२७ जेठ,बुटवल । बुटवल अमरपथको तिनाउ सुन चाँदी पसलमा गत जेठ १७ गते राति भएको चोरीमा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको पाइएको छ । घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।
चोरी भएको मध्य ५ तोला सुन र २५ तोला चाँदी दीपकको घरबाट बरामद भएको शाहीले बताए । पसलका सञ्चालक दीपक सेन्चुरीले करिब ७० तोला बराबरको सुनका गहना र काचो सुन चोरी भएको प्रहरीलाई बताएका थिए ।
रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर सटरलाई एक फुट माथि तानेर चोरभित्र पसेको, सुन र गहना राखिएको लकरको तालालाई करिब ५० वटा फरक फरक चाबी प्रयोग गरेर लिएर गएको पाइएको थियो ।
चोरी हुँदाको समयमा पसल सञ्चालक दीपक सेन्चरी पोखरा गएको प्रहरीलाई बताए पनि अनुसन्धानबाट उनी बुटवलमै भएको खुलेको छ ।
पसलको सीसीटिभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको प्रहरीको अनुमान थियो । चोरीको घटना जेठ १७ गते राति भए पनि दीपकले आफू पोखराबाट फर्किँदै गरेको बताएर सोमबार साँझ अबेर प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए ।
चोरीको घटनापछि पसल सञ्चालकले एक करोड ४६ लाख ९४ हजार सात सय बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको बताएका थिए । पसलको बिमा दाबी गर्न र अन्य मानिसहरुले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोची योजनाबद्ध रुपमा चोरीको नाटक गरेको अनुसन्धानमा खुलेको छ ।
दीपक र नवीनलाई पक्राउ गरी अपराधिक विश्वासघात मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
उक्त पसल भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा छ । पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए । प्रारम्भिक अनुसन्धानमा पसलको सीसीटिभी क्यामेरा बिग्रेको जानकारी भएको व्यक्तिको घटनामा संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको थियो ।
सोहीअनुसार प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सञ्चालक र आफन्तसमेत रहेका कर्मचारी नवीनको नै संलग्नता भेटिएको श्रीवास्तवले बताए । सीसीटिभी फुटेजको सहयोगले दीपक र नवीन चोरीमा संलग्न भएको पत्ता लगाउन सकिएको उनले बताए ।
प्रतिक्रिया 4