२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
विभिन्न राजनीतिक अवरोधका बाबजुद पनि छोटो समयमा ८० प्रतिशतभन्दा बढी सदस्यताको अद्यावधिक कार्य पूरा भएको उनको भनाइ छ ।
संयोजक पौडेलले यसलाई कांग्रेसको डिजिटल रूपान्तरणको महत्वपूर्ण उपलब्धि भनेका छन् । ‘क्रियाशील सदस्यता अद्यावधिकको काम राम्रो भयो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘छोटो समयमा विभिन्न राजनीतिक अवरोधका बाबजुद पनि सदस्यता अद्यावधिक ८० प्रतिशतभन्दा बढी भयो । यसले देशैभरी ठूलो तरंग ल्याएको छ ।’
उनले सदस्यता अद्यावधिक अभियानले कांग्रेसलाई देशको पहिलो र ठूलो ‘डिजिटल्ली’ जोडिएको पार्टी बनाएको जिकिर गरे । ‘कांग्रेसको डिजिटल नेटवर्कको पूर्वाधार बन्यो । यति धेरै डिजिटल्ली जोडिएको पहिलो र ठूलो पार्टी बनेको छ,’ महामन्त्री पौडेलले भने ।
उनले अद्यावधिकको सफलताले पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत र पारदर्शी बनाउने अपेक्षा गरिएको पनि बताए । अद्यावधिक प्रक्रियाले सदस्यहरूको तथ्यांकलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न सहयोग पुग्ने र आगामी दिनमा पार्टी गतिविधिहरू सञ्चालन गर्न डिजिटल पूर्वाधार बलियो हुने पौडेलको भनाइ छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको अद्यावधिक कार्यमा अधिकांश क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको बताएका छन् ।
उनका अनुसार बिहीबार राति १२ बजेसम्ममा वडा सभापतिमार्फत ५ लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेका छन् । एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि फारम पेश गरेको र सदस्यता अद्यावधिक कार्यको प्रक्रियामा रहेको पनि दुलालले बताए ।
जसअनुसार कांग्रेसका छ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक हुने देखिएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार सात लाख ८२ हजार २०९ सदस्यहरू अद्यावधिकका लागि योग्य थिए ।
प्रतिक्रिया 4