0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बजेटमा सुरुङमार्ग : भाषणमा प्राथमिकता, विनियोजनमा कन्जुस्याइँ

चालु आव नागढुंगा सुरुङबाहेक अन्य आयोजनाका लागि एकमुष्ट ६८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आवका लागि मात्र ६७ करोड विनियोजन गरिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ जेठ २८ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा सुरुङ पूर्वाधारलाई प्राथमिकता दिए पनि वास्तविक विनियोजन भने घटेर ६७ करोड रुपैयाँमा सीमित भएको छ ।
  • आगामी आर्थिक वर्षका लागि नागढुंगा सुरुङमार्गलाई २ अर्ब रुपैयाँ र सिद्धबाबा सुरुङमार्गका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
  • नेपालमा सुरुङमार्ग विकास कार्यक्रमका लागि विनियोजन गरिने बजेट विगतका वर्षहरूदेखि निरन्तर घट्दो क्रममा रहेको छ ।

२८ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरुङ पूर्वाधारलाई उच्च प्राथमिकता दिने बजेट भाषणमा उल्लेख छ । बजेट भाषणमा टोखा–छहरेदेखि थानकोट–चित्लाङसम्मका योजनालाई समेटिएका छन् ।

तर, विनियोजन हेर्दा भने चालु आवको तुलनामा समेत बजेट घटेको छ । चालु आव नागढुंगा सुरुङबाहेक अन्य आयोजनाका लागि एकमुष्ट ६८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आवका लागि मात्र ६७ करोड विनियोजन गरिएको छ ।

यस वर्ष बजेट भाषणमा टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । यो कार्यक्रम चालु आवमा समेत समावेश थियो । जसका लागि २७ लाख रुपैयाँ चालु आवमा विनियोजन गरिएको छ । सोही कार्यक्रमका लागि आगामी आवमा ११ लाख ४८ हजारमात्र विनियोजन भएको छ ।

अर्थात्, सरकारले नाममात्रको बजेट राखेर आयोजनालाई निरन्तरता दिएको छ ।  आगामी आवमा सुरुङमार्ग विकास कार्यक्रम अन्तर्गत १२ योजनालाई बजेट विनियोजन गरिएको छ । चालु आव १५ योजनालाई बजेट परेको थियो । यस वर्ष सरकारले आयोजना समेत कटौती गरेको छ ।

सुरुङमार्ग विकास कार्यक्रमलाई आगामी आव ३ करोड ७७ लाख बजेट विनियोजन गरिएको छ । यस कार्यक्रमलाई चालु आवमा भने ८ करोड ९९ लाख ८० हजार विनियोजन गरिएको थियो । विभिन्न प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि आगामी आवमा १ लाख ९० हजार रुपैयाँ बजेट राखिएको छ । चालु आव सोही कार्यक्रमका लागि ४ लाख ५० हजार बजेट राखिएको थियो ।

सरकारले सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययन गर्न आगामी आवलाई ५ लाख ६० हजार बजेट विनियोजन गरेको छ । चालु आवमा सोही आयोजनालाई १३ लाख ५० हजार बजेट राखिएको थियो ।

त्यस्तै दोलालघाट–चर्नावती सुरुङले आगामी आव १८ लाख ९० हजार बजेट पाएको छ । चालु आव यो सुरुङलाई ४५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तैगरी खुर्कोट–चियाबारी सुरुङमार्गलाई ३ लाख ९२ हजार रुपैयाँमात्र बजेट विनियोजन गरिएको छ । चालु आव यस आयोजनाले ९ लाख बजेट पाएको थियो । शिवपुर–भालुवाङ सुरुङमार्गलाई आगामी आवमा ३ लाख ९२ हजार बजेट विनियोजन भएको छ ।

चालु आवमा सोही आयोजनालाई ९ लाख विनियोजन गरिएको छ । आगामी आवमा रानीघाट भुरीगाउँ सुरुङमार्गले ३ लाख ९२ हजार बजेट पाएको छ । सोही सुरुङलाई चालु आव ९ लाख विनियोजन गरिएको छ ।

सिद्धबाबा सुरुङलाई आगामी आवमा ५० करोड विनियोजन गरिएको छ । यो आयोजनालाई चालु आव ४८ करोड ५० लाख बजेट राखिएको छ । सरकारले यो आयोजना आगामी आवमा सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा बजेट भाषणमा गरेको छ ।

यस्तै ग्वार्को–सातदोबाटो एकान्तकता फ्लाइओभरलाई आगामी आव १२ करोड ४८ लाख बजेट विनियोजन गरिएको छ । चालु आव यो आयोजनाले ९ करोड ५२ लाख बजेट पाएको थियो ।

चालु आव बजेटमा समावेश दुम्कीवास–बर्दघाट, हेम्जा–नयाँ पुल, नयाँ बानेश्वर अन्डरपास, फुस्रेखोला छोरेपाटनदेखि स्याङ्जा गुडीकोला टनेल अध्ययन जस्ता आयोजना भने आगामी आवको विनियोजनमा समावेश छैनन् ।

नेपालमा अहिले नागढुंगा र सिद्धबाबा सुरुङबाहेक काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ निर्माण भइरहेका छन् । यही आयोजनालाई भने सरकारले एकमुष्ट बजेट विनियोजन गर्छ । यो आयोजना नेपाली सेनाले कार्यान्वयन गरिरहेको छ । द्रुतमार्गका सडक, पुल र सुरुङमार्गका लागि एकमुष्ट १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।

यस्तो छ सुरुङमार्ग विकासबारे बजेटको घोषणा

टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने छौं । कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुलसामदेखि जुम्लाको टोपला सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने छौं । खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर र चिसापानी–बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने र्छौं ।

सरकारले बजेट भाषणमा आकर्षक ढंगले सुरुङ योजना राखे पनि विनियोजनमा प्राथमिकता छैन । सबैभन्दा बढी बजेट निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा र सिद्धबाबा सुरुङले मात्र पाएका छन् । सोहीकारण तत्काल नयाँ सुरुङमार्ग निर्माण भई यातायात सहज बनाउने गरी यो बजेटले योगदान गर्दैन ।

नागढुंगा सुरुङलाई २ अर्ब बजेट

आगामी आवमा सरकारले नागढुंगा सुरुङमार्गलाई भने २ अर्ब बजेट विनियोजन गरिएको छ । चालु आव यस आयोजनाले २ अर्ब १० करोड बजेट पाएको थियो । यस आयोजनामा सुरुङ निर्माण, सडक निर्माण, जग्गाप्राप्ति तथा अन्य प्रशासनिक खर्चमा यो बजेट खर्च हुने छ । यसैगरी सुरुङमार्गको मर्मत, सञ्चालन तथा व्यवस्थापनमा समेत बजेट विनियोजन भएको छ ।

निरन्तर घट्दै सुरुङ बजेट

नेपालमा सुरुङ विकासलाई प्राथमिकता दिने नारा सरकारहरूले लगाए पनि विनियोजन भने निरन्तर घट्दो क्रममा छ । २०८०/८१ मा सुरुङमार्ग विकास कार्यक्रमका २३ परियोजनामा १ अर्ब ९४ करोड विनियोजन गरिएको थियो ।

आव २०८१/ ८२ मा यो बजेट ८१ करोड १४ लाखमा खुम्चियो । चालु आव ६८ करोड ८० लाखमा झरेको सुरुङमार्ग विकास कार्यक्रमको बजेट आगामी आवमा ६७ करोडमा खुम्चिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?