News Summary
Generated by OK AI. Editorially reviewed.- चोटका कारण विश्वकप गुमाउने भएपछि जापानका कप्तान वातारु एन्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गरेका छन् ।
- लिभरपुलका ३३ वर्षीय मिडफिल्डर एन्डो फेब्रुअरीमा खुट्टाको चोटको शल्यक्रिया गरे पनि विश्वकपअघि पूर्ण रूपमा निको हुन सकेनन् ।
- जापानले १४ जुनमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा शुरू गर्ने तयारी गरिरहँदा कप्तान एन्डोको अनुपस्थितिले टोलीलाई ठूलो धक्का लागेको छ ।
२९ जेठ, काठमाडौं । चोटका कारण जापानको फिफा विश्वकप टोलीबाट बाहिरिएका कप्तान वातारु एन्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्कालै सन्यासको घोषणा पनि गरेका छन् ।
३३ वर्षीय लिभरपुल मिडफिल्डर एन्डो फेब्रुअरीको अन्त्यतिर क्लबबाट खेल्ने क्रममा खुट्टामा लागेको चोटका कारण शल्यक्रिया गर्न बाध्य भएका थिए । त्यसपछि उनी पूर्ण रूपमा निको हुँदै गएको विश्वासका साथ प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि घोषणा गरिएको २६ सदस्यीय टोलीमा समावेश गरेका थिए ।
चोटकै कारण काओरु मितोमा र ताकुमी मिनामिनो भने टोलीमा अटाउन सकेका थिएनन्।
तर मे ३१ मा आइसल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफपछि असहज महसुस गर्दै एन्डो मैदानबाट बाहिरिएपछि उनको अवस्थाबारे शंका बढ्न थालेको थियो ।
त्यसबेला प्रशिक्षक मोरियासुले, ‘चिकित्सकहरूको रिपोर्टअनुसार उनी खेल्न नसक्ने अवस्था छैन। त्यसैले हामी विश्वास गर्दै प्रतीक्षा गरिरहेका छौं’ भनेका थिए।
यद्यपी अन्ततः एन्डोले विश्वकप खेल्न नसक्ने निश्चित भएपछि उनले राष्ट्रिय टोलीबाट तत्कालै सन्यास लिने निर्णय गरेका हुन् ।
जापानले समूह एफ अन्तर्गत जुन १४ मा अमेरिकाको आर्लिङ्टनमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।
कप्तान र अनुभवी मिडफिल्डरको अनुपस्थितिले जापानको तयारीलाई ठूलो धक्का पुगेको छ।
प्रतिक्रिया 4