+
+
Shares

पुर्खाको गाथा जोडिएको ‘माङ्गेन्ना’ र ‘माङ्गेन्ना यक’

याक्थुङ मुन्धुमले सामूहिकता, सहअस्तित्व, समग्रता र सम्पूर्णताको दर्शनलाई बोक्छ । यही भित्र माङ्गेन्ना मुन्धुम पनि आदिम पुर्खाको गाथासहित आफ्नो प्रतिष्ठालाई उँचो बनाउने संस्कारको रूपमा विकास भएको मानिन्छ ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८३ जेठ २३ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • याक्थुङ लिम्बू समुदायको प्रतिष्ठा र आत्मबल बढाउन वर्षमा एक वा तीन वर्षमा एक पटक माङ्गेन्ना संस्कार गर्ने परम्परा छ ।
  • लिम्बू समुदायमा हालसम्म ३१५ थरहरू पहिचान भए पनि पुर्खाको इतिहास र उद्गम थलो जोडिएको माङ्गेन्ना यक ७६ वटा मात्र छन् ।
  • एउटै माङ्गेन्ना यक भएका थरहरूबीच सामान्यतया विवाह नहुने भएकाले यो संस्कारले लिम्बू वंशको शुद्धता र पहिचानलाई स्थापित गर्छ ।

याक्थुङ लिम्बू समुदायको एउटा महत्वपूर्ण संस्कार हो, माङ्गेन्ना । यही माङ्गेन्ना संस्कारले याक्थुङ लिम्बू समुदायलाई अरू समुदायभन्दा फरक बनाएको छ । माङ्गेन्ना र माङ्गेन्ना यक मुन्धुम निर्देशित हुन्छ ।

याक्थुङ मुन्धुमले सामूहिकता, सहअस्तित्व, समग्रता र सम्पूर्णताको दर्शनलाई बोक्छ । यही भित्र माङ्गेन्ना मुन्धुम पनि आदिम पुर्खाको गाथासहित आफ्नो प्रतिष्ठालाई उँचो बनाउने संस्कारको रूपमा विकास भएको मानिन्छ ।

सामान्यतया: लिम्बू समुदायले आजसम्म मानिआएको र गरिल्याएको महत्वपूर्ण संस्कारमध्ये माङ्गेन्ना संस्कारलाई याक्थुङ लिम्बू समुदायले जीवनभर निरन्तरता दिँदै आएका हुन्छन् ।

हुन त याक्थुङ मौलिक संस्कारमा जन्मनुअघि आमाको गर्भमा रहँदा गरिने साप्पोक चोमेन (आमा र गर्भको बच्चाको सुस्वास्थ्यको कामना गर्ने संस्कार), याङ्दाङ फो:मा (न्वारान संस्कार), वयस्क भएपछि तेन्धाम मेखिम (विवाह संस्कार) सिवा थिम (व्यक्तिको मृत्यु भएपछि उसको आत्मालाई पुर्खासम्म पुर्‍याउने संस्कार), मेल्लुङ फुमा (सायमुन्द्री वाग्दात छुट्याउने) संस्कार पनि छन् । तर यी संस्कारहरू जीवनमा एक पटक कुनै पनि याक्थुङ लिम्बूले अनिवार्य रूपमा निरन्तरता दिँदै आएका छन् ।

तर, परम्परागत रूपमा मानिआएको र थामिल्याएको माङ्गेन्ना संस्कार भने वर्षमा एक पटक वा तीन वर्षमा एक पटक सम्पन्न गर्ने चलन छ । याक्थुङ मुन्धुम निर्देशित यो संस्कारमा व्यक्तिगत, पारिवारिक, सामाजिक र मनोवैज्ञानिक आदर्श मात्र छैन, शारीरिक, मानसिक, वौद्धिक र आध्यात्मिक चेतना जगाउँदै मान–सम्मान र प्रतिष्ठा प्राप्ति वा ‘चो?लुङ’ दर्शन पनि समेटिएको छ ।

एउटा याक्थुङ लिम्बूका लागि आफ्नो धरातल चिन्ने र चिनाउने मुख्य र अन्तिम रैथाने अलिखित दस्तावेज भनेको माङ्गेन्ना र माङ्गेन्ना यक मात्र हो । मूल जरा खोज्ने अन्य तरिका तपसिल हुन् ।

सरल भाषामा भन्ने हो भने यसको अर्थ शीर उठाउने अर्थात् मान प्रतिष्ठा जगाउने अनुष्ठानको रूपमा बुझ्न सकिन्छ । माङ्गेन्ना गर्नु वा शीर उठाउने अनुष्ठान गर्नु भनेको व्यक्ति, परिवार वा समाजको सकारात्मक हितमा बल, बुद्धि, सुयस, सौर्य, श्रीवृद्धिसहित सफलता प्राप्तिका लागि आत्मबल बढाउने अनुष्ठान गर्नु हो ।

यो अनुष्ठानसँग प्रत्यक्ष वा अप्रत्यक्ष व्यक्ति वा परिवार र समाजको मनोविज्ञान पनि जोडिएको छ । मनोविज्ञानको जुन पहेलीलाई मौलिक परम्परा र संस्कार संस्कृतिको रूपमा याक्थुङ लिम्बूहरूले प्राचीनकालमै पहिचान गरेर अहिलेसम्म निरन्तरता दिएका छन् । एउटा बुझ्नु पर्ने के हो भने, याक्थुङ लिम्बूका प्रत्येक मिङ्श्रा (कूल, घराना, वंश, थर) को आफ्नै आफ्नै माङ्गेन्ना मुन्धुम र माङगेन्ना यक हुन्छ । माङ्गेन्ना मुन्धुम र माङ्गेन्ना यक मिल्ने थरबीच आपसमा विवाह हुँदैन ।

याक्थुङ लिम्बूको शीर उठाउने वा प्रतिष्ठा जगाउने माङ्गेन्ना अनुष्ठान गर्दैमा कसरी उसको धरातलको पहिचान हुन्छ त भन्ने प्रश्न उब्जिन सक्छ । विधिपूर्वक माङ्गेन्ना अनुष्ठान सम्पन्न गर्ने काम साम्बा वा फेदाङ्माले गर्छन् । माङ्गेन्ना अनुष्ठान गरिदिने पुरोहितलाई लिम्बूले साम्बा, फेदाङ्मा भन्छन् ।

साम्बा, फेदाङ्माले जसको माङ्गेन्ना गरिँदैछ उसको कूलको वा पुर्खाको उद्गमस्थल र बसाइँसराइको इतिहास र सौर्य गाथा फलाक्दै शाखा–सन्तान विस्तार गरेको र उक्त पुर्खाले मानिल्याएको कुनै पनि चिह्न वा प्रतीकको वर्णन गर्छ । माङ्गेन्ना गर्नुपर्ने व्यक्तिको पुर्खा र उनीहरूको उद्गमस्थलबारे या त साम्बा, फेदाङ्मा, तुतु तुम्याहाङले या त परिवारको कुनै सदस्यले पुस्तौंपुस्तादेखि सुनिल्याएको आधारमा जाने–बुझेको हुन्छ । यसर्थ, पुर्खाले प्रारम्भिक चरणमा बसोबास गरेको स्थल र मानेको चिह्नलाई कदाचित भुल्ने वा बिर्सने छुट मुन्धुममा कल्पना गरिएको छैन ।

याक्थुङ इतिहास र मुन्धुमका जानकार अर्जुनबाबु माबुहाङ भन्छन्, ‘वास्तवमा याक्थुङ् लिम्बूहरूको ज्ञानको खोजी वा प्राप्ति चो?लुङ हो । हिजो पुर्खाहरूले बाँच्न पर्दा प्रकृतिसँग सामना गर्न गरे । ठूल्ठूला घटना घटे । ती भोगाइ नै संस्कारिक ज्ञानका रूपमा विद्यमान छन् । यस्ता महान प्राप्तिहरूलाई पुनर्ताजगी गराइरहने कार्य नै चो?लुङ चाङमा संस्कार हो ।’

उनका अनुसार लिम्बू जातिको मुन्धुमले प्रकृतिसँगको सम्बन्ध र भोगाइलाई वर्णन गर्दै आएको छ । त्यसभित्र लिम्बू जातिको जनजीविका, सामाजिक विकास र पर्यावरणीय ज्ञान र ऊर्जालाई पुनर्ताजगी गर्छन् । उनीहरूले मन्त्रमुग्ध भएर मदहोसमा चेतनालाई परिवर्तन गर्छन् । भौतिक र आध्यात्मिक संसारको मध्यस्थता गर्दै घर, परिवार र समाजबीचका इर्ष्या, डाह, गाली–सराप, दु:ख–बिमार, मानसिक असन्तुलन र नकारात्मक ऊर्जाहरू हटाउनमा मनोवैज्ञानिक अन्तरदृष्टि प्रदान गर्छन् । वंश, परिवार र सिंगो समाजमा शान्ति, सुव्यवस्था, दीर्घायु र समृद्धि निम्त्याउँछन् ।

उनी भन्छन्, ‘वास्तवमा मुन्धुम आस्था, विश्वाससँग मात्र सीमित नभएर जैविक ज्ञान, प्रथागत कानुन, सिपकला, श्रम र उत्पादनसँग सम्बन्धित छ, जुन लिम्बू जातिले नगरी र नमानी नहुने संस्कारिक कार्यहरू हुन् । यस कारण यो माङ्गेन्ना चो?लुङ मुन्धुम याक्थुङ लिम्बूहरूको जीवन पद्घति हो ।’

सरल भाषामा भन्ने हो भने कुनै पनि याक्थुङ लिम्बू थर बोकेका व्यक्तिका आदिम पुर्खाले कुनै एक निश्चित ठाउँमा पहिलो पटक झार–जंगल फाँडेर वा भस्मे खोरिया फाँडेर वा ओडार बनाएर बसोबास गरेको ठाउँ उसको समूहको माङ्गेन्ना यक हो ।

याक्थुङ लिम्बू समुदायले आफ्नो छोरी चेली अर्थात् लिम्बू नारीलाई पनि माङ्गेन्ना भनेर पुकार्ने गरिन्छ । याक्थुङ मुन्धुमी भाषामा ‘माङगेन’ भन्ने शब्द छ । यसको सामान्य भावानुवाद ईश्वर अर्थात् माङको शिद्धी शक्ति पाएर शीर उच्च भएको भन्ने हुन्छ । यही माङ्गेन शब्दको अर्को रूप माङ्गेन्ना हो ।

लिम्बूका मिङ्श्रा (थर)सँग जोडिन्छन् माङ्गेन्ना यक

माथि नै भनिसकियो, प्रत्येक लिम्बूको मिङ्श्रा (थर)को आफ्नै माङ्गेन्ना यक हुन्छ, जुन उनीहरूको पुर्खाको इतिहाससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुन्छ । यही माङ्गेन्ना यकबाट आफ्नो वा अर्को वंश भनि छुट्याउन सकिन्छ । तसर्थ, लिम्बू जातिको थर, वंशको पहिचान गर्ने वा चिनारीको हकमा मूल मेरुदण्डको रूपमा पुर्खाहरूले निर्माण गरेको यकलाई नै समग्रमा माङ्गेन्ना यक भनिन्छ ।

आदिम पुर्खाले ऊर्जाको केन्द्र बनाएको माङ्गेन्ना यक विनाको याक्थुङ लिम्बूको मिङ्श्रा वा त्यो थरको अस्तित्व हुँदैन । याक्थुङ लिम्बु समुदायका विभिन्न थरी (मिङ्श्रा)ले प्रकाशित गरेका वंशावलीअनुसार हालसम्म ३१५ थरहरू पहिचान भएका छन् । कतिपयले कम्तीमा ४०० थर भएको पनि बताउने गरेका छन् । तर हालसम्म माङ्गेन्ना यक भने ७६ वटा मात्र पहिचान भएका छन् ।

याक्थुङ लिम्बू वंशावलीविद् उत्तमकुमार लिङ्थेपका अनुसार थिबोङ याक्थुङ (दश लिम्बूवान) का वंश, थर र परिवार संख्या बढ्दै गएपछि एकै स्थानमा बस्ने ठाउँको अभाव भएकाले अन्यत्र बसाइँ सरेर गएको स्थानलाई पनि माङ्गेन्ना यकको रूपमा स्थापित भएको पाइएको छ ।

साङ्धुङगेहाङ सेरेङ लिङ्थेप लिम्बू वंशावलीमा प्रकाशित याक्थुङ लिम्बूका मिङ्श्रा (थर, वंश, घराना) र उनीहरूका माङ्गेन्ना यकअनुसार पान्थरको हाल याङ्वरक गाउँपालिका–२ फलैंचामा रहेको च्याङथापु माङ्गेन्ना यक लुङधुङलाई ६२ थरी लिम्बूहरूले आफ्नो पुर्खाले स्थपित गरेको साझा माङ्गेन्ना यक मान्ने गरेका छन् ।

चेङ्थापुलाई साझा माङ्गेन्ना यक मान्नेहरूमा मेन्याङ्बो, खिम्दिङ, आङ्बुहाङ, उसुक, खो?याङ र फालेछुवासहित इम्बुङ, इङवारम, कङलिबा, काङभा, कोहिबा, कुन्जारी, केय इजम, खाम्दाक, बोखिम, खिङ्बा, खुदाङ, चङ्सु ताम्लिङ, ताङ्जम्बा, ताप्मादेन, तावा, तुम्बाहाम्फे, तुम्याङ, थुप्पुको, नाम्दिङ्हाङ, परम (परा), पराङ्देन, फेन्जोताङ्लिङ, फेम्बु, बोखिम, माबोखिम, मादेन बोखिम, माइथाक, माङलेन, माङ्मु (माङ्मो), माङ्थुम्बो, मुरुम, यक्पाङ्देन, यरङ्वा, योङ्हाङ, योङ्या, लक्सम, लाबुङ, लक्सम्बा, लिङ्देन, लेचेन्जी (चेन्जी), लेखक्वा (खक्वा), साम्भ्यु, साप्ताङ्गु, सेम्भु, से?लिङ (सेलिङ), सिगु, इङ्वारम, माङ्धुम्बो, थुपुको, सिङ्थेवे, सुहाङ, हाङ्गेम्बा, हेल्लोक, हेम्ब्या थरीहरू रहेका छन् ।

माथि उल्लेखित थरहरूमध्ये मेन्याङ्बो, खिम्दिङ, आङ्बुहाङ, उसुक, खो?याङ र फालेछुवा तत्कालीन याङवरकका शासक थिन्दोलुङ खो?याहाङका सन्तति हुन् । फेन्जोताङ्लिङ, हाङ्गेम्बा, चङ्सु, मायुधाक, केय, लिङ्ज्याङ, कङ्लिवाहरू कोचोलाङ–मुदाकहाङका वंशका हुन् । यस्तै, पछिल्लो समयमा सिगु, इङ्वारम, माङ्धुम्बो, थुप्पुको, सिङ्थेवे थरी लिम्बूहरू एउटै वंशका मानिएका छन् ।

सामान्यतया एउटै माङ्गेन्ना यक भएका थरहरूबीच कुटुम्बेरी अर्थात् विवाह हुँदैन । तर यी ६२ थरी लिम्बूबीच विवाह हुने गरेकाले कसरी चेङ्थापु माङ्गेन्ना यक सबैको साझा माङ्गेन्ना यक हुन पुग्यो भन्ने खोजीको विषय बनेको छ ।

विभिन्न याक्थुङ मुन्धुम पुस्तकका सम्पादकका रूपमा रहेका प्राध्यापक हर्क इजमका अनुसार चेङ्थापु यकको आसपास बेघा (पेघा) थरी लिम्बूहरूको बसोबास छ । सम्भवत: उनीहरूको साख्खे माङ्गेन्ना यक हुन सक्छ । उनी भन्छन्, ‘यो पहिलैदेखि रणनीतिक स्थल भएकाले विभिन्न वंशका लडाकु लिम्बूहरू भेला भई भुटियाहरूलाई खेदाएर यहाँ लिम्बूहरूले जितको उत्सव मनाए । त्यसैको प्रतीकका रूपमा अहिले ६२ थरी लिम्बूले साझा माङ्गेन्ना यक मानेका हुन् ।’

यस्तै, हालको पान्थरको फेदेन नगरपालिका–४ मा पर्ने आम्बेप:ज सुम्जिरी सुम्हा?लुङ डाँडालाई आङ्देम्बे, इङ्वाबा, कुगे?नाम्बा, तुम्बापो, तुम्रोक, माखिम, लाओती, सम्बाहाम्फे, शेर्मा थरका लिम्बूले आफ्नो माङ्गेन्ना यक मान्ने गरेका छन् ।

तेह्रथुमको फेदाप गाउँपालिका–१ स्थित औंशीडाडाको पोक्लाबाङलाई आङ्बुङ, करुम्बाङ, पाङ्मा, खापुङ, सिंगक, चिखुबुङ, पङ्याङ्गु, तुम्बाहाम्फे, तेयुङ, निङ्लेकु, पन्धाक, पाङ्गेनहाङ, पाहिम, मुसाहाङ, हाङश्रोङ, हुक्पाचोङबाङ, मादेम्बाले माङ्गेन्ना यक मान्ने गरेका छन् ।

यस्तै इलामको देउमाइस्थित आगेजुङ कोक्मालाई फत्र, फालेलुङको आङ्थुप्पो यकलाई आङ्थुप्पो, फेदेनको तमाखेस्थित आप्ताङ्वा तिदाङ्वालाई लोरिङ्देन (लोवा), फियाक (फ्याक), ताप्लेजुङको फक्ताङ्लुङ–१ स्थित साउदेनको किधि यकलाई साङ्लाइङ र पुङ्लाइङका वंशज साउदेन, मैवाखोला २ ढुङ्गेसांघुस्थित पिरिङ्गे यकलाई ओख्राबु, फावेन, फागो चोङ्बाङ, माङ्देम्बा, सिङ्येम, तेम्बे, पाङ्मा, वनेम, यक्युक्पाले माङ्गेन्ना यकको रूपमा मानिल्याएका छन् ।

यस्तो माङ्गेन्ना यक लिम्बूका अरू धेरै मिङ्श्राका पनि आ–आफ्नै छन् । माङ्गेन्ना संस्कार मान सम्मान र प्रतिष्ठासँग जोडिएको हुन्छ भने माङ्गेन्ना यक पुर्खाको गाथा जोडिएको पवित्रस्थल मानेर याक्थुङ लिम्बूहरू सधैं गौरवान्वित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?