News Summary
Generated by OK AI. Editorially reviewed.- इरानलाई लिएर अमेरिका र इजरायलबीच मतभेद बढिरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले इजरायलसँग जोडिएको काउन्टर–इन्टेलिजेन्स खतराको स्तर बढाएर गम्भीर बनाएको छ ।
- अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुबीच इरान र लेबनान रणनीतिको विषयमा गम्भीर मतभेद बढ्दै गएको विवरणहरू सार्वजनिक भएका छन् ।
- अमेरिकी सुरक्षा एजेन्सीहरूले यसअघि पनि जोनाथन पोलार्ड प्रकरण जस्ता विभिन्न घटनामा इजरायलको जासुसी गतिविधिलाई लिएर सतर्कता अपनाउँदै आएका थिए ।
२४ जेठ, काठमाडौं । अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै गएको छ । यसैबीच अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) भित्र इजरायलले अमेरिकी अधिकारी र ट्रम्प सरकारको आन्तरिक जानकारी जुटाउन जासुसी गरिरहेको आरोप लागेको छ ।
एनबीसी न्युज रिपोर्टअनुसार दुई वर्तमान र एक पूर्व अमेरिकी अधिकारीले पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले भर्खरै इजरायलसँग जोडिएको काउन्टर–इन्टेलिजेन्स खतराको स्तर बढाएर गम्भीर बनाएको बताएका छन् । यसलाई एजेन्सीको सबैभन्दा गम्भीर अलर्ट मानिन्छ ।
अमेरिका र इजरायल जस्ता अत्यन्त निकट सहयोगीहरूबीच यस्तो हुनु निकै असामान्य मानिन्छ । यद्यपि इजरायलले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इजरायली दूतावासले आफूले अमेरिकी अधिकारीहरूको जासुसी नगर्ने र आफ्ना गुप्तचर एजेन्सीहरूले सहयोगी नभई शत्रुहरूमाथि निगरानी राख्ने बताएको छ ।
फोन र कम्प्युटर प्रयोग गर्दैनन् अधिकारीहरू
काउन्टर–इन्टेलिजेन्स खतराको स्तर बढाउँदा सबैभन्दा बढी असर ती अमेरिकी अधिकारीहरूलाई पर्न सक्छ जो इजरायलको यात्रा गर्छन् वा इजरायली अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन्छन् । यद्यपि अमेरिका र इजरायलबीच गुप्तचर जानकारी आदानप्रदान गर्ने कार्य भने जारी रहनेछ ।
एक अमेरिकी अधिकारीले एनबीसीलाई बताएअनुसार अमेरिकाले आफ्ना वरिष्ठ अधिकारीहरूको इजरायल भ्रमणका क्रममा पहिलेदेखि नै विशेष सावधानी अपनाउँदै आएको छ । इजरायलमा रहेका अमेरिकी अधिकारीहरू आफ्नो फोन र ल्यापटप प्रयोग गर्दैनन् । उनीहरू बर्नर फोन अर्थात् प्रयोग गरेर फालिने फोन र विशेष कम्प्युटरको प्रयोग गर्छन् ।
धेरै पटक उनीहरू होटलका कोठा वा निगरानीको खतरा हुन सक्ने ठाउँहरूमा संवेदनशील विषयहरूमा छलफल गर्नेबारे पनि सचेत रहन्छन् । यसको कारण इजरायली गुप्तचर एजेन्सीहरूलाई जानकारी जुटाउने मामिलामा निकै आक्रामक मानिन्छ ।
यद्यपि अधिकारीहरूले खतराको स्तर अचानक बढाउनुपर्ने कुनै एउटा ठूलो घटना भने भएको थिएन । बरु, धेरै घटनाहरू र मूल्याङ्कनका आधारमा यो निर्णय लिइएको हो ।
यो विवाद इरानलाई लिएर ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच मतभेद बढ्दै गएको अवस्थामा यो विवाद आएको हो । अप्रिलमा भएको युद्धविरामपछि ट्रम्प इरानसँग एउटा ठूलो सम्झौताको प्रयासमा छन्, जबकि नेतन्याहु इरानले कुनै पनि सम्झौताको पालना नगर्ने दाबी गर्नै आक्रमणलाई निरन्तरता दिइरहेका छन् ।
यसैबीच लेबनानमा हिजबुल्लाहविरुद्धको सैन्य अभियानलाई लिएर पनि अमेरिका र इजरायलबीच मतभेदका खबरहरू बाहिर आएका छन् । रिपोर्टहरूका अनुसार हालै ट्रम्प र नेतन्याहुबीच फोनमा चर्को भनाभन पनि भएको थियो ।
पछि ट्रम्पले इजरायली प्रधानमन्त्रीलाई अपशब्द भनेको स्वीकार गरेका थिए । यसले दुई नेताहरूबीच पश्चिम एसियाको रणनीतिको विषयमा गम्भीर मतभेद रहेको अड्कलबाजीलाई थप बल दिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ३ जुनमा न्युयोर्क पोस्टको एक पडकास्टमा आफूले नेतन्याहुलाई अपशब्द भनेको खुलासा गरेका थिए ।
पहिले पनि खटपट
अमेरिका र इजरायल जतिसुकै मिल्ने मित्र मानिए पनि दुई देशबीच गुप्तचर स्तरमा अविश्वास र जासुसीको पुरानो इतिहास छ । अमेरिकी सुरक्षा एजेन्सीहरूले पहिले पनि कैयौँ पटक इजरायलको जासुसी गतिविधिलाई लिएर अलर्टको स्तर बढाइसकेका छन् र दुवैबीच ठूला विवादहरू भएका छन् ।
एउटा महत्वपूर्ण विवाद थियो सन् १९८५ को जोनाथन पोलार्ड प्रकरण । जोनाथन पोलार्ड अमेरिकी नौसेनाको गुप्तचर एजेन्सीमा काम गर्थे । सन् १९८५ मा उनीमाथि अमेरिकाका धेरै गोप्य दस्तावेजहरू इजरायललाई दिएको आरोप लाग्यो ।
पोलार्डले आफू इजरायललाई मद्दत गर्न चाहन्छु भने पनि अमेरिकाले यसलाई जासुसी मान्यो । अनुसन्धानका क्रममा उनी इजरायली दूतावासमा शरण लिने प्रयास गर्दै थिए, तर उनलाई पक्राउ गरियो ।
सन् १९८७ मा अमेरिकी अदालतले उनलाई आजन्म कारावासको सजाय सुनायो । यस घटनाले अमेरिका र इजरायलको सम्बन्धमा तनाव ल्याएको थियो ।
करिब ३० वर्ष जेलमा बसेपछि २०१५ मा पोलार्डलाई प्यारोलमा रिहा गरियो । २०२० मा उनी इजरायल गए, जहाँ उनको राष्ट्रिय नायकको रूपमा स्वागत गरियो । यो प्रकरण आज पनि अमेरिकामा कुनै अमेरिकी नागरिकले सहयोगी देशका लागि जासुसी गरेको सबैभन्दा ठूला जासुसी काण्डहरूमध्ये एक मानिन्छ ।
अर्को घटना हो सन् २००८ को बेन–अमी कादिश प्रकरण । बेन–अमी कादिश अमेरिकी सेनाका लागि काम गरिसकेका एक मेकानिकल इन्जिनियर थिए । सन् २००८ मा उनीमाथि १९८० को दशकमा अमेरिकाका धेरै गोप्य दस्तावेजहरू इजरायललाई दिएको आरोप लाग्यो ।
अमेरिकी अनुसन्धान एजेन्सीहरूका अनुसार यी दस्तावेजहरूमा मिसाइल रक्षा प्रणाली, लडाकु विमान र आणविक हतियारसँग जोडिएका संवेदनशील जानकारीहरू समावेश थिए । कादिशले यो जानकारी एक इजरायली सम्पर्क व्यक्तिलाई सुम्पेको आरोप थियो ।
पछि कादिशले आरोप स्वीकार गरे र २००९ मा उनलाई सजाय सुनाइयो । यद्यपि, उनको उमेरलाई मध्यनजर गर्दै उनलाई जेल पठाइएन, बरु जरिवाना र निगरानी जस्ता सजाय दिइयो ।
त्यस्तै, सन् २०१९ को स्टिङ्ग्रे जासुसी विवाद । सन् २०१९ मा अमेरिकी मिडियामा एउटा रिपोर्ट आयो, जसमा ह्वाइट हाउस र वासिङ्टनका केही संवेदनशील इलाकाहरू वरपर शङ्कास्पद ‘स्टिङ्ग्रे’ डिभाइसहरू फेला परेको दाबी गरिएको थियो । यी उपकरणहरू नक्कली मोबाइल टावरको रूपमा काम गरेर वरपरका मोबाइल फोनहरूबाट जानकारी जुटाइरहेका थिए ।
अनुसन्धान एजेन्सीहरूलाई यी उपकरणहरूको पछाडि इजरायल हुन सक्ने र यसको उद्देश्य राष्ट्रपति ट्रम्प र उनका निकट अधिकारीहरूको गतिविधि र कुराकानीमा निगरानी राख्नु रहेको आशङ्का थियो ।
यद्यपि, अमेरिकी सरकारले कहिल्यै पनि सार्वजनिक रूपमा इजरायल दोषी साबित भएको कुरा बताएन । अर्कोतर्फ, इजरायलले आरोपहरूलाई पूर्णरूपमा अस्वीकार गर्दै आफूले अमेरिकामा जासुसी नगर्ने स्पष्ट पारेको थियो ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4