१ असार, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षको जिम्मेवारी रामहरि गजुरेलले सम्हालेका छन् । गजुरेलले आगामी डेढ वर्ष महासंघ जिल्ला शाखाको नेतृत्व गर्नेछन् ।
तीन वर्षे कार्यकालका लागि डेढ वर्षअघि भएको महासंघको निर्वाचनमा अध्यक्षका उम्मेदवारद्वय रामहरि गजुरेल र नमराज सुवेदीले बराबर मत पाएपछि विधानको व्यवस्थाअनुसार आधा/आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको थियो ।
सोही अनुसार सुवेदीको डेढवर्षे पहिलो नेतृत्व अवधि समाप्ति भएसँगै गजुरेलले बाँकी कार्यकालको नेतृत्व सम्हालेका हुन् । गजुरेलले सोमबार सदरमुकाम विदुरस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील गजुरेलले पदभार ग्रहण गर्दै लोकतन्त्र र नागरिक स्वतन्त्रताका निम्ति लड्दै आएका श्रमजीवी पत्रकार र सञ्चारमाध्यामको हकहित, प्रेस र अभिव्यक्ति स्वतन्त्रताका साथै जनताको सुसुचित हुन पाउने मौलिक अधिकारका निम्ति संघर्ष गरिराख्ने प्रतिबद्धता व्यक्त गरे ।
‘नागरिक सरकार भनिएको अहिलेको राज्यसत्ताले गणतान्त्रिक शासन व्यवस्थामा पनि स्वतन्त्रता र न्यायको पक्षमा खबरदारी गर्ने दायित्व बोकेको सिंगो नेपाली प्रेस जगतमाथि अंकुश लगाउने षड्यन्त्रका विरुद्ध हामी अझैं लड्नुपर्नेछ’, अध्यक्ष गजुरेलले भने । उनले लोकतान्त्रिक व्यवस्थाविरोधी कार्यविरुद्ध निडरताका साथ खबरदारी गर्न पत्रकारहरुलाई अपिल गरे ।
पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सुनिल खड्का, प्रेस सेन्टर नेपालका बागमती प्रदेश अध्यक्ष ध्रुवराज अधिकारी, कोषाध्यक्ष राजेन्द्र गजुरेल, पत्रकार महासंघ बागमतीका सदस्य सुनिल विष्ट, संस्थापक सदस्य शर्मिला उप्रेती लगायतले पछिल्लो समय राज्यतहबाटै प्रेस र अभिव्यक्ति स्वतन्त्रता मासिने खतरा बढ्दै गएकाले यसको रक्षार्थ पत्रकार महासंघको भूमिका अझ बढेर गएको विचार व्यक्त गरे ।
प्रतिक्रिया 4