News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालेको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
- भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गरेको टेम्पो वन कर्मचारीले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
- डिभिजन वन कार्यालय धनगढीले भने सडक छेउको छाप्रो हटाउने क्रममा सन्तुलन नमिल्दा कवाड भइसकेको टेम्पो भिरबाट खसेको दाबी गरेको छ ।
३१ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरी १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्री गर्न प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ ।
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रूपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।
विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भिरालो भूगोल र सन्तुलन नमिल्दा भिरबाट खसेको दाबी वन कार्यालयले गरेको थियो ।
प्रतिक्रिया 4