News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बास्केटबल संघको आयोजनामा आगामी असार १ देखि ६ गतेसम्म कीर्तिपुर कभर्डहलमा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप सञ्चालन हुने भएको छ ।
- विभिन्न कारणले विगत १३ वर्षदेखि रोकिँदै आएको राष्ट्रिय महिला बास्केटबल प्रतियोगितामा यसपटक देशभरका ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
- यस प्रतियोगितालाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको खेलाडी छनोटको मुख्य आधार मानिने संघले जनाएको छ ।
२९ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असार १ गतेदेखि ६ गतेसम्म कीर्तिपुरस्थित कभर्ड हलमा सञ्चालन हुने भएको छ ।
नेबाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगितामा देशभरबाट आठ टोलीको सहभागिता रहने जानकारी गराएको हो । प्रतियोगिताको खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिरका ती सहित आठ टोलीले प्रतिस्पर्धा गर्ने नेबा अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए । जसमा कास्कीको अन्नपूर्ण बास्केटबल संघ, सुनसरी बास्केटबल संघ, आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, लुम्बिनी प्रदेश, ट्रेनिङ ग्राउण्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्स छन् । अन्नपूर्ण बास्बेटबल क्लब, सुनसरी रलुम्बिनी उपत्यका बाहिरका टोली हुन् ।
सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा अन्नपूर्ण, सुनसरी, आइएसए, लेट्स गो छन् भने लुम्बिनी, ट्रेनिङ ग्राउण्ड, बुढानिकलण्ठ र ग्रान्डी स्टार्स समूह बी मा छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
यस प्रतियोगिताले महिला बास्केटबलको राष्ट्रिय स्तरमा बढ्दो विस्तार र लोकप्रियतालाई प्रतिबिम्बित गर्ने संघको विश्वास छ ।
१३ वर्षपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता हुन लागेको संघले जनाएको छ । पछिल्लो पटक सन् २०१३ मा राष्ट्रिय प्रतियोगिता भएको र त्यसपछि विभिन्न प्राविधिक कारण, बजेट अभाव लगायत कारणले राष्ट्रिय प्रतियोगिता हुन नसकेको नेबा अध्यक्ष भिम सिंह गुरुङले बताए । उनले राष्ट्रिय प्रतियोगिता नभएपनि अन्य विभिन्न प्रतियोगिता भने भइरहेको जानकारी दिए ।
पछिल्लो पटक भएको राष्ट्रिय प्रतियोगिताको उपाधि प्राइम स्पोर्ट्स क्लबले जितेको थियो भने ह्वाइट हाउस बास्केटबल क्लब उपविजेता बनेको थियो ।
प्रतियोगिताको कुल बजेट १३ लाख ५० हजार रुपैयाँ रहेको छ । विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार रुपैयाँ, उदीयमान टोलीलाई १० हजार रुपैयाँ तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
काठमाडौं उपत्यकाबाहिरबाट सहभागी हुने टोलीहरूलाई प्रोत्साहन गर्न आयोजकले प्रत्येक टोलीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने संघले जनाएको छ ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङका अनुसार प्रतियोगिताले महिला बास्केटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
यस प्रतियोगितालाई राष्ट्रिय टिमको लागि खेलाडी छनोटको आधार पनि मानिने संघले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली छनोटमा समेत प्राथमिकताका साथ हेरिनेछ ।
यस्तै नेबा अध्यक्ष गुरुङले अब महिलाको राष्ट्रिय प्रतियोगितालाई निरन्तर आयोजना गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि जुनियर, सिनियर टोलीको सहभागितालाई पनि प्राथमिकता पनि दिने बताए ।
नेपाली महिला बास्केटबल टिमका प्रशिक्षक विकास शाहीले लामो समयपछि राष्ट्रिय प्रतियोगिता हुनु महिला बास्केटबलको लागि राम्रो संकेत भएको र संघले यसलाई निरन्तरता दिने लष्य राख्नु सुखद भएको बताए ।
प्रतिक्रिया 4