+

वीरमा महिनामा ३०–४० ब्रेन ट्युमर शल्यक्रिया, अब एक महिनासम्म निःशुल्क

२०८३ जेठ  २५ गते १३:१९ २०८३ जेठ २५ गते १३:१९

तथ्यांकअनुसार उपचारमा आएका बिरामीमध्ये पुरुष ५०.०७ प्रतिशत र महिला ४९.९३ प्रतिशत रहेका छन्

वीरमा महिनामा ३०–४० ब्रेन ट्युमर शल्यक्रिया, अब एक महिनासम्म निःशुल्क

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले लआगामी एक महिनासम्म बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा दिने भएको छ।

२५ जेठ, काठमाडौं । वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी)ले आगामी एक महिनासम्म ब्रेन ट्युमरका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा दिने भएको छ ।

सोमबार विश्व ब्रेन ट्युमर दिवसको अवसरमा अस्पतालले अबको एक महिनासम्म दर्ता हुने बिरामीको शल्यक्रिया शुल्क मिनाहा गर्ने घोषणा गरेको हो । वीर अस्पतालले सोमबार बिहान ब्रेन ट्युमर सम्बन्धी जनचेतनामूलक र्‍याली आयोजना गरेको थियो ।

यसपछि आयोजित कार्यक्रममा नेपालमा न्युरोअन्कोलोजी सेवाको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै डा. चिरधाम बुढाथोकीलाई ‘च्याम्पियन अफ न्युरो अन्कोलोजी केयर २०२६’ सम्मान प्रदान गरियो ।

अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झाले समयमै उपचार पाए धेरै बिरामीको जीवन बचाउन सकिने बताए । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका झा.ले यो दिवसको अवसरमा हरेक वर्ष यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए।

उनका अनुसार वीर अस्पतालमा हरेक महिना ३० देखि ४० वटा ब्रेन ट्युमरको शल्यक्रिया हुने गरेको छ । सामान्य अवस्थामा यस्ता शल्यक्रियाका लागि बिरामीले एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।

एक वर्षमा करिब ३ हजार बिरामीले पाए उपचार

यसै अवसरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले २०८१ र २०८२ को राष्ट्रिय बहुकेन्द्री ब्रेन ट्युमर तथ्यांक पनि सार्वजनिक गरेको छ । नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट संकलित तथ्यांकअनुसार २०८२ मा करिब ३ हजार ब्रेन ट्युमरका बिरामीले उपचार सेवा लिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १५.४ प्रतिशतले बढी हो ।

प्रत्येक वर्ष करिब २०० देखि ३०० को हाराहारीमा थप बिरामी उपचारको दायरामा आउने क्रम रहेको पनि तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार उपचारमा आएका बिरामीमध्ये पुरुष ५०.०७ प्रतिशत र महिला ४९.९३ प्रतिशत रहेका छन् । बिरामीको औसत उमेर ४६.३२ वर्ष रहेको तथा ३० देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा बढी बिरामी देखिएका छन् ।

गम्भीर अवस्थाका बिरामी बढ्दै

अध्ययनले ‘ग्लियोमा’ नेपालमा सबैभन्दा धेरै देखिने ब्रेन ट्युमर रहेको देखाएको छ । २०८२ मा उच्च–ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । चिकित्सकहरूका अनुसार यसले धेरै बिरामी रोग जटिल बनेपछि मात्र उपचारका लागि अस्पताल पुग्ने प्रवृत्ति देखाउँछ ।

त्यस्तै, मेनिन्जियोमाको अनुपात बढेको छ भने ग्रेड–३ मेनिन्जियोमाका बिरामीको संख्या घटेको तथ्यांकले देखाएको छ । बागमती प्रदेशबाट सबैभन्दा धेरै बिरामी उपचारका लागि आएको अध्ययनमा उल्लेख छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ सेवा तथा पहुँच अझै सीमित रहेको औँल्याइएको छ ।

टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह

प्रा.डा. झाले लगातार टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, छारे रोगजस्ता लक्षण देखिने, दृष्टि कमजोर हुने, सुन्न समस्या हुने वा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आग्रह गरे।

उनले प्रारम्भिक चरणमै रोग पत्ता लागे उपचारको सफलता दर उल्लेखनीय रूपमा बढ्ने बताए । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले नेपालमै जटिल ब्रेन ट्युमरको आधुनिक उपचार सम्भव बनाउन हाइब्रिड अपरेटिङ रुम, रेडियोसर्जरी मेसिन तथा इन्ट्रा–अपरेटिभ ट्युमर फ्लोरेसेन्स प्रविधिको आवश्यकता रहेको पनि औँल्याएको छ ।

ब्रेन ट्युमर वीर अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय