३० जेठ, काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिका र इरानबीच आइतबार नै शान्ति सम्झौतामा हस्ताक्षर नहुने स्पष्ट पारेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौता आगामी केही दिनमा हुन सक्ने भए पनि अहिलेसम्म मिति तय नभएको बताएका छन्।
यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले २४ घण्टाभित्रै सम्झौता हुन सक्ने र अनलाइनमार्फत हस्ताक्षर हुने दाबी गरेका थिए।
युद्ध अन्त्य गर्ने मात्र उद्देश्य, आणविक मुद्दामा पछि छलफल
प्रवक्ता बघाईका अनुसार पाकिस्तानको मध्यस्थतामा तयार भइरहेको यो सम्झौताको मुख्य उद्देश्य हाल जारी युद्ध अन्त्य गर्नु मात्र हो। यसमा तत्काल आणविक मुद्दामा कुनै छलफल हुनेछैन।
अमेरिकाको अडान बारम्बार परिवर्तन भइरहेकाले सम्झौतालाई लिएर अझै सावधानी अपनाउनुपर्ने इरानको भनाइ छ।
अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले दुवै देश सम्झौताको निकै नजिक पुगेको बताउँदै सम्झौताका सर्तहरूबारे अनुमान नलगाउन मिडियालाई आग्रह गरेका छन्। उनले १४ जुनमा जेनेभामा सम्झौता हुने भन्ने खबरलाई पनि खारेज गरेका छन्।
प्राप्त जानकारीअनुसार, यो अन्तिम शान्ति सम्झौता हुनेछैन। सुरुमा दुवै देशले एक समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। त्यसपछि आगामी ६० दिनसम्म प्राविधिक चरणको वार्ता हुनेछ, जसमा आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र होर्मुज स्ट्रेटको सञ्चालनबारे विस्तृत छलफल हुनेछ।
होर्मुज स्ट्रेट र पानीजहाजमाथिको आक्रमणले बढायो तनाव
सम्भावित सम्झौताको चर्चा चलिरहँदा होर्मुज स्ट्रेटको सुरक्षा र नियन्त्रणलाई लिएर विवाद कायमै छ। इरानी सेनाले उक्त स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ।
विदेशमन्त्री अराघचीले सम्झौतापछि होर्मुज स्ट्रेट पहिलेको जस्तो नरहने र पानीजहाजहरूका लागि नयाँ नियम र सेवा शुल्क लागू हुन सक्ने सङ्केत गरेका छन्। इरानी संसदले यसको व्यवस्थापनका लागि नयाँ कानुनसमेत तयार गरिरहेको छ।
यसैबीच, होर्मुज हुँदै जाने भारतीय पानीजहाजहरूमाथि आक्रमण भएको विषयले कूटनीतिक तनाव बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले भारतीय जहाजमा ड्रोन हमला गर्ने प्रयास गरेको र त्यसलाई अमेरिकी सेनाले विफल पारेको दाबी गरेका छन्।
युरेनियम लुकाएको आरोप र इरानभित्रको आन्तरिक मतभेद
अमेरिकी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार इरानले इस्फान आणविक केन्द्रमा रहेको उच्च संवर्द्धित युरेनियमको भण्डारलाई अमेरिकी कब्जाबाट बचाउन सुरुङहरू भत्काएर विष्फोटक माइनहरू बिछ्याएको छ।
इरानभित्रै पनि यो सम्झौतालाई लिएर मतभेद छ। इरानका कट्टरपन्थी गुटहरूले होर्मुज स्ट्रेट खोल्ने र अमेरिकालाई छुट दिने कुराको कडा विरोध गरिरहेका छन्।
इरानका प्रधानन्यायाधीश लगायतका शीर्ष अधिकारीहरूले अमेरिकाप्रति कुनै विश्वास नरहेको बताएका छन् भने धर्मगुरुहरूले वार्ता टोलीलाई देशका सर्वोच्च नेताको निर्देशनबाहिर नजान चेतावनी दिएका छन्।
दुवै देशलाई चाहिएको छ ‘जित’
इरानले रोक्का रहेको आफ्नो अर्बौं डलरको सम्पत्ति फुकुवा हुने अपेक्षा गरेको छ। यद्यपि अमेरिकी उपराष्ट्रपति जेडी भेन्स लगायतका अधिकारीहरूले इरानले आफ्ना सम्पूर्ण दायित्व पूरा नगरेसम्म कुनै आर्थिक राहत नपाउने बताएका छन्।
अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरूका अनुसार अमेरिका र इरान दुवै यस सम्झौतालाई आ-आफ्नो घरेलु राजनीतिमा ‘जित’ को रूपमा प्रस्तुत गर्न चाहन्छन्।
ट्रम्प होर्मुज स्ट्रेट खुला भएको देखाउन चाहन्छन् भने इरान अमेरिकी प्रतिबन्ध हटेको देखाउन चाहन्छ। ह्वाइट हाउसले सम्झौता चाँडै हुने विश्वास व्यक्त गरे पनि सर्तहरूलाई लिएर अझै संशय बाँकी छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4