News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने घोषणा गरेको छ ।
- महानगरले रैथाने कला, संस्कृति र परिकार प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको 'काठमाडौं फिल्म फेस्टिभल' आयोजना गर्ने नीति लिएको छ ।
- प्राचीन बस्तीमा होमस्टे सञ्चालन गर्ने र इन्द्रजात्राका देवगण श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्ने योजना समेटिएको छ ।
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सांस्कृतिक सहर : समृद्ध महानगरको परिकल्पना मूर्तरूप दिन काठमाडौं महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने बताएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो । ‘काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरका रूपमा विकास गरिने छ । यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक, सामाजिक महत्त्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा– वहि, हिति, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायत संरचना तथा सम्पदा स्थल अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुनर्निर्माण गरी संरक्षण, सम्बर्धन र प्रवर्द्धन गरिने छ,’ नीति तथा कार्यक्रममा छ ।
महानगरले विदेशी पाहुना समेत आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौं फिल्म फेस्टिभल आयोजना कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटेको छ । मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवं पुनरुत्थानका लागि ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्त्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न प्रोत्साहित गरिने छ,’ नीति तथा कार्यक्रममा छ ।
महानगरपालिकाले इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायत अन्य ऐतिहासिक तथा सांस्कृतिक जात्रामार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन पनि गर्ने भएको छ ।
‘पर्यटन प्रवर्द्धन तथा विकासका लागि प्राचीन बस्ती एवं सहरमा होमस्टे सञ्चालनका लागि प्रोत्साहन गरिने छ,’ नीति तथा कार्यक्रममा छ, ‘अमूर्त सम्पदाहरू : स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा संगीत संरक्षण र प्रवर्द्धन गर्दै युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न आवश्यक पहल गरिने छ ।’
महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधारा (हिति) पुनर्स्थापना, आकाशे पानी संकलन तथा पुनर्भरण गर्दै जलसम्पदा संरक्षण गरी वातावरणीय सन्तुलन कायम गर्न जोड दिने पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
‘मौलिक र परम्परागत लोककला, पाककला, भेषभुसा, शिल्प, गरगहना, जात्रापर्व, साहित्य संगीत तथा प्राकृतिक सम्पदालाई चलचित्रको माध्यमद्वारा उजागर गरी रचनात्मक उद्योगका रूपमा विकास र प्रवर्द्धन गर्न चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्स्पो, प्रदर्शनी जस्ता कार्यक्रम सञ्चालन गरिने छ,’ नीति तथा कार्यक्रममा छ, ‘काठमाडौं महानगरपालिकाले निर्माण गरेको येँ देय् सांस्कृतिक छेँलाई सञ्चालनमा ल्याइने छ । साथै, काठमाडौं महानगरपालिका क्षेत्रको महत्त्वपूर्ण जात्राका रूपमा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित इन्द्रजात्राका रथयात्राका प्रमुख देवगणहरू श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने छ ।’
प्रतिक्रिया 4