News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन सरकारसँग माग गरेको छ ।
- भ्याटका कारण हिरा भारतभन्दा १२ प्रतिशत महँगो भएर नेपाली व्यवसाय संकटमा परेको संघका अध्यक्ष सुमनमान ताम्राकारले बताए ।
- विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा बढेकाले सुन आयातमा कायम कोटा प्रणाली खारेज गर्न संघले माग गरेको छ ।
३१ जेठ, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउन माग गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत भ्याट लगाउन थालेपछि यी वस्तुको व्यवसाय चौपट भएको भन्दै संघले भ्याट हटाउन माग गरेको हो ।
‘भ्याटका कारण भारतको तुलनामा नेपालमा हिरा र बहुमूल्य पत्थर १२ प्रतिशत महँगो भयो, जसले गर्दा नेपाली ग्राहक ती वस्तु किन्न भारतीय बजार जान थाले, यताको व्यवसाय चौपट भयो,’ शनिबार काठमाडौंमा सम्पन्न संघको २०औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा संघका अध्यक्ष सुमनमान ताम्राकारले भने, ‘भारतबाट अनधिकृत रुपमा हिरा र बहुमूल्य पत्थर ल्याउँदा ठूलो फाइदा हुने अवस्थाले तस्करी पनि बढेको छ ।’
उनका अनुसार आकारमा सानो हुने हुँदा यी वस्तु अनधिकृत कारोबारीले खुला सिमानाका छिद्रमार्फत सजिलै ल्याउन सक्छन् । भ्याट लाग्न थालेपछि अघिल्लो वर्षको तुलनामा हिरा आयात आधाभन्दा धेरै घटेको तथ्यांक पेस गर्दै उनले भने, ‘भ्याट लगाएपछि हिरा र बहुमूल्य पत्थरबाट सरकारलाई प्राप्त हुने राजस्व बढे पनि हजारौं व्यवसायी र लाखौं मजदुरको रोजीरोटी जोखिममा परेको छ । भारतीय व्यवसायी र अनधिकृत कारोबारी मोटाउने, तर स्वदेशी उद्यमी पलायन हुने अवस्था आएको छ ।’
सुनमा पनि भारतमा १५ र नेपालमा २० प्रतिशत भन्सार महसुलका कारण यसका गरगहना किन्न ग्राहक भारत जाने, अनधिकृत रुपमा काँचो सुन भित्रिएर बैंकहरूले आयात गरेको सुन नबिक्ने अवस्था आउने र त्यसको मार स्वदेशी बैंक, व्यवसायी र रोजगारीमा पर्ने उनले बताए ।
नेपालले सुन, हिरा र बहुमूल्य पत्थरका गरगहनाको मूल्य भारतभन्दा महँगो बनाएर नेपाली ग्राहकलाई उता पठाउनु र यी वस्तुको अनधिकृत आयातको लागि ठाउँ बनाइदिनुभन्दा नेपाली बजारमा भारतको तुलनामा सस्तोमा सुन र गरगहना पाइने परिस्थिति सिर्जना गरेर उताका ग्राहक यता तान्नुपर्ने उनले बताए ।
सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ हाराहारी भएको बेला क्यूआर कोडबाट एक दिनमा भुक्तानी गर्न पाउने सीमा ३ लाख रुपैयाँ मात्र हुनु अपर्याप्त भएको भन्दै त्यसलाई समयसापेक्ष सुधार गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी १ लाख रुपैयाँभन्दा बढीको गरगहना नगदमा बेच्दा ग्राहकको केवाईसी फारम भराउनुपर्ने नियम पनि सुन महँगिएको अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक नभएको अध्यक्ष ताम्राकारको भनाइ छ ।
विदेशी विनिमय सञ्चिति निकै तल पुगेको बेला लागु गरिएको कोटा प्रणालीलाई हाल सञ्चिति कीर्तिमानी बिन्दुमा पुगेको बेला पनि निरन्तरता दिइनुले गरगहना उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको उनको भनाइ छ । अब सुन आयातमा कोटा प्रणाली खारेज गरी निजी क्षेत्रलाई खुला गर्नुपर्ने संघको माग छ ।
सुन महँगिएको हालको अवस्थामा गोएएमएलमा रिपोर्टिङ गर्नुपर्ने ५ लाख रुपैयाँको सीमा पनि अपुग भएकोले यसलाई १० लाख रुपैयाँ कायम गर्नुपर्ने ताम्राकारले बताए ।
सुनचाँदी, हिरा जवाहरात गहना निर्यातमा नगद अनुदान र विदेशी नागरिक तथा गैरआवासीय नेपालीले परिवत्र्य विदेशी मुद्रामा गरगहना खरिद गर्दा त्यसलाई डिम्ड एक्सपोर्ट मानेर आयातमा तिरेको ड्युटी फिर्ता दिनुपर्ने संघको माग छ । त्यसरी आर्जन गरेको विदेशी मुद्रा जम्मा गर्न आभुषण व्यवसायीलाई बैंकमा विदेशी मुद्राको खाता खोल्ने अनुमति दिनुपर्ने माग पनि अध्यक्ष ताम्राकारले गरे ।
प्रतिक्रिया 4