News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष र महिला कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनामा प्रहरी प्रशासनले पीडितको जाहेरी दर्ता गर्न आनाकानी गरेको आरोप लागेको छ ।
- चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रशासन र प्रहरीले आफ्नो कमजोरी नसच्चाए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
- रास्वपाका सांसद गोविन्द पन्थीले भने इस्माको घटनालाई सामान्य भन्दै यसलाई राजनीतिक रूपमा अतिरञ्जित गरिएको दाबी गरेका छन् ।
२४ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष, महिला कर्मचारी र शिक्षकहरूमाथि भएको दुर्व्यवहार प्रकरणमा प्रहरी–प्रशासनको भूमिका निन्दनीय रहेको भन्दै जिल्लाका चार राजनीतिक दलले गम्भीर आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाका पीडितहरूको जाहेरी दर्ता गर्न प्रहरी प्रशासनले आनाकानी गरेको आरोप लगाएका छन् ।
अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अघि नबढाएको तथा आन्दोलनरत महिलाहरूलाई झुक्याएर आरोपितहरूलाई रिहा गरेको दलहरूले आरोप लगाएका छन् ।
विज्ञप्तिमा २०८३ जेठ ८ गते सिमलटारीमा आयोजित आध्यात्मिक कार्यक्रममा सहभागी हुन जाने क्रममा इस्मा गाउँपालिकाकी उपाध्यक्ष, महिला कर्मचारी, शिक्षक तथा चालकमाथि अराजक समूहले पिछा गर्ने, बाटो रोक्ने, गालीगलौज गर्ने र चालकलाई लछारपछार गर्ने जस्ता गतिविधि भएको उल्लेख गरिएको छ ।
घटनामा न्यायको माग गर्दै आन्दोलनरत महिलाहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रदर्शन समेत गरेका थिए । महिलाहरूले दोषीमाथि तत्काल कानुनी कारबाही र निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
चार दलले आन्दोलनरत महिलाहरूको न्यायका लागि उठेको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र जिल्ला न्यायाधिवक्तालाई जिम्मेवार बनेर अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् ।
प्रशासन र प्रहरीले आफ्नो कमजोरी नसच्चाए संयुक्त रूपमा थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति खिलध्वज पन्थी, नेकपा एमालेका उपसचिव चक्रबन्धु भुसाल, नेकपाका संयोजक तेजिन्द्र सलामी मगर तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हरि न्यौपानेको हस्ताक्षर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको जिल्ला अधिवेशनमा गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोविन्द पन्थीले इस्मा घटनाबारे बोल्दै उक्त घटनालाई सामान्य भन्दै घटनालाई अतिरञ्जित गरिएको बताएका थिए । उनले सांसददेखि जिल्ला तहसम्म रास्वपालाई घेराबन्दी गर्ने प्रयास भएको दाबी गरेका थिए ।
उनको भनाइ अनुसार घटनालाई अनावश्यक रूपमा राजनीतिक रंग दिइएको र रास्वपा तथा आफ्नाविरुद्ध योजनाबद्ध रूपमा प्रचार गरिएको संकेत गरेका थिए ।
इस्मा घटनाको दोषीलाई कारवाहीको माग गर्दै महिला जनप्रतिनिधि र ४ संगठनका महिलाहरु प्रहरी प्रशासन कार्यालयमा प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया 4