३१ जेठ, काठमाडौं । आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी २ र ३ अक्टोबरमा जनकपुरमा आयोजना हुने भएको छ । क्यान्सर उपचार तथा सचेतनासम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयताराले ८ वर्षदेखि उक्त सम्मेलन आयोजना गर्दै आएको छ ।
सम्मेलनको साइन्टिफिक कमिटीले क्यान्सर तथा रक्तरोग (अन्कोलोजी र हेमाटोलोजी) सम्बन्धी नवीन अनुसन्धान, क्लिनिकल अनुभव तथा उपचार क्षेत्रमा भएका प्रगतिसम्बन्धी अब्स्ट्र्याक्ट पेश गर्न आह्वान गरेको छ । अनुसन्धानकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूले अब्स्ट्र्याक्ट पेश गर्न सक्नेछन् ।
सम्मेलनमा मौलिक अनुसन्धान, गुणस्तर सुधार परियोजना, उपचार परिणामसम्बन्धी अध्ययन, शैक्षिक अनुसन्धान तथा क्यान्सर र रक्तरोगसँग सम्बन्धित दुर्लभ केस रिपोर्ट वा केस सिरिजसम्बन्धी अब्स्ट्र्याक्टहरू पेश गर्न सकिने आयोजक विनयताराले जनाएको छ।
कमिटीका अनुसार उत्कृष्ट १५ वटा अब्स्ट्र्याक्ट छनोट गरी प्रत्येकलाई सम्मेलनमा सहभागी हुन १५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिनेछ । छनोट भएका अब्स्ट्र्याक्टका लेखकहरूले सम्मेलनमा दर्ता गरी आफ्नो अध्ययन प्रस्तुत गर्नुपर्नेछ ।
अब्स्ट्र्याक्ट पेश गर्ने अन्तिम मिति ७ अगस्ट तोकिएको छ । स्वीकृतिको जानकारी अन्तिम मितिपछि करिब दुई साताभित्र उपलब्ध गराइने आयोजकको भनाइ छ ।
आयोजकका अनुसार अब्स्ट्र्याक्ट अनिवार्य रूपमा अंग्रेजी भाषामा तयार गर्नुपर्नेछ र शीर्षक, लेखक तथा संस्थागत विवरण बाहेक अधिकतम ३०० शब्दभित्र सीमित हुनुपर्नेछ।
मौलिक अनुसन्धानसम्बन्धी अब्स्ट्र्याक्टमा पृष्ठभूमि, विधि, नतिजा र निष्कर्ष समावेश गर्नुपर्नेछ । त्यस्तै दुर्लभ केस रिपोर्ट तथा केस सिरिजमा पृष्ठभूमि, केस छलफल र निष्कर्ष उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दुर्लभ केस रिपोर्ट वा केस सिरिजलाई मात्र प्राथमिकता दिइने आयोजकले जानकारी दिएका छन् ।
सबै अब्स्ट्र्याक्ट वैज्ञानिक समितिका सदस्यहरूद्वारा पेयर रिभ्यु प्रक्रियामार्फत मूल्यांकन गरिनेछ । मूल्यांकनका आधारमा वैज्ञानिक गुणस्तर, मौलिकता, क्लिनिकल सान्दर्भिकता, शैक्षिक महत्त्व तथा समग्र प्रस्तुतीकरणलाई समेटिनेछ।
स्वीकृत अब्स्ट्र्याक्टहरूलाई मौखिक प्रस्तुति वा पोस्टर प्रस्तुति माध्यमबाट सम्मेलनमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
विनयतारा सन् २००७ मा क्यान्सर रोग विशेषज्ञ डा. विनय शाह र उनकी पत्नी तारा शाहद्वारा अमेरिकामा स्थापना गरिएको एक अन्तर्राष्ट्रिय गैर-नाफामूलक संस्था हो । यसको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी स्वास्थ्य असमानता कम गर्नु तथा विश्वभर गुणस्तरीय क्यान्सर उपचारमा पहुँच विस्तार गर्नु रहेको छ ।
प्रतिक्रिया 4