News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको सौराहामा मानिसले प्रयोग गर्ने आकस्मिक गर्भनिरोधक चक्की खुवाइएको थियो।
- शल्यक्रिया गर्दा समस्या बल्झिएपछि उपचारका क्रममा मृत्यु भएको छ।
२८ जेठ, काठमाडौं । कुकुरको उपचारलगायतमा गलत औषधि र प्रक्रियाहरू अपनाइने गरेको कुरा खुलासा भएको छ । कुकुरको इच्छामृत्यु (युथेनाइज) गर्ने क्रममा भेट प्राविधिकहरूले गलत औषधि प्रयोग गर्ने कतिपयको आरोप छ । त्यस्ता औषधिले कुकुरलाई सहज मृत्युवरण गराउने भन्दा पनि एकदमै सास्ती दिने उनीहरूको भनाइ छ ।
यस्तै अहिले चितवनमा एउटा घटना चर्चामा छ । त्यहाँ कुकुरलाई मान्छेले खाने आकस्मिक गर्भनिरोधक चक्की खुवाउन लगाएको बताइन्छ ।
एनिमल नेपाल चितवनकी फिल्ड सुपरभाइजर दीपा केसीका अनुसार उक्त कुकुर सौराहाका एक व्यक्तिको हो । केही समयअघि कुकुरको बाहिर अर्को कुकुरसँग सम्पर्क (मेटिङ) भएको थियो । त्यसपछि स्वास्थ्य समस्या देखिएपछि मालिकले नजिकैको निजी क्लिनिकमा उपचारका लागि लगेका थिए।
प्रारम्भिक चरणमा क्लिनिकबाट मानिसमा आकस्मिक गर्भ रोक्न प्रयोग हुने भनिएको औषधि ‘आइपिल’ र मल्टिभिटामिन दिन सुझाव दिइएको बताइएको छ । पछि कुकुरको पेट फुल्दै गएपछि गर्भ रहेको आशंका गरिएको र परीक्षणपछि गर्भ रहेको पुष्टि भएको मालिकले बताएका छन् ।
उपचार र शल्यक्रिया
करिब ३३ दिनको गर्भ रहेको अवस्थामा कुकुरलाई शल्यक्रियाका लागि क्लिनिकमा लगिएको थियो । तर शल्यक्रियाको क्रममा कुकुरको अवस्था अचानक बिग्रिएपछि मृत्यु भएको जानकारी दिइएको थियो ।
शल्यक्रियाको क्रममा सुरुमा प्राविधिक संलग्न रहेको र पछि डाक्टर आएको कुकुरका मालिकले बताएका छन् ।
औषधि र लापरबाहीको आशंका
मालिक पक्ष र सरोकारवालाहरूले सुरुमा दिइएको औषधि तथा उपचार विधिले कुकुरको स्वास्थ्य बिग्रिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । विशेषगरी मानव प्रयोगका लागि तयार पारेको औषधि प्रयोग गरिएको विषयमा प्रश्न उठाइएको छ ।
तर क्लिनिक पक्षले भने संक्रमण, ज्वरो वा अन्य जटिल स्वास्थ्य अवस्थाका कारण समस्या भएको हुनसक्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ ।
पोस्टमार्टम विवाद
कुकुरको मृत्युको कारण स्पष्ट गर्न पोस्टमार्टम गर्न माग गरिएको थियो । सुरुमा निजी रूपमा पोस्टमार्टम गर्न प्रयास भए पनि विभिन्न पक्षले अस्वीकार गरेको थियो ।
पछि जिल्ला प्रहरी कार्यालयमार्फत समन्वय गरेर पशु सेवा कार्यालयमा पोस्टमार्टम गर्ने सहमति भएको बताइन्छ । तर त्यस समयमा कानुनी प्रक्रिया र जिम्मेवारीबारे अन्योल देखिएको थियो ।
अनुसन्धान र छलफल
घटनापछि जिल्ला प्रहरी कार्यालयमा समेत विषय उठाइएको र सम्बन्धित पक्षबीच छलफल भएको छ । तर प्रारम्भिक छलफलबाट दोष कसको हो भन्ने विषयमा स्पष्ट निष्कर्ष ननिस्किएको र पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ ।
सरोकारवालाको भनाइ
पशु अधिकार क्षेत्रसँग सम्बन्धित प्रतिनिधि दीपा केसीले घटनामा संलग्न सबै पक्षलाई छलफलमा ल्याएर वास्तविक कारण पहिचान गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन पशु उपचार सेवामा स्पष्ट मापदण्ड र जवाफदेहिता आवश्यक रहेको उनको भनाइ छ।
हाल घटना अनुसन्धान तथा पोस्टमार्टम प्रक्रियाको पर्खाइमा रहेको छ । कुकुरको मृत्यु स्वाभाविक स्वास्थ्य जटिलताका कारण भएको हो वा उपचार प्रक्रियामा लापरबाही भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने देखिन्छ ।
यस घटनाले पशु उपचार सेवा, निजी क्लिनिकको जिम्मेवारी र औषधि प्रयोग प्रक्रियाबारे गम्भीर बहस सुरु गराएको छ ।
प्रतिक्रिया 4