+
+
Shares

कुटा बिचको समुद्री छालमा सगरमाथाको छवि

म संवेदनशील छु भन्ने बिल्ला भिरेको छु प्रियजनबाट । आफ्नो कमलो मुटु भएको यथार्थ स्वीकार्न म हिच्किचाउँदिनँ । मलाई कुकुर, सर्प, चोरसँग डर लाग्छ । राति एक्लै घरमा बस्न आँट आउँदैन । अनि, प्लेन चढ्दा एन्जाइटी हुन्छ । मतलब एरोफोयिबा छ मलाई ।

रमा अधिकारी ‘कादम्बरी’ रमा अधिकारी ‘कादम्बरी’
२०८३ जेठ २३ गते १०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालबाट रमा अधिकारीसहितको टोली २४ देखि २७ अप्रिलसम्म इन्डोनेसियाको बालीमा सञ्चालित चारदिने डिजिटल प्रविधिसम्बन्धी तालिममा सहभागी भयो ।
  • कलात्मक मूर्ति र हिन्दु सांस्कृतिक आस्थाका कारण इन्डोनेसियाको बाली र नेपालको काठमाडौंबीच निकै आत्मीय सम्बन्ध रहेको छ ।
  • बालीको अर्थतन्त्र ८० प्रतिशत पर्यटनमा आधारित रहेको छ भने त्यहाँको धार्मिक सहिष्णुता उदाहरणीय मानिन्छ ।

म आफ्नै भूगोलमा रमाउन पाए पुग्ने मान्छे । सानो परिवेशमा पूरै संसारको सुख अनुभूत गर्ने मान्छे । अनि, सधैं आफ्नै परिवारसँग समय बिताउन खोज्ने मान्छे, जहाँ समर्पण लिने र दिने होडबाजी कहिल्यै नटुङ्गियोस् । म त्यही सपनाको शहर सिर्जना गर्न उद्धत मान्छे…।

बताउनुको पनि अन्तर्य छ ।

इन्डोनेसियाको बालीमा हुने तालिममा सहभागिताको लागि प्रस्तावसहित अफिसको मानव संसाधन विभागबाट अपर्झट फोन आयो । सायद यस्तो प्रस्तावमा खुसीले एकै सासमा ‘जान्छु’  भन्ने जवाफ दिनुु पर्ने थियो होला । मेरो स्वभावले मन्जुरी के दिन्थ्यो !

जीवन साथीलाई फोन लगाएँ, ‘अफिसबाट इन्डोनेसिया जाने कुरा आयो । तिमी र छोरी पनि सँगै जाने भए हुन्छ भन्नु पर्‍यो ।’

‘सबै कुरा मिल्यो भने जाउँला नि त के भो र ।’

जवाफ आएपछि मन आशावादी भयो ।

छोरी र छोरीको बाबासँगै बालीका गल्लीहरूमा घुम्ने, त्यहाँका मन्दिर–मूर्तिहरूसँग साक्षात्कार हुने समुद्री छालहरूसँग इतरिँदै बात मार्ने रहर घनीभूत पार्न मन लाग्यो । कुनै समयमा मेरो हात परेको ‘इन्डोनेसियाका महिलाहरू’ भन्ने किताब एक झमट सम्झिएँ ।

शान्ति र मानवताको लागि इन्डोनेसियामा भएको जेनजी आन्दोलन र नेपालमा भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलन दुवै परिघटना मष्तिस्कमा एकाकार भए । देशको परिवेश परिष्कार गर्ने अभियानमा जेनजी आन्दोलनको बीजारोपण इन्डोनेसियाले गर्‍यो । नेपालमा भएको जेनजी क्रान्तिको क्रममा भलै केही अप्रिय घटना भए तर इतिहासले सम्झिने गरी त्यसको खास अर्थ रह्यो भन्ने लाग्छ  ।

**** ****

अफिसले अप्रिल २४ देखि २७ सम्म ‘इम्बार्किङ अन द डिजिटल पाथ अन्डरस्ट्यान्डिङ द इमर्सिभ इन्भायरोमेन्ट’ विषयक चार दिने तालिमका लागि अफिसले म, गीता दिदी र अरू तीन जना साथीको नाम मनोनीत गर्‍यो ।

हिन्दु आस्थाले ओतप्रोत महाभारत र रामायण लगायतका पात्रहरू पस्कने मूर्तिहरूको बाक्लै उपस्थितिले मूर्ति नै मूर्तिको शहर काठमाडौं र बालीबीच प्रेमिल सम्बन्ध भए जस्तो आत्मीय आभास भयो

प्रविधि सहज जीवनको उपागम हो । नेपालले झन् सक्रियताका साथ प्रविधिको बाटोमा हिँड्नु जरुरी छ जस्तो लाग्छ । यसको लागि तालिमले पक्कै धेरथोर पृष्ठपोषण गर्न सक्छ भन्ने अर्थमा पनि तालिमको विषय सान्दर्भिक लाग्यो ।

पारिवारिक अप्ठ्यारोले छोरी र जीवनसाथीबिना जानुपर्ने टुङ्गो लागेपछि मन ढुङ्गा हुनु मेरो कमजोरीको पाटो भयो । जल्दोबल्दोे विषयमा जानकार हुँदै बालीको सौन्दर्यसँग साक्षात्कार हुन पाउने अवसरलाई सकारात्मक रूपमा नलिने कुरै भएन । मनलाई मनले नै मनाएर इन्डोनेसिया जाने तयारीमा जुटेँ ।

म संवेदनशील छु भन्ने बिल्ला भिरेको छु प्रियजनबाट । आफ्नो कमलो मुटु भएको यथार्थ स्वीकार्न म हिच्किचाउँदिनँ । मलाई कुकुर, सर्प, चोरसँग डर लाग्छ । राति एक्लै घरमा बस्न आँट आउँदैन । अनि, प्लेन चढ्दा एन्जाइटी हुन्छ । मतलब एरोफोयिबा छ मलाई । पुग्नु छ अस्ट्रेलियाको छेउमा ।

आफू परियो काठमाडौंदेखि पोखरासम्म प्लेन चढ्दा पनि आकाश लाग्ने मान्छे, अब परेन फसाद । बरु हिँडेरै पुग्ने भए कति जाति हुन्थ्यो । संसार यति सानो पनि कहाँ छ र ! खैर जे होस् ‘समय बितेर जाने छ, फसाद टरेर जाने छ’ भन्ने मनन गर्न मनलाई बाध्य जस्तै पारेँ ।

रमा अधिकारी ‘कादम्बरी’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ अप्रिल बेलुकी ९ बजेको फ्लाइटका लागि साथीहरूसहित एयर इन्डियाको प्लेन भित्र प्रवेश गरेँ । पाल्पिटेसन भएर छेउको अपरिचित मान्छेले समेत ढुकढुकी सुनेर तर्सेला भन्ने भइसक्यो । पछिल्लो सिटमा बस्नु भएकी गीता दिदीतिर मलिन मुख फर्काउँदै भनँें, ‘दिदी ! हजुर हुनुहुन्छ नि है ?’

आफ्नो कमजोरी पहिले नै जाहेर गरिसकेकोले गीता दिदी मलाई ढाडस दिन तयार नै हुनुहुन्थ्यो । मेरो वाक्य जिब्रोबाट फुत्किन नपाउँदै भनिहाल्नु भयो, ‘ढुक्क बन बइनी ! म हुँदाहुँदै केही गडबड गर्न कसको हिम्मत !’

**** ****

प्लेन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट, नयाँदिल्लीमा ल्यान्ड गरेपछि लामो सास तानेँ । प्लेन उडुन्जेल त्यति सारो ढुङ्गा भएको मन प्लेनले जमिन छोएपछि एकाएक हल्का भयो ।

तीन घण्टाको ट्रान्जिट लाइन लागेर अर्को प्लेन चढ्ने प्रक्रिया पूरा गर्दागर्दै सकियो । फेरि उही कुरोे । थाइल्यान्डको सुवर्णभूमि एयरपोर्ट ल्यान्ड गर्ने बेलामा मौसमको खराबीले भएको टर्बुलेन्स केही जटिल थियो भन्ने कुरा त्यहाँको क्रु मेम्बरले गरेको अन्नाउन्स्मेन्ट र यात्रीहरूको मुहारमा फैलिएको त्रासले प्रष्टै संकेत गर्थ्यो ।

म त मै भैहालेँ । गीता दिदीको छातीमा लपेटिएर आँखा चिम्म पारेँ । त्यो पल सम्झिँदा अहिले पनि अत्यास लाग्छ ।

जमिनसँग प्लेनको पाङ्ग्राले अङ्कमाल गरेपछि मन उसै पुलकित भैहाल्यो । हामीसँग ट्रान्जिट टाइम प्रशस्त भएकोले फुर्सदिला भयौं । एयरपोर्ट भित्रको एरिया दृश्याटन गर्दा लाग्थ्यो, थाइल्यान्डले कोरेको समृद्धिको कलात्मक चित्रको एउटा सानो नमुना हो त्यो । हाम्रो देशमा सार्वजनिक संस्थालाई सेतो हात्ती जस्तै बोझ मानिन्छ । तर राष्ट्रिय शक्ति र सुन्दर भविष्यको प्रतीकको रूपमा सेतो हात्तीको देशको सुवर्णभूमि एयरपोर्टमा सजिएका एक जोडी सेतो हात्तीबाट आँखा अन्त लानै मन लागेन ।

हुन त आकाशसँगै डर लागिसकेपछि आकाशमा जस्तो प्लेनमा उडे पनि मनको आँधी कम हुने होइन । तथापि, थाई एयरवेजको जेट प्लेनभित्र छिरेपछि लाग्यो– मलाई एरोफोबिया नभएको भए कति मज्जा हुन्थ्यो होला !

लगभग चार घण्टाको उडानपछि समुद्रको साक्षी बनेर छेवैमा लम्पसार परेको देनपसार अन्तर्राष्ट्रिय एयरपोर्ट (जसलाई त्यहाँको राष्ट्रिय हिरोको सम्मानस्वरूप आइगुस्ती एनगुराह राई अन्तर्राष्ट्रिय एयरपोर्ट पनि भनिँदोरहेछ) मा हाम्रो प्लेनले गौरवशाली ल्यान्ड गर्‍यो । अब पाँच दिन प्लेन चढ्नु नपर्ने भएपछि मन उसै फुरुङ्ग थियो, त्यसमाथि इन्डोनेसियाको सुन्दर भूमि बालीमा पाइला टेक्दा अकल्पनीय आनन्द अनुभूत भयो ।

**** ****

इमिग्रेसन प्रक्रिया सकेर एयरपोर्टको बाहिर निस्किने गेटमा आइपुग्दा पहिले नै हामीलाई  स्वागत गर्न हातमा माला लिए तयार हुनुहुन्थ्यो, पुर्र्ना दाइ र उहाँको टिम ।

मैले रोबर्ट फ्रस्टको कविता ‘स्टपिङ बाइ वुड्स इन द स्नोइ एभिनिङ’ सम्झिएँ । कुटा बिचको समुद्री छालमा छचल्किएको सगरमाथालाई मनमै कुँदेर निस्कियौं त्यहाँबाट

नमस्ते ! आई एम पुर्ना यान । हामीलाई माला लगाइदिँदै अग्लो पातलो अनि नेपाली जस्तै जस्तै लाग्ने दाइले बोल्ने बित्तिकै हामीलाई कतै पराइ भूगोलमा छाँै जस्तो लागेन । उहाँले भनेबमोजिम हामी बसभित्र बस्यौं । एकएक बोतल पानी हामीतर्फ हुत्याइदिँदै पुर्नाले मिठो मुस्कान फ्याकेपछि एकजना साथीले भन्नुभयो– यी पूर्णबहादुरले माया पो गरे त ।

एकमुष्ट हाँसो छुट्यो । पूर्ना दाइले मुहारमा खुसी नचाउँदै हामी सबैलाई हेर्नुभयो । हेरेर मात्र मान्छे चिनिन्नँ, मन पढ्न भ्याउनुपर्छ । भर्खर भेट्नु भएका उहाँले हामीलाई चिन्नु नै  कहाँ भएको छ र ? छँदाखाँदाको पुर्ना यानलार्ई हामीले अपनत्वको फुर्का गाँसेर पूर्णबहादुर बनाइदियौँ अनि पुर्ना यान हाम्रो पूर्र्ण दाइ भै त हाल्नुभो । हामी नेपाली कम रचनात्मक पनि छैनौं । कम आत्मीय त छँदै छैनौं ।

बस हिँड्न सुरु भयो । मेरा जोर नयन झ्यालबाट बालीको सौम्यता नियाल्न अभ्यस्त भए । मुख्य बाटो निस्कने चोकमा बडेमानको आइगुस्तीको मूर्ति थियो । आइगुस्ती एनगुराह राईले सन् १९४७ मा पपुतान मार्गराना युद्धमा डचहरूविरुद्ध बालीका नागरिकको स्वतन्त्रताको लागि लडेर वीरगति प्राप्त गरेका रहेछन् । तब उनलाई राष्ट्रिय हिरो मानिएको रहेछ । आधा निधार ढाकेको नेपाली बान्कीको कालो टोपी, जुँगाको छरितो रेखी अनि मङ्गोलियन अनुहार…, आएगुस्तीमा पनि वीर गोर्खालीको झल्को आइहाल्योे ।

कम चौडा सडक अनि ट्राफिक जाम । हामी काठमाडौंकै गल्ली र सडकहरूमा कुदिरहेछौं जस्तो भान पनि भयो । अझ हिन्दु आस्थाले ओतप्रोत महाभारत र रामायण लगायतका पात्रहरू पस्कने मूर्तिहरूको बाक्लै उपस्थितिले मूर्ति नै मूर्तिको शहर काठमाडौं र बालीबीच प्रेमिल सम्बन्ध भए जस्तो आत्मीय आभास भयो ।

हरेकजसो घर अनि मन्दिरमा कलात्मक जोडी खाबोयुक्त ढोका देखेर पुर्ना दाइलाई यो बारेमा जिज्ञासा राखियो । थाहा भयो– गेट अफ हेभेन, कान्डी बेन्टार स्प्लिट गेट भनेर चिनिने यस्तो गेटले बालिनिज हिन्दु शिक्षाअनुसार दिन र रात लोग्ने मान्छे र स्वास्नी मान्छे, खुसी र दु:ख आदि सँगसँगै आउने कुराहरू सन्तुलन कायम गर्न यी दुई जोडी गेट सँगसँगै अस्तित्व राख्छन् र एकअर्काका परिपूरक बन्छन् भन्ने मान्यता रहेछ । ओहो ! कति मौलिक आस्था । हामी नेपाली पनि मौलिक आस्थामा कम कहाँ त छौं र ?

ससाना घरहरू र टायलको छानो भूकम्पमैत्री बस्ती विकासमा बाली अब्बल नै रहेछ । बालीको सौन्दर्यमा हराउँदा हराउँदै कतिखेर कुटाको रामायाना सुट्स एन्ड रिसोर्टमा पुगियो पत्तै भएन । पुर्ना दाइले ‘होम स्विट होम’ भन्दा त आफ्नै घर पुगे जस्तो आनन्द पनि लाग्यो । गड ! अबको पाँच दिनलाई फ्लाइटको तनाव एयरपोर्टतिरै छोडेर गीता दिदी र म होटल रामायानाको रुम नम्बर ८०७ मा प्रवेश गर्‍यौं ।

बहिर निस्कौँ हौ साथीहरू, केही त खानु पर्‍यो । ह्वाट्स एप ग्रुपमा आएकोे मेसेज हेरेपछि गीता दिदीले भन्नुभयो, ‘अँ है, केही खानु त पर्थ्यो नि बुइनी ।’ गीता दिदी मलाई आत्मीयता भरेर बुइनी सम्बोधन गर्नु हुन्छ । मलाई खुब मन पर्छ । फेरि बालीको रात्रिकालीन सौन्दर्य हेर्नु त छँदै थियो ।

थुम्क्याइला होचा भवनहरूको संग्रह रामायाना होटलबाट सिधै अगाडि बढेपछि ४–५ मिनेटमा कुटा बिच पुगिने रहेछ । पहिले त्यतै हानियौँ हामी पूर्ण यायावर बन्दै । कुटा बिच पुगेपछिको संसार फेरि बेग्लै रोमाञ्चक थियो । कहिल्यै समुद्र नदेखेको म छालको उछाल एक टकले हेरिरहेँ । किनाराको बालुवामा सिञ्चन गर्न छालले गरेको प्रयत्न पलभरमै तुहिँदोरहेछ । बालुवा फेरि कस्तो कठोर, छालको समर्पणले गलाउनै नसक्ने ।

क्षितिजमा समुद्र र आकाश एकाकार भएर अचम्मले आलिङ्गनमा हराएका थिए, मानौं पुन्टे क्षितिजको बीजारोपण हुने साइत चलिरहेछ । छाल उसैउसै बालुवाको प्रेममा पागल उदात्त उफ्रिरहेछ ता कि परपरको बालुवाको समेत प्यास मेट्न सकोस् ।

बालुवाले निल्नु अगाडिको आकाशतर्फ हानिएको छाल हेरिरहन्छु म । उस्तै अग्लिएर स्वाभिमान पस्किरहेको, उस्तै तिर्खाएकाको प्यास मेट्ने अभिलाषा, उस्तै कञ्चन सेतो चाँदरमा लपेटिएको, उस्तै पवित्र समर्पणले ओतप्रोत…, हुबहु मेरो सगरमाथाको छविमा ढलिरहेछ छाल । मानौं, म कुटा किनारामा होइन गुराँसे टाँकुरामा बसेर त्यही सगरमाथाको सौन्दर्य नियाल्न निमग्न छु । मेरो सगरमाथा विश्वको ओत बनेर अथक अनन्त खडा भएझैं यो छाल बालुवाको मन जित्न समर्पित थियो, मेरै सगरमाथाको स्वरूप लिएर ।

रातले आलिङ्गन गर्दै थियो । डिनर गर्न बाँकी नै थियो । फेरि भोलि बिहान ८ बजे ब्रेक फास्टपछि तयार भएर तालिममा सहभागी पनि हुनु थियो । थकित शरीरले आरामको माग गरिरहेछ भन्ने सबैको मुखबाट स्वत:स्फूर्त निस्केको हाईको सङ्गीतले सङ्केत गर्दै थियो । म रोबर्ट फ्रस्टको कविता ‘स्टपिङ बाइ वुड्स इन द स्नोइ एभिनिङ’ सम्झिँदै कुटा बिचको छालमा छचल्किएको सगरमाथालाई मनमै कुँदेर निस्कियौं त्यहाँबाट ।

**** ****

स्कुल पढ्दा जस्तै आज्ञाकारी बनेर भोलिपल्ट बिहान ८ बज्नु अगावै तालिम हलमा उपस्थित भइयो । भारतबाट आउनुभएको जेटी जयराज कृष्ननले हामीलाई डिजिटल संसारको कखरा सिकाउन थाल्नु भयो । मैले ‘मेरो देशका नागरिकले सार्वजनिक निकायबाट काम लिन भौतिक भिडको सिकार हुनु नपरोस् । त्यसमा हामी सबैले योगदान गर्न सकौं’ भन्ने सकारात्मक सोच बुनेँ मनको राजधानीमा ।

बालीको हाम्रो तालिका पहिले नै तय थियो । तसर्थ, उसै बरालिने मौका नै थिएन । तालिम सकिँदा नसकिँदै ठ्याक्कै पूर्वनिर्धारित समयमा पुर्ना दाइ गाडीसहित हामीलाई घुमाउन लान तयार भइसक्नुभएको थियो ।

विशेषगरी समुद्र पर्यटनको लागि सबलताको रूपमा रहेको बालीको अर्थतन्त्र ८० प्रतिशत पर्यटनमा आधारित रहेछ अनि वर्षेनी सात बिलियन पर्यटकले बाली घुम्दा रहेछन् । हाम्रो जस्तो पर्यटनमा विविधीकरण भएको देशको अर्थतन्त्रमा पर्यटनको भूमिका ३–४ प्रतिशत मात्र भएकोमा नरमाइलो लाग्यो र सँगसँगै सम्भावनाको आभाले मनमा कतै चिहाएको अनुभूत पनि भयो ।

गरुणलाई आफ्नो राष्ट्रिय प्रतीक मान्ने इन्डोनेसिया खासमा ८७ प्रतिशतको हाराहारीमा मुस्लिम समुदाय रहेको देश हो । कुनै बेला मुस्लिम अतिवादीबाट प्रताडित बाली हाल ८६ प्रतिशत हिन्दुत्व बाँच्दोे रहेछ । तर अहिले निकै उदाहरणीय धार्मिक सहिष्णुता रहेको अनुभूत भयो ।

हामी नेपाली पनि बहुधार्मिक, बहुजातीय बहुसांस्कृतिक विशेषतामा उनिएर एक अर्कालाई सम्मान गर्छौँ । यो निकै गतिलो कुरा हो । एकताको आस्थामा धर्म, जात, संस्कृतिले खलल पुर्‍याउनु पनि त हुँदैन । बेकारमा विध्वंश मात्र निम्त्याउँछ ।

बालीका हरेक ठाउँ खास अनि अलग । भेषभूषा त्यस्तै अनुपम । हरेक संस्कृति अद्वितीय । तर पनि लगातार आफ्नै परिवेश जस्तो लागिरहेको । आफ्नोपनको आभास मिलिरहेको । कस्तो मिठो विरोधाभास…!

ठ्याक्कै वारिपट्टिको गुफालाई आलिङ्गन गर्न कोसौं परैदेखि हात लम्काएर किनारा छुनै लाग्दा छालले भाँजो हालेकाले हात खुम्च्याएर टुक्रुक्क बसेझैं अद्भूत तनाह लट मन्दिरलाई देख्दा लाग्यो– सुन्दरता हेर्नमै मजा छ ।

एक अर्कासँगको मिलनको प्यास मेट्ने साइत कुरेर वर्षौंदेखि हेराहेर गरिरहेका गुफा र मन्दिर कति माया लाग्दा । अनि पानीले पिट्दा पिट्दा क्षतविक्षत भएका थकित बढेमानका चट्टानहरू । हेरेर नअघाइने अनुपम दृश्य तनाह लट मन्दिर अनि सेरोफेरोको समुद्र ।

आगोले पूरै शरीर जलाएर पनि पाहुनालाई खुसी पार्न उफ्सम्म नभनी इन्डोनेसियाको संस्कृति पस्किरहेका नर्तक–नर्तकी युवाहरूसँगै गरेको क्रुज डिनर कम भाग्यशालीले गर्न पाउने अनुभव कहाँ थियो र ।

लहर मिलाएर समुद्रमाथि उडेका चराहरूसँगै जेनजी समुद्री छालहरू चिर्दै १२–१३ किलोमिटर पानीजहाजमा सुइँकुच्चा ठोकर अझै एक डेड घण्टा उकालो सडक कारले निलेपछि बल्ल कलात्मक केलिङकिङ बिच, ब्रोकन बिच अनि समुद्रमा हराएको चट्टाने भिर र अनौठो तरिकाले घुँगुर्किएको चुनढुङ्गाले इन्डियन ओसनको ब्लु डायमन्ड भनिने नुसा पेनिडालाई खुलाएको देख्न पाइयो । अनि, बाटैभरि फलफूलको जङ्गल । धर्तीमा स्वर्गको नमुना खाका कोरिएको हो कि जस्तो भान भयो ।

पशुपतिका बाँदरभन्दा पनि चञ्चले बदमास बाँदरहरूलाई ढुक्कले शरण मिलेको रहेछ उल्लुवाटु मन्दिरमा । समुद्री छालको लयमा पूर्ण रूपले हराउनै नपाइने । बाँदरहरूले ब्याग, चस्मा, झोला आदि पाए जे पनि टप्काइ हाल्ने । हाम्रै एक जना साथीको चस्मा चपाएर थुकेर फालिदियो ।

फेरि मन्दिरको बाहिरी भित्तामा टाँसिएको एउटा पोस्टरले आफ्नै परिवेश कोट्याइदियो । अङ्ग्रेजी भाषामा लेखिएको थियो, ‘महिनाबारी भएका महिलालाई प्रवेश निषेध ।’

सदियाँैदेखि चलेको नारी निषेधको राजनीतिबाट धेरथोर इन्डानेसिया पनि अछुतो त कहाँ रहेछ र ।

ठमेलकै मितिनीझैं लाग्ने ठाउँमा रहेको रामायाना होटलको कौसीबाट त्यहाँको खास परम्परा दर्शाउने घोडचडीको बाजागाजासहितको झाँकी आउँदा भक्तपुरको गाईजात्रा  मानसपटलमा भल्झली आयो ।

बालीको एउटा कुरा अचम्मको भिन्न लाग्यो, मन्दिरमा बाहिरी मान्छे दर्शन गर्न जानै  नपाइने, बाहिरबाट हेर्ने मात्र । अनि, अबिर–केसरी आदिले पूजा गर्ने त बिल्कुल होइन । भगवान वास्तवमा साह्रै ज्ञानी हुन् । आफ्नो धर्म, संस्कृति र शैैलीअनुसार जसरी जसले जहाँ सजाए पनि चुपचाप स्वीकार्ने ।

मान्छेझैं असन्तोषी भए कहाँ भगवान भइन्छ ? अनि भगवानको नाममा मान्छेको नाम राख्दा त्यति शुभ नमानिने रहेछ । विशेषगरी दुर्गा नाम राख्दा त धेरै चिड्चिडा हुन्छ भन्ने समेत मान्यता रहेछ । अरू त अरू बिहेसमेत हुन गाह्रो रहेछ ।

**** ****

हाम्रा कुम्ला–कुटुरा पुर्ना दाइको टिमले बसबाट निकालेर एयरपोर्टको छिर्न मिल्ने ठाउँसम्म ल्याइदियो । र, शुभ यात्राको शुभकामना दिँंदै बिदाइका हात हल्लाउनुभयो । ‘तरिमा कासिह्’  हामीले पनि पुर्न दाइकै भाषामा एकै लयमा धन्यवाद दियौँ । माइती आएकी चेलीलाई घर जाने बस चढाइदिन आएका दाजु जस्तै आफ्नोपनको आभास भइरहेको थियो, दुवैतर्फ ।

बालीको बसाइ अनि घुमाइ निकै खास र अवस्मरणीय रह्यो । सोचे जस्तो बिरानी र एकाकीले अचेटेन मलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?