+
+
Shares

काठमाडौं महानगरको प्राथमिकतामा ‘सिर्जनात्मक शुक्रबार’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
  • महानगरले अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि विशेष विद्यालय र वैकल्पिक विद्यालय स्थापना गर्ने नीति लिएको छ ।
  • विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौं महानगरपालिकाले स्वनिगः विश्वविद्यालय स्थापना र सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने भएको छ ।

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सबैका लागि शिक्षा तथा समावेशी शिक्षाको सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

यसअन्तर्गत अटिजम, डाउन सिन्ड्रोम लगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय, ज्येष्ठ नागरिक तथा गृहिणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तरपुस्ता क्रियाकलापलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

‘विद्यालय र सामुदायिक अध्ययन केन्द्रलगायतका स्थानमा स्वास्थ्यकर्मी सहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्‍चालन गरिनेछ । साथै दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विद्यालय शिक्षालाई अनुसन्धानमूलक बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।’

विद्यार्थीको सिर्जनशील सिकाइ र सिप विकासका लागि विद्यालयमा सिप तथा सिर्जनात्मक शुक्रबार कार्यक्रम सञ्चालन गरी पाठ्यक्रममा आधारित अतिरिक्त शैक्षिक क्रियाकलापहरु समेत सञ्चालन गरिनेछ । सिर्जनात्मक शुक्रबार कार्यक्रममा मूलतः सिर्जनात्मक सिकाइ, सिपमूलक तालिम तथा खेलकुद सम्बन्धी गतिविधिहरू सञ्चालन हुनेछन् ।’

त्यसैगरी विद्यालयको असल अभ्यास तथा अनुभव आदानप्रदान गर्न विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने, भाषा, संस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौं महानगरपालिकाले स्वनिगः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने, खेलाडीहरूलाई ऊर्जाशील तथा व्यवसायिक बनाउन महानगरले विभिन्‍न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने साथै खेल प्रतिभा पहिचान गरी सम्मान तथा प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?