+
+
Shares

नेपाल र भारतका व्यवसायीबीच आर्थिक अवसरबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य सुदृढ बनाउने उद्देश्यले शनिबार भारतको सिलिगुडीमा उच्चस्तरीय द्विपक्षीय संवाद आयोजना गरिएको छ ।
  • प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै भारतीय उद्यमीहरूलाई लगानी गर्न आग्रह गर्नुभयो ।
  • संवादमा सहभागीहरूले पूर्वी नेपाल र पश्चिम बंगालबीच जलविद्युत्, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

१ असार, सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै सम्भावित अवसरबारे व्यवसायीहरुबीच छलफल भएको छ । नेपाल र भारतका व्यवसायीहरूबीच शनिबार सिलिगुडीमा उच्चस्तरीय द्विपक्षीय संवाद कार्यक्रम आयोजना गरिएको हो ।

‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए ।

कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यवहारिक तथा कार्यान्वयनयोग्य नीतिगत पहलमार्फत आर्थिक सहकार्य तथा अवसर सिर्जना गर्नेबारे छलफल भएको थियो ।

संवादका क्रममा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुनाल कयालले दुई देशबीच अद्वितीय आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय आर्थिक सम्भावना पूर्ण उपयोगका लागि संस्थागत सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सीआईआई नर्थ बंगाल जोनल काउन्सिलका अध्यक्ष सतीश मित्रुकाले नेपाल र भारतबीच रहेका विशाल सम्भावनालाई मूर्तरूप दिन यस्ता संवाद काठमाडौं र सिलिगुडीमा नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी, सीआईआई नर्थ बंगाल जोनल काउन्सिलका उपाध्यक्ष अमल मण्डल, रुरल हेरिटेज कन्जर्भेसन टुरिज्मका सुप्रतिम (राज) बसु तथा किन्स हस्पिटलका संस्थापक सुमित सिन्हालले पर्यटन तथा मेडिकल शिक्षामा नेपाल र भारतले सहकार्यमार्फत प्राप्त गर्न सक्ने विविध अवसरहरूबारे प्रकाश पारे ।

त्यस्तै, आईईसी गु्रप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आईआईएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. केभी राजेन्द्रन नैयर तथा ग्लोकलका अध्यक्ष आशिष ठकुरले पश्चिम बंगाल र नेपालबीच शिक्षा क्षेत्रमा रहेका अवसर तथा सम्भावित सहकार्यका विषयमा आफ्ना धारणा राखे ।

मोरङ उद्योग संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार शाहले उक्त अवसरमा पूर्वी नेपाल र पश्चिम बंगालबीच व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो अनुभव र दृष्टिकोण साझा गरे ।

सत्रको सहजीकरण गर्दै सीआईआई उत्तर बंगाल जोनल काउन्सिलअन्तर्गत रियल इस्टेट तथा लजिस्टिक प्यानलकी अध्यक्ष लक्ष्मी लिम्बु कौशलले आइडा र सीआईआई उत्तर बंगालबीचको यस्तो संयुक्त पहल केवल सुरुआत मात्र भएको बताइन् । ‘संवादले व्यवसायिक नेतृत्वकर्तालाई एकै ठाउँमा ल्याएर अनुभव आदानप्रदान गरी सहकार्यमार्फत अघि बढ्न मद्दत गर्नेछ’ उनले भनिन् ।

कार्यक्रममा समापन मन्तव्य दिँदै प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले व्यापार तथा आर्थिक सम्बन्ध प्रवद्र्धनमा आफ्नो दल र नेपाल सरकारको भूमिकाका साथै वर्तमान सरकारले अवलम्बन गरेका पहलहरूबारे जानकारी गराए।

नीतिगत सहयोग, लगानी सहजीकरण तथा नेपाल–भारतबीच बलियो आर्थिक सहकार्यको आवश्यकतामा जोड दिँदै उनले भारतीय उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले वर्तमान सरकार निजी क्षेत्रमैत्री रहेको र लगानीका लागि अनुकूल वातावरण निर्माणमा प्रतिबद्ध रहेको पनि बताए।

कार्यक्रमका सहभागीहरूले नेपाल–पश्चिम बंगाल आर्थिक करिडोरको बढ्दो महत्वलाई औंल्याउँदै नेपालको जलविद्युत्, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग तथा विशेष आर्थिक क्षेत्रहरूमा थप लगानी आवश्यक रहेको बताए ।

शिक्षा, आतिथ्य तथा स्वास्थ्य सेवा क्षेत्रलाई नेपाल–पश्चिम बंगाल आर्थिक तथा व्यापारिक सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा उल्लेख गर्दै सहभागीहरूले व्यापार सहजीकरणका चुनौतीहरूको व्यावहारिक समाधान तथा निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?