२७ जेठ, पोखरा । गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन भएको छ र ७ वटामा प्रतिस्पर्धाबाट नेतृत्व चुनिएका छन् । सर्वसम्मत भएको भनिएको बागलुङमा भने विवाद हुन पुगेको छ र रास्वपाको निर्वाचन आयोगमा उजुरी परेको छ ।
गण्डकीको म्याग्दीबाहेक अधिवेशन भएका ७ जिल्लामा प्रतिस्पर्धाबाट नेतृत्व चुनिएका छन् भने बागलुङमा ४ जना आकांक्षीको बीचबाट एकतर्फी रुपमा सर्वसम्मत गराइएको भन्दै उजुरी परेको छ ।
रास्वपाको कास्की जिल्ला अधिवेशनबाट चुनिएको कार्यसमिति पनि विवादमा परेको छ । कडा प्रतिस्पर्धाका बीच एकराज न्यौपानेलाई १ मतले पराजित गर्दै रोचक जित हात पारेका यदुनाथ अधिकारीले प्रतिनिधि छनोटमा विधिविपरीत काम गरेको प्रश्न उठेको छ ।
कार्यविधि विपरीत आफ्ना १५ जना प्रतिनिधि नियुक्त गरेर चुनावमा एक मतले जितेको अध्यक्ष अधिकारीमाथि आरोप छ । अधिकारी यसअघि कास्की संयोजक थिए । नेकपा एमाले, एकीकृत समाजवादी हुँदै उनी रास्वपामा प्रवेश गरेका थिए ।
अधिकारी २०८२ फागुन २१ गतेको चुनावमा कास्की क्षेत्र नम्बर ३ मा आकांक्षी थिए । अन्तिमसम्म पनि टिकट ल्याउन कसरत गरेका र चर्चामा परेका अधिकारीलाई पछि पार्दै व्यवसायी बिना गुरुङले टिकट हात पारेकी थिइन् ।
पोखरामा शनिबार भएको अधिवेशनमा अधिकारीले ११५ मत ल्याएका थिए भने न्यौपानेले १ सय १४ मत प्राप्त गरेका थिए । ४ जनाले कसैलाई मत दिएका थिएनन् । एक मत अन्तरको रोचक नतिजाका साथ जित हासिल गरेका अधिकारीलाई नेताहरुले कार्यविधिविपरीत काम गरेको आरोप लगाइरहेका छन् । यदुनाथ पोखराका घरजग्गा, पानी, रिसोर्टलगायतका व्यवसायी हुन् ।
कास्कीमा सभापति र सचिवमा मात्र मतदान भएको थियो भने अन्य पदाधिकारी र सदस्य पदमा सर्वसम्मत भएको थियो । कास्की सचिवमा टेकराज सापकोटालाई हराउँदै विश्वराज पौडेल विजयी भए ।
उपसभापतिमा चीनबहादुर गुरुङ र सहसचिवमा सुजन बस्ताकोटी चयन भएका छन् भने कोषाध्यक्ष पछि मनोनित हुने प्रदेश महासचिव नविन त्रिपाठीले जानकारी दिएका छन् ।
बागलुङको विवाद रास्वपा केन्द्रमा
सहमतिमा कार्यसमिति चुनिएको भनिएको रास्वपा बागलुङमा विवाद उत्पन्न भएको छ । अन्य आकांक्षीहरुलाई पाखा पारेर एकतर्फी रुपमा अध्यक्ष घोषणा गरिएको भन्दै रास्वपाको निर्वाचन आयोगमा उजुरी परेको छ ।
गण्डकी प्रदेश सभापति तथा संघीय सांसद राजन गौतमले बागलुङको उजुरी आयोगमा परेको र गण्डकीलाई पनि बोधार्थ आएकाले यो विषयमा केन्द्रले नै टुंगो लगाउने बताए ।
बागलुङमा सभापतिका लागि ४ जना आकांक्षी थिए । ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल, मनोज खड्का र पुनम शर्मा उम्मेदवार थिए । तर, एउटा समूहले एकतर्फी रुपमा पुनम शर्मालाई सभापति बनाएको भन्दै उजुरी परेको हो ।
सर्वसहमतिमा गठन गरिएको भनिएको कार्यसमितिको सभापतिमा पुनमलाई राखेर उपसभापतिमा अध्यक्षका अर्का आकांक्षी ढालेन्द्र रायमाझीलाई राखिएको थियो । सचिवमा लालबहादुर क्षत्री, कोषाध्यक्षमा डुक मल्ल र सहसचिवमा पुष्पा आचार्य छन् ।
अध्यक्षका उम्मेदवार ढालेन्द्रलगायतको समूहले जिल्ला कार्यसमिति अस्वीकार गर्ने र फेरि चुनावको माग गर्दै उजुरी हालेका छन् । केन्द्रले निर्णय गरेसँगै बागलुङमा यसैलाई मान्यता दिने कि निर्वाचन हुने भन्ने टुंगो लाग्ने प्रदेश सचिव नवीन त्रिपाठीले जानकारी दिए ।
सहमतिका आधारमा सभापति चुनिएका २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट बागलुङ–३ को वडाध्यक्षमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शर्मा पछि रास्वपा प्रवेश गरेका हुन् ।
बागलुङको क्षेत्र नम्बर १ बाट सांसद सुशील खड्का र क्षेत्र नम्बर २ बाट सोम शर्मा निर्वाचित भएका थिए । उनीहरु नै निर्वाचन समितिको नेतृत्वमा थिए ।
म्याग्दीमा सर्वसम्मत चुनिए युवराज रोका
राष्ट्रिय स्वतन्त्र पार्टीको धेरै जिल्ला अधिवेशनहरु विवादित र मतदानबाटै नेतृत्व चुन्ने प्रक्रिया चलिरहेका बेला म्याग्दीमा भने सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चुनिएको छ ।
बेनीमा भएको प्रथम जिल्ला अधिवेशनले फेरि युवराज रोकाको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरिएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर युवा क्लबको नेतृत्व गरेका, गाउँमै समाज सेवा गरिरहेका र यसअघिका पार्टीहरुमा राजनीतिक रुपमा कम सक्रिय देखिएका युवराज नै सर्वसम्मत रुपमा फेरि सभापति चुनिएका हुन् ।
कार्यसमितिको उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) छन् ।
म्याग्दीमा रास्वपाले २०८२ फागुन २१ को चुनावमा स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समर्थन गरेको थियो । रास्वपाबाट युवराजले नै टिकट पाएका थिए ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट चुनाव लडेका महावीरलाई उम्मेदवारी फिर्ता लिएर युवराजले सघाएका थिए । उनै युवराज सभापतिमा सर्वसम्मत भएका हुन् ।
पर्वतमा पनि दोहोरिए जलबहादुर
पर्वतमा पनि (रास्वपा) पर्वतको नेतृत्वमा जलबहादुर पुर्जा पुन नै दोहोरिएका छन् ।
कुस्मामा शनिबार भएको अधिवेशनले जलबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । सभापतिमा सहमतिको प्रयास गरिएको भए पनि आकांक्षी पछाडि नहटेपछि मतदान प्रक्रियाबाटै चुनिएको हो ।
अध्यक्षमा गंगालाल रिमाल पनि प्रतिस्पर्धी थिए । कार्यसमितिको उपसभापतिमा शारदा कुमारी शर्मा, सचिवमा रामेश्वर गौतम तथा सहसचिवमा नारायण प्रसाद भुसाल निर्वाचित भएका छन् ।
जलबहादुर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार थिए । नेपाली कांग्रेस र त्यसपछि एमालेले पकड जमाएको पर्वतबाट त्यतिबेला एमालेका पदम गिरीले दोस्रो पटक जित हात पारेका थिए ।
भविष्य भएका युवा नेताको परिचयन बनेका पदमका सामुन्ने भर्खरै उदाउँदै गरेको रास्वपा कुश्मामा तेस्रो बन्न पुगेको थियो । नेपाली कांग्रेसका अर्जुन जोशी दोस्रो भएका थिए ।
जेनजी आन्दोलनपछिको परिस्थितिमा सिर्जित २१ फागुन २०८२ को चुनावमा भने जलबहादुरले टिकट पाएनन् । सागर भुसालले रास्वपाबाट टिकट पाएर प्रतिनिधि सभा पुगेका हुन् ।
स्याङ्जामा भारी मतान्तरसहित भण्डारी विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । स्याङ्जामा पनि शनिबार नै अधिवेशन भएको थियो ।
सहमतिको प्रयास भए पनि असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चुनिएको थियो । भण्डारीसँग उपेन्द्र अर्यालले प्रतिस्पर्धा गरेका थिए ।
भण्डारीले २ सय ८४ मत प्राप्त गर्दा अर्यालले २४ मत मात्रै पाएका थिए । भण्डारी नेपाली कांग्रेस पृष्ठभूमिबाट आएका नेता हुन् ।
अनलाइनखबर डटकमका स्याङ्जा प्रतिनिधि रामबहादुर रोकाहाका अनुसार सभापतिमा निर्वाचित भण्डारी व्यवसायी हुन् ।
उपसभापतिमा उमा फुयाँल विजयी भएकी छिन् । उनले १ सय ४५ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले १ सय मत पाए । शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरे । उपसभापतिमा ४ जना प्रतिस्पर्धामा थिए ।
उपसभापतिमा उमा फुयाँल विजयी भएकी छिन् । सभापति, उपसभापति दुबै पदमा मतदान भएको थियो । उपसभापतिमा ४ जना प्रतिस्पर्धी थिए । फुयाँल १४५ मतसहित विजयी हुँदा श्रीराम घिमिरेले १०० मत ल्याए ।
शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरे । सचिवमा प्रसन्न पौडेल, सहसचिव टुकराज अर्याल छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित भएका छन् ।
कांग्रेस तनहुँका पूर्वसचिव रास्वपाको सभापति
नेपाली कांग्रेसबाट तनहुँको नेतृत्व गर्दै केन्द्रसम्म पुग्न सक्ने नेताका रुपमा विश्वनाथ बास्तोलाको चर्चा हुन्थ्यो । उनी दुई पटकसम्म तनहुँको सचिव बनेका थिए भने पछिल्लो महाधिवेशनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सभापतिमा हार बेहोरेका थिए ।
तनहुँको क्षेत्र नम्बर १ बाट २०७९ को चुनावमा रामचन्द्र पौडेललाई जिताउन भूमिका खेले । रामचन्द्र राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा तनहुँमा कांग्रेस छाडेर अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बने । उपनिर्वाचनअघि विश्वनाथ पनि रास्वपा प्रवेश गरेका थिए ।
उनै विश्वनाथ अहिले जिल्ला सभापति निर्वाचित भएका छन् । बास्तोला १८७ मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुँदा उनका प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेले ६४ मत प्राप्त गरेका थिए ।
रास्वपा तनहुँको नेतृत्वका लागि दुई पूर्वकांग्रेसी बीचको प्रतिस्पर्धाका रुपमा हेरिएको थियो । शेषरमण पनि कांग्रेसका प्रशिक्षण विभाग सदस्यसमेत थिए । शेषरमण तनहुँ–२ बाट चुनावमा टिकटको आकांक्षीसमेत थिए ।
उपसभापतिमा विष्णुबहादुर पन्त १३१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १२४ मत पाए । सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा दुर्गा कुमार श्रेष्ठ १२७ मतसहित विजयी भए ।
गोरखा सभापतिमा भूतपूर्व नेपाली सैनिक रोकाहा
रास्वपा गोरखाको सभापतिमा फेरि सुवर्ण रोकाहा क्षत्री चुनिएका छन् । यसअघि पनि सभापति रहेका क्षेत्रीले ध्रुव अधिकारीलाई पराजित गरेका हुन् ।
गोरखामा आइतबार भएको प्रथम जिल्ला अधिवेशनमा १७७ मत प्राप्त गर्दै क्षेत्री निर्वाचित भए । उनका प्रतिस्पर्धी अधिकारीले १०५ मत ल्याए ।
रास्वपा नेता तथा गण्डकीका पूर्वमन्त्री हरिशरण आचार्यका अनुसार क्षेत्री भूतपूर्व सैनिक हुन् । उनले खेलविज्ञानमा एमफिल गरिरहेका छन् भने त्रिविमा खेल विज्ञानका प्राध्यापनसमेत गर्छन् । रास्वपाअघि उनी एमालेनिकट मानिन्थे ।
त्यस्तै उपसभापतिमा १६९ मत ल्याएर सुकबहादुर तामाङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी भेषबहादुर खड्काले १०५ मत ल्याए ।
सचिवमा मीलन राना निर्विरोध निर्वाचित भए भने सहसचिवमा योगेन्द्रजंग बस्नेत विजयी भए ।
लमजुङमा पहिलो चरणमा असफल, दोस्रो चरणमा सहमतिबाट सभापति
रास्वपाको लमजुङ अधिवेशन पनि रोचक बन्यो । आकांक्षी धेरै जना हुँदा ५ जनाबीच प्रतिस्पर्धा हुँदा पहिलो चरणमा कसैले पनि बहुमत प्राप्त गर्न सकेन ।
दोस्रो चरणमा मतदान हुनुपर्छ नै सहमति भएपछि अशोक सापकोटा अध्यक्ष चुनिएका छन् । पहिलो चरणमा भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन असफल भएपछि दोस्रो चरणमा मतदानमा जानुअघि सहमतिमा प्रयास भएको थियो ।
बहुमत प्राप्त नगरे पनि अत्याधिक मत ल्याउनेलाई सभापति स्वीकारेर जान सबै आकांक्षी सहमत भएका हुन् ।
सापकोटाले सर्वाधिक ६९ मत प्राप्त गरेका थिए । त्यसपछि भोलानाथ शर्माले ४९ मत, हरिबहादुर धितालले ३३ मत, विजय रञ्जन पौडेलले १६ मत र नवराज पहाडीले ७ मत ल्याएका थिए ।
सभापति सापकोटा एमाले पृष्ठभूमिबाट आएका हुन् । उनी वातावरण क्षेत्रमा सक्रिय थिए । यसअघि संघीय सांसद धर्म केसी लमजुङ संयोजक हुँदा सापकोटा सहसंयोजक थिए ।
मतदानमा गएर निर्वाचित हुन नपाए पनि सापकोटा सहमतिबाट नेतृत्व हात पार्न सफल भएका छन् ।
रास्वपा विधानअनुसार बहुमत नआएमा शीर्ष दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनुपर्ने व्यवस्था भए पनि दोस्रो स्थानमा रहेका शर्माले सापकोटालाई समर्थन जनाएपछि सर्वसम्मत रूपमा सापकोटा सभापतिमा चयन भएका हुन् ।
उपसभापतिमा सन्तोषी गौली, सचिव पदमा मिना खड्का विजयी भएका छन् ।
कांग्रेस नगर सभापति छोडेर छिरे, मतदानबाटै नवलपुर जिल्ला सभापति बने
नेपाली कांग्रेसको मध्यविन्दु नगर सभापति दोमनबहादुर भण्डारी गत साल भदौमा जेनजी आन्दोलन हुनुअघि रास्वपा प्रवेश गरेका हुन् ।
आफ्नै घरमा ५ वर्षदेखि कांग्रेसको कार्यालय राखेका भण्डारी नै रास्वपा प्रवेश गरेका थिए । आफ्नो विचार र नीतिबाट विचलित भएकाले आफ्नै घरमा कार्यालय भएको पार्टी छोडेर रास्वपा रोजेको भण्डारीले बताएका थिए ।
२०५४ सालदेखि तरुण दलमा जोडिएर कांग्रेसको राजनीति गर्दा मध्यविन्दु नगर सभापति बनेका दोमनबहादुर रास्वपा प्रवेश गरेको एक वर्ष नहुँदै नवलपुर सभापति बनेका छन् ।
नवलपुरमा मंगलबार चुनाव भएको थियो । सभापतिका लागि ३ जना प्रतिस्पर्धी थिए । गोकुल सापकोटालाई जम्मा ३ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले १४२ मत प्राप्त गरी निर्वाचित हुँदा सापकोटाले १३९ मत प्राप्त पाए । त्यस्तै कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गरे । उपसभापतिमा जगबहादुर राना, सचिवमा विष्णु कडेल र सहसचिवमा सन्तबहादुर ठाडामगर निर्वाचित भए ।
नवलपुरमा पनि सहमतिको प्रयास गरिएको थियो । तर, आकांक्षीहरु पछि नहटेपछि चुनावमै गएको थियो । गण्डकीमा रास्वपाको अधिवेशन भएका अधिकांश जिल्लामा प्रतिस्पर्धाबाटै नेतृत्व चुनिएका छन् ।
यसलाई गण्डकी सभापति राजन गौतम प्रतिनिधिले लोकतान्त्रिक अभ्यासम आफ्नो अधिकार पूर्ण प्रयोग गर्न पाएको बताउँछन् । ‘पार्टीमा आकर्षण र आकांक्षीहरु पनि धेरै हुनुहुन्छ । त्यसैले आफ्नो नेता आफैं छान्ने अधिकार प्रतिनिधिले भर प्रयोग गर्नुभयो । यसले पार्टीलाई अझ बलियो बनाउने छ,’ गौतमले भने ।
प्रतिक्रिया 4