News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले नेपाल प्रिमियर लिगको आगामी सिजनका लागि मार्की खेलाडी कुशल मल्लसहित ७ खेलाडीलाई रिटेन गरेको छ ।
- रिटेन गरिएका अन्य खेलाडीहरूमा देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरा छन् ।
- चितवन राइनोजले खेलाडी ड्राफ्ट र अन्य प्रक्रियामार्फत थप सन्तुलित तथा प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भरतपुर, चितवन । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि मार्की कुशल मल्लसहित ७ खेलाडी रिटेन गरेको छ ।
चितवन राइनोजले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै ७ खेलाडी रिटेन गरेको घोषणा गरेको हो ।
फ्रेन्चाइजले निरन्तरता, स्थायित्व तथा दीर्घकालीन सफलतालाई केन्द्रमा राख्दै टोलीको बलियो आधार कायम राख्ने उद्देश्यका साथ खेलाडीहरूलाई रिटेन गरेको चितवनले जनाएको छ ।
रिटेन गरिएका खेलाडीहरुमा मार्की तथा कप्तान कुशल मल्ल, देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरा छन् ।
यी खेलाडीहरूले गत सिजनमा टोलीको प्रदर्शन र विकासमा महत्वपूर्ण योगदान पुर्याएको र राष्ट्रिय टोलीको अनुभव, घरेलु क्रिकेटमा स्थापित प्रदर्शन तथा युवा प्रतिभाको उत्कृष्ट संयोजन रहेको चितवन राइनोजले जनाएको छ ।
यस समूहलाई आगामी सिजनको टोली निर्माणको मुख्य आधारका रूपमा हेरिएको छ ।
कुशल मल्लको नेतृत्व क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा खेल जिताउने क्षमताले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । देव खनाल र अर्जुन साउद नेपाली क्रिकेटका सम्भावनाशील युवा खेलाडीका रूपमा स्थापित भइरहेका छन् भने कमल सिंह ऐरीको अलराउण्ड क्षमता टोलीका लागि महत्वपूर्ण रहनेछ । त्यसैगरी रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोराले आफ्नो निरन्तर प्रदर्शन, मेहनत र समर्पणमार्फत टोली व्यवस्थापनको विश्वास जितेका राइनोजले जनाएको छ ।
चितवन राइनोज व्यवस्थापनले बलियो कोर समूहलाई निरन्तरता दिनु आगामी सिजनको सफलताका लागि महत्वपूर्ण कदम भएको बताएको छ । साथै खेलाडी ड्राफ्ट तथा अन्य भर्ती प्रक्रियामार्फत थप सन्तुलित र प्रतिस्पर्धात्मक टोली निर्माण गरिने जनाएको छ ।
प्रतिक्रिया 4