News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मातृ मृत्यु अनुपात प्रतिएक लाख जीवित जन्ममा १५१ रहेको छ ।
- नेपाल सरकारको नियमावली अनुसार सामान्य अवस्थामा गर्भवती महिलाले कम्तीमा चार पटक अनिवार्य रूपमा गर्भ जाँच गराउनुपर्ने व्यवस्था छ ।
- गर्भावस्थामा देखिने जोखिमको समयमै पहिचान र संस्थागत प्रसूति गराएमा धेरैजसो मातृ मृत्यु रोक्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
काठमाडौं महानगरपालिकाको एक शहरी स्वास्थ्य केन्द्रमा केही समयअघि १७ वर्षीया किशोरी उपचारका लागि आइन् । करिब अढाइ महिनादेखि महिनावारी रोकिएको, वाकवाकी लाग्ने र भोक कम हुने समस्या थियो । आर्थिक अभावका कारण नियमित स्वास्थ्य सेवाबाट टाढा रहेकी उनले चुरोट सेवन गर्ने र कहिलेकाहीं मदिरा पिउने गरेको पनि बताइन् । परीक्षणपछि उनी आठ हप्ताकी गर्भवती भएको पुष्टि भयो ।

थप जाँचमा सिफिलिसजस्तो यौनजन्य संक्रमण पनि देखियो । कम उमेरमा गर्भधारण, असुरक्षित जीवनशैली र संक्रमणले उनको गर्भावस्थालाई उच्च जोखिममा पुर्याएको थियो ।
यस्तै, दुर्गम क्षेत्रकी २९ वर्षीया गर्भवती महिलामा खुट्टा सुन्निने, टाउको दुख्ने र अत्यधिक थकान देखिए पनि परिवारले सामान्य ठानेको थियो । पछि अस्पताल पुग्दा अत्यधिक उच्च रक्तचाप देखियो । आमा र शिशु दुवैलाई बचाउन सकिएन ।
यी घटनाहरू व्यक्तिगत मात्र होइनन्, नेपालमा अझै देखिने गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका उदाहरण हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मातृ मृत्यु अनुपात प्रतिएक लाख जीवित जन्ममा १५१ रहेको छ ।
अझै पनि धेरै महिलाले गर्भावस्थाका जोखिम संकेतलाई सामान्य ठानेर बेवास्ता गर्ने, समयमै स्वास्थ्य परीक्षण नगराउने वा स्वास्थ्य सेवामा पहुँच नपाउने अवस्था देखिन्छ । परिणामस्वरूप रोक्न सकिने कारणबाट आमा र नवजात शिशुको ज्यान जोखिममा पर्न सक्छ ।
गर्भावस्था महिलाको जीवनमा हुने जैविक परिवर्तन मात्र होइन, नयाँ जीवनको सुरुवातसँग जोडिएको संवेदनशील यात्रा हो । यस अवधिमा आमाको स्वास्थ्य, पोषण, मानसिक अवस्था र नियमित स्वास्थ्य परीक्षणले गर्भमा रहेको शिशुको विकासमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले गर्भधारणदेखि सुत्केरीसम्म अपनाइने सही सावधानीले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
१. गर्भधारणअघि र गर्भ बसेपछि किन सावधानी आवश्यक छ ?
सुरक्षित गर्भावस्थाको आधार गर्भधारणअघि नै तयार हुन्छ । धेरै महिलाले गर्भ बसेपछि मात्र स्वास्थ्यमा ध्यान दिन्छन्, तर पूर्वतयारीले विभिन्न जोखिम कम गर्न सक्छ ।
गर्भधारणको योजना बनाउँदा कम्तीमा एक पटक स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ । यसले मधुमेह, उच्च रक्तचाप, थाइराइड, रक्तअल्पता तथा अन्य दीर्घरोगको पहिचान गर्न मद्दत गर्छ । दीर्घरोग भएका महिलाले गर्भधारणअघि नै चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।
यस अवधिमा सन्तुलित आहार, पर्याप्त पानी, नियमित शारीरिक गतिविधि र स्वस्थ तौल कायम राख्नु पर्छ । धूम्रपान, मदिरा तथा लागूपदार्थबाट टाढा रहनुपर्छ । चिकित्सकको सल्लाह अनुसार फोलिक एसिड सेवन गर्दा शिशुको स्नायु प्रणालीसम्बन्धी जन्मजात समस्या कम गर्न सहयोग पुग्छ ।

गर्भावस्थाको सुरुवाती संकेतमध्ये महिनावारी नियमित हुने महिलामा महिनावारी रोकिनु मुख्य हो । यसबाहेक वाकवाकी लाग्ने, बान्ता हुने, अत्यधिक थकान महसुस हुने, स्तन दुख्ने, बारम्बार पिसाब लाग्ने वा खाना खान मन नलाग्ने जस्ता लक्षण पनि देखिन सक्छन् । यस्ता संकेत देखिएमा समयमै गर्भ परीक्षण गरी स्वास्थ्य संस्थामा सम्पर्क गर्नु आवश्यक हुन्छ ।
प्रारम्भिक गर्भ पुष्टि प्रायः हर्मोन परीक्षणबाट गरिन्छ । महिनावारी रोकिएको ५–७ दिनपछि बिहानको पहिलो पिसाबबाट गरिएको परीक्षण बढी भरपर्दो मानिन्छ । पोजिटिभ आएपछि स्वास्थ्य संस्थामा गएर थप परीक्षण (रगत वा अल्ट्रासाउन्ड) गर्नु पर्दछ ।
२. गर्भावस्थाका चरणहरू
गर्भावस्था करिब ४० हप्ताको यात्रा हो । यसलाई तीन चरणमा बुझ्न सकिन्छ।
(क) पहिलो त्रैमासिक (०–१२ हप्ता)
यो भ्रूणको आधारभूत अंग निर्माण हुने अत्यन्त संवेदनशील समय हो । यस अवधिमा मस्तिष्क, मुटु र स्नायु प्रणालीको विकास सुरु हुन्छ । वाकवाकी, बान्ता, थकान, स्तन दुख्ने, बारम्बार पिसाब लाग्ने, गन्धप्रति संवेदनशीलता तथा खाना खान मन नलाग्ने जस्ता समस्या देखिन सक्छन् ।
यस समयमा पर्याप्त आराम, फोलिक एसिड सेवन र प्रारम्भिक स्वास्थ्य परीक्षण अत्यन्त महत्वपूर्ण हुन्छ । धूम्रपान, मद्यपान र चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नु हुँदैन । प्रारम्भिक स्वास्थ्य परीक्षण भन्नाले रक्त समूह परीक्षण, हेमोग्लोबिन परीक्षण, ब्लड सुगर परीक्षण, थाइराइड परीक्षण, एचआईभी, हेपाटाइटिस बी, सी परीक्षण, पिसाब परीक्षण, जुम्ल्याहा गर्भ आदि पर्दछन् ।
(ख) दोस्रो त्रैमासिक (१३–२७ हप्ता)
दोस्रो त्रैमासिक तुलनात्मक रूपमा सहज हुन्छ। यस समयमा बच्चाको वृद्धि तीव्र हुन्छ र आमाले बच्चाको हलचल महसुस गर्न थाल्छिन् , जुन गर्भावस्थाको अत्यन्त भावनात्मक र विशेष अनुभव मानिन्छ ।
भ्रूणको वृद्धि तीव्र रूपमा हुँदै शिशुको हड्डी, मांसपेशी, तथा अन्य अंगहरूको क्रमिक विकास हुने भएकाले पोषणमा विशेष ध्यान दिनुपर्छ । तौल बढ्ने, बढी भोक लाग्ने, पेट र स्तनको आकार बढ्ने, ढाड दुख्ने तथा पेटको छालामा तन्किने दाग देखिन सक्छन् । नियमित गर्भजाँच, अल्ट्रासाउन्ड जाँच, आइरन तथा क्याल्सियम सेवन आवश्यक हुन्छ ।
(ग) तेस्रो त्रैमासिक (२८–४० हप्ता)
यो शिशुको पूर्ण विकास र प्रसूतिको तयारी हुने चरण हो । यस समयमा शिशुको मस्तिष्क, फोक्सो तथा अन्य अंगहरू थप परिपक्व बन्दै जान्छन् । शिशुको तौल बढ्दै जाँदा आमालाई शरीर भारी महसुस हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुन्निने, ढाड दुख्ने तथा निद्रामा समस्या हुने जस्ता असहजता देखिन सक्छन् ।
यस अवधिमा सुरक्षित प्रसूति योजना, नियमित स्वास्थ्य परीक्षण र आपतकालीन तयारी अपरिहार्य हुन्छ ।
३. नियमित गर्भजाँच र अल्ट्रासाउन्ड किन आवश्यक छ ?
धेरै महिलालाई लाग्न सक्छ– बारम्बार अस्पताल किन जानु ? तर गर्भावस्था पुष्टि भएदेखि नै नियमित गर्भजाँच सुरु गर्नुपर्छ । यसले आमा र शिशुको स्वास्थ्य अवस्था निगरानी गर्न, सम्भावित जोखिम पहिचान गर्न तथा सुरक्षित प्रसूतिको तयारी गर्न मद्दत गर्छ ।
गर्भजाँचका क्रममा रक्तचाप, तौल, रगत तथा पिसाब परीक्षण, अल्ट्रासाउन्ड र आवश्यक खोपहरू दिइन्छन् । आइरन, फोलिक एसिड र पोषणसम्बन्धी परामर्श पनि प्रदान गरिन्छ ।
नेपाल सरकारको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन तथा नियमावली अनुसार सामान्य अवस्थामा गर्भवती महिलाले कम्तीमा चार पटक अनिवार्य रूपमा गर्भ जाँच गराउनुपर्ने व्यवस्था गरिएको छ । यसका तुलनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २०१६ को ‘प्रसवपूर्व हेरचाह निर्देशिका’मा आठ पटकसम्म जाँच सिफारिस गरेको छ ।
कति समयमा के जाँच गर्ने ?

अल्ट्रासाउन्ड जाँच
अल्ट्रासाउन्डले गर्भको अवस्था, शिशुको वृद्धि, मुटुको धड्कन तथा अन्य महत्वपूर्ण जानकारी दिन्छ। आवश्यकता अनुसार चिकित्सकले विभिन्न समयमा अल्ट्रासाउन्ड परीक्षण सिफारिस गर्न सक्छन्।
-६–८ हप्ता : गर्भ पुष्टि र स्थान , गर्भको संख्या र उमेर निर्धारण, मुटुको धड्कन जाँच
-११–१४ हप्ता : प्रारम्भिक विकास मूल्याङ्कन
–२०–२६ हप्ता: बच्चाको विस्तृत संरचनात्मक जाँच
आवश्यकता अनुसार चिकित्सकले थप परीक्षण गर्न सक्छन् ।
४. गर्भावस्थामा खानपान र जीवनशैली कस्तो हुनुपर्छ ?
गर्भमा रहेको शिशुले आवश्यक पोषण आमाले खाने खानाबाट प्राप्त गर्छ। त्यसैले गर्भवती महिलाले सन्तुलित र पोषणयुक्त आहार नियमित रूपमा खानुपर्छ।
आहारमा अन्न, दाल, गेडागुडी, हरियो सागसब्जी, ताजा फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, अण्डा, माछा वा मासु समावेश गर्नु उपयुक्त हुन्छ । पर्याप्त पानी पिउनु र लामो समय भोकै बस्नु हुँदैन ।
धूम्रपान, मदिरा र लागूपदार्थले शिशुको विकासमा गम्भीर असर पार्न सक्छ । यसले समयपूर्व जन्म, कम तौल, जन्मजात समस्या वा गर्भपतनको जोखिम बढाउँछ । काँचो वा राम्रोसँग नपाकेको खाना, अत्यधिक चिल्लो, प्रशोधित तथा अस्वस्थकर खाना कम गर्नु राम्रो हुन्छ । अत्यधिक चिया, कफी र चिनीयुक्त पेय पदार्थबाट टाढा रहनुपर्छ । त्यसैगरी विषादी, धुवाँ र अनावश्यक विकिरणबाट बच्नुपर्छ ।

आइरन, फोलिक एसिड र क्याल्सियम नियमित सेवन गर्नु पर्दछ । आयोडिनयुक्त नुनले शिशुको मस्तिष्क विकासमा सहयोग गर्छ । गर्भावस्थाको कुनै पनि चरणमा चिकित्सकको सल्लाह बिना जथाभावी औषधि खानु हुँदैन । सामान्य समस्या भए पनि आफूखुसी औषधि प्रयोग गर्नु आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुन सक्छ । त्यसैले आवश्यक औषधि केवल स्वास्थ्यकर्मीको परामर्शअनुसार मात्र प्रयोग गर्नुपर्छ ।
जाडो मौसममा कस्तो सावधानी अपनाउने ?
जाडो मौसममा शरीर न्यानो राख्ने, अत्यधिक चिसोबाट बच्ने, धुवाँ र कार्बन मोनोअक्साइडबाट टाढा रहने तथा हिटर वा आगो सुरक्षित रूपमा प्रयोग गर्ने जस्ता सावधानी अपनाउनुपर्छ ।
यात्रा गर्दा के ध्यान दिने ?
गर्भावस्थामा यात्रा गर्नु अघि स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको सल्लाह लिनु पर्दछ । पहिलो चरणमा वाकवाकी, कमजोरी र थकान बढी हुने भएकाले लामो यात्रा टार्नु राम्रो हुन्छ ।
दोस्रो चरण तुलनात्मक रूपमा सुरक्षित मानिन्छ भने अन्तिम चरणमा लामो यात्रा सकेसम्म नगर्नु उपयुक्त हुन्छ । यात्राका क्रममा पर्याप्त पानी पिउने, बीच–बीचमा आराम गर्ने, नजिकको स्वास्थ्य संस्थाबारे जानकारी राख्ने, स्वास्थ्य कागजात साथमा राख्ने तथा अत्यधिक झट्का लाग्ने सवारीबाट बच्नुपर्छ ।
५. कस्तो लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ?
गर्भावस्थामा केही लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन । लगातार पेट दुख्ने, रक्तस्राव हुने, पानी बग्ने, उच्च ज्वरो आउने, दृष्टि धमिलो हुने वा शिशुको चाल कम महसुस हुने अवस्था देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । यी लक्षणहरू गम्भीर जटिलताका संकेत हुन सक्छन् र समयमै उपचार नपाए आमा तथा शिशु दुवैको स्वास्थ्य जोखिममा पर्न सक्छ ।
६. गर्भावस्थामा यौन स्वास्थ्य र सुरक्षित गर्भपतन
सामान्य अवस्थामा गर्भावस्थाका क्रममा यौन सम्पर्क सुरक्षित हुन सक्छ । तर यो महिलाको स्वास्थ्य अवस्था, गर्भको स्थिति तथा चिकित्सकीय जोखिममा निर्भर हुन्छ । संक्रमणको जोखिम बढाउने वा असुरक्षित व्यवहारबाट भने बच्नुपर्छ । तर आक्रामक र असुरक्षित यौन सम्पर्क गर्नु हुँदैन।
यदि रक्तस्राव भइरहेको छ, पेट दुखिरहेको छ, गर्भपतनको जोखिम छ, प्लेसेन्टा प्रिभिया जस्ता जटिलता छन् वा चिकित्सकले यौन सम्पर्क नगर्न सल्लाह दिएका छन् भने यौन सम्पर्कबाट टाढा रहनुपर्छ । प्लेसेन्टा प्रिभिया भनेको गर्भमा साल पाठेघरको मुख नजिक वा त्यहीँ बस्ने अवस्था हो ।
सुरक्षित मातृत्वको सन्दर्भमा सुरक्षित गर्भपतनबारे सही जानकारी पनि उत्तिकै महत्वपूर्ण छ । अनिच्छित गर्भधारण, आमाको स्वास्थ्यमा गम्भीर जोखिम, भ्रूणमा गम्भीर जन्मजात समस्या वा कानुनले तोकेका अन्य विशेष अवस्थामा सुरक्षित गर्भपतन गर्न सकिन्छ । तर चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्ने वा असुरक्षित तरिका अपनाउने कार्यले महिलाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, संक्रमण तथा ज्यानसमेत जोखिममा पर्न सक्छ । त्यसैले आवश्यक परेमा दर्ता प्राप्त स्वास्थ्य संस्थामा गएर प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा लिनुपर्छ । गर्भपतनको विधि गर्भको उमेर, आमाको स्वास्थ्य अवस्था तथा चिकित्सकीय आवश्यकताअनुसार फरक हुन सक्छ।
गर्भको उमेरअनुसार सुरक्षित गर्भपतनका विधि

७. सुरक्षित प्रसूति र सरकारी सुविधा
सुत्केरी समय नजिकिँदै जाँदा प्रसूति योजना तयार गर्नु आवश्यक हुन्छ । प्रसूति गराउने स्वास्थ्य संस्था छनोट गर्ने, आपतकालीन अवस्थामा प्रयोग हुने यातायातको व्यवस्था मिलाउने, आवश्यक खर्चको तयारी गर्ने तथा आमा र शिशुका लागि आवश्यक सामग्री तयार राख्ने काम समयमै गर्नुपर्छ । यदि निर्धारित सुत्केरी मिति कटिसक्दा पनि प्रसव सुरु भएको छैन भने स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । शिशुको चाल कम हुनु, पानी बग्नु वा रक्तस्राव हुनेजस्ता लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य कार्यक्रममार्फत नियमित गर्भजाँच र संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । तोकिएको स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउने गर्भवती महिलाले प्रोत्साहन भत्ता पाउन सक्छन् । त्यसैगरी संस्थागत सुत्केरी गराउने महिलालाई भौगोलिक क्षेत्रअनुसार यातायात खर्च उपलब्ध गराइन्छ । केही स्थानीय तहले अतिरिक्त पोषण भत्ता समेत प्रदान गर्दै आएका छन् ।
८. सुत्केरीपछिको हेरचाह पनि उत्तिकै महत्वपूर्ण
धेरैजसो परिवारले शिशु जन्मिएपछि सम्पूर्ण ध्यान नवजात शिशुतर्फ केन्द्रित गर्छन् । तर सुत्केरीपछिको अवधि आमाको स्वास्थ्यका लागि पनि अत्यन्त संवेदनशील समय हो ।
आमाका लागि के गर्ने ?
–अत्यधिक रक्तस्राव, संक्रमण वा पेट दुखाइ भए/नभएको निगरानी गर्ने
–पर्याप्त आराम गर्ने र पोषणयुक्त खाना खाने
–सुत्केरी भएको तीन महिनासम्म आइरन चक्की नियमित सेवन गर्ने तथा भिटामिन ‘ए’ लिने
–व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
–भारी सामान नउठाउने र अत्यधिक शारीरिक श्रम नगर्ने
–मानसिक स्वास्थ्यमा ध्यान दिने तथा प्रसवपछिको तनाव वा डिप्रेसनका लक्षण देखिएमा परामर्श लिने
–आवश्यकता अनुसार परिवार नियोजनसम्बन्धी परामर्श लिने
यदि अत्यधिक रक्तस्राव, ज्वरो, कमजोरी, पेट दुखाइ वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।
शिशु जन्मिएपछि के गर्ने ?
–तुरुन्त स्तनपान सुरु गर्ने
–पहिलो ६ महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउने
–नियमित खोप लगाउने
–शिशुलाई सफा, सुरक्षित र न्यानो वातावरणमा राख्ने
नेपालमा धेरै मातृ मृत्यु रोक्न सकिने कारणबाट हुने गरेका छन् । गर्भावस्थाको सुरुवातदेखि नियमित जाँच, पर्याप्त पोषण, जोखिमको समयमै पहिचान र संस्थागत प्रसूतिले हजारौं आमा र नवजात शिशुको जीवन जोगाउन सक्छ । सुरक्षित मातृत्व स्वास्थ्य सेवाको विषय मात्र होइन, प्रत्येक महिलाको मौलिक अधिकार हो । यस अधिकारको सुनिश्चितताका लागि परिवार, समुदाय, स्वास्थ्य प्रणाली र राज्य सबैको साझा जिम्मेवारी रहन्छ।
(लेखक काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत कार्यरत मेडिकल अफिसर हुन्।)
प्रतिक्रिया 4