News Summary
Generated by OK AI. Editorially reviewed.- कल्पनाको संसारमा लामो समय हराएर वास्तविक जीवनमा बाधा पुग्ने मानसिक अवस्थालाई वैज्ञानिक भाषामा मालेड्याप्टिभ डे–ड्रिमिङ वा खराब दिवास्वप्न भनिन्छ।
के तपाईं कहिल्यै कल्पनामा हराउनुभएको छ ? जहाँ सबै कुरा तपाईंले चाहेजस्तै हुन्छ । आफूले कुनै सफलता पाएको कल्पना, कसैसँग प्रेममा परेको कल्पना आदि ।
खुला आँखाले देखेका यी सपनाहरूले भावनात्मक सन्तुलन कामय राख्ने र नयाँ सोच प्रदान गर्ने काम गर्छन् ।
तर जब यी कल्पनाहरू वास्तविकता भन्दा बढी नै आकर्षक हुन्छन् र तपाईं तिनीहरूबाट बाहिर निस्कन सक्नुहुन्न त्यतिबेला परिस्थिति जटिल बन्न सक्छ ।
यसरी कल्पनामा हराउनेहरूका लागि वास्तविकता जस्तै यो अर्को समानान्तर नयाँ संसार बन्छ । उनीहरूलाई कल्पनाको संसारसँगै बाँच्ने बानी परेको हुन्छ र यसबाट उम्किन सक्दैनन् । यो अवस्थालाई वैज्ञानिक भाषामा ‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ भनिन्छ । अर्थात यसलाई ‘खराब दिवास्वप्न’ पनि भन्न सकिन्छ ।
जब ‘डे-ड्रिमिङ’ समस्या बन्छ
यदि तपाईं कल्पनाहरूको संसारबाट बाहिर नै आउन सक्नुभएन भने के हुन्छ त ?
यो समस्या यस्ता व्यक्तिहरूलाई हुन्छ, जो ‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ को स्थितिबाट गुज्रिरहेका हुन्छन् । यस्ता मानिसले आफू जागा भएको आधा भन्दा बढी समय कल्पनामै बिताउँछन् ।
उनीहरूले आफ्नो मनमा अति जटिल र विस्तृत कथाहरू तथा पात्रहरू सिर्जना गरिरहेका हुन्छन् ।
‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ को गम्भीर अवस्थामा पुगेका मानिसहरू दिनको १२ घण्टासम्म पनि यसरी कल्पनाको संसारमा हराउन सक्ने अमेरिकी मनोचिकित्सक र अनुसन्धानकर्ता कोलिन रोस बताउँछन् ।
तिनीहरूका कथाहरू केही वर्षसम्म पनि रहन सक्छन् । सुन्दा यिनीहरू राम्रो र आकर्षक लाग्न सक्छ । यी मानिसहरू आफ्नो कल्पनामा यति हराउँछन् कि यसले दैनिक जीवन प्रभावित हुन्छ र धेरै समस्याहरू निम्तिन थाल्छन् ।
हामीलाई सुन्दा यो समस्या दुर्लभ मात्रै होला भन्ने लाग्न सक्छ तर यो त्यति दुर्लभ समस्या नभएको मनोचिकित्सक तथा अनुसन्धानकर्ता कोलिन रस बताउँछन् । ‘यो जस्तो देखिन्छ, त्यति दुर्लभ छैन’ उनी भन्छन्, ‘लगभग २ देखि ४ प्रतिशत वयस्कहरू यसबाट प्रभावित हुन सक्छन् ।’
त्यसोभए यस्तो बानी भएको व्यक्तिलाई यो आफ्नो दैनिक जीवनकै समस्या भइरहेको छ भन्ने कुरा कसरी थाहा हुन्छ त ? यसको उपचार कसरी गर्न सकिन्छ ?
डे–ड्रिमिङ : एक सामान्य प्रक्रिया
स्वभाविक रूपमा दिवास्वप्न देख्नु नराम्रो नभएको मनोचिकित्सक रस बताउँछन् । यसको विपरीत, यदि कोही कल्पनाहरूमा रमाउन सक्दैन भने उसका लागि त्यो नराम्रो हुन सक्छ । कल्पनाको संसारमा हराउनु सामान्य मानसिक गतिविधि मानिन्छ, जसमा लगभग सबैजना संलग्न हुन्छन्।
रसका अनुसार कल्पनाको संसारमा रमाउनुका धेरै फाइदाहरू छन् । यसले भावनाहरूलाई सन्तुलनमा राख्न मद्दत गर्छ, अरूलाई बुझ्ने हाम्रो क्षमता बढाउँछ, र रचनात्मकतालाई बढावा दिन्छ । यसले हामीलाई दिक्क लाग्ने अवस्था हटाउन र जीवनका अनुभवहरूमा अर्थ खोज्न पनि मद्दत गर्छ ।
हामी जागा रहेको समयको करिब ३० देखि ५० प्रतिशत मानसिक गतिविधि यस खालको कल्पनामा खर्च हुने कुरा अनुसन्धानले देखाएको छ । त्यस्ता कल्पनाहरू त्यो समय हामीले गरिरहेका कामसँग सम्बन्धित हुँदैनन् ।
सोचाइमा हराउनु कुन अवस्थामा समस्या बन्छ ?
यो कुरा बुझ्नका लागि डे–ड्रिमिङ र ‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ को फरक बुझ्नुपर्ने मनोचिकित्सक रस बताउँछन् ।
उनका अनुसार समान्य डे–ड्रिमिङ अर्थात दिवास्वप्नमा गहिरो रूपमा डुब्ने र चाहेका बेला सजिलै निस्कने अवस्था हुन्छ । तर गहिरो रूपमा डुबेपछि यसबाट बाहिर निस्कन नसक्ने अवस्था कष्टकर हुन्छ । यही नै ‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ अर्थात खराब दिवास्वप्न हो ।
‘यसले दैनिक जीवनमा काम गर्ने तपाईंको क्षमतामा बाधा पुर्याउँछ । तैपनि तपाईं यो गर्न जारी राख्नुहुन्छ किनभने यो लतजस्तो बनिसकेको हुन्छ’ रस भन्छन् ।
जब त्यस्ता व्यक्तिहरू अन्ततः आफ्नो सपनाको संसारबाट बाहिर निस्कन्छन्, तब तिनीहरूले यस्ता कल्पनाहरू बेकार थिए र यसले समय बर्बाद गर्यो भन्ने कुरा महसुस गर्छन् ।
तैपनि, यो बानीले यति गहिरो रूपमा जरा गाडेको हुन्छ कि तिनीहरू फेरि उही चक्रमा पर्छन् ।
कसरी सुरु हुन्छ यो बानी ?
खराब दिवास्वप्नको अवस्था बुझ्न, मनोचिकित्सक रसले एक महिला कायला बोर्चार्ड्सको अनुभवहरू सुनाउँछन् ।
कायलाले लगभग ४ वर्षको उमेरदेखि आफ्नो दिमागमा ‘अर्को संसार’ सिर्जना गर्न थालिन् ।
पछि, जब उनी नयाँ स्कूलमा सरिन् र अन्य बच्चाहरूले उनको बोलीमाथि मजाक उडाए । त्यसपछि उनमा यो बानी झनै तीव्र भयो ।
उनको कल्पनाको संसार उनका लागि सुरक्षित थियो । त्यो संसारमा कसैले उनको मजाक उडाउँदैनथे । यस संसारमा बुनिएका कथाका पात्रहरूले कायलाको सम्मान गर्थे । उनी घण्टौं सोचेर यस्तो संसारमा हराउने गर्थिन्।
यो बानीलाई कुनै खानेकुरा धेरै खाइरहन मन लाग्ने र बारम्बार सामाजिक सञ्जालमा आँखा डुलाइरहने बानीसँग दाँजेर हेर्दा पनि हुने रस बताउँछन् ।
‘यो यस्तो बानी हो मानौ यी कुराहरू बारम्बार गर्ने इच्छा लागिरहन्छ ।’
000
कोही व्यक्ति आफ्नो कल्पनाको नियन्त्रमा परेपछि समस्या सुरु हुने इजरायलको हाइफा विश्वविद्यालयमा क्लिनिकल मनोविज्ञानका प्राध्यापक एली सोमर बताउँछन् ।
‘समस्या तब सुरु हुन्छ जब एक व्यक्तिले आफ्नो कल्पनालाई नियन्त्रण गर्दैन, बरू कल्पनाले त्यो व्यक्तिलाई नियन्त्रण गर्न थाल्छ’ एली भन्छन् ।
उनले यो अवस्थालाई ‘दुर्लभ दिवास्वप्न’ को रूपमा प्रस्तुत गरे । उनी विगत २० वर्षदेखि यसको अनुसन्धान गरिरहेका छन् ।
खराब दिवास्वप्न भएका लगभग ८० प्रतिशत मानिसहरू प्रायः कल्पनाको संसारमा डुब्नलाई मद्दत गर्ने खालका गतिविधि गर्ने गरेको प्रोफेसर एली सोमर बताउँछन् । अन्जानमै उनीहरू यताउता टहलिने, संगीत सुन्ने जस्ता काम गरिरहेका हुन्छन् ।
बोर्चार्ड्सले कल्पनाको संसारमा यति धेरै समय बिताउँथिन् कि उनले बिस्तारै आफ्नो सामाजिक अन्तर्क्रिया कम गरिन् र आफूलाई सम्बन्धबाट टाढा राखिन्। यसले उनको एक्लोपन बढायो, जसले गर्दा संकोच र पश्चातापको चक्र निम्त्यायो ।
बोर्चार्ड्सले जागिरमा कहिल्यै पदोन्नति प्राप्त गर्ने प्रयास पनि गरिनन् । यो बानीले उनलाई प्रगतिबाट रोकिरहेको थियो।
उनलाई कल्पनाको संसार नै वास्तविक संसार भन्दा राम्रो लागिरहेको थियो । कल्पनाको संसारमा उनले कुनै मेहनत नगरीकन सफलता पाइरहेकी हुन्थि्न । यही कारण उनी वास्तविक संसारमा साँच्चिकै मेहनत गरेर पदोन्नति प्राप्त गर्ने प्रयासतिर लाग्दै लागिनन् ।
‘४० वर्षको उमेरमा म काममा प्रवेश गर्ने स्तरकै पदमा काम गरिरहेको थिएँ किनभने मैले कहिल्यै पदोन्नति प्राप्त गर्ने प्रयास गरिन’ उनी भन्छि्न् ।
बोर्चार्ड्सको तर्क अर्थपूर्ण रहेको क्लिनिकल मनोवैज्ञानिक वान्डा फिचेरा बताउँछिन् । ‘कल्पना गर्नुहोस् यदि तपाईं आफ्नो मनपर्ने टिभी कार्यक्रमको मुख्य पात्र हुनुहुन्छ, र यदि तपाईंको वास्तविक जीवन त्यति रोमाञ्चक छैन भने, तपाईं यसलाई कसरी छोड्न सक्नुहुन्छ ?’
यदि कुनै व्यक्तिको भावनात्मक आवश्यकताहरू पूरा भइरहेका छैनन् भने, कल्पनाको संसारमा डुब्दा उनीहरूलाई ती आवश्यकताहरू पूरा भइरहेको महसुस गर्न मद्दत गर्ने क्लिनिकल मनोवैज्ञानिक फिचेराको भनाइ छ ।
उदाहरणका लागि, त्यस्ता व्यक्तिहरू आफ्नो सपनामा धेरै वास्तविकता महसुस गर्छन्, प्रायः प्रेम पाउँछन् वा आफूलाई नायक रूपमा महसुस गर्छन् ।
मारियाको कथा
पूरा नाम बताउन नचाहने मारिया पनि ‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ को समस्याबाट गुज्रिएकी व्यक्ति हुन् । उनले आफ्ना अनुभवहरू सेयर गरेकी छिन् ।
मारिया प्रायः आफूलाई स्टेजमा उभिरहेको र तलबाट धेरै मानिसहरूले हेरिरहेको कल्पना गर्छिन्, । उनी सफल छिन् र सबैले आफूलाई चिन्छन् भन्ने कल्पनामा उनी रमाउँथिन् ।
मनमा एक प्रकारको लज्जा र आफूमा कुनै कमीको महसुस गर्ने व्यक्तिमा यस खालको समस्या हुन सक्ने क्लिनिकल मनोवैज्ञानिक वान्डा फिशेरा बताउँछिन् ।
‘सायद म हुनुपर्ने जति राम्रो छैन’ वा ‘मानिसहरूले म जस्तो छु त्यस्तै अवस्थामा मलाई माया गर्दैनन्’ वा ‘म जस्तो छु, त्यो बाहिर देखाउन सक्दिन’ भन्ने लाग्ने व्यक्ति कल्पनाको संसारमा रमाउन खोज्ने फिशेराको भनाइ छ ।
‘यी कल्पनाहरूमा सधैं सम्बन्ध र संलग्नता समावेश हुन्छन् । यसले एक्लोपन कम गर्ने गहिरो इच्छा देखाउँछ’ फिशेरा भन्छिन् ।
सानोमा आफूले धेरै एक्लोपनको महसुस गर्ने गरेको मारियाले स्वीकार गरेकी छिन् । उनी संगीत सुन्दै घन्टौंसम्म यताउता घुमिरहन्थिन् । उनी कल्पनाको संसारमा हराइरहेकी हुन्थिन् ।
‘यसले पूरै ध्यानलाई खिचिरहेको हुन्छ अर्थात एक खालको भिन्नै समानान्तर संसार यसमा हुन्छ’ मारिया भन्छिन् । उनका आमाबुबा र शिक्षकले उनको समस्या पहिल्याउन सकेनन् ।
यसले उनलाई पढाइमा बाधा पार्थ्यो । उनी राम्रो पढ्न सक्दिनथिन् । अरूले उनलाई ‘यो पढ्न मन गर्दिन अल्छी छे’ भन्थे ।
मारियाले मनमा अनेकौं कथा र पात्रहरूको सिर्जना गर्थिन् । यसमा कोही पात्र पूरै काल्पनिक हुन्थे भने कोही वास्तविक व्यक्तिबाट प्रेरित पात्र हुन्थे । यस्ता कथा र पात्रहरूले उनको मनमा पूरा एक वर्षसम्म डेरा जमाएर बस्थे ।
यसले धेरै समय खेर गइरहेको उनले महसुस गरिरहेकी थिइन् । ठूली भएपछि मात्रै उनलाई यो समस्याको बारेमा जानकारी भयो । यस तरिकाले सोच्ने व्यक्ति आफू एक्लै छैन भन्ने थाहा पाउँदा मारियालाई निकै राहत महसुस भएको थियो । नत्र उनले यस्तो अनौठो बानी भएको व्यक्ति संसारमा म मात्र होला भनेर सोच्ने गर्थिन् ।
यद्यपि मारियालाई आधिकारिक रूपमा अहिले कुनै मानसिक रोग छैन, उनले एक विशेषज्ञ चिकित्सकको मद्दत लिइरहेकी छिन् ।
‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ का कारणहरू
यस्तो समस्या बाल्यकालमा हुने मानसिक आघातसँगजोडिएको हुन सक्ने केही अध्ययनहरूमा देखिएको छ । परिवार तथा स्कुलमा हुने उपेक्षा, भावनात्मक शोषण, सम्बन्धमा हुने असुरक्षा जस्ता कारण हुन सक्ने अध्ययनले बताएको छ ।
यस खालका व्यक्तिहरू आफ्ना पीडादायी सम्झनाहरू र भावनाहरूबाट बच्न काल्पनिक संसारमा डुब्ने गर्छन् ।
यसबाहेक भिन्न तरिकाले मस्तिष्कले काम गर्ने परिस्थित जस्तै न्यूरोडाइभर्सिटी पनि यसमा सहयोगी बन्न सक्नर् अध्ययनकर्ताले बताएका छन् ।
अटिजम स्पेक्ट्रम डिसअर्डर भएका २३५ वयस्कहरूको एक अध्ययनमा, ४३ प्रतिशतले ‘खराब दिवास्वप्न’ देख्ने अनुभव गरेको रिपोर्ट गरेका थिए।
यी अनुभवहरू एक्लोपन र भावनाहरू व्यवस्थापन गर्न कठिनाइसँग सम्बन्धित थिए ।
अन्य अनुसन्धानहरूले यो समस्या अन्य मानसिक अवस्थाहरूसँग पनि जोडिएको हुन सक्छ भन्ने देखायो । एडीएचडी, ओसीडी, एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्यासँग पनि यसको सम्बन्ध हुने अध्ययनहरूले बताएका छन् ।
बोरचर्ड्सलाई पनि 18 वर्षको उमेरमा डिप्रेसन रहेको पत्ता लागेको थियो । ‘खास समस्या डिप्रेसनको थियो तर म त्यो बाट बच्नका लागि वास्तविक जिन्दगीबाट भाग्ने गर्थें’ उनी भन्छिन् ।
४० वर्षको उमेरमा हुँदा पनि उनलाई एक महिनासम्म एक मानसिक केन्द्रमा राखेर उपचार गराइएको थियो । यो समयपछि उनकोजीवनले नयाँ मोड लियो प। यसपछि नै उनले यस खालका कल्पनामाथि नियन्त्रण राख्न सुरु गरिन् ।
उनका कल्पनाहरू फेरि रचनात्मक र रमाइलो भएका छन्, र उनी अब पहिले जस्तो दुःखी महसुस गर्दिनन् ।
यसबाट निस्कन कति सहज ?
त्यसैले अन्ततः प्रश्न आउँछ: के ‘मालेड्याप्टिभ डे–ड्रिमिङ’ खराव दिवास्वप्न वास्तविक जीवनका चुनौतीहरूको सामना गर्न मद्दत गर्ने तरिका हो ?
के यो त्यस्तो मानसिक अवस्था हो जसले तपाईंलाई वास्तविक संसार र तपाईंको वास्तविक पहिचानबाट अलग गर्छ ?
अहिलेसम्मका प्रमाणहरूका आधारमा ‘खराब दिवास्वप्न’ पूर्ण रूपमा एडएचडी वा ओसीडीको कारण मान्न नसकिने सोमरको भनाइ छ । उनका अनुसार, धेरै मानिसहरूका लागि, यसले सुरुमा एक्लोपन, तनाव, आघात, वा भावनात्मक कमीको सामना गर्न समर्थन प्रणालीको रूपमा काम गर्छ ।
तर केहीका लागि, यो बिस्तारै बानी बन्छ जुन जारी रहन्छ, बाध्यकारी बन्छ, र व्यक्तिलाई वास्तविक संसारबाट विच्छेद गर्छ ।
‘त्यसैले म यसलाई सुरुमा मद्दत गर्ने रणनीति भन्छु, तर पछि आफैंमा समस्या (विकार) बन्न सक्छ’ उनी भन्छन् ।
केही विज्ञहरूले यसलाई क्लिनिकल समस्या मान्छन्, तर यसलाई अन्तराष्ट्रिय रूपमा कुनै आधिकारिक रोगको मान्यता प्राप्त भएको छैन ।
यसमा धेरै ठूलो मात्रामा अनुसन्धान पनि भएको छैन । यस कारणले गर्दा, अहिलेसम्म यसको कुनै मानक उपचार छैन ।
यसको उपचारको उद्देश्य कल्पनाहरूलाई हटाउनु नभई त्यसलाई व्यवस्थापन गर्न मद्दत गर्नु रहेको सोमर बताउँछन् ।
कल्पनाहरूले वास्तविक जीवनको यथार्थतालाई प्रतिस्थापन गर्ने अवस्था आउन नदिनु नै यसको उपचार भएको उनको भनाइ छ ।
‘खराब दिवास्वप्न’ लाई जित्नु कठिन भए पनि यसलाई ठिक गर्न सकिने फिशेरा बताउँछिन् ।
उनी मारियाको उदाहरण सुनाउँछिन गर्छिन् । सुरुमा उनले लेख्न मन पराउने कुरा पत्ता लगाइन्, त्यसैले अब उनी आफ्ना कथाहरूलाई आफ्नो दिमागमा हराउन दिनुको सट्टा लेख्छिन् ।
बोर्चार्ड्सले आफ्नो दिवास्वप्नसँग राम्रो सम्बन्ध पनि विकास गरेकी छिन् । उनी अब यससँग संघर्ष गरिरहेका मानिसहरूका लागि गर्छिन् ।
बोर्चार्ड्स यो अवस्थासँग संघर्ष गरिरहेकाहरूलाई भन्छिन्– यो सधैंभरि रहँदैन।
उनी एउटा कुरा स्पष्ट पार्छिन्: ‘तपाईंको दिमागमा कथाहरू हुनु समस्या होइन । समस्या तब हुन्छ जब तपाईं तिनीहरूको लतमा पर्नुहुन्छ । र यही भिन्नता हो जुन सामाजिक सञ्जालमा धेरैजसो मानिसहरूले बुझ्दैनन् ।’
बीबीसीबाट
प्रतिक्रिया 4