काठमाडौं । एप्पलले आफ्नो भर्चुअल असिस्टेन्ट ‘सिरी’ लाई गुगलको जेमनाई एआई मोडेलसँगको सहकार्यमा पूर्ण रूपमा रिब्रान्ड गर्दै नयाँ प्रविधि सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबारदेखि सुरु भएको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समार्फत च्याटजीपीटीजस्तै कुराकानी गर्न सक्ने ‘सिरि एआई’ सार्वजनिक गरेको हो ।
एप्पलका अनुसार नयाँ सिरीले प्रयोगकर्ताको स्क्रिनमा भएका सामग्री बुझ्ने, विभिन्न एपभित्र गएर काम गर्ने र तस्बिरहरू पहिचान गरी क्यालेन्डरमा इभेन्ट सेभ गर्ने जस्ता एड्भान्स कार्यहरू गर्न सक्छ ।
कम्पनीले यसका लागि पुराना कुराकानीहरूको हिस्ट्री हेर्न मिल्ने गरी एउटा छुट्टै ‘डेडिकेटेड एप’ समेत ल्याएको छ । सुरुवाती चरणमा अङ्ग्रेजी भाषामा उपलब्ध हुने यो सेवा युरोपेली युनियनको डिजिटल मार्केट्स एक्ट र चीनको नियामक कानुनका कारण त्यहाँ भने तत्काल उपलब्ध नहुने एप्पलले जनाएको छ ।
एप्पलले ‘एप्पल इन्टेलिजेन्स’ मार्फत आफ्ना नयाँ अपरेटिङ सिस्टमहरू आईओएस २७, आईप्याडओएस २७ र म्याकओएस २७ का हरेक पक्षमा आर्टिफिसियल इन्टेलिजेन्सलाई जोडेको छ ।
कम्पनीका अनुसार सफारी ब्राउजरले अब आफैँ ट्याबहरूलाई विषयअनुसार मिलाउनेछ भने वेबसाइटमा सामानको मूल्य घट्दा ‘नोटिफाई मी’ फिचरमार्फत जानकारी दिनेछ ।
त्यस्तै, नयाँ पासवर्ड एपले एआई एजेन्टको मद्दतले वेबसाइटहरूमा गएर कमजोर पासवर्डहरू आफैँ परिवर्तन गरिदिनेछ ।
फोटोज र मेसेज एपमा पनि एआई फिचर थपिएका छन् । एप्पलका अनुसार ‘स्पेसियल रिफ्रेमिङ’ फिचरमार्फत तस्बिर खिचिसकेपछि पनि थ्रिडी एआईको मद्दतले क्यामेराको एङ्गल परिवर्तन गर्न सकिन्छ ।
इमेज प्लेग्राउन्डबाट सिन्थआईडी वाटरमार्कसहितका यथार्थपरक तस्बिरहरू जेनेरेट गर्न सकिनुका साथै मेसेज र मेलमा एआईले प्रयोगकर्ताको लेखन शैली बुझेर ‘स्मार्ट रिप्लाई’ दिने कम्पनीले जनाएको छ ।
यसका साथै होम एपमा सीसीटिभी क्यामेराका क्लिपहरूलाई एआईमार्फत समराइज गर्ने सुविधा र कल गर्दा ईमेलबाट आफैँ रिजर्भेसन नम्बर खोज्ने ‘कल कन्टेक्स्ट’ फिचर समेत ल्याइएको छ ।
प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै एप्पलको एआईले अन-डिभाइस र प्राइभेट क्लाउड कम्प्युटमार्फत काम गर्नेछ ।
यद्यपि, धेरै एआई कार्यहरू भने गुगलको क्लाउडमा रहेको एनभिडियाको चिप्समा चल्नेछन् ।
बालबालिकाको सुरक्षाका लागि कम्पनीले सफारीमा ‘आस्क टु ब्राउज’ र मेसेज तथा फेसटाइममा हिंसात्मक तस्बिरहरू आफैँ ब्लर हुने सुविधा ल्याएको छ ।
स्वास्थ्यतर्फ हेल्थ एपमा ४० वर्षभन्दा माथिका महिलाहरूका लागि महिनावारी सुक्ने लक्षणहरू ट्र्याक गर्ने नयाँ अलर्ट सुविधा थपिएको छ ।
यस्तै, एयरपड्सका लागि ‘कस्टम इक्यू’ सेटिङ ल्याइएको छ भने नयाँ वाचओएस २७ ले पुराना मोडेलहरू सपोर्ट नगर्ने बताइएकाे छ । यो एसई ३, सिरिज १०, सिरिज ११, अल्ट्रा २ र अल्ट्रा ३ मा मात्र चल्ने बताइएको छ ।
प्रतिक्रिया 4