाख भारतीय रुपैयाँसम्म गरिएको थियो । आर्थिक भार र मानसिक दबाबको यो पहाडका बीच, मेरो मनमा एउटा अलौकिक शक्ति जागृत भइरहेको थियो ।
हामी दिल्लीमै रहेर अब त्यो निर्णायक सर्जरीको मिति पर्खिन थाल्यौँ, जहाँबाट हाम्रो दोस्रो युद्ध सुरु हुनेवाला थियो.। फागुन ९ गते (फेब्रुअरी २०) मेरी श्रीमतीको जीवनको सबैभन्दा ठूलो र निर्णायक अप्रेसन हुँदै थियो।
त्यसको अघिल्लो दिन नै मेरो मन निकै अशान्त बनिरहेको थियो ।
मेडिकल फाइलमा लेखिएको थियो– ‘लेफ्ट हेमिकोलेक्टोमी +/- ‘इलियोस्टोमी’। मैले एआई र डाक्टरको कुरा मिलाएर यसको अर्थ गहिराइमा बुझिसकेको थिएँ ।
‘लेफ्ट हेमिकोलेक्टोमी’ भनेको पेट चिरेर, क्यान्सर लागेको ठूलो आन्द्राको बायाँ भाग र त्यसको आसपासका स-साना ग्रन्थीहरू काटेर पूरै निकाल्नु थियो । त्यो बिग्रेको भाग शरीरभित्रै राख्नु भनेको रगत बगिरहने, आन्द्रा टालिने र संक्रमण दोहोरिने खतरा थियो।
यस सँगै अर्को एउटा डरलाग्दो शब्द जोडिएको थियो– ‘इलियोस्टोमी’। आन्द्रा काटेर जोडेको ठाउँ यदि कमजोर देखियो वा जोखिम धेरै भयो भने, दिसा पास गराउनका लागि सानो आन्द्रालाई पेटको छालाबाट बाहिर निकालेर अस्थायी रूपमा एउटा ‘दिसा संकलन गर्ने झोला’ जोडिने योजना थियो।
३७ वर्षकी एउटी महिलाका लागि शरीरमा यस्तो परिवर्तन हुनु मानसिक रूपमा स्वीकार गर्न निकै गाह्रो कुरा थियो, तर जीवन बचाउनका लागि यो आवश्यक रणनीति थियो।
अस्पतालले मलाई एउटा अर्को सत्यसँग पनि साक्षात्कार गरायो– आर्थिक सत्य।
अप्रेसन, आईसीयू, वार्ड र औषधिहरू गरेर करिब ४ लाख ७५ हजारदेखि ९ लाख ७५ हजार भारतीय रुपैयाँसम्म खर्च हुने अनुमानित बिल मेरो हातमा थपियो । क्यान्सर यस्तो रोग हो, जसले मानिसको मन मात्र होइन, आर्थिक मेरुदण्ड पनि क्षणभरमै भत्काइदिन्छ । तर मेरो बुझाइ प्रष्ट थियो— कति खर्च लाग्छ भन्ने चिन्ता गरेर समय खेर फाल्नुभन्दा, कसरी सही उपचार गराउने भन्नेमा ध्यान दिनु बुद्धिमानी हो । मैले तत्कालै अस्पतालमा करिब ८० प्रतिशत रकम डिपोजिट गरिदिएँ।
मेरो खल्ती रित्तिँदै थियो, तर मेरो हिम्मत अझै भरिभराउ थियो । अप्रेसन सुरक्षित बनाउनका लागि चौतर्फी तयारी भइरहेको थियो ।
रिपोर्टहरू सकारात्मक थिए— मधुमेह वा उच्च रक्तचाप जस्ता अरू कुनै ठूला रोग नहुनु र उमेर जम्मा ३७ वर्ष मात्र हुनु हाम्रा लागि ईश्वरको वरदान साबित भएको थियो । अघिल्लो रात श्रीमतीको छेउमा बस्दा मैले उनको आँखामा एउटा अज्ञात भय देखेँ । उनी भोलिको सम्भावित पीडा र त्यो दिसा बोक्ने झोलाको कल्पनाले भित्रभित्रै डराइरहेकी थिइन् ।
मैले उनको हात आफ्नो हातमा लिएँ र उनको आँखामा हेरेर दृढ आवाजमा भनेँ, ‘तिमी कत्ति पनि चिन्ता नगर । डाक्टरले भनेअनुसार यो रोग दोस्रो स्टेजमा होस् वा तेस्रो स्टेजमा, यसले केही फरक पार्दैन । म यसलाई यही दिल्लीको यमुना नदीमा बगाएर मात्र नेपाल फर्कनेछु । म जीवनका हरेक युद्धहरू लडेर र जितेर आएको मान्छे हुँ, मलाई आफू र तिम्रो आत्मबलमाथि पूर्णविश्वास छ।’
त्यो रात मैले सामाजिक सञ्जालमा मेरा आफन्त र शुभचिन्तकहरूका लागि एउटा सन्देश लेखेँ, जसले मेरो भित्री चेतना र दर्शनलाई बोकेको थियो:
‘यदि हिम्मत र विश्वास छ भने भोकाएको बाघको मुखमा परेको आहार पनि खोसेर ल्याउन सकिन्छ ।’
हो, क्यान्सर हाम्रा लागि भोकाएको बाघजस्तै बनेर आएको थियो, जसले मेरो संसारमा झम्टिन खोज्दै थियो । तर म त्यो बाघको मुखमा हात हालेर भए पनि आफ्नी श्रीमतीको जीवन खोसेर ल्याउन तयार थिएँ । हामी एक्लो थिएनौँ, काठमाडौँदेखि दिल्लीसम्म फैलिएका हजारौँ आफन्त, साथीभाइ र परिवारको माया, प्रार्थना र शुभकामनाको एउटा ठूलो शक्ति हामीसँगै थियो, जसले मलाई एउटा पहाड जत्तिकै बलियो हिम्मत दिइरहेको थियो।
भोलिपल्ट बिहान ठिक ९ बजे उनलाई अप्रेसन थिएटरभित्र लगियो
अप्रेसन थिएटर बाहिरको प्रतीक्षा
फेब्रुअरी २०, २०२६ को त्यो बिहान मेरो जीवनकै सबैभन्दा लामो र सकसपूर्ण बिहान थियो । श्रीमतीलाई अप्रेसन थिएटरको फलामे ढोकाभित्र लैजाँदा म बाहिर एउटा चिसो कुर्सीमा एक्लै टोलाइरहेको थिएँ । भित्र सर्जनहरूका धारिला चक्कु र मेसिनहरू मेरी श्रीमतीको शरीरभित्र लुकेको क्यान्सरसँग युद्ध लड्दै थिए भने, बाहिर म समयको प्रत्येक सेकेन्डसँग एउटा मानसिक युद्ध लडिरहेको थिएँ ।
घण्टौँको पर्खाइपछि अन्ततः थिएटरको ढोका खुल्यो र डाक्टरहरू बाहिर निस्किए।
‘अप्रेसन सफल भयो, बिक्रमजी’ डाक्टरको यो पहिलो वाक्यले मेरो छातीबाट एउटा ठूलो ढुङ्गा पन्छाएजस्तै भयो । तर डाक्टरले केही जटिल सत्यहरू पनि सुनाए । ठूलो आन्द्राबाट क्यान्सर फैलिँदै गएर नजिकैको सानो आन्द्राका केही भागलाई पनि छोइसकेको रहेछ । त्यसैले डाक्टरहरूले ठूलो आन्द्राको त्यो क्यान्सर भएको भागसँगै सानो आन्द्राको संक्रमित भाग र वरपरका खराब टिस्युहरू सबै एकैपटक काटेर फालेका थिए।
दुःखको यो आँधीबीच पनि एउटा ठूलो सुखद जानकारी के थियो भने— हामी अलि ढिला भएर दिल्ली पुगे पनि क्यान्सर मुटु, किड्नी वा छातीजस्ता संवेदनशील अंगसम्म फैलिन पाएको रहेनछ । तत्कालका लागि ठूलो खतरा टरेको थियो र बिरामीलाई एनेस्थेसिया वार्डमा सारिएको थियो ।
त्यसपछिको रात मेरा लागि एउटा केयरगिभरको वास्तविक परीक्षाको रात बन्यो । अप्रेसनपछिको पहिलो २४ घण्टा बिरामीका लागि निकै नाजुक हुन्छ । रगत र किड्नीको जाँच गर्दा सोडियम र पोटासियम सामान्य त देखिएको थियो, तर मेजर सर्जरीका कारण हेमोग्लोबिन घटेर ७.८ मा झरेको थियो । शरीरमा अक्सिजनको प्रवाह राम्रो होस् र घाउ छिटो निको होस् भन्नका लागि डाक्टरहरूले रगत चढाउने निर्णय गरे । घाउको संक्रमणसँग लड्न शरीरले गरेको स्वाभाविक प्रतिक्रियास्वरूप सेतो रक्तकोष अलि बढेको थियो।
श्रीमतीको बेडको छेउमा बस्दा मैले अस्पतालको रात्रि कुरुवाको भूमिकालाई एउटा नयाँ दृष्टिकोणबाट नियाल्ने मौका पाएँ । धेरै मानिसहरू अस्पतालमा कुरुवा बस्नुलाई केवल ‘एउटा कुर्सी ओगटेर रात काट्नु’ मात्र ठान्छन् । तर मेरो विचारमा, अस्पतालमा रात्रि कुरुवा बस्नु भनेको बिरामीको सुरक्षा, उपचार र आराम सुनिश्चित गर्ने एउटा ठूलो सैन्य जिम्मेवारी हो ।
यहाँ मेरो पेसा र पुराना बानीहरू मेरा लागि वरदान साबित भए । म फोटोग्राफर परेँ– रातभर सुटिङ गर्ने, कम्प्युटरको स्क्रिन अगाडि बसेररात काट्ने पुरानो बानी थियो । मलाई सजिलै निद्रा लाग्दैनथ्यो । सानो आवाज सुन्नेबित्तिकै सतर्क भएर उठ्ने स्वभावको मान्छे थिएँ । कुरुवा यस्तो चलाख र सजग हुनुपर्छ कि नर्सले के गर्दै छिन्, उनको व्यक्तिगत समस्या वा थकानका कारण सेवामा कतै हेलचेक्र्याइँ भइरहेको त छैन, औषधि कसरी, कति र केका लागि दिइँदै छ– यी सबै कुराको ज्ञान कुरुवालाई हुनुपर्छ ।
डाक्टरको निर्देशन अनुसार औषधि समयमै दिइयो कि दिइएन भनेर क्रस-चेक गर्ने जिम्मेवारीपूर्ण व्यवहार कुरुवाको हुनुपर्छ । त्यो रात मेरो यही सजगताले काम गर्यो । राति अचानक श्रीमतीलाई बान्ता आउन खोज्दा तुरुन्तै उठेर उनलाई सम्हाल्न पुगेँ, जसले गर्दा घाउमा थप जोड पर्न र सम्भावित ठूलो असहजताबाट उनलाई जोगाउन सकेँ। गत वर्ष आमाको उपचार गर्दा पनि मेरो यही चनाखो स्वभावले ठूलो सहयोग पुर्याएको थियो ।
अप्रेसनको भोलिपल्ट बिहान ठिक १० बजे बिरामीलाई सामान्य वार्डमा सारियो। उनी पूर्ण होसमा थिइन्, बोल्न सक्ने भएकी थिइन् । उनलाई अब कृत्रिम अक्सिजनको आवश्यकता थिएन र सास फेर्न सामान्य भइसकेको थियो । मैले वार्डको झ्यालबाट बाहिर हेरेँ र कालिका मातालाई धन्यवाद दिएँ । पहिलो ठूलो लडाइँ त जितिएको थियो, तर क्यान्सरको यो महायुद्धमा अझै धेरै चरणका प्रहारहरू सामना गर्न बाँकी नै थियो…।
सुखका छाया, दुःखका प्रकाश
अस्पतालको सामान्य वार्डको त्यो शान्त कोठामा दिनहरू बित्दै जाँदा, म केवल श्रीमतीको औषधि र रिपोर्टमा मात्र होइन, मानव समाज र सम्बन्धहरूको एउटा गहिरो मनोविज्ञानमा पनि घोत्लिन थालेँ । क्यान्सर जस्तो ठूलो रोगले मानिसको शरीरलाई मात्र सताउँदैन, यसले त वरपरका मानिसहरूको मुखमा लगाइएको ‘आफ्नोपन’ को कृत्रिम मुकुन्डो पनि उतारेर फालिदिँदो रहेछ ।
आजको हाम्रो समाज कस्तो अचम्मको छ भने, जब मानिसहरू आफ्नो सुख, रमाइलो, महँगो जीवनशैली, हैसियत र बनावटी सफलताका कुराहरू सामाजिक सञ्जालमा देखाउँछन्, तब त्यसलाई बडो गर्वका साथ ‘प्रेरणा’ को नाम दिइन्छ । मानिसहरू खुसीका रंगीन फोटोहरू राख्छन् । ‘हामी सक्षम छौँ, हामी सबैभन्दा सुखी छौँ’ भनेर आफ्नै अहंकारलाई प्रमाणित गर्न खोज्छन् । त्यो खोक्रो सान र देखावटी चमकमा न कुनै वास्तविक शिक्षा हुन्छ, न चेतना– तर त्यस्तै कुरामा समाजले ताली र ‘लाइक’ को वर्षा गराउँछ।
तर, जब कोही व्यक्ति जीवनको वास्तविक पीडा, संघर्ष, अस्पतालका बेडहरू र यथार्थ सार्वजनिक गर्छ, तब त्यही समाजलाई असहज लाग्न थाल्छ। जब मैले मेरो परिवारले भोगिरहेको क्यान्सरको उपचार, यसको प्रक्रिया, र संघर्षको कथा अरूलाई सचेत गराउने उद्देश्यले फेसबुकमा साझा गर्न थालेँ, तब केही मानिसहरूले भित्रभित्रै प्रश्न उठाए– ‘यी कुरा सबैलाई किन भन्नु पर्यो ? यस्तो पीडा पनि सामाजिक सञ्जालमा देखाउने हो र ?’
म ती मानिसहरूलाई ऐना देखाउँदै भन्न चाहन्छु— मैले मेरो परिवारको यो अवस्था कसैको सहानुभूति वा दया खोज्नका लागि साझा गरेको होइन । मैले त यो सूचना र सचेतना फैलाउनका लागि साझा गरेको हुँ । क्यान्सर कति भयानक हुन्छ र यसको उपचार कसरी गरिन्छ भन्ने कुरा यदि मैले आज नलुकाएर लेखेँ भने, भोलि अरू कसैको परिवारले यो पीडा भोग्नुपर्दा कम्तीमा उनीहरू अन्धकारमा त डुब्दैनन् ! कुन अस्पताल जाने, रिपोर्ट कसरी पढ्ने, कुरुवा कसरी बस्ने भन्ने एउटा मार्गनिर्देशन त उनीहरूले पाउँछन् !
अस्पतालको यो अनुभवले मलाई सम्बन्धहरूको वास्तविक कसी पनि बुझायो । मैले एउटा नयाँ सत्य आत्मसात् गरेँ– ‘सम्बन्ध रगतले होइन, धैर्यले चिनिन्छ । सुखमा नजिक हुनेहरू छाया हुन्, दुःखमा टिक्नेहरू प्रकाश ।’
सुखका दिनमा ‘हाम्रो मान्छे’ भन्दै वरिपरि घुम्ने छायाहरू दुःखको पहिलो प्रहारमै अलप भए । तर जो मानिसहरू यो गम्भीर संकटमा पनि हाम्रो साथमा प्रकाश बनेर उभिए, उनीहरू नै मेरा वास्तविक नाता हुन् । कतिपय अवस्थामा काम बिगार्ने र दुःख दिने आफ्नै नातेदारहरू शत्रु होइनन्, उनीहरू त हाम्रो मनमा रहेको भ्रम भत्काइदिने ‘गुरु’ हुन्– जसले हामीलाई सिकाउँछन् कि जीवनको यात्रामा कसलाई साथैमा राख्नुपर्छ र कसलाई सधैँका लागि छोड्नुपर्छ ।
त्यसैले म अचेल मौन बस्न थालेको छु । किनकि मैले बुझिसकेँ– सबै नाताहरू बोझ हुँदैनन्, तर जीवनको संकटमा आएका सबै बोझहरू कतै न कतै नाता भएकै मानिसहरूबाट आउँदा रहेछन्।
आर्थिक रूपमा पनि यो यात्राले ठूलो शिक्षा दियो । क्यान्सर लागेको परिवार जतिसुकै धनी भए पनि क्षणभरमै गरिबीको रेखामा पुग्दो रहेछ। अस्पतालमा बस्दा कसैको ५० लाख सकिएको, कसैले उपचारकै लागि घर-जग्गा बेचेको कथाहरू सुन्दा मन झसङ्ग हुन्थ्यो ।
आफ्नै कुरा गर्ने हो भने, नेपालमै झन्डै १२-१५ लाख सकियो भने दिल्लीको खर्च छुट्टै थियो। पुर्खाको सम्पत्ति मेरो पनि छ, त्यो पनि अर्बौंको भन्दा कमको होइन होला । तर पुर्खाले एक-दुई जना यस्ता मूर्ख सन्तान पनि जन्माएका रहेछन्, जसको अज्ञानता र कचिंगलका कारण आवश्यक परेको समयमा त्यो सम्पत्ति हाम्रा लागि काम लागेन । त्यसलाई मैले ‘लासाको सुन, कान बुच्चै’ भनेर बुझेको छु ।
जीवनको वास्तविक धन भनेकै विश्वास रहेछ, जुन सही समयमा काम लाग्छ ।
छोरीहरूले मप्रति राखेको अटल विश्वासलाई जीवित राख्दै, मभित्र रहेको कालिका माताप्रतिको अगाध आस्था र धर्मलाई शक्ति बनाउँदै म अगाडि बढिरहेँ । ‘जे हुन्छ, राम्रोकै लागि हुन्छ’ भन्ने निश्चयता नै मेरो ऊर्जा बन्यो।
अस्पतालको पहिलो खण्ड अर्थात् सफल अप्रेसन र डिस्चार्जको प्रक्रिया सकिँदै थियो । डाक्टरहरूले अब हामीलाई नरम खाना खुवाउने र घाउ सफा राख्ने निर्देशन दिँदै अस्पतालबाट डिस्चार्जको तयारी गरिरहेका थिए । अब हामीले होटेलमा बसेर घाउको केयर गर्नुपर्ने थियो र सबैभन्दा मुख्य कुरा— त्यो आन्द्राको अन्तिम बायोप्सी रिपोर्टको पर्खाइ थियो, जसले हाम्रो अगाडिको बाटो अर्थात् किमोथेरापीको चक्र तय गर्नेवाला थियो…।
दोस्रो युद्ध : किमोथेरापी र एनसीसीएन निर्देशन
अप्रेसनपछि बिरामी बिस्तारै स्वास्थ्यलाभ गर्दै थिइन् । हल्का हिँडडुल गर्न सक्ने अवस्थामा पुगेकी थिइन् । तर, यो लडाइँको एउटा पाटो मात्र थियो। मुख्य ट्युमर त हट्यो, तर रगतको सेलहरूमा क्यान्सरको कुनै सूक्ष्म बीउ लुकेको छ कि भन्ने सन्देश बाँकी नै थियो ? जसले पछि रगतको बहावसँगै फोक्सो, दिमाग वा छातीमा पुनः क्यान्सर फैलाउने खतरा पनि हुन सक्थ्यो । त्यसैलाई जरैदेखि उखेल्नका लागि दोस्रो चरणको युद्ध अर्थात् किमोथेरापी को योजना बन्नु अनिवार्य थियो ।
त्यसका लागि हामीलाई सबैभन्दा बढी प्रतीक्षा थियो— अप्रेसनपछि निकालिएको भागको अन्तिम बायोप्सी अर्थात् ‘हिस्टोप्याथोलोजी’ रिपोर्टको।
अन्ततः त्यो रिपोर्ट आयो। मैले डाक्टरले बुझाउनुपूर्व नै व्यक्तिगत रूपमा त्यसको गहिरो अध्ययन गरेँ । रिपोर्टले ठूलो आन्द्राको बायाँ भागमा ‘म्युसिनस एडेनोकार्सिनोमा’ भन्ने क्यान्सर पुष्टि गरेको थियो। ट्युमरको आकार करिब ८.५ सेन्टिमिटरको थियो र आन्द्राको भित्तो पार गरेर बाहिरको बोसोसम्म पुगेको थियो । जसलाई चिकित्सा विज्ञानमा पीटी३ भनिन्छ । तर, सुखद् कुरा के थियो भने, डाक्टरले काटेर निकालेको किनारका भागहरू र जाँच गरिएका जम्मा ४२ वटा लिम्फ नोड्स मध्ये एउटामा पनि क्यान्सर फैलिएको भेटिएन, जसलाई ‘नो’ लेखिएको थियो ।
यस्तो अवस्थामा रोग पुनः बल्झिने जोखिम कम गर्नका लागि ३ देखि ६ महिनाको किमोथेरापी सिफारिस गरिन्छ।
यही किमोथेरापीको चक्र सुरु गर्ने सिलसिलामा डाक्टरसँग भेटघाट हुँदा अस्पतालमा एउटा साधारण तर निकै उपयोगी घटना घट्यो, जसले मेरो सचेतनाको एउटा नयाँ परीक्षा लियो । त्यो दिन हाम्रा नियमित सर्जन वा अंकोलोजिस्ट उपलब्ध नभएकाले एकजना नयाँ महिला डाक्टरले हाम्रो केस हेर्दै थिइन् । सबै प्रक्रिया पहिलेजस्तै थियो । उनले रिपोर्टहरू पल्टाइन्, कम्प्युटरमा केही विवरण हेरिन् र किमोको रिभ्यू दिन थालिन् । उनले भनिन्, ‘बिरामीको हाई-रिस्क स्टेज हो, त्यसैले अब हाम्रो यो किमोथेरापीको उपचार लगभग ६ महिनासम्म चल्छ ।’ ६ महिना ? उनको यो कुरा सुन्नेबित्तिकै मेरो कान ठाडो भयो ।
मेरो मस्तिष्कमा नेपाल र दिल्लीका पुराना डाक्टरहरूसँग भएका संवादका फाइलहरू तुरुन्तै खुले। मैंले उनलाई रोक्दै दृढ आवाजमा प्रश्न गरेँ, ‘म्याम, यस अघिका डाक्टरहरूले त यो केसमा ३ महिनाको किमो पर्याप्त हुन्छ भन्नुभएको थियो। तपाईंले ६ महिना किन भन्नुभयो ?’ मेरो कुरा सुनेर ती डाक्टर एकछिन गम्भीर भइन् । उनले आफ्नो कम्प्युटरको स्क्रिनतर्फ हेर्दै एउटा अन्तर्राष्ट्रिय वेबसाइट खोलिन्, त्यसमा आफ्नो युजरनेम र पासवर्ड राखिन्, र कोलन क्यान्सरको स्टेज र प्राविधिक विवरणहरू पुनः क्रस-चेक गरिन् । त्यसको केही सेकेन्डपछि उनी मतिर फर्किइन् र भनिन्, ‘ओहो ! हजुर, तपाईंले भन्नुभएको एकदम ठिक हो । ३ महिना मात्र हो । मेरो हेराइमा थोरै गल्ती भएछ ।’
क्यान्सर जस्ता हजारौँ केसहरू हेरेर चौबीसै घण्टा तनावमा बस्ने डाक्टरहरूबाट पनि कहिलेकाहीँ यस्ता मानवीय त्रुटिहरू हुन सक्छन् । तर यदि केयरटेकर वा बिरामी आफैँ सचेत छैन, उसले आफ्ना रिपोर्ट र अन्तर्राष्ट्रिय गाइडलाइनहरू बुझेको छैन भने, डाक्टरको एउटै सांकेतिक गल्तीले बिरामीले अनावश्यक दुःख र महँगो औषधि भोग्नुपर्ने हुन सक्छ ।
कतिपय मानिसहरू भन्छन् डाक्टरको लेखेको कुरामा मात्र आँखा चिम्लेर भर पर्नुपर्छ । तर म भन्छु– क्यान्सरको यात्रामा बिरामी र डाक्टर मात्र होइन, सजग केयरटेकर तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पात्र हो । अरूको मार्गदर्शन मान्नु बुद्धिमानी हो, तर आफ्नो सजगता र जिम्मेवारी छाडेर पूर्णरूपमा अरूको मात्र भर पर्नु महामूर्खता हो । रोग लागेपछि बिरामी र कुरुवा आफैँ कतै न कतै आधा डाक्टर बन्नै पर्दो रहेछ ।
ती डाक्टरले मेरो अध्ययन र प्रश्नको सम्मान गर्दै थप केही आवश्यक परीक्षणहरू लेखिदिइन् । अब भोलिपल्ट अर्थात् १३ तारिखबाट हाम्रो किमोथेरापीको पहिलो चक्र सुरु हुँदै थियो । क्यान्सरलाई शरीरको कोष-कोषबाट धपाउनका लागि हाम्रो पहिलो रासायनिक हतियार प्रहार हुने मिति तय भइसकेको थियो, र म यो नयाँ लडाइँका लागि पूर्णरूपमा तयार थिएँ…।
पहिलो हतियार : अक्सालिप्लेटिन र घरेलु सैनिक
त्यो दिन मेरी श्रीमतीको क्यान्सरविरुद्धको ‘पहिलो किमो हतियार’ प्रयोग भएको दिन थियो । अस्पतालको डे-केयर वार्डको बेडमा श्रीमती सुतिरहेकी थिइन् । उनको नसामा एउटा पाइप जोडिएको थियो, जसको माथिल्लो भागमा ५ प्रतिशत डेक्सट्रोज ५०० एमएलको बोतलमा मिसाएर अक्सालिप्लेटिन नामको किमो औषधि झुण्ड्याइएको थियो ।
अस्पतालको त्यो २-४ घण्टाको चक्र सकिएपछि हाम्रो ‘घरेलु युद्ध’ सुरु भयो। डाक्टरले अर्को एउटा औषधि दिएका थिए– क्यापेसिटाबिन ट्याब्लेट । यसलाई दिनको दुईपटक, १४ दिनसम्म बिहान-बेलुकी खानापछि नियमित खानुपर्ने थियो ।
मैले यो ट्याब्लेटलाई एउटा ‘घरेलु सैनिक’ जस्तै मानेको थिएँ, जसले अस्पतालबाट फर्केपछि पनि शरीरभित्रै बसेर हरेक दिन क्यान्सरको बीउ खोज्दै, दबाउँदै र मार्दै आफ्नो जिम्मेवारी पूरा गर्थ्यो । १४ दिनको यो कोर्सपछि अर्को ७ दिन शरीरलाई पूर्ण विश्राम दिनुपर्थ्यो । यो ७ दिन भनेको ‘मर्मत समय’ जस्तै थियो, जहाँ ती घरेलु सैनिकहरूले केही समय विश्राम लिएर, शरीरमा सेतो रगत बढाएर, फेरि अर्को चक्रको युद्धका लागि बल जुटाउँथे ।
चिकित्सा विज्ञानको एउटा कठोर सत्य के हो भने किमोथेरापी चलिरहेको समयमा बिरामीको रोगप्रतिरोधक क्षमता निक्कै कमजोर भएको हुन्छ। मानिसहरू त आउँछन्, उनीहरूसँगै फलफूल र माया त आउँछ, तर सँगै उनीहरूको शरीर र लुगामा भएका अदृश्य भाइरस र ब्याक्टेरियाहरू पनि हुन्छन् । यस्तो अवस्थामा बिरामीलाई भेट्नु भनेको उपचारमा सहयोग गर्नु होइन, उल्टो असहयोग गर्नु हो ।
यही कारण मैले एउटा कठोर तर निकै आवश्यक र बुद्धिमानी निर्णय गरेँ । मैले सामाजिक सञ्जालमा आफ्ना प्रिय परिवारजन र साथीभाइहरूका लागि एउटा कडा सूचना जारी गरेँ:
‘हाम्रो परिवारको किमोथेरापी चलिरहेको हुनाले कृपया १-२ महिनाका लागि भेटघाट वा अन्य कुनै पनि प्रत्यक्ष सम्पर्क नगरिदिनुहोला । तपाईहरूको माया र प्रार्थना हामीलाई फोन वा भिडियो कलमार्फत मात्र पठाइदिनुहोस् ।’
केही मानिसहरूलाई मेरो यो व्यवहार छुद्र वा घमण्डी लाग्यो होला, तर एक सच्चा केयरगिभरले बिरामीको रक्षाका लागि समाजसँग यस्ता तीता लडाइँहरू पनि लड्नुपर्दो रहेछ । हाम्रो यो यात्रा २१-२१ दिनको चक्रमा घुमिरहेको थियो । पहिलो र दोस्रो सायकल दिल्लीमा पूरा गरेपछि हामी केही समयका लागि नेपाल फर्किएका थियौँ। नेपालमा रहँदा हामीले मुखबाट खाने ओरल किमो १४ दिनसम्म नियमपूर्वक चलायौँ, र एक हप्ताको रेस्टपछि फेरि नसाबाट दिइने (आईभी) किमोका लागि दिल्ली जाने तयारी सुरु भयो ।
अहिलेसम्म यो दिल्ली-नेपालको आउजाउ, प्लेन खर्च, बसाइ, खाना र अस्पतालको बिल गरेर १६ लाख १३ हजार रुपैयाँ सकिइसकेको थियो । र, आगामी ३ महिनामा थप ५ देखि ८ लाख रुपैयाँ खर्च हुने पक्का थियो । मैले यी सबै खर्चका विवरणहरू नलुकाई समाजका सामु राखेँ, ताकि क्यान्सरको आर्थिक यथार्थ मानिसहरूले बुझून् र समयमै आफ्नो स्वास्थ्यको बीमा र नियमित चेकअप गराऊन् ।
पैसा छ त उपचार अगाडि बढ्छ, छैन भने केही चल्दैन– यो अस्पतालको कडा नियम थियो। तर, मेरो बुझाइ अझै स्पष्ट थियो— अन्तमा स्वास्थ्य र श्वास भन्दा माथि यो संसारमा कुनै धन हुँदैन । मन बलियो छ भने धनले उपचारका लागि कहीँ पनि छेक्न सक्दैन । हामी दोस्रो साइकल सकेर नेपाल आएका थियौँ, र अब तेस्रो सायकलको नसाबाट दिइने किमोका लागि पुनः दिल्लीतर्फ लाग्ने दिन नजिकिँदै थियो । क्यान्सर हामीलाई गलाउन खोज्दै थियो, तर हामी अझ बढी परिपक्व र बलियो बन्दै अगाडि बढिरहेका थियौँ…।
रोकिनु डर होइन, सुरक्षा हो
आज फर्केर हेर्दा लाग्छ— यो ७ महिनाको यात्रा केवल एउटा रोगको उपचार मात्र थिएन; यो त जीवन, विज्ञान, र मानवीय धैर्यको एउटा पाठशाला थियो । यस अवधिमा मैले एउटा ठूलो सत्य के सिकेँ भने– क्यान्सरको उपचार कसैको अनुमान, लहड वा छिमेकीको सल्लाहले होइन, पूर्ण रूपमा अन्तर्राष्ट्रिय चिकित्सा गाइडलाइन अनुसार चल्छ ।
विश्वका जुनसुकै ठूलो अस्पतालमा पुगे पनि उपचारको आधार एउटै हुन्छ, फरक केवल त्यो गाइडलाइन पूरा गर्ने प्रविधि र व्यवस्थापन त्यो अस्पतालमा छ कि छैन भन्ने मात्र हो।
यही यात्राको अन्तिम चरणतिर एउटा यस्तो दिन आयो, जसले हाम्रो धैर्यको पुनः परीक्षा लियो । हामी किमोको अर्को चक्रका लागि अस्पताल पुगेका थियौँ, तर त्यो दिन डाक्टरहरूले किमो सुरु गर्न मानेनन्।
कारण थियो— बिरामीको रगतको रिपोर्ट राम्रो थिएन । लामो समयको किमोका कारण उनको शरीरमा हेमोग्लोबिनको मात्रा निकै कम भएको थियो, जसको मतलब शरीरमा पर्याप्त रगत थिएन । सबैभन्दा चिन्ताको कुरा— सेतो रक्तकोष र एएनसी घटेको थियो, जसले गर्दा संक्रमणबाट जोगिने शरीरको आन्तरिक शक्ति नै कमजोर भएको थियो । यस्तो अवस्थामा जबरजस्ती किमो दिनु भनेको क्यान्सर मार्नुभन्दा अगाडि बिरामीको शरीरलाई नै सिध्याउनु हुन्थ्यो ।
उपचारको बीचमा यसरी किमोको डेट सर्नु वा रोकिनु डरले होइन, बिरामीको सुरक्षाका लागि अपनाइएको एउटा वैज्ञानिक सावधानी हो भन्ने कुरा मैले बुझिसकेको थिएँ ।
डाक्टरको काम केवल औषधि भर्नु मात्र होइन, बिरामीको आयु लम्ब्याउनु र सही समयमा सही निर्णय लिनु हो। अनि बिरामी र केयरटेकरको काम भनेको दुई दिन अलि राम्रो महसुस हुनेबित्तिकै मनलाग्दी नगरेर डाक्टरको निर्देशन अक्षरशः पालना गर्नु हो । यही यात्राका क्रममा मैले अस्पतालका कुर्सीमा, किमो बेडका छेउमा हजारौँ परिवारका कथाहरू सुनेँ र पढेँ । कतिपय मानिसहरू बिरामी डराउँदा वा थाक्दा वैज्ञानिक उपचार छोडेर झारफुक, धामी, झाँक्री वा ‘क्यान्सर पूर्ण निको पार्ने’ दाबी गर्ने जडिबुटी व्यापारीहरूको जालमा फसेको देखेँ।
म मेरो यो अनुभवका आधारमा क्यान्सर लागेका हरेक परिवारलाई कडा चेतावनी दिन चाहन्छु– क्यान्सरको नाममा व्यापार गर्ने र क्लिनिकल ट्रायल वा वैज्ञानिक प्रमाण बिना ‘चमत्कारी निको’ को दाबी गर्ने अनलाइनका भिडियो र विज्ञापनहरूबाट सदैव सावधान रहनुहोला । सुरुमा मानिसहरू भ्रममा परेर समय गुमाउँछन्, र जब बिरामीको मृत्यु हुन्छ, तब आफ्ना गल्ती लुकाउन ‘भाग्य नै यस्तै रहेछ’ भनेर मौन बस्छन् । उनीहरूको यही मौनताले गर्दा ती ठगहरूलाई अरू सोझा बिरामी लुट्न सहज भइरहेको छ । क्यान्सर उपचार गरे निको हुने रोग हो, तर अन्धविश्वास र ढिलाइले यसले मानिस, परिवार र सिङ्गो समाजलाई नै खाइदिन्छ ।
मानौँ आज कसैलाई क्यान्सर लागेको थाहा भयो भने, सर्वप्रथम ‘म कति समय बाच्छु होला ?’ वा ‘कति खर्च लाग्छ ?’ भनेर सोचेर समय बर्बाद गर्नु महामूर्खता हो । बरु, कहाँ, कसरी र कस्तो आधुनिक उपकरण, अनुभवी प्याथोलजिस्ट र ट्युमर बोर्ड भएको अस्पतालमा सही स्टेज निर्धारण गरेर उपचार सुरु गर्ने भन्ने सोच्नु बुद्धिमानी हो ।
क्यान्सरले मान्छेको शरीरलाई हल्लाउन त सक्छ, तर यदि मनमा दृढ विश्वास र कालिका माताको आशिष छ भने, यसले मान्छेलाई कहिल्यै पनि हराउन सक्दैन । क्यान्सरसँग डराउने होइन, बरु हाम्रो अटुट आत्मविश्वासले क्यान्सरलाई नै डराएर भगाउने हो।
यो ७ महिनाको यात्रामा अस्पतालका बेड र कुरुवा कुर्सीहरू चहार्दै गर्दा मैले एउटा कुरा राम्ररी बुझेँ– चिकित्सा विज्ञान स्थिर छैन । यो हरेक दिन बदलिँदै छ, र क्यान्सरलाई जरैदेखि उखेल्न संसारभरका वैज्ञानिकहरू अहोरात्र खटिएका छन् । आज म राजीव गान्धी अस्पतालको कोठामा मोबाइल चलाइरहँदा क्यान्सरको नयाँ उपचार विधिको एउटा निकै खुसीको खबर र वैज्ञानिक अनुसन्धान मेरो नजरमा पर्यो । मेरो अनुसन्धानको बानीले गर्दा मैले यसको प्रामाणिकता बुझ्न केही सामान्य रिसर्च र यसका आधिकारिक लिंकहरूको अध्ययन गरेँ । यो जानकारीले अवश्य पनि अन्य क्यान्सर बिरामी र तिनका परिवारमा आशाको एउटा नयाँ दियो बाल्नेछ भन्ने विश्वासका साथ यस पुस्तकको अन्त्यमा यो अन्वेषणलाई साझा गर्दैछु।
क्यान्सरको संसारमा एउटा नयाँ औषधिको उदय भएको छ, जसको नाम हो— अमिभान्तामब । अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनले उत्पादन गरेको यो औषधि विशेष गरी टाउको र घाँटीको क्यान्सरतथा फोक्सोको क्यान्सरको उपचारका लागि एउटा ठूलो क्रान्ति मानिएको छ ।
क्यान्सरको यो ७ महिना लामो यात्रामा अस्पतालका करिडोरहरूमा भौँतारिँदै गर्दा मैले एउटा अर्को डरलाग्दो र आँखा उघार्ने सत्यसँग साक्षात्कार गर्ने मौका पाएँ । कतिपय अवस्थामा विस्तृत अनुसन्धान र क्रस-चेक बिना नै बिरामीलाई क्यान्सर भएको घोषणा गरिदिने अस्पताल र ल्याबहरू हाम्रो समाजमा सक्रिय छन् । यो केवल मानवीय त्रुटि मात्र होइन, बिरामीको जीवन र परिवारको भविष्यमाथि खेलबाड हो ।
अस्पतालको बसाइका क्रममा मैले केही यस्ता बिरामी र तिनका परिवारहरू भेटेँ, जसको कथा सुन्दा मेरो आङ नै सिरिङ्ग भयो । एउटा बिरामीलाई नेपालकै एउटा नाम चलेको अस्पताल र ल्याबले सुरुमा बायोप्सी गरेर ‘तपाईंलाई क्यान्सर भइसकेको छ’ भन्ने रिपोर्ट दियो । त्यो रिपोर्ट सुन्नेबित्तिकै उनको ओठमा हाँसो हरायो, परिवारमा रुवाबासी चल्यो, र उनीहरू आर्थिक र मानसिक रूपमा छाँगाबाट खसेजस्तै भए । तर, ती बिरामी र उनको परिवारले हतारमा त्यहीँ उपचार सुरु गरेनन् ।
उनीहरूले अलिकति सजगता अपनाउँदै त्यही बायोप्सीको ‘स्लाइड र ब्लक’ अस्पतालबाट मागेर बाहिरका अन्य दुई-तीनवटा स्थापित र प्रतिष्ठित कन्सल्टेन्ट प्याथोलोजिस्टहरूलाई देखाए । जब दोस्रो र तेस्रो ठाउँबाट अन्तिम रिपोर्ट आयो, तब सबैजना छाँगाबाट खसेजस्तै भए— किनभने ती प्रतिष्ठित ल्याबहरूले प्रमाणित गरिदिए कि बिरामीलाई क्यान्सर छँदै थिएन ।
त्यो केवल एउटा सामान्य इन्फेक्सन वा मासु पलाएको अवस्था मात्र थियो, जसलाई पहिलो ल्याबले हतारमा क्यान्सर भनिदिएको थियो । यदि त्यो परिवारले चनाखो भएर बाहिर क्रस-चेक नगराएको भए, क्यान्सर नै नभएको त्यो शरीरमा महँगो र कडा किमोथेरापीका विषालु औषधिहरू चढाइने थियो
गलत रोगको छिटो उपचार गर्नुभन्दा, सही रोग पत्ता लगाउन दुई दिन ढिला गर्नु र दुई पैसा बढी खर्च गर्नु धेरै बुद्धिमानी हो ।
याद राख्नुहोस्, क्यान्सरविरुद्धको युद्धमा तपाईंको सबैभन्दा ठूलो ढाल भनेकै तपाईंको सजगता हो । ल्याब र अस्पतालहरूको यो भूलभुलैया र व्यापारिक चक्रव्यूहबाट बच्न आफैँ चनाखो बन्नुहोस्, प्रश्न गर्नुहोस्, र रिपोर्टहरूलाई सधैँ दोस्रो मतको कसीमा घोटेर मात्र विश्वास गर्नुहोस्।
प्रतिक्रिया 4