News Summary
Generated by OK AI. Editorially reviewed.- टेक्सास इन्टरनेसनल कलेजले शैक्षिक सत्र २०८३ मा भर्ना भएका कक्षा ११ का नयाँ विद्यार्थीका लागि काठमाडौंमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
- कलेज प्रमुख डा. श्यामसुन्दर श्रेष्ठले विद्यार्थीलाई सही सोच, अनुशासन र निरन्तर मेहनतमार्फत सफलताको यात्रा तय गर्न आग्रह गर्नुभयो।
- प्रमुख अतिथि एलपी भानु शर्माले बजारको प्रभावमा नपरी आफ्नो रुचि र क्षमताअनुसार विषय छनोट गर्न विद्यार्थीलाई सुझाव दिनुभयो।
२९ जेठ, काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई लक्षित गर्दै भव्य अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम सम्पन्न गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उल्लेखनीय सहभागिता रहेको थियो।
नयाँ विद्यार्थीलाई कलेज जीवन, शैक्षिक वातावरण, अनुशासन, अध्ययन संस्कार, समय व्यवस्थापन, नेतृत्व विकास तथा भविष्य निर्माणका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ। कार्यक्रममा विद्यार्थीलाई टेक्सास इन्टरनेसनल कलेजको शैक्षिक दर्शन, उपलब्धि, नियम तथा अवसरबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा सहभागी विद्यार्थीलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका कलेज प्रमुख डा श्यामसुन्दर श्रेष्ठले टेक्सासले केवल शैक्षिक उत्कृष्टता मात्र नभई आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी, नैतिक मूल्ययुक्त तथा व्यवहारिक सिपले सम्पन्न विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए।
उनले टेक्सास मन्टेश्वरीदेखि स्नातकोत्तर (मास्टर्स) तहसम्मको शिक्षा प्रदान गर्ने नेपालकै अग्रणी शैक्षिक संस्थामध्ये एक भएको उल्लेख गर्दै विद्यार्थीलाई सही सोच, अनुशासन र निरन्तर मेहनतमार्फत सफलताको यात्रा तय गर्न आग्रह गरे।
‘कुनै विषयको छनोटले मात्र विद्यार्थीलाई सफल बनाउँदैन । सफलता विद्यार्थीको मेहनत, लगनशीलता, अनुशासन र विषयप्रतिको दृष्टिकोणमा निर्भर हुन्छ’ उनले भने ‘टेक्सासले सिकाइका लागि आवश्यक वातावरण, स्रोत र अवसर उपलब्ध गराउँछ, तर त्यसलाई सदुपयोग गर्ने जिम्मेवारी विद्यार्थी आफ्नै हो।’
डा. श्रेष्ठले पछिल्ला वर्षमा विज्ञान र व्यवस्थापन संकायप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै कुनै पनि विषय आफैंमा कमजोर नहुने र जुनसुकै विषयमा पनि समर्पित भएर अध्ययन गरे सफलता प्राप्त गर्न सकिने बताए।
कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्दप्रसाद आचार्यले एसइई उत्तीर्ण गरी नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका विद्यार्थीलाई बधाई ज्ञापन गर्दै टेक्सास जस्तो प्रतिष्ठित संस्थामा अध्ययन गर्ने अवसर प्राप्त गर्नु गर्वको विषय भएको बताए ।
उनले नयाँ पुस्ताले केवल परीक्षा केन्द्रित अध्ययनभन्दा ज्ञान केन्द्रित अध्ययनमा जोड दिनुपर्ने धारणा राखे। विद्यार्थीलाई जिज्ञासु बन्न, प्रश्न गर्न, नयाँ अवधारणा खोज्न तथा अनुसन्धानमुखी सोच विकास गर्न आग्रह गर्दै उनले संसारका सफल व्यक्तिहरूमा निरन्तर अध्ययन गर्ने साझा विशेषता पाइने बताए।
‘पुस्तक पढ्ने, सिक्ने र नयाँ कुरा बुझ्ने बानी विकास नगरी दिगो सफलता प्राप्त गर्न सकिँदैन’ उनले भने ‘सिकाइ कक्षाकोठामा मात्र सीमित हुँदैन, जीवनका हरेक अनुभव सिकाइका स्रोत हुन्।’
कार्यक्रमका प्रमुख अतिथि एलपी भानु शर्माले विद्यार्थीलाई आफ्नो रुची, क्षमता, व्यक्तित्व र जीवनको उद्देश्य पहिचान गरेर मात्र विषय छनोट गर्न सुझाव दिए।
उनले अहिले विज्ञान, व्यवस्थापन, सूचना प्रविधि (आईटी) लगायतका विषयको माग र लोकप्रियता बढे पनि केवल बजारको प्रभावमा परेर विषय छनोट गर्नु उचित नहुने बताए ।
उनले भने, ‘जुन विषय अहिले बिक्छ भनेर त्यसैको पछाडि मात्र नदौडिनुहोस्। तपाईं आफ्नो ज्ञान, क्षमता र रुचिअनुसार अघि बढ्नुभयो भने बजार आफैं तपाईंको पछि आउँछ। सफल व्यक्ति अरूको नक्कल गरेर होइन, आफ्नै पहिचान निर्माण गरेर सफल बन्छ।’
शर्माले धेरै विद्यार्थी साथीभाइ, समाज वा परिवारको प्रभावमा निर्णय गर्ने गरेको उल्लेख गर्दै आत्मनिर्णय क्षमताको विकास आवश्यक रहेको बताए। उनले कसैलाई खुसी पार्नका लागि गरिने कामभन्दा आफूले मन पराएर, उत्साहका साथ गरिने कामले उत्कृष्ट परिणाम दिने धारणा राखे।
कार्यक्रममा विशेष प्रस्तुति दिएका चर्चित उत्प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थीलाई आत्मपहिचान, लक्ष्य निर्धारण, सकारात्मक सोच तथा निरन्तर प्रयासको महत्वबारे प्रेरणादायी प्रशिक्षण दिएका थिए।
डा. कटवालले भने, ‘आज संसारमा धेरै व्यक्ति उत्कृष्ट बन्ने प्रतिस्पर्धामा छन्, तर वास्तवमा उत्कृष्ट त्यही व्यक्ति बन्छ जसले आफूलाई चिन्छ, आफ्नो लक्ष्य स्पष्ट बनाउँछ र त्यसको प्राप्तिका लागि निरन्तर मेहनत गर्छ।’ शिक्षा मानिसलाई महान् बनाउने सबैभन्दा शक्तिशाली माध्यम भएको उल्लेख गर्दै उनले शिक्षा ग्रहण गर्न इच्छाशक्ति, धैर्यता र निरन्तरता आवश्यक पर्ने बताए।
उनले भविष्यमा पढाइ र ज्ञानको महत्व अझ बढ्ने उल्लेख गर्दै भने, ‘आजभन्दा ३०–४० वर्षअघि पढेलेखेका मानिस कम थिए। तर आगामी २० वर्षपछि पनि गहिरो अध्ययन गर्ने र ज्ञानप्रति प्रतिबद्ध मानिसको संख्या कम हुन सक्छ, किनभने धेरै मानिस तत्काल धन आर्जनको पछाडि लाग्ने र अध्ययनलाई प्राथमिकता नदिने सम्भावना छ। त्यसैले ज्ञान र शिक्षामा लगानी गर्ने विद्यार्थी नै भविष्यका सफल नागरिक बन्नेछन्।’
कार्यक्रमका क्रममा कलेज प्रशासनले विद्यार्थीलाई कलेजको आचारसंहिता, शैक्षिक नियम, परीक्षा प्रणाली, उपस्थितिको महत्व, सहशैक्षिक गतिविधि तथा नेतृत्व विकासका अवसरबारे विस्तृत जानकारी दिएको थियो।
विद्यार्थीलाई कलेजमा अनिवार्य रूपमा निर्धारित पोसाकमा उपस्थित हुनुपर्ने, कलेज समयभन्दा कम्तीमा १५ मिनेट अगाडि उपस्थित हुनुपर्ने, कलेजद्वारा आयोजना गरिने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउनुपर्ने तथा अनुशासनलाई उच्च प्राथमिकता दिनुपर्ने विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा टेक्सासमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले पनि आफ्ना अनुभव साझा गरेका थिए। उनीहरूले टेक्सासले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा जीवन उपयोगी सीप विकासमा समेत विशेष ध्यान दिने बताएका थिए।
त्यसैगरी, कक्षा ११ मा नयाँ भर्ना भएका केही विद्यार्थीहरूले टेक्सास आफ्नो पहिलो रोजाइ किन बनेको हो, भविष्यमा आफूले हासिल गर्न चाहेको लक्ष्य के हो तथा कलेजप्रति आफ्ना अपेक्षाहरू के–के छन् भन्ने विषयबारे धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रबन्ध निर्देशक जितेन्द्रकुमार बाखु, कलेज प्रमुख डा. श्यामसुन्दर श्रेष्ठ, विभिन्न विभागका विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा प्रशासकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका कार्यकारि अध्यक्ष भेषराज पोखरेलले एसईई सफलतापूर्वक उत्तीर्ण गरी नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया 4