+
+
Shares
संगीत :

नेपाली इन्डी-रक सिनलाई उचाइमा पुर्‍याउने ब्यान्ड – दी इलिमेन्ट्स

भर्खरै १० वर्ष पुगेको यो ब्यान्डको संगीत शैली परम्परागत धारभन्दा अलि पृथक र ताजा लाग्छ

सापेक्ष सापेक्ष
२०८३ असार २ गते २०:१४

त्यसबेला उनी स्नातक तेस्रो वर्षमा पढिरहेका थिए । कपाल लामो थियो । कपाल पाल्नु उनको सौख थियो । तर, अरूका लागि समस्या । कक्षामा शिक्षकहरूलाई प्रश्न गर्दा पनि कुरा कपालमै अड्किन्थ्यो । यसो गर्दा कपाल, उसो गर्दा पनि कपाल ।

इख नै सही, बिस्तारै उनका लागि कपाल विद्रोहको प्रतीक बन्न थाल्यो । उनले कपाल काटेनन् । पालिरहे । र, उसैगरी पढाइमा पनि जोड दिन थाले । किनकि १२ कक्षासम्म उनको पढाइ औसत थियो ।

आजको समयमा पनि उनको कपाल उस्तै लामो छ । स्नातक सकेका छन् । अधिवक्ताको परीक्षा सम्बन्धी किताब निकालेका छन् । सबैभन्दा बढी – संगीतमा उनी जमेका छन् । जुन उनले कुनै समय कल्पेका थिएनन् ।

उनी हुन्, दी इलिमेन्ट्सका फ्रन्टम्यान ईशानराज ओन्टा ।

सानोमा उनको रुचि पढाइमा त्यति थिएन । त्यतिबेलाको एसएलसी पनि उनले मुस्किलले पास गरेका थिए । तर, उनलाई संगीतले छुट्टै ऊर्जा दिन्थ्यो।

हार मानें..

यो उनले लेखेको पहिलो गीत हो । विद्यालय पढ्दै ताका । अलि पछि उनले दिदीको ल्यापटपमा आफ्ना गीतहरू रेकर्ड गर्न थाले। त्यसरी नै संगीतमा झुम्दै जाँदा उनलाई छुट्टै अनौठो खुसी मिल्थ्यो । मन शान्त बनाउने बहाना हुन्थ्यो, संगीत ।

आजको समयमा उनले त्यो शान्ति लाखौंलाई दिइरहेका छन् । नेपाली संगीतमा फरक तरंग सिर्जना गर्न सफल इन्डी-रक ब्यान्ड दी इलिमेन्ट्सका गीतहरू यो मानेको प्रमुख कारण हो, जहाँ उनी संलग्न छन् ।

किनकि फ्यानहरूले उनीहरूका गीतलाई मनोरञ्जनभन्दा माथि राखेर हेर्ने गर्छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले यसको पुष्टि गर्छ । धेरैजसोले आफ्नै मनको ऐना र जीवनको भोगाइको रूपमा यो ब्यान्डको गीतलाई लिइरहेको देखिन्छ ।

ब्यान्डका सदस्यहरू रौनक, दिपेश र ईशान (बायाँबाट क्रमश:)

जब कोही एक्लो महसुस गरिरहेको हुन्छ वा जीवनको कुनै मोडमा लो अनुभव गरिरहेको हुन्छ, तब ब्यान्डका गीतहरू सान्त्वना र नयाँ हौसला दिने बलियो माध्यम बनिरहेको सुनिन्छ ।

फ्यानहरूका अनुसार उनीहरूको गीतमा एउटा यस्तो जादू छ, जसले जीवनको निराशा र चरम यथार्थलाई सरलताका साथ संगीतको धुनमा उनेर प्रस्तुत गर्छ । जहाँ हरेक श्रोताले कतै न कतै आफ्नै कथा र आफ्नोपन भेटाउने गर्छन् ।

के गाउने ? कस्तो गाउने ? सँगसँगै के सुनाउने ? भन्ने प्रश्नको उत्तर यो ब्यान्डलाई मज्जैले थाहा छ । यो कुरामा ईशानराज ओन्टा, रौनक सिंह अधिकारी र दिपेश गुरुङ तीनै जना स्पष्ट छन् ।

त्यसैले ब्यान्डको संगीत शैली परम्परागत धारभन्दा भिन्न, अलि पृथक र ताजा लाग्छ । संगीतका पारखीहरू उनीहरूका हरेक नयाँ सिर्जनामा निकै घोत्लिने र त्यसको गहिराइ नाप्ने गर्छन् । त्यसैगरी कन्सर्टहरूमा उनीहरूको लाइभ प्रस्तुति र स्टेजको ऊर्जाले फ्यानहरूमा बेग्लै खालको उन्माद र लगाव पैदा गरिदिएको छ ।

भलै कतिपयले ब्यान्डको कन्सर्टमा केही ‘इन्स्ट्रुमेन्टहरू ब्याकिङ ट्य्राक’ को रूपमा प्रयोग गरेकोमा चित्त पनि दु:खाउने गर्छन् । यद्यपि ब्यान्ड सदस्यको संख्या कम भएकोमा उनीहरू ब्यान्डलाई छुट पनि दिन्छन् ।

अर्कोतर्फ कन्सर्टलाई ब्यान्डले विशेष प्राथमिकता दिँदै आएको ब्यान्ड बताउँछ । अनलाइनखबरसँगको कुराकानीमा ब्यान्डले आफूले सकेसम्म इमानदार बनेर सधैं नै कन्सर्टको प्रस्तुति, ऊर्जालाई विशेष प्राथमिकतामा राख्दै आएको बताएको छ ।

दशरथ रङ्गशालामा प्रस्तुतीका क्रममा ईशानराज ।

‘हामी भर्खरै १० वर्ष पुग्यौं । यी वर्षहरूको सिकाइ भनेको लाइभ म्युजिकलाई सधैं पहिलो प्राथमिकतामा राख्नु नै हो’ ईशानराज भन्छन् ।

हुन पनि, बजारको भ्रामक चर्चा र सस्तो लोकप्रियताको दौडभन्दा अलि टाढा रहेर विशुद्ध संगीत सिर्जनामा लागिपर्ने उनीहरूको सादगी र व्यावसायिक निष्ठालाई फ्यानहरूले असाध्यै धेरै सम्मान गर्ने गरेका छन् । र, उनीहरू पनि फ्यानलाई आफ्नो सबै सबै चीज दिन लागिपरिरहेका छन् ।

तर, उनीहरूलाई कुनै समय थाहा थिएन – हामी यहाँ आइपुग्छौं । यस्तो भइन्छ । यतिसम्म कि आफ्नो पहिलो गीत तयार पार्दासम्म उनीहरूले आफ्नो ब्यान्डको नाम जुराएका थिएनन् ।

रौनक सिंह अधिकारीका अनुसार ब्यान्डको पहिलो गीत कुन हो ? भन्नेमा अलि अन्यौल छ । किनकि उनीहरूले ब्यान्ड बनाएपछि तयार पारेको गीत, रिलिज गरेको गीत, म्युजिक भिडियो बनाएको गीत फरक–फरक छ ।

‘ब्यान्डको रूपमा हामीले तयार पारेको पहिलो गीत ‘त्यसैले हिँडे म..’ हो । तर, रिलिज गरेको ‘समय…’, तर, फेरि म्युजिक भिडियो बनाएको ‘बरु म हाँस्छु.. हो’ उनले सुनाए, ‘त्यसैले हाम्रो यहीँ नै पहिलो गीत भन्ने छैन ।’

यद्यपि आजभन्दा १० वर्षअघि २०१६ मा तयार पारेको त्यसैले हिँडे म… बोलको गीत उनीहरूका लागि धेरै अर्थले मानक स्थापित गर्ने बनिदियो । किनकि यही गीत लेखिसकेपछि उनीहरूले ब्यान्डको नाम पनि जुराएका थिए ।

ब्यान्डमा ड्रम बजाउने दिपेश गुरुङका अनुसार भर्खरै बनाएको ब्यान्डको नाम के राख्ने ? सबैजना अलमल थिए । उनीहरूलाई आफ्नो ब्यान्डको नाम नेपाली शब्दमा राख्नुपर्ने थियो । तर, आफूहरूलाई प्रतिनिधित्व गर्ने नाम उनीहरूले भेटाउन सकिरहेका थिएनन् । त्यसपछि उनीहरूले एउटा उपाय लगाए – आँखा चिम्लेर दिमागमा आएका शब्दहरू भन्दै जाने, जुन मनपर्छ त्यही नाम राख्ने ।

सोहीअनुसार सबैले एउटा–एउटा नाम भन्न थाले । कोहीले के भने कोहीले के ! एउटा नाम उनीहरूलाई मन पर्यो – इलिमेन्ट्स ।

यो शब्द मन परेता पनि उनीहरूको सर्तविपरीत थियो । शब्दलाई नेपाली अनुवाद गरिहेरे । तर, त्यो शब्द कताकता नसुहाएको हो कि जस्तो लाग्यो । त्यसपछि उनीहरूले‍ यही शब्दलाई अन्तिम रूप दिए । ‘दी’ थपेर ‘दी इलिमेन्ट्स’ नाम राखे।

इन्डोर प्रस्तुती दिँदै ब्यान्ड ।

यसरी ख्यालख्यालमै सुरु भएको यो ब्यान्ड आज नेपाली इन्डी-रक सिनलाई उभो पार्न सफल छ । आज यो ब्यान्डले एउटा एल्बम भरोसा, इपी ऊर्जा र थुप्रै सिङ्गल निकालिसकेको छ ।

ब्यान्डमा तीन जना ईशान, रौनक र दिपेशबाहेक नेपथ्यमा अन्य पनि छन् ।

सिद्धार्थ शाक्य, इन्टरएक्टिभ भिजुअल्स र स्क्रिन कन्टेन्टमा छन् । सुवास गुरुङले ब्यान्डका लागि साउन्ड हेर्छन् । अर्पन घिमिरेले लाइटिङ र स्पेसल इफेक्ट्स हेर्छन् । त्यस्तै सुजन बस्नेत स्टेज व्यवस्थापन गर्छन् भने मनिष अधिकारीले समग्र व्यवस्थापन सम्हाल्छन् ।

यसरी केही ठट्यौला केटोहरूले वयस्क उमेरमा सुरु गरेको ब्यान्ड पनि अब किशोर हुन लाग्दै छ । थाहा छैन आउँदा दिनमा ब्यान्ड कस्तो हुन्छ ! तर, सबै ब्यान्ड सदस्य निश्चिन्त छन् – ब्यान्डले योग्य गीत नै सुनाउँछ । गाउन योग्य गीत नै सुनाउँछ ।

त्यसैले त,

भोगेको केही हैन, पीडा सधैँ रहन्न
फुट्नेछ छाया तिम्रो पानीका फोकाझैँ
चाहेर छिटो हुन्न, ढिलो आए बिग्रिँदैन
आइपुग्छ ऊ आफ्नै गतिमा, ढङ्गमा

खेर नफाल त्यो ऊर्जा
त्यो ऊर्जा, त्यो ऊर्जा
पर धकाल त्यो ऊर्जा… 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?