२७ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश अधिवेशनमा नेतृत्वका आकांक्षीबाट महँगो शुल्क असुलेको छ । प्रदेश अधिवेशन निर्वाचन कार्यविधि २०८३ बनाएर रास्वपाले उम्मेदवारबाट शुल्क असुल गरेको हो ।
चर्काे शुल्क असुलेको गुनासो कोशी प्रदेशको पहिलो अधिवेशनमा उम्मेदवारका आकांक्षीले व्यक्त गरेका थिए ।
रास्वपाले प्रदेश सभापति पदमा उम्मेदवारी दिनका लागि २१ हजार रुपैयाँ शुल्क तोकेको छ ।
प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मनोनयन शुल्क १७ हजार ५ सय रुपैयाँ तोकेको छ ।
प्रदेश सदस्य पदको उम्मेदवारीका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ ।
मोरङको बिराटचोकमा जारी पहिलो अधिवेशनमा सदस्यमा मनोनयन दर्ता गराउन खोजेका केही प्रतिनिधिले शुल्क महँगो भएको भन्दै मनोनयन दर्ता गरेनन् ।
‘पार्टीले गरिबलाई उम्मेदवार नै नबनोस् भन्ने हिसाबले मनोनयन शुल्क तोकेछ,’ अधिवेशनमा स्थलमा भेटिएका एक प्रतिनिधिले भने, ‘१० हजार शुल्क धेरै महँगो भयो ।’
ती सदस्यले प्रतिनिधि बन्नकै लागि १ हजार ५ सय रुपैयाँ बुझाएको बताए ।
अधिवेशनमा सहभागी हुने प्रतिनिधि दर्ता र पर्यवेक्षकका लागि भने समान १ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।
प्रदेश अधिवेशनमा सभापति पदका लागि कार्यवाहक सरिन तामाङसँगै चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, सांसद पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् ।
कोशी प्रदेश समिति ६१ सदस्यीय हुने रास्वपाको पार्टी विधानमा व्यवस्था छ ।
प्रतिक्रिया 4