+
प्लेयर्स टु वाच :

मिडफिल्डका जादुगर पेड्रीको लयमा नयाँ गौरव खोज्दै स्पेन

२०८३ जेठ  २७ गते १६:३९ २०८३ जेठ २७ गते १६:३९
मिडफिल्डका जादुगर पेड्रीको लयमा नयाँ गौरव खोज्दै स्पेन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस मिडफिल्डर पेड्रीको उत्कृष्ट प्रदर्शन र लयले स्पेनलाई फिफा विश्वकप २०२६ को बलियो दाबेदारका रूपमा उभ्याएको छ ।
  • सन् २०२० मा बार्सिलोनाबाट डेब्यु गरेका पेड्रीले युरो २०२० र कतार विश्वकप २०२२ मा स्पेनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।
  • स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले पेड्रीलाई मैदानमा सन्तुलन र प्रवाह दिने एक पूर्ण खेलाडीका रूपमा चित्रण गरेका छन् ।

२६ जेठ, काठमाडौं । स्पेनी फुटबल टिमको अट्याकमा मुख्य जिम्मेवारी सम्हालिरहेका पेड्रीको उत्कृष्ट प्रदर्शनले ‘ला रोजा’ अर्थात् स्पेनलाई फिफा विश्वकप २०२६ अघि आत्मविश्वासले भरिएको टोली बनाएको छ ।

२३ वर्षको उमेरमै पेड्रीले बार्सिलोना र स्पेनका लागि उल्लेखनीय अनुभव बटुलिसकेका छन् । उनले बार्सिलोनाका लागि करिब २५० र स्पेनका लागि ४० खेल खेलिसकेका छन्, जसमा ३१ खेल सुरुआती रोजाइमा परेका छन् । तर उनको महत्व केवल संख्यामा सीमित छैन ।

पेड्रीको वास्तविक जादू मैदानमा देख्न सकिन्छ । प्राविधिक रूपमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने क्यानरी टापुबाट आएका उनले स्पेनका महान् मिडफिल्डर डेभिड सिल्भा र जुआन कार्लोस भालेरोनको परम्परालाई अघि बढाइरहेका छन् ।

स्पेनको दोस्रो डिभिजन क्लब लास पाल्मासबाट आफ्नो प्रतिभा निखारेपछि उनी ठूलो मञ्चका लागि तयार भए । २७ सेप्टेम्बर २०२० मा बार्सिलोनाबाट डेब्यू गरेका पेड्री झण्डै छ वर्षपछि पनि क्लबको प्रसिद्ध ‘टिकी-टाका’ शैलीको अभिन्न हिस्सा बनेका छन् ।

शीर्ष डिभिजनमा पहिलो सिजनपछि उनले युरो २०२० मा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि १८ महिनाभित्रै कतार विश्वकप २०२२ मा पनि उनी टोलीका मुख्य खेलाडीमध्ये एक बने । उनले स्पेनका सबै चार खेलमा सुरुआत गरेका थिए, तर अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन बाहिरिएको थियो ।

सन् २०२४ मा चोटले केही समस्या दिए पनि उनी स्पेनको युरोपियन च्याम्पियन बन्ने यात्रामा निर्णायक खेलाडी बने ।

यदि पेड्रीले आफ्नो उत्कृष्ट लय कायम राख्न सके, स्पेन १९ जुलाईमा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने विश्वकप फाइनलसम्म पुग्ने बलियो दाबेदारका रूपमा छ ।

स्पेनका प्रशिक्षक लुइस डे ला फुन्तेले पेड्रीलाई पूर्ण खेलाडी (कम्प्लिट प्लेयर) को संज्ञा दिएका छन् । ‘पेड्री पूर्ण खेलाडी हुन् र निकै व्यावसायिक छन् । उनीबाट गल्ती हुँदा त्यो नै ठूलो समाचारजस्तै हुन्छ, किनभने उनले प्रायः सबै कुरा सही गर्छन्’ उनले भनेका छन्, ‘उनको खेलमा शान्ति, सन्तुलन र प्रवाह छ। उनीसँग आफ्ना साथी खेलाडीबाट उत्कृष्ट प्रदर्शन निकाल्ने क्षमता छ । उनी विशेष खेलाडी हुन् ।’

यस्तै स्पेनिस लेजेन्ड आन्द्रेस इनिएस्टाले पेड्री असाधारण खेलाडी भएको टिप्पणी गरेका थिए । ‘उनी असाधारण खेलाडी हुन्, विशेषगरी यति कम उमेरका लागि । उनको खेल निकै स्वाभाविक छ। उनी धेरै सोच्दैनन्, केवल खेल्छन् । मैदानमा उनको उत्साह र खेलप्रतिको आनन्द स्पष्ट देखिन्छ । मलाई आशा छ, उनी बार्सिलोना र स्पेन दुवैका प्रमुख खेलाडी बन्नेछन्’ इनिएस्टाले भनेका छन् ।

पेड्रीको तथ्याङ्क

पेड्रीले १८ अगस्ट २०१९ मा १६ वर्षको उमेरमा लास पाल्मासबाट व्यावसायिक फुटबलमा डेब्यू गरेका थिए ।

त्यसको एक महिनापछि, १९ सेप्टेम्बरमा उनले पहिलो सिनियर गोल गर्दै १६ वर्ष, नौ महिना र २३ दिनको उमेरमा क्लब इतिहासकै सबैभन्दा कम उमेरका गोलकर्ता बने ।

२७ सेप्टेम्बर २०२० मा उनले बार्सिलोनाबाट ला लिगामा डेब्यु गरे भने एक महिनाभित्रै पहिलो पटक सुरुवाती टोलीमा स्थान बनाए ।

२० अक्टोबर २०२० मा हंगेरीको फेरेन्कभारोसविरुद्ध ५–१ को जितमा उनले यूईएफए च्याम्पियन्स लिगमा डेब्यू गर्दै बार्सिलोनाका लागि पहिलो गोल पनि गरेका थिए । त्यतिबेला टोलीका प्रशिक्षक रोनाल्ड कोम्यान थिए ।

उनले फिफा यू–१७ विश्वकप २०१९ मा स्पेनको युवा टोलीको प्रतिनिधित्व गर्दै क्वार्टरफाइनलसम्मको यात्रा गरेका थिए ।

युरो २०२० मा १८ वर्ष, ६ महिना र १८ दिनको उमेरमा स्विडेनविरुद्ध खेल्दै पेड्री युरोपियन च्याम्पियनसिप वा विश्वकपमा स्पेनका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने।

पेड्रीको विश्वकप यात्रा

कतारमा भएको विश्वकप २०२२ मा पेड्री लुइस एनरिकेको टोलीका मुख्य खेलाडी थिए । उनले चारै खेलमा सुरुआत गरेका थिए, तर अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेनको यात्रा टुंगिएको थियो ।

चार वर्षपछि, लुइस डे ला फुएन्तेको नेतृत्वमा पनि पेड्री स्पेनको योजनाको केन्द्रमै छन्। विश्व फुटबलको सर्वोच्च उपाधि जित्ने अभियानमा उनी फेरि टोलीका प्रमुख खेलाडी रहनेछन् ।

स्पेनका सफल टोलीहरू सधैं बलियो मिडफिल्ड वरिपरि निर्माण भएका छन् । जाभी, इनिएस्टा, जाबी आलोन्सो र सेस्क फाब्रेगासको पुस्ता सकिए पनि त्यो परम्परा अझै कायम छ ।

अहिले त्यो जिम्मेवारी रोड्री, पेड्री, फाबियन रुइज, मिकेल मेरिनो र मार्टिन जुबिमेन्डीको काँधमा छ । त्यसमा लामिन यमालको अप्रत्याशित प्रतिभा थपिँदा स्पेन फिफा विश्वकप २०२६ का प्रमुख दाबेदारमध्ये एकका रूपमा हेरिएको छ ।

पेड्री फिफा विश्वकप फिफा विश्वकप २०२६ स्पेन फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय