News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले नगरसभाको १९औं अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् ।
- महानगरपालिकाले शहरको सौन्दर्य र सुरक्षामा आँच आउने किसिमका विज्ञापन सामग्री प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाउने नीति लिएको छ ।
- महानगरले विद्यार्थीका लागि 'सिक्दै जाँदा कमाउनुहोस्' कार्यक्रम सञ्चालन गर्ने र नयाँसडक क्षेत्रमा बहुतले पार्किङ निर्माणका लागि पहल गर्ने भएको छ ।
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामग्रीमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ । नगरसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्धलाई प्राथमिकतामा राखिएको छ । ‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधि प्रचारप्रसार गर्न कार्यालयको वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ ।’
काठमाडौं महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइम इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
त्यसैगरी स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिई न्याय निरुपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने, शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गर्ने, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध संघसंस्थाहरु समेतको सहकार्य र समन्वयलाई प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ । नयाँसडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ समस्याको दिगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत् पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘विश्वका शहरहरुका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा साँस्कृतिक आदान प्रदान आदिका माध्यमबाट काठमाडौं शहरको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन ‘सवनेसनल डिप्लोमेसी’ को असल अभ्यास गरिनेछ ।’
प्रतिक्रिया 4