+
+
Shares

कोशीको बजेटमा प्रतिपक्षी दलका नेताले देखेको कमजोरी

आङ्बोले भने, ‘बजेटले प्राथमिकता निर्धारण गर्न सकेन । सबै क्षेत्रलाई समेट्न खोज्दा बजेट आफैँ अल्मलिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते २०:३०

१ असार, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले सार्वजनिक गरेको बजेट परम्परागत र दिशाहीन भएको बताएका छन् ।

बजेट वक्तव्यपछि प्रदेश प्रमुख प्रतिपक्षी दल नेकपाका नेता आङ्बोले बजेटले वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्न नसक्ने दाबी गरे । बजेटको लक्ष्य पनि अव्यावहारिक रहेको उनको भनाइ छ ।

संघीयता र प्रदेश सरकारमाथि प्रश्न उठिरहेको अवस्थामा बजेटले नयाँ मार्गचित्र लिनु पर्नेमा त्यसो हुन नसकेको उनले बताए । सरकारले राखेको ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य वर्तमान आर्थिक गतिविधिले भेट्न नसक्ने उनके भनाइ छ ।

‘उहाँहरूले जुन राजस्वको अनुमान गर्नुभएको छ, त्यो उठ्ने देखिँदैन र ५ प्रतिशतको आर्थिक वृद्धि पनि अहिलेको परिस्थितिमा सम्भव छैन,’ आङ्बोले भने, ‘बजेटले प्राथमिकता निर्धारण गर्न सकेन । सबै क्षेत्रलाई समेट्न खोज्दा बजेट आफैँ अल्मलिएको छ ।’

शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रमा बजेटले छुन नसकेको उनले बताए । प्रदेश सरकारले विद्युत उत्पादन र प्रसारण लाइनमा बजेट विनियोजन गर्नु क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको उनको भनाइ छ ।

‘साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने ठोस कार्यक्रम आएन । निजी क्षेत्रलाई परिचालन गर्ने कार्यक्रम नहुँदा रोजगारी सिर्जनाको लक्ष्य पूरा हुँदैन,’ उनले भने, ‘पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइको समस्यालाई बजेटले सम्बोधन गर्न सकेन ।’

नीति तथा कार्यक्रममा यो विषय उठान भए पनि बजेटमा ठोस योजना नआउँदा पहाड रित्तिने क्रम नरोकिने उनले बताए । ‘भुइँमान्छेका मुद्दालाई बजेटले पूर्णतः उपेक्षा गरेको छ,’ उनले भने, ‘संघीय सरकारको जस्तै प्रदेशको बजेटले पनि भुइँमान्छेको मुद्दा बोक्न सकेन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?