News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को आयोजक अमेरिकाले आफ्नो पहिलो खेलमा शनिबार बिहान पाराग्वेसँग प्रतिस्पर्धा गर्दै छ ।
- विश्वकपमा ९६ वर्षपछि आमनेसामने हुन लागेका अमेरिका र पाराग्वे क्रमशः १७औं र ४१औं वरियतामा छन् ।
- अमेरिकी प्रशिक्षक माउरिसियो पोचेटिनोले उत्कृष्ट खेलाडी र प्रशिक्षक रहेको पाराग्वे विरुद्धको खेल निकै चुनौतीपूर्ण हुने बताए ।
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को आयोजक मध्ये सबैभन्दा धेरै खेल होस्ट गर्ने अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वे विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह बी को यो खेल अमेरिकाको लस एन्जल स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान ६:४५ बजे सुरु हुनेछ ।
३२ वर्षपछि विश्वकप आयोजक बनेको अमेरिका घरेलु मैदानमा हुने पहिलो खेल जित्दै विश्वकपमा सुखद थालनी गर्ने लक्ष्यमा छ ।
पाराग्वे विरुद्ध विगतको प्रदर्शन कायम राख्ने लक्ष्यमा अमेरिका छ ।
अमेरिका र पाराग्वे विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यी दुई टोली ९६ वर्षपछि विश्वकपमा फेरि आमने सामने हुँदैछन् ।
यसअघि सन् १९३० मा भएको पहिलरो संस्करणमै यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा अमेरिका ३-० ले विजयी भएको थियो । त्यसबेला विश्वकपकै अमेरिकाका बर्ट पाटेनाउडेले तीनै गोल गर्दै पहिलो ह्याट्रिक गरेका थिए ।
पहिलो संस्करणमै सेमिफाइनल सम्म यात्रा तय गरेको अमेरिकाको यो १२औं सहभागिता हो र सेमिफाइनल पुग्नु नै अहिलेसम्मको ठुलो सफलता हो ।
अमेरिकाले खेलेको पछिल्लो तीन विश्वकप २०१०, २०१४ र २०२२ मा समूह चरणबाट अघि बढेको थियो भने समुहको ९ खेलमा जम्मा एक खेलमा मात्र पराजित भएको थियो ।
सन् २००६ मा समूहको अन्तिम खेलमा घानासँग पराजित भएयता अमेरिका २०१४ को विश्वकपमा जर्मनीसाग मात्र पराजित भएको थियो । त्यो संस्करण जर्मनी नै च्याम्पियन बनेको थियो ।
उता पाराग्वे नवौँ पटक विश्वकप खेल्दैछ । दक्षिण अमेरिकी छनोटमा छैटौं स्थानमा रहेर विश्वकपमा पुगेको पाराग्वे सन् २०१० पछि पहिलो पटक विश्वकप खेल्दैछ । दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा पाराग्वे क्वाटरफाइनलसम्म पुगेको थियो र त्यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो । त्यस संस्करणमा स्पेनसँग अन्तिम समयमा पराजित भएको थियो र अन्तिममा स्पेन नै च्याम्पियन बनेको थियो । यस्तै पाराग्वे तीन पटक विश्वकपको अन्तिम १६ मा पुगेको छ ।
पाराग्वे विश्वकपमले खेलेको पछिल्ला १७ समुह चरणको खेल मध्ये जम्मा ३ खेलमा मात्र हार व्होरेको छ । त्यसमा पाराग्वेले ६ खेल जित्दा ८ खेल बराबरी गरेको थियो ।
सबैखाले अन्तर्राष्ट्रिय खेलमा भने यी दुई टोलीबिच अहिलेसम्म कूल ९ खेल भएको छ । जसमा अमेरिकाले ५ खेल जित्दा पाराग्वेले २ खेल मात्र जितेको छ भने २ खेलमा बराबरीमा सकिएको थियो । फिफा वरियतामा अमेरिका १७औं र पाराग्वे ४१औं स्थानमा छ ।
अमेरिकाले अहिलेसम्म पछिल्लो पाँच विश्वकपमा खेलेको आफ्नो पहिलो खेलमा जम्मा १ खेलमा मात्र पराजित भएको छ भने २ जित र २ बराबरीको नतिजा छ ।
पछिल्लो पटक सन् २०२५ मा पेन्सलभनियामा भएको मैत्रीपूर्ण खेल अमेरिकाले २-१ ले जितेको थियो र त्यही लय कायम राख्दै विश्वकपको पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्य अमेरिका छ ।
अमेरिकाले पछिल्लो पाँच खेलमा मिश्रित नतिजा निकालेको छ । जसमा २ जित र ३ हार छ । विश्वकपअघिको मैत्रीपुर्ण खेलमा सेनेगललाई हराएको अमेरिका त्यसपछि जर्मनीसँग पराजित भएको थियो ।
अमरिकाका अर्जेन्टाइन प्रशिक्षक माउरिसियो पोचेटिनोले पाराग्वेको मानसिकता र आक्रमकता र प्रतिस्पर्धात्मक राम्रोसँग जानकार रहेको र पाराग्वे विरुद्धको खेल कठिन हुने बताएका छन् । पाराग्वे राम्रो टोली समेत रहेको र गुस्ताभो अल्फारो जस्ता उत्कृष्ट प्रशिक्षक समेत रहेको प्रतिक्रिया दिएका छन् । उनले यो खेल निकै चुनौतीपुर्ण हुने बताए ।
यस्तै पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले विश्वकपमा स्थान पक्का गरेदेखि नै यो क्षणको लागि काउन्टडाउन सुरु गरेको र यो टिमको लागि ठूलो सन्तुष्टीको विषय भएको बताए । उनले आफ्नो देशको लागि यो धेरै आवश्यकता रहेको र खेलाडीहरुले यो सफलताका लागि धेरै सं३र्ष गरेको बताए ।
उनले आफुहरुको लागि यो एउटा सामान्य खेल मात्र नभएको र फरक खालको खेल भएको बताए । उनले विश्वकपमा समत छिटो बित्ने भएको र यहाँ हरेक षण निकै महत्वपूर्ण हुने बताए ।
पाराग्वेका मिडफिल्डर डिएगो गोमेजले पनि आफ्नो देशको प्रतिनिधित्व गर्नेको अर्थ आफुहरुलाई राम्रोसँग थाहा भएको र पाराग्वेका जनता पनि टिमलाई लिएर निकै उत्साहित रहेको बताए । मैदानमा उत्कृष्ट प्रदर्शनका लागि कठा मिहिनेत गरेको उनले बताए ।
अमेरिकाको लागि अनुभवी खेलाडी तथा स्टार क्रिस्टियन पुलिसिक, फरवार्ड फोलारिन बालोगिन हेर्न लायक खेलाडीको रुपमा रहनेछन् भने डिफेण्डर क्रिस रिचर्ड खेलका लागि फिट हुनु सुखद खबर रहेको छ । उता पाराग्वेका लागि अमेरिकाके क्लबमा खेल्ने मिगुएल अल्मोरिम, मिडिफिल्डर डिएगो गोमेज र डिफेण्डर गुस्ताभो गोमेज हेर्न लायक खेलाडीको रुपमा रहनेछन् ।
खेल विवरण
खेल : अमेरिका भर्सेस पाराग्वे
स्थान : लस एन्जल स्टेडियम
समय : बिहान पौने ७ बजे
रेफ्री : डानी माकेल्ली
अमेरिकाको पछिल्लो ५ खेलको नतिजा : २ जित ३ हार
पाराग्वेको पछिल्लो ५ खेलको नतिजा : ३ जित २ हार
प्रतिक्रिया 4