१ असार, गुल्मी । असार १ गतेदेखि नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम लागू भएसँगै चारवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राति करिब २ बजे कालीगण्डकी नदी क्षेत्रबाट अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीले दुई वटा टिप्पर र दुई वटा जेसीबी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सत्यवती गाउँपालिका पठाएको जनाएको छ । नियन्त्रणमा लिइएका सवारीमा लु.प्र. ०१००१ ख ०९८३ र म.प्र. ०३०००१ ख ९७६० नम्बरका टिप्पर तथा लु १ क ३८९६ र बा २ क ८३५२ नम्बरका जेसीबी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले बताए ।
प्रहरीले चालकहरूलाई जिम्मा लगाएर छाडिएको तथा सवारी साधनमाथि स्थानीय तहमार्फत थप कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
सरकारले प्रत्येक वर्ष मनसुन अवधिमा नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने व्यवस्था अनुसार असार १ गतेदेखि यस्तो कार्य निषेध गरिएको छ।
प्रतिक्रिया 4