News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टीको व्यक्तिगत वा राजनीतिक लडाइँ नरहेको बताए ।
- सचेतक परियारले रास्वपाको मुख्य संघर्ष समाजमा व्याप्त गरीबी, असमानता, विभेद, भ्रष्टाचार र बेरोजगारीविरुद्ध केन्द्रित रहने स्पष्ट पारे ।
- उनले आगामी स्थानीय तथा प्रादेशिक निर्वाचन लक्षित गर्दै धनकुटालाई घण्टीमय बनाउने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरे ।
२४ जेठ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टीको अब कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ नरहेको बताएका छन् । उनका अनुसार गरिबी, असमानता, भ्रष्टाचार र बेरोजगारीविरुद्ध रास्वपाको संघर्ष जारी रहनेछ ।
रास्वपा धनकुटाको जिल्ला अधिवेशनलाई आइतबार टुँडिखेलमा सम्बोधन गर्दै परियारले पुराना दलहरू अझै पनि पुरानै सोच, अहंकार र अस्वस्थ प्रतिस्पर्धामा अल्झिएको आरोप लगाए।
‘जनताबाट पटक–पटक दण्डित भइसकेका पुराना दलहरूसँग अब हाम्रो कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ छैन,’ उनले भने, ‘तिनीहरूलाई गाली गरेर वा उनीहरूसँग प्रतिस्पर्धा गरेर समय खेर फाल्ने छुट हामीलाई छैन । नेपाली जनताले उनीहरूको प्रवृत्तिको फैसला गरिसकेका छन् ।’
उनले व्यवस्था परिवर्तनका नाममा नागरिकको अवस्था यथावत् राख्ने बिचौलिया संयन्त्रविरुद्ध पनि रास्वपा संघर्षरत रहेको बताए। ‘हामी गाली गरेर होइन, काम गरेर देश बदल्न आएका हौँ। आश्वासनको खेती गर्न होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने।
परियारले रास्वपाको मुख्य लडाइँ समाजभित्र जरा गाडेर बसेको गरिबी, असमानता, विभेद, भ्रष्टाचार र बेरोजगारीविरुद्ध रहेको बताए। उनले धनकुटाका किसानले उत्पादन गरेको सुन्तला, तरकारी र दूधको उचित मूल्य नपाउँदासम्म तथा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहँदासम्म आफ्नो संघर्ष जारी रहने उल्लेख गरे।
‘सामान्य उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य नभएसम्म र राज्यको ढुकुटी लुट्ने भ्रष्ट प्रवृत्ति कायम रहुञ्जेल हाम्रो लडाइँ रोकिने छैन,’ उनले भने।
परियारले आगामी स्थानीय तह तथा प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै धनकुटालाई ‘घण्टीमय’ बनाउने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरे। उनले धनकुटाबाट नयाँ राजनीतिक युगको सुरुवात गर्ने जिम्मेवारी रास्वपाका नेता–कार्यकर्ताको काँधमा आएको दाबी गरे।
प्रतिक्रिया 4