+
+
Shares

जलवायु र पर्यटनका मुद्दा सँगसँगै लैजान विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र वातावरणीय विनाशले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेकाले दुवै विषयलाई एकैसाथ सम्बोधन गर्दै समाधान खोज्नुपर्ने उनीहरूको धारणा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सँगसँगै राखेर सम्बोधन गर्ने बताउनुभयो ।
  • जलवायुविद्हरूले जलवायु परिवर्तनका कारण पर्वतारोहण, हिमनदी र स्थानीय जीविकोपार्जनमा गम्भीर असर परेको औंल्याएका छन् ।
  • विश्व वातावरण दिवसका अवसरमा 'साथसाथै' संस्थाले जलवायु न्याय र दिगो पर्यटन विकासका विषयमा काठमाडौंमा बहस कार्यक्रम आयोजना गरेको छ ।

२४ जेठ, काठमाडौं । वातावरण र पर्यटन क्षेत्रका विज्ञहरूले यो दुवै विषयहरूलाई सँगसँगै अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

जलवायु परिवर्तन र वातावरणीय विनाशले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेकाले दुवै विषयलाई एकैसाथ सम्बोधन गर्दै समाधान खोज्नुपर्ने उनीहरूको धारणा छ ।

विश्व वातावरण दिवसका अवसरमा जलवायु न्याय र पर्यटन विकासमा केन्द्रित संस्था ‘साथसाथै’ले आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्दालाई सँगसँगै राखेर सम्बोधन गर्ने बताए ।

‘जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन, यो पर्यटन, सम्पदा लगायतका क्षेत्रसँग पनि जोडिएको छ,’ सचिव निरौलाले भने।

सचिव निरौलाले जलवायु परिवर्तनले वातावरण र मानव जीवनशैलीमा पारेको असरबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी जलवायु तथा वातावरणविद्हरूले जलवायु परिवर्तनका स्थानीय प्रभावलाई विश्वव्यापी नीतिमा समेट्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए।

कृषि, वन तथा वातावरण मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा याक–चौंरी पालन, स्थानीय जीवनशैली तथा उत्पादकत्व प्रभावित भएको बताइन्। शिवाकोटीले जलवायु परिवर्तनको प्रभावबारे कृषि क्षेत्रमा केही अनुसन्धान भए पनि पशुपन्छी क्षेत्रमा यसको असरबारे थप अध्ययन आवश्यक रहेको बताइन्।

राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका सहायक राष्ट्रिय निर्देशक तथा जलवायु विज्ञ विजय सिंहले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो वायु प्रदूषण विश्वव्यापी चुनौतीका रूपमा देखापरेको बताए ।

उनले शून्य कार्बन उत्सर्जन रणनीतिसहित अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै यूएनडीपीको ध्यान त्यसैमा केन्द्रित रहेको बताए।

साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले हिमालय क्षेत्रमा बढ्दो विपद्, जलवायु प्रभाव र स्थानीय जीविकोपार्जनका चुनौती उजागर गर्न संस्था सक्रिय रहेको बताइन्।

उनले विगत पाँच वर्षदेखि पर्वतीय क्षेत्रमा महिला नेतृत्व प्रवर्द्धन गर्दै जलवायु न्याय, दिगो पर्यटन, स्वच्छ ऊर्जा र समुदायमा आधारित समाधानलाई प्राथमिकता दिँदै आएको जानकारी दिइन्।

सगरमाथा आरोही तेन्जिङ डेभिड शेर्पाले जलवायु परिवर्तनका कारण पर्वतारोहण गतिविधि प्रभावित भएको र यसले पर्वतारोहणका लागि आउने पर्यटकमा समेत नकारात्मक असर पारेको बताए।

हिमनदी विज्ञ डा.अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधतामा आएको संकटका कारण पृथ्वी तथा वायुमण्डलको तापक्रम बढ्दै गएको बताए।

उनका अनुसार जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, जमिनमुनिको स्थायी हिमयुक्त माटो (पर्माफ्रस्ट) पग्लिने तथा भू-क्षय बढ्ने समस्या देखिएको छ, जसले मानव तथा जीवजन्तुको जीवनमा जोखिम थपेको छ।

उनले सन् २०१२ देखि २०२३ सम्म हिमनदी विस्फोटका घटनाबाट ठूलो प्राकृतिक, भौतिक तथा मानवीय क्षति भएको जानकारी दिए।

रास्वपाकी सचिवालय सदस्य सरिताश्री ज्ञवालीले वातावरणीय क्षति न्यूनीकरणका लागि प्लास्टिकको प्रयोग निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?