News Summary
Generated by OK AI. Editorially reviewed.- सरोकारवालाहरूले एचआईभी र क्षयरोगसम्बन्धी सामाजिक लाञ्छना तथा विभेदका कारण प्रभावित समुदायले सम्मानजनक सेवा पाउन नसकेको बताएका छन्।
जेठ ३१, काठमाडौं । एचआईभी तथा क्षयरोग (टीबी) सम्बन्धी लाञ्छना र विभेद अझै गम्भीर रूपमा कायम रहेको सरोकारवालाले बताएका छन् । रोकथाम, परीक्षण र उपचार सेवामा उल्लेखनीय सुधार भए पनि सामाजिक पूर्वाग्रह, गलत धारणा, संस्थागत व्यवहार र संरचनागत कमजोरीका कारण प्रभावित समुदायले अझै समान र सम्मानजनक सेवा पाउन नसकेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य लाइभ मिडियाले सातै प्रदेशका पत्रकारका लागि आयोजना गरेको ‘एचआईभी, मलेरिया र टीबीसँग सम्बन्धित लाञ्छना तथा विभेद अन्त्यका लागि मानवअधिकारमुखी उत्तरदायी रिपोर्टिङ’ तालिम कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले एचआईभी नियन्त्रण तथा उपचारमा उल्लेखनीय प्रगति भए पनि चुनौतीहरू कायमै रहेको बताए । उनका अनुसार नेपालमा हाल करिब ३४ हजारभन्दा बढी एचआईभी संक्रमित रहेको अनुमान छ, जसमा १९ हजार ८२१ पुरुष, १४ हजार ५१६ महिला र १ हजार ५८ बालबालिका रहेका छन् । वार्षिक रूपमा ६१४ जना नयाँ संक्रमित थपिने र ५६८ जनाको एचआईभीका कारण मृत्यु हुने गरेको तथ्यांक उनले प्रस्तुत गरे ।
शर्माले नियमित औषधि सेवन गर्ने एचआईभी संक्रमित व्यक्तिहरू सामान्य मानिससरह लामो र स्वस्थ जीवन बाँच्न सक्ने बताए । तर समाजमा विद्यमान लाञ्छना र गलत धारणाका कारण समस्या पूर्णरूपमा समाधान हुन नसकेको उनको भनाइ छ ।

रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले विगतको तुलनामा परीक्षण, रोकथाम र उपचार सेवामा उल्लेखनीय सुधार आएको बताए । ‘अहिले एचआईभी संक्रमणको अर्थ मृत्यु होइन’ उनले भने, ‘नियमित उपचारले दीर्घ र स्वस्थ जीवन सम्भव छ तर सामाजिक सोच र पुराना मिथकका कारण विभेद अझै कायम छ ।’
एचआईभीसँग बाँचिरहेका व्यक्तिहरूको गोपनीयता, स्वास्थ्य, शिक्षा, रोजगारी र समानताको अधिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरे पनि व्यवहारिक रूपमा चुनौती कायम रहेको राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ बास्तोलाले बताए । उनका अनुसार स्वास्थ्य सेवा, शिक्षा तथा रोजगारीमा अझै पूर्वाग्रहका कारण प्रभावित व्यक्तिहरूले समस्या भोगिरहेका छन्।
क्रुजएड्स नेपालकी कार्यक्रम संयोजक समता बमले एचआईभी तथा टीबीसँग सम्बन्धित लाञ्छना सामाजिक, संस्थागत र संरचनागत तहसम्म फैलिएको बताइन् । उनका अनुसार विभेदको डरले प्रभावित व्यक्तिहरूमा आत्म–लाञ्छना समेत बढ्ने गरेको छ, जसले उपचार र सेवामा पहुँचमा बाधा पुर्याउँछ । पीएलएचआईभी स्टिग्मा इन्डेक्स २.० नेपाल अनुसार करिब ३५ प्रतिशत ट्रान्सजेन्डर, १८.५ प्रतिशत एमएसएमरगे र १५.७ प्रतिशत यौनकर्मीहरूले एचआईभीबाहेक अन्य कारणले पनि लाञ्छना र विभेद भोगेका छन् ।
समुदायका प्रतिनिधिहरूले एचआईभी संक्रमित तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि अझै विभेद हुने गरेको बताए । सरकारी अस्पतालमा शल्यक्रिया गर्न आनाकानी गर्ने, सेवा ढिलाइ गर्ने तथा सार्वजनिक स्थलहरूमा असुरक्षा महसुस गर्नुपर्ने अवस्था अझै रहेको उनीहरूको भनाइ छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार एचआईभी, हेपाटाइटिस र यौनरोगसम्बन्धी कार्यक्रम कार्यान्वयनमा औषधि तथा परीक्षण किट आपूर्ति, बहुवर्षीय खरिद योजना र भाइरल लोड सप्रेसनजस्ता क्षेत्रमा चुनौतीहरू कायम छन् ।
कार्यक्रमका सहभागीहरूले एचआईभी तथा टीबीसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्न नीति, सेवा प्रणाली र सामाजिक सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन् । साथै पत्रकारितामा तथ्यमा आधारित, संवेदनशील र विभेदरहित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया 4