News Summary
Generated by OK AI. Editorially reviewed.- दरबार रोधी क्लबले जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा आफ्नो १८औँ वार्षिकोत्सव विशेष सांगीतिक उत्सवका साथ मनाउने भएको छ ।
- क्लबका सञ्चालक सुनिल कुवँरले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूलाई हरेक वर्ष न्यूनतम ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
- सञ्चालक सुनिल कुवँरले भने, ‘अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबले कमाएको केही हिस्साबाट न्यूनतम ५० हजार रुपैयाँ सडकदेखि संघर्षरत र दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्नेछौँ ।’
काठमाडौँ । दरबार रोधी क्लबले १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ । जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्सस्थित उक्त रोधी घरमा आयोजना हुने तीन दिने विशेष सांगीतिक उत्सवमा दुर्गेश थापादेखि टीका सानुसम्मका कलाकारले प्रस्तुति दिने भएका छन् ।
वार्षिकोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारको हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणासमेत गरेको छ ।
सञ्चालक सुनिल कुवँरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । कलाकार र कर्मचारीको अथक मेहनतले १८औँ वर्षसम्म आइपुग्न सफल भएको बताउँदै उनले भने, ‘अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबले कमाएको केही हिस्साबाट न्यूनतम ५० हजार रुपैयाँ सडकदेखि संघर्षरत र दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्नेछौँ ।’
तीन दिनसम्म चल्ने वार्षिकोत्सवको सांगीतिक मेलामा पहिलो दिन जेठ २९ गते प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति हुनेछ ।
दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्तारानी परियारले दर्शकलाई नचाउनेछन् । जेठ ३१ गते विश्व दोङ र टीका सानुले माहोल तताउनेछन् । यो उत्सव तीनै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म चल्नेछ, जहाँ दर्शकले सांगीतिक मनोरञ्जनका साथै विशेष छुट र सहुलियतको सुविधा समेत पाउने सञ्चालक कुँवरले जानकारी दिए ।
प्रतिक्रिया 4