News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कार्यकर्ताहरूलाई आफ्नो आत्मविश्वास बलियो बनाई पार्टी सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।
- विराटनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले हिजो राजा र माओवादीसँग नडराएको कांग्रेस अहिले कोहीसँग डराउन नहुने बताउनुभयो ।
- पूर्वमन्त्री गच्छदारले विराटनगर ऐतिहासिक क्रान्तिको भूमि भएको चर्चा गर्दै पार्टीको विरासत जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारले कांग्रेसीहरू अहिले कांग्रेससँगै डराइरहेको बताएका छन् ।
कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कसैसँग नडराउन आग्रह गरे ।
उनले भने, ‘म छक्क परेको छु, कांग्रेस तर्सिएको र डराएको जस्तो देखिन्छ । हिजो पञ्चायत व्यवस्थामा राजासँग नडराएको कांग्रेस, माओवादी जनयुद्धका बेला ३ हजारभन्दा बढी साथीहरू गुमाउँदा पनि बिचलित नभएको कांग्रेस अहिले कोसँग र किन डराएको ?’
‘यो भूमि विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र नोना कोइरालाको कर्मभूमि हो,’ उनले भने, ‘२००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ को ऐतिहासिक आन्दोलनको नेतृत्व यही भूमिले गरेको थियो ।’
कांग्रेसलाई फेरि बलियो बनाउन ‘बिगुल फुक्नुपर्ने’ बताए । आफ्नो राजनीतिक जीवन यही भूमिबाट सुरु भएको र यहीँ आफ्नो रगत पसिना बगेको चर्चा गर्दै उनले कार्यकर्ताहरूलाई आत्मबल कमजोर नबनाउन आग्रह गरे ।
‘तपाईं कांग्रेसजनहरू बलियो हुनुहोस्, आत्मविश्वास बढाउनुहोस्,’ गच्छदारले भने, ‘यो पवित्र भूमिलाई अपवित्र बनाउने प्रयासहरू भइरहेका छन्, त्यसका विरुद्ध हामी सबै एकजुट हुनुपर्छ ।’
नेता गच्छदारले पार्टीको विरासत जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तल्लो तहदेखि नै संगठन सुदृढीकरणमा लाग्न आग्रह गरे ।
प्रतिक्रिया 4