२६ जेठ, काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे सोमबार रिहा भए । १७ करोड बिगो रकम तिर्ने कबुल गरेपछि उनी ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनी रिहा भए । भोटे नेकपा एमाले निकट युवा संघका नेता हुन् । उनी गएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो ।
यही सहकारी ठगीमा पक्राउ परेर थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि पूर्वडीआईजी छविलाल जोशीसम्म यसअघि नै रिहा भइसकेका छन् ।
पछिल्लो पटक ४ पुसमा लामिछाने रिहा भएका थिए । बिगो वापतको रकम धरौटी बुझाएर लामिछाने रिहा भएका थिए । त्यसको केही समयपछि पूर्वडीर्आजी जोशी पनि रिहा भए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका ज्ञानबहादुर बम्जन पनि १० लाख धरौटीमा छुटेका थिए । पछि उनी काठमाडौंको स्वणलक्ष्मी सहकारी ठगीमा पक्राउ परे ।
सूर्यदर्शन सहकारी ठगीमै जोडिएकी लिला पछाई पनि ३७ लाख धरौटीमा रिहा भएकी थिइन् । सूर्यदर्शन सहकारीमा जोडिएका अधिकांश व्यक्तिहरू धरौटी बुझाएर तथा बिगो बापतको रकम तिर्ने सर्त देखाएर अदालतको आदेशबाट धमाधम छुटिरहेका छन् ।
यसैगरी, स्वर्णलक्ष्मी सहकारी ठगीमा समातिएर छुटेका ज्ञानबहादुर सहकारी ठगीका मुख्य नाइके भनिएका जीबी (गितेन्द्रबाबु) राईका जेठानसमेत हुन् ।
रवि-जीबीसहितका व्यक्तिविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा दायर गरिएको थियो । तर अहिले उक्त मुद्दा फिर्ता भएको छ ।
यसअघि महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् । त्यसपछि अभियोग दर्ता भएका अदालतले सम्पत्ति शुद्धीकरण र संगठिततर्फको मुद्दा फिर्ता लिएका छन् ।
योसँगै अब सहकारी ठगीको मुद्दा मात्रै बाँकी भएको र आफ्नो भागको बिगोको रकम तिर्ने सर्तमा महेन्द्र भोटे सोमबार मात्रै रिहा भएका थिए ।
सहकारी ठगीमा जोडिएर धमाधम व्यक्ति छुट्दै गर्दा सहकारी ठगीका मुख्य नाइके जीबी राई भने अझै बेपत्ता छन् । पोखराको सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला सहकारी ठगीका उनी मुख्य व्यक्ति भएको बताइन्छ ।
त्यसो त, यी सबै सहकारीमा रवि, छवीविरुद्ध पनि मुद्दा चलेको थियो । उनीहरू यी सबै सहकारीको कसुरमा बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने गरी रिहा भएका छन् । तर जीबी भने लामो समयदेखि गुमनाम छन् ।
उनी मलेसियामा रहेको भन्दै २०८१ भदौमा नेपाल प्रहरीको टोली मलेसिया पुगेको थियो । त्यतिबेला जीबी मलेसियामै रहेको पत्ता लागेको थियो । मलेसियन सरकारलाई कूटनीतिक पत्राचार गर्दा पनि उनलाई नेपाल ल्याउन सकिएको थिएन ।
यसअघि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । रेड नोटिस जारी भएका जीबी अहिलेसम्म बेपत्ता छन् । अहिले उनी कहाँ छन् भन्ने यकिन नभएको प्रहरी अधिकारीहरू बताउँछन् । केही समयअघिसम्म भने जीबी क्वालालम्पुरस्थित देशापण्डनमा अपार्टमेन्ट खरिद गरेर बसेको दाबी प्रहरीको थियो । उनले सहकारी ठगीको एक अर्बभन्दा बढी रकम मलेसिया लगेको दाबी थियो ।
मलेसिया सरकारको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणाअनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोहीअनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी भनाइ थियो । यो विषय तत्कालीन आईजीपी वसन्त कुँवरले समेत सार्वजनिक रूपमै बताएका थिए ।
मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारीसमेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणाअनुसार बसिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया 4