0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
एक्स्प्लेनर :

सरकारले भारतीय आँपमा पूर्ण प्रतिबन्ध लगाएको हो ?

वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बजार, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अफवाह फैलिएको बताउँदै आँप आयातमा सर्तसहित अनुमति कायमै रहेको बताएका छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ जेठ २८ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध नलगाएको र जैविक सुरक्षाका लागि कडा सर्त मात्र तोकिएको स्पष्ट पारेको छ।
  • स्वदेशी बालीलाई रोगकिराबाट जोगाउन भारतबाट आयात गरिने आँपलाई ४८ डिग्री सेन्टिग्रेडको तातो पानीमा एक घण्टा उपचार गरेको हुनुपर्ने सर्त राखिएको छ।
  • भारतमा आवश्यक सर्त प्रमाणित गर्ने प्रणाली नहुँदा नेपालमा आँप आयात ४ हजार टनबाट घटेर करिब ४ सय टनमा सीमित भएको छ।

२८ जेठ, काठमाडौं । गर्मी मौसम सुरुवातसँगै यतिबेला नेपाली बजारमा ‘फलफूलको राजा’ मानिने आँप भित्रिन थालेको छ । तराईका विभिन्न जिल्लामा उत्पादित स्वदेशी आँपले बिस्तारै बजार लिन थालेको छ ।

यतिबेला काठमाडौं उपत्यकाका फलफूल पसलदेखि तरकारी पसलसम्म पाकेकादेखि काँचोसम्म आँप किन्न पाइन्छ ।

गत वर्षसम्म आँपको सिजन सुरु हुनासाथ नेपाली बजारमा भारतबाट सस्तो मूल्यमा हजारौं टन आँपको ओइरो लाग्ने गर्थ्यो, जसले समग्र नेपाली बजारमै दबदबा कायम राख्थ्यो ।

अहिले भने परिस्थिति अलि भिन्न देखिएको छ ।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको एउटा खबर हो– ‘सरकारले भारतीय आँप आयातमा प्रतिबन्ध लगायो !’

फेसबुकका भित्तादेखि टिकटकका भिडियोहरूसम्म एउटै दृष्य देख्न सकिन्छ– ‘छिमेकी देशबाट आउने आँपमा अत्यधिक विषादी भेटिएका कारण सरकारले नाकामै रोकिदियो, प्रतिबन्ध नै लगाइदियो, अब भारतीय आँप खानु भनेको बिष खानुसरह हो ।’

कतिपयले कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई उद्धृत गर्दै प्रतिबन्ध लगाएको भन्दै लेखेका छन् ।

नेपालीमात्र नभई पछिल्लो केही दिनदेखि भारतीय सञ्चारमाध्यमहरूले पनि नेपालले भारतीय आँप आयातमा पूर्णप्रतिबन्ध लगाएको भन्दै समाचार सम्प्रेषण गरिरहेका छन् ।

एनडीटीभीदेखि टाइम्स अफ इन्डियासम्मका सञ्चारमाध्यमले ‘नेपालले भारतीय आँपमा प्रतिबन्ध लगायो’ भन्ने शीर्षकका समाचार, भिडियो र अडियो रिपोर्टहरू सार्वजनिक गरिरहेका छन् ।

एनडीटीभीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियता इंगित गर्दै ‘बालेन शाह सरकारले भारतीय आँपमा प्रतिबन्ध लगायो’ भन्ने उल्लेख गरेको छ ।

यी सञ्चारमाध्यमले आफ्ना युट्युब च्यानल र सामाजिक सञ्जालका भित्ताहरूमा समेत जापानको प्रतिबन्धसँग जोडेर नेपाललाई ‘दोस्रो झड्का’ दिने देशका रूपमा चित्रण गर्दै भिडियोहरू पोस्ट गरेका छन् ।

धेरैजसो भारतीय न्युज च्यानलका ‘भ्वाइस ओभर’ र ‘ग्राफिक्स’ मा नेपालले भारतीय किसानलाई मारमा पारेको र कूटनीतिक सम्बन्धमा असर पुर्‍याएको दाबी गरिएको छ ।

गुणस्तर र किराको समस्याका कारण भारतीय आँपले अन्तर्राष्ट्रिय बजारमा पटक–पटक प्रतिबन्ध झेल्दै आएका उदाहरणहरू प्रष्ट छन् । सन् २०१४ मा युरोपेली संघले भारतीय आँपमा ‘फ्रुट फ्लाई’ नामक किरा भेटिएको भन्दै आयातमा रोक लगाएको थियो ।

त्यस्तै जापानले पनि झन्डै २० वर्षसम्म प्रतिबन्ध लगाएर सन् २००६ मा मात्रै सर्तसहित फुकुवा गरेको थियो, तर हालै फेरि प्रशोधन विधिमा त्रुटि भेटिएको भन्दै जापानले आयात रोकेको छ ।

के हो नेपालसँगको यथार्थ ?

सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको भनी सञ्चारमाध्यममा आएका समाचारहरू पूर्णत: गलत भएको स्पष्ट पारेको छ ।

कृषि मन्त्रालय अन्तर्गत प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले स्वदेशी कृषि उत्पादनलाई गम्भीर रोग तथा किराबाट जोगाउन अन्तर्राष्ट्रिय कानुन र नेपालको ‘बिरुवा संरक्षण ऐन २०६४’ बमोजिम आयातमा कडा सर्तमात्र लागु गरिएको जानकारी दिएको छ ।

केन्द्रले बुधबार सूचना जारी गर्दै भारतबाट आँप आयातमा पूर्ण प्रतिबन्ध नलगाएको स्पष्ट पारको छ ।

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बजार, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अफवाह फैलिएको बताउँदै आँप आयातमा सर्तसहित अनुमति कायमै रहेको बताएका छन् ।

पौडेलका अनुसार सरकारले आँप आयातमा रोक लगाएको नभई हानिकारक शत्रुजीव नियन्त्रणका लागि नियमन मात्र गरेको हो ।

‘आँपमा पूर्ण प्रतिबन्ध लगाएको होइन, केही मान्छेहरूले नबुझी हल्ला फिँजाउँछन् र त्यही हल्लाको पछाडि अरू लाग्छन्,’ उनले भने, ‘हामीले यो जैविक सुरक्षाका लागि चालेको कदम हो, आयातमा पूर्ण प्रतिबन्ध होइन ।’

के हो सर्त ? किन गरियो कडाइ ?

भारतबाट आयात हुने आँपको स्वस्थता प्रमाणपत्रमा हानिकारक शत्रुजीव नरहेको र ‘हट वाटर ट्रिटमेन्ट’ (तातो पानीको उपचार) गरिएको भन्ने अतिरिक्त घोषणा नभेटिएपछि सरकारले यस्तो कडाइ गरेको हो ।

केन्द्रका अनुसार भारतबाट आयात हुने आँप ‘ब्याक्टोसेरा कारम्बोलाई’, ‘ब्याक्टोसेरा क्यारीआई’, ‘फिस्टुलोकोकस पोकफुलामेन्सिस’ (आँपको सफ्ट स्केल), ‘क्रिप्टोराइनकस फ्रिगिडस’, ‘ज्यान्थोमोनास एक्जोनोपोडिस पिभी म्यान्जिफेरिइन्डिकी’, ‘लासियोडिप्लोडिया स्युडोथियोब्रोमी’, ‘नियोफ्युजिकोकम म्यान्जिफेरी’ र ‘कोलेटोट्राइकम सियामेन्स’ जस्ता नेपाली कृषि उत्पादनलाई सखाप पार्न सक्ने गम्भीर प्रकृतिका शत्रुजीवको जोखिम देखिएको र यी जीवाणु नेपाल भित्रिए स्वदेशी आँप खेतीमै ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको हो ।

‘यी रोग र किरा नेपाल भित्रिए भने हाम्रो स्वदेशी आँप खेती नै खत्तम हुन सक्ने स्थिति रहन्छ,’ उनले भने, ‘त्यसैले हामीले सर्त राखेका छौं– भारतबाट ल्याइने आँपलाई ४८ डिग्री सेन्टिग्रेड तापक्रम भएको पानीमा एक घण्टा डुबाएर उपचार गरेको प्रमाणित हुनुपर्छ, त्यो सर्त पूरा गरेपछि मात्र नेपाल भित्र्याउन अनुमति दिइने छ ।’

उनका अनुसार यो विषादीको नभई पूर्णरूपमा ‘जैविक सुरक्षा’ सँग जोडिएको विषय हो । खाद्य स्वच्छता तथा गुणस्तर परीक्षणको काम खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गर्ने र क्वारेन्टिनले जैविक सुरक्षा हेर्ने उनले बताए । यो कडाइ सचिवस्तरको निर्णयबाट प्रभावकारी रूपमा लागु गरिएको हो ।

नयाँ सर्त लागु भएपछि आँप आयातमा भने भारी गिरावट आएको छ । भारतमा आँपलाई ‘हट वाटर ट्रिटमेन्ट’ गर्ने र त्यसलाई प्रमाणित गर्ने व्यवस्थित प्रणाली अभाव हुँदा व्यापारीहरूलाई सर्त पूरा गर्न कठिन भइरहेको छ ।

‘हामीले सर्त पूरा गरेर आउने आँपलाई रोकेका छैनौं, आज पनि भित्रिरहेको छ,’ पौडेलले भने, ‘तर, उता (भारतमा) यो प्रमाणित गर्ने व्यवस्थापन व्यवस्थित नभएकाले उनीहरूलाई सर्त पूरा गर्न गाह्रो भइरहेको छ, विगतमा ४ हजार टन आँप आउने ठाउँमा अहिले करिब ४ सय टनमात्र आएको छ ।’

‘भन्सार तिर्दैमा अवैध आँप वैध हुँदैन, कर्मचारीलाई नै कारबाही हुन्छ’

केन्द्रले भन्सार र क्वारेन्टिन प्रक्रिया फरक रहेको भन्दै राजस्व तिरेका भरमा मात्र रोगग्रस्त वा सर्त पूरा नभएका वस्तु भित्र्याउनु गैरकानुनी हुने चेतावनी दिएको छ ।

‘क्वारेन्टिन प्रक्रिया पूरा नभइकन र क्वारेन्टिनले छोडपुर्जी जारी नगरी भन्सार प्रज्ञापनपत्र भरेर राजस्व तिरेर ल्याए पनि त्यो पूर्णरूपमा अवैध हुन्छ,’ वरिष्ठ बाली संरक्षण अधिकृत पौडेलले अनलाइनखबरसँग भने, ‘त्यसरी अवैध तरिकाले राजस्व उठाउन मिल्दैन, यदि क्वारेन्टिनको छोडपुर्जी विना भन्सार भयो भने सम्बन्धित भन्सार कर्मचारीलाई नै समातेर कारबाही गर्नुपर्ने कानुनी व्यवस्था छ ।’

एकातिर आँप आयातमा कडाइ गरिएको समाचार आउने र अर्कातिर बजारमा भारतीय आँप भित्रिरहेको देख्दा सर्वसाधारण र सञ्चारमाध्यममा भ्रम सिर्जना भएको उनले बताए ।

‘सर्त पूरा नगर्नेलाई हामीले रोकेका छौं, तर यो नियम लागु हुनुभन्दा अगाडि नै प्रवेश अनुमति लगिसकेकाहरूले पुरानै सर्त अनुसार आँप ल्याइरहेका छन्,’ पौडेलले भने, ‘एउटा पर्मिटको म्याद ३ महिनासम्म हुन्छ, त्यसैले बजारमा कतै रोकेको छ, कतै ल्याइरहेको छ भन्ने कन्फ्युजन भएको हो ।’

विगतका वर्षहरूमा नेपालमा आँपको सिजन सुरु हुनेबित्तिकै भारतबाट सस्तो मूल्यमा ठूलो परिमाणमा आँप भित्रिन्थ्यो । यसले एकातिर स्वदेशी उपभोक्ताले सस्तोमा आँप खान पाउँथे भने अर्कातिर नेपाली किसानले बजार नपाउने र उचित मूल्य नपाउने समस्या थियो ।

तर, यसपालि गम्भीर रोगकिराको जोखिम मध्यनजर गर्दै जैविक सुरक्षामा गरिएको कडाइले गर्दा नेपाली आँप उत्पादन जोगिनुका साथै स्वदेशी किसानलाई बजार पाउन सहज हुने सरकारको विश्वास छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?