+
+
Shares
प्रा. कृष्ण खनालसँग वार्ता :

‘कांग्रेस नेताहरूले हामी मिल्यौं भनेर साझा वक्तव्य जारी गर्दैमा पार्टी ठूलो हुने होइन’

कांग्रेसको त्यो हार करिब स्वाभाविक थियो। पार्टीको पुरानो नेतृत्व अलोकप्रिय भइसकेको थियो। दुई महिनामै गगनले नेतृत्वप्रतिको विश्वास जोगाउन सक्ने अवस्था थिएन।

सन्त गाहा मगर केशव सावद सन्त गाहा मगर, केशव सावद
२०८३ असार ३ गते ८:५०

सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सबैभन्दा गम्भीर मोडमा छ। २०१५ सालको निर्वाचनमा दुईतिहाइ सिट जितेको कांग्रेस २०८२ मा ३८ सिटमा खुम्चियो। निर्वाचनको पूर्वसन्ध्यामा विशेष महाधिवेशनमा गएको कांग्रेसको आन्तरिक विवाद सकिएको छैन। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिए पनि हिजोको संस्थापन पक्षले चित्त बुझाएको छैन। २०४८ र २०५६ मा एकल बहुमत तथा २०७० र २०७९ मा सबैभन्दा ठूलो दल बनेको कांग्रेस सानो दलमा परिणत भइसक्दा पनि आन्तरिक कलह जारी छ।

पुरानो लोकतान्त्रिक दल कांग्रेस यो बिन्दुबाट कसरी अगाडि बढ्ला ? कांग्रेस सैद्धान्तिक डिपार्चरको सँघारमा पुगेको हो ? वा नेताहरूको कार्यशैलीमा सुधार गरे पुग्छ ? यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर कांग्रेस राजनीतिलाई नजिकबाट नियालिरहेका प्राध्यापक कृष्ण खनालसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरकेशव सावदले गरेको अन्तर्वार्ताः

यहाँले नियमित र विशेष महाधिवेशनको बहस चलिरहेको बेला गत असोजमा ‘यसपटक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस कब्जा गर्नुपर्छ’ भन्नुभएको थियो। विशेष महाधिवेशनबाट गगन सभापति र विश्वप्रकाश उपसभापति बने। अहिले फर्केर हेर्दा कांग्रेसको यहाँसम्मको यात्रा कस्तो लागिरहेको छ ?

मैले ‘कब्जा’ भन्ने शब्द त्यतिखेर प्रयोग गरेको हुँ। त्यसमा धेरै मानिसले टिप्पणी पनि गरे। ‘नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, त्यहाँ कब्जा भन्ने शब्द हुँदैन, यो त कम्युनिस्ट पार्टीमा प्रयोग हुने शब्द तपाईंले प्रयोग गर्नुभयो’ भन्ने टिप्पणीहरू आए। त्यो टिप्पणी स्वाभाविक पनि थियो। तर, मैले ‘कब्जा’ यस अर्थमा भनेको थिएँ कि जब पुरानो नेतृत्वले ठाउँ छोड्दै छोड्दैन, तब जबर्जस्ती तानेर भए पनि नेतृत्व लिनुपर्छ भन्ने मेरो बुझाइ थियो, शब्द जे परे पनि।

दोस्रो कुरा, त्यस्तै भयो पनि भनौं। यदि उनीहरूले विशेष महाधिवेशनका लागि त्यस किसिमको प्रयत्न नगरेको भए, अहिलेसम्म शेरबहादुर देउवा नै सभापति भइरहन्थे होलान् वा पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहिरहन्थे। तर, नेतृत्वमा स्थापित हुनेबित्तिकै गगन र विश्वप्रकाशका लागि कांग्रेसको अगाडिको बाटो सबै सजिलो बनेको छैन।

चुनावमा पार्टीको जुन परिणाम आयो, त्यसले उनीहरूको नेतृत्वलाई रफ्तारमा अगाडि बढाउन केही व्यवधान पैदा गर्‍यो। नेतृत्वसँग असहमत हुने कांग्रेसका अरू मानिसहरूलाई यसले खेल्ने ठाउँ दियो। ‘गगनको नेतृत्वले केही उपलब्धि हासिल गर्न सकेन, पहिलाको भन्दा सिट घट्यो’ भन्ने भाष्यले गगनको नेतृत्वका लागि आन्तरिक चुनौतीहरू बढाएको छ।

राजनीतिक दलको हिसाबबाट हेर्दा कुनै चुनावको हार–जित मात्रै समग्र मूल्याङ्कन होइन। चुनाव त यसअघि पनि हारेकै हो। अहिले सिट अलि कम भयो, तल खुम्चियो भन्ने मात्रै कुरा हो। नत्र यस्तै किसिमको हार त २०७४ सालको चुनावमा पनि भएकै हो। नेकपा एमाले र माओवादीको गठबन्धन भएको त्यो बेलामा पनि झन्डै-झन्डै यस्तै परिणाम आएको थियो। सिट सङ्ख्यामा केही तल–माथि होला। तर, अहिलेसम्म हेर्दा कांग्रेस पहिलो नभए पनि तेस्रो हुनुपरेको छैन; सिट घटे पनि दोस्रो पोजिसनमै छ।

संसद्‌मा उसको भूमिकाको कुरा गर्दा, अहिले मिडिया हेर्दा सबैभन्दा बढी चर्चित श्रम संस्कृतिले विपक्षीको भूमिका खेलेको जस्तो देखिन्छ। हरेक पाइला-पाइलामा उनीहरूले हात उठाएर विरोध गरेको देखिन्छ। तर, स्थापित प्रमुख प्रतिपक्ष त नेपाली कांग्रेस नै हो। त्यसैले चुनौती धेरै भए पनि कांग्रेसको भोलिको भविष्यलाई विभिन्न किसिमबाट हेर्न सकिन्छ।

नेतृत्वकै कुरा गर्दा, झट्ट हेर्दा विशेष महाधिवेशनबाट त्यत्रो ठूलो उत्साहका साथ आएको नेतृत्वप्रति कांग्रेसभित्रै स्वीकार्यता कम देखिन्छ। एकातिर पूर्वसभापति शेरबहादुर देउवासँग नजिक भएको समूह र अर्कोतिर शेखर कोइरालासँग नजिक भएको समूह गगनलाई साथ दिन तयार देखिंदैनन्। अर्कोतिर, अस्ति भर्खरै विजय गच्छदारले गगनलाई लक्षित गर्दै व्यङ्ग्यात्मक रूपमा ‘कृष्ण सिटौलाबाट सिक्नुपर्छ’ भनेको जस्तो भिडियो क्लिप देखिन्थ्यो। यसको अर्थ, ‘तिमी चाहिनेभन्दा बढी हतारिएर अगाडि बढिरहेका छौ’ भन्न खोजेको जस्तो लाग्छ।

मलाई के लाग्छ भने यो समस्या कांग्रेसको मात्रै होइन; नेपालमा हाम्रा पार्टीहरू संस्थागत बनिसकेकै छैनन्। संरचना छ, हेर्दा संस्था जस्तो देखिन्छ; विभिन्न समिति छन्, चुनाव र अधिवेशन हुन्छन्, नियम र केही अभ्यासहरू पनि छन्। नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो, तर पनि यो संस्थागत छैन। अरू पार्टी पनि छैनन्।

खासगरी नेतृत्व चयनको सन्दर्भमा यो समस्या नेपालमा मात्र होइन। हिजो ‘तेस्रो विश्व’ भनिने एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा दलको विकासमा यही चुनौती छ। जो नेतृत्वमा पुग्छ, उसले छोड्दै नछोड्ने प्रवृत्ति छ। त्यसकारण नेपाल यसमा अपवाद छैन। हाम्रै छिमेकी भारतलाई हेर्नुस्, त्यहाँ हामीभन्दा लोकतन्त्रको लामो र अविच्छिन्न इतिहास छ। भारतीय कांग्रेसको त्यत्रो लामो परम्परा छ, तर त्यहाँ पनि नेतृत्व परिवर्तन संस्थागत हुनसकेको छैन। त्यहाँ पनि चुनाव भनेको देखाउने एउटा औपचारिकता मात्रै हो। सदस्यमाथि नेतृत्वको भयङ्कर कडा पकड हुन्छ।

नेपाली कांग्रेसमै पनि हिजो गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवाको समयमा शीर्ष नेतृत्वले जसरी पकड जमाएको थियो, त्यहाँ अर्कोले हत्तपत्त ठाउँ बनाउन सक्दैनथ्यो। यदि गिरिजाप्रसाद कोइराला वा सुशील कोइराला जीवितै रहिरहेको भए शेरबहादुर देउवाको हातमा यति सजिलै कांग्रेसको नेतृत्व जान्थ्यो भनेर भन्न सकिंदैनथ्यो।

तपाईंलाई लाग्न सक्छ- सदस्यता वितरण हुन्छ, विधान अनुसार महाधिवेशन हुन्छ, तलदेखि माथि अधिवेशन हुँदै आउँछ, निर्वाचन हुन्छ; योभन्दा बढी संस्थागत अभ्यास के हुन्छ? तर, यी प्राविधिक कुरा मात्र हुन्। यसको अन्तर्यमा लोकतान्त्रिक अभ्यास बसिसकेको छैन। किनकि, लोकतन्त्रमा राजनीतिक दलको नेतृत्व मतदाताले दिने मतसँग उत्तरदायी हुनुपर्छ। हामीकहाँ त्यो परम्परा नै छैन। पार्टीले जति भोट ल्याओस्, चुनाव जितोस् या हारोस्, नेतृत्वले ठाउँ छोड्नेवाला छैन।

यो ‘डेथ’ नै त हुँदैन, विचार कहिल्यै पनि सकिंदैन। तर, करिब करिब अन्त्य भने हो। किनकि, कांग्रेस, एमाले, माओवादी लगायतका कम्युनिस्टहरू बीच अहिले के सैद्धान्तिक भिन्नता देखियो त ?

कांग्रेसमा पछिल्लो समय दुई कार्यकालको कुरा राखिएको छ। शेरबहादुर देउवाको दुई कार्यकालमा कांग्रेस धेरैपटक चुनावमा पछाडि पर्‍यो, तर नेतृत्व परिवर्तन भएन। अहिले सत्ताबाट बाहिरिंदा पनि नेतृत्वले त्यसको जिम्मेवारी लिएन। अहिलेको जेनजी मुभमेन्ट भनेको त कांग्रेस र एमाले नेतृत्व विरुद्धको विद्रोह पनि हो नि ! दलहरू संस्थागत नभएको उदाहरण त्यही हो।

यसको सबैभन्दा राम्रो उदाहरण बेलायतलाई लिन सकिन्छ। बेलायतमा चुनावको परिणाम आफ्नो पार्टीको पक्षमा नआउने सङ्केत देखिनेबित्तिकै नेतृत्वले ‘म यसको नैतिक जिम्मेवारी लिन्छु’ भनेर पद छोड्छ (स्टेप डाउन गर्छ)। हामीकहाँ त्यो परम्परा पटक्कै छैन। यहाँ त अरूलाई दोष लगाइन्छ, ‘पार्टीभित्र अन्तर्घात भयो’ भनिन्छ। लोकतन्त्रमा पार्टी चुनाव हार्नु भनेको मतदाताले नेतृत्वलाई नपत्याएको हो, पार्टीलाई नै अस्वीकृत गरेको होइन। पार्टी नै अस्वीकृत भएको भए त विघटन गरिदिए हुन्थ्यो नि! बेलायत जस्तो तीन-चार सय वर्षको इतिहास बोकेको देशमा ४० वर्ष नपुगेको मान्छे कसरी पार्टी नेतृत्वमा आएर प्रधानमन्त्री बन्छ ? किनभने, त्यहाँ नेतृत्व प्रतिस्पर्धात्मक छ। हामीकहाँ त्यो छैन। कांग्रेस लगायत सबै पार्टीहरूमा एउटा चुनौती यो हो।

दोस्रो कुरा, म बाहिर घुमिरहँदा विभिन्न पार्टीका मानिसहरूसँग भेटघाट हुन्छ। म स्वाभाविक रूपमै नेपाली कांग्रेसको नयाँ नेतृत्व कहिले आउँछ भन्नेमा अलि बढी चासो राख्थें। कांग्रेसका पुराना मित्रहरूलाई सोध्दा धेरैजसोले भन्थे- ‘गगन त भर्खरको केटाकेटी छ।’ के ५० वर्ष पुग्न लागेको मान्छे सधैं केटाकेटी हुन्छ ? अहिले पनि त्यहाँ त्यही मानसिकता छ। अघि तपाईंले विजय गच्छदारको उदाहरण दिनुभयो, उनको टिप्पणी भनेकै गगनलाई उमेर र अनुभवका हिसाबले केटाकेटी मानेको हो। गगन पनि धेरै अघिदेखि राजनीतिमा छ, संसद्‌मा आइरहेको छ। तर, २०४८ सालदेखि निरन्तर संसद्‌मा आएका थुप्रै मानिस कांग्रेसमा अझै छन्। उनीहरूको आँखामा ‘गगन त हिजो मात्रै आएको हो, कहाँ बेला भएको छ र उसको ?’ भन्ने सोचाइ छ।

क्रिकेटका एकदमै ‘क्रेजी’ साथीहरू खेल हेर्न नपाएको बेला कसले कति स्कोर गर्‍यो, कति विकेट गयो ? भनेर एक वाक्यको म्यासेज पाए पनि चित्त बुझाउँछन्। अहिले राजनीतिमा पनि करिब-करिब त्यस्तै अवस्था छ।

यसको अर्थ हामीकहाँ दलको सम्बन्धमा ‘प्याट्रोन-क्लाइन्ट’ सम्बन्ध हावी छ; अर्थात्, एउटा ठूलो नेताको संरक्षकत्वमा बस्ने। शेरबहादुर देउवा ‘प्याट्रोन’ को रूपमा स्थापित हुनुभयो। हिजो कोइरालाको लिगेसी बोकेर शेखरले प्याट्रनाइज गर्ने भन्ने होला, यता देउवाको लिगेसी बोकेर पूर्णबहादुर खड्का वा अरूले प्याट्रनाइज गर्ने भन्ने होला। गगनलाई त ‘यो भर्खर आएको हो’ भन्ने खालको असुरक्षा बोध उनीहरूमा छ। यो कांग्रेसमा मात्र होइन, अरू पार्टीमा पनि छ। एमालेमा पनि तपाईं देख्नुहुन्छ; केपी ओलीले कुखुराले चल्लालाई छोपे जस्तो गरी नेताहरूलाई राखेका छन्, नेताहरू त्यही पखेटामुन्तिरको तातोमा बस्ने प्रवृत्ति छ। ठूला नेताको पखेटामुन्तिर तातोमा बस्ने प्रवृत्ति नै पार्टी संस्थागत नभएको सङ्केत हो।

शब्द जे प्रयोग गर्नुभएको भए पनि यहाँले असोजमा नेतृत्व परिवर्तनका लागि एउटा विद्रोहको आवश्यकता थियो भन्नुभयो। पार्टी संस्थागत नभएको लगायत विभिन्न कारणले त्यो आवश्यक त थियो, तर चुनावको पूर्वसन्ध्यामा त्यसो गर्दा पार्टीलाई हानि भयो कि ? त्यो परिवर्तन चुनावपछि गरेको भए के हुन्थ्यो होला ?

कांग्रेसभित्र एकथरी मत तपाईंले भने जस्तै छ; चुनावको मुखमा विद्रोह गरेर नेतृत्व परिवर्तन गर्दा पार्टीलाई घाटा भयो भन्ने उनीहरूको बुझाइ छ। त्यो कति सत्य हो, मलाई थाहा छैन। तर, चुनाव परिणाम हेर्दा सुदूरपश्चिममा कताकता गगनको नेतृत्वलाई अस्वीकार गरेको हो कि जस्तो देखिन्छ। हुनत सुदूरपश्चिम मधेश जस्तो रित्तै त छैन, केही सिट त्यहाँबाट पनि आएका छन्। तर, यसले देउवा समूहले असहयोग पो गर्‍यो कि भन्ने पनि देखाउँछ।

उदाहरणका लागि डडेल्धुराकै हारलाई लिनुस्; त्यहाँ कांग्रेसको उम्मेदवारले त्यसरी हार्नुपर्ने अवस्था थिएन। २०४८ सालयता जित्दै आएको ठाउँ हो त्यो। त्यसमाथि त्यहाँका उम्मेदवार देउवासँगै निकट र उनकै ग्रुमिङबाट आएका व्यक्ति थिए। त्यहाँ किन हार भयो त ? राजनीतिमा आन्तरिक विभाजन बहुत डरलाग्दो हुन्छ। ‘आफू आउन नसक्ने भए बरु अरू नै आओस्’ भनेर भोट अर्कोतिर पल्टाउने खेल नेतृत्वमा प्रतिस्पर्धा गर्नेहरूले खेल्छन्। गगनको नेतृत्वलाई पछाडि पार्नका लागि पनि यस्तो खेल भएको हुनसक्छ।

सुदूरपश्चिम नै यसको एउटा गतिलो उदाहरण हो। २०४८ सालको चुनावमा ‘स्विप’ गरेको ठाउँमा २०५१ मा किन त्यस्तो भयो त ? एक-दुई सिट मात्र जित्ने अवस्थामा कसरी पुग्यो ? तर त्यही ठाउँमा फेरि २०५६ मा आउँदा जित्यो। त्यतिखेर सुशील कोइराला र शेरबहादुर देउवा बीच पनि द्वन्द्व थियो। नेतृत्वमा बस्नेहरू बीचको द्वन्द्व र टकरावले चुनाव परिणाममा असर पार्छ। त्यसैले गएको चुनावमा खासगरी सुदूरपश्चिममा गगनको नेतृत्वलाई कमजोर पार्ने प्रयत्न भएको देखिन्छ।

काठमाडौं उपत्यकामा त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेनको एकछत्र लहर चल्यो। १०-१५ हजार भोटको अन्तर हुन थालेपछि त्यहाँ कांग्रेसलाई भोट दिनु/नदिनुको कुनै अर्थ रहेन। तर, यो हार आन्तरिक विभाजनले मात्र भएको होइन; कांग्रेसको त्यो हार करिब स्वाभाविक थियो। पार्टीको पुरानो नेतृत्व अलोकप्रिय भइसकेको थियो। दुई महिनामै गगनले नेतृत्वप्रतिको विश्वास जोगाउन सक्ने अवस्था थिएन। पुरानै नेतृत्वको कमजोरीको लिगेसीका कारण त्यो हार भएको हो। तर यो कुरा अहिले पार्टीभित्र स्वीकार गर्न तयार छैनन्।

अहिले पार्टीमा के कुरामा झगडा छ त ? एउटा सदस्यता अद्यावधिक गर्ने विषय छ। गगनहरू सदस्यता अद्यावधिक गर्ने कुरा गरिरहेका छन्। अर्को पक्ष भन्छ- ‘पार्टी बनेदेखिकै सदस्य छन्, केको अद्यावधिक ?’ फेरि योभन्दा अगाडि ५-६ लाखले ‘रिन्यु’ गरिसकेका थिए, त्यही नै अद्यावधिक हो भन्ने कुरा छ। यस्तै सानामसिना विवाद पार्टीभित्र चलेका छन्। यो विवादको जड पनि सदस्यता वितरण र नेतृत्व चयनकै खेल हो। नेतृत्व आफ्नो हातबाट बाहिर नजाओस् भनेर भागबन्डा गरिन्छ; ‘यो जिल्लामा यति तिम्रो मान्छे, यति मेरो मान्छे’ भनेर। अहिलेको नयाँ नेतृत्वले अलि फरक किसिमबाट जान खोज्दा यो विवाद उत्पन्न भएको हो।

मलाई अर्को के लाग्छ भने, यो समस्या कांग्रेसका लागि निकै जटिल पनि छ। एउटा चुनावको हार–जितले मात्र पार्टीको समग्र मूल्याङ्कन हुँदैन। तर अहिले कांग्रेसको सङ्कटलाई दुई किसिमबाट हेरिन्छ। २०१५ साललाई अपवाद मान्ने हो भने २०४८ सालयता कांग्रेससँग प्रतिस्पर्धा गर्ने शक्ति कम्युनिस्ट नै थियो। तर अहिले रास्वपाको उदय भएको छ। रास्वपा कम्युनिस्ट पार्टी होइन, बरु त्यसको ‘एन्टी-कम्युनिस्ट’ (कम्युनिस्टइतर) चरित्र अझ बढी स्पष्ट देखिन्छ। कतिपयले यसलाई उदारवादी पनि भन्छन्। दुईवटा लिबरल पार्टी भएपछि अब रास्वपाका कारणले पनि कांग्रेसलाई अप्ठ्यारो छ भन्ने एकथरीको बुझाइ छ। तर, रास्वपाको बारेमा अहिल्यै निष्कर्ष निकाल्न हतार हुन्छ। जसरी यसको उदय भयो, त्यो धेरै स्वाभाविक होइन। यसलाई टिकाउन त्यति सजिलो छ जस्तो मलाई लाग्दैन।

कांग्रेसभित्र देखिएको आन्तरिक कलह (विशेष महाधिवेशन पक्ष र नियमित महाधिवेशन पक्ष बीचको विवाद) ले नै आजको रास्वपा बन्न मद्दत पुग्यो भन्ने तर्कमा कत्तिको दम देख्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन। कांग्रेस एकजुट भएको भए पनि रास्वपा यही आसपासमा आउँथ्यो होला। कांग्रेसको आन्तरिक विभाजनका कारण नै रास्वपाले खासै ठूलो फाइदा लिएको होइन। दुई–चार सिट तल–माथि हुनु स्वाभाविक हो, तर त्यसैबाट पूरै फाइदा लिएको म देख्दिनँ।

त्यो दर्शनको जगभन्दा बाहिरबाट कुनै पार्टी बन्छ भने त्यो पार्टी होइन, त्यो ‘पावर ब्रोकर’ मात्र बन्छ। पावर ब्रोकर बनेर सत्तामा त पुग्न सकिएला, तर पार्टी बनिंदैन।

किनभने, जेनजी विद्रोहभन्दा अलि अगाडिदेखि नै र त्यसपछि अझ चर्कोसँग राजनीतिको एउटा नयाँ धार निर्माण भइरहेको थियो। त्यसको आधारमा हेर्दा, जेन-जी विद्रोह नभएको भए र २०८४ मै चुनाव भएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी सजिलै कांग्रेस र एमालेलाई टक्कर दिने हैसियतमा अगाडि बढिरहेको हुन्थ्यो। मैले ग्राउन्डमा त्यही पाइरहेको थिएँ।

म कांग्रेस र एमालेकै कतिपय स्थानीय तहका मानिसहरूसँग कुराकानी गर्थें। मसँग अलिकति खुला रूपमै उनीहरू भन्थे- अहिले हाम्रो पार्टीको अवस्था ठीक छैन, हामीलाई सजिलो छैन।

त्यसकै आधारमा मैले विभिन्न कार्यक्रमहरूमा अहिलेको स्थिति यस्तो छ है, आउने चुनाव कांग्रेस र एमालेलाई सजिलो छैन भनेर बोल्दै आएको थिएँ। त्यसैले मलाई के लाग्छ भने, गगनहरूले सत्ता नेतृत्वलाई चुनावको मुखमा खोसेर लिंदा पार्टीभित्र विभाजन आयो। त्यसले गर्दा रास्वपालाई अवसर मिल्यो कि भन्ने सतहको विश्लेषण हुन सक्छ। दुई पार्टी प्रतिस्पर्धामा बस्दा एउटा विभाजन हुँदा अर्को खुसी हुनु वा सजिलो महसुस गर्नु स्वाभाविक खेल हो। रास्वपामा आन्तरिक विभाजन भयो भने कांग्रेस-एमाले लगायतका पार्टीहरूलाई सजिलो हुनेभयो भनेर आशावादी हुनु पनि स्वाभाविक हो।

तर यथार्थमा, कांग्रेसका लागि रास्वपाको जुन किसिमको उदय भइरहेको छ, त्यो ठूलो चुनौती हो। अब चाँडै नै स्थानीय चुनाव हुँदैछ। मलाई लाग्छ, स्थानीय र प्रदेशको चुनावसम्म त्यो पार्टीले ‘स्विप’ गर्ने सम्भावना अहिले पनि मौजुद छ। अहिलेको जस्तो ठूलो लहर नहोला, तर पनि ऊ पहिलो पार्टीका रूपमा आउने सम्भावना छ। यसको अर्थ, तलदेखि माथिसम्म अर्को पाँच वर्ष त्यही पार्टीको ‘होल्ड’ रहने भयो नि त! त्यसैले त्यसलाई ब्रेक गरेर चुनावी राजनीतिको हिसाबबाट अगाडि बढ्न कांग्रेसलाई सजिलो छैन। मैले यो चुनौती सामान्य होइन भनेको त्यही अर्थमा हो।

कम्युनिस्टसँगको प्रतिस्पर्धामा कांग्रेसलाई सजिलो थियो, एउटा सिद्धान्तको आवरण राखे पुग्थ्यो। तर रास्वपाको सन्दर्भमा त्यो आवरण राख्ने ठाउँ छैन। किनभने, रास्वपाले गणतन्त्र र सङ्घीयतालाई पनि मानेकै छ, ऊ यो संविधानभित्रै छ। अहिले काठमाडौंका मेयर बालेन्द्र शाहका केही अभिव्यक्ति र व्यवहारले शङ्का उत्पन्न गर्ला, तर ती व्यक्तिका प्रवृत्तिका कुरा हुन्।

गएको चुनावमा पनि मैले रास्वपाका दस्तावेजहरू र यसको नेतृत्वले संवैधानिक प्रणालीका बारेमा के भन्छ भनेर नजिकबाट हेरेको थिएँ। त्यो हेर्ने क्रममा कतै पनि रास्वपाको यो संवैधानिक प्रणालीप्रति कमजोर प्रतिबद्धता छ भनेर आरोप लगाउने ठाउँ देखिंदैन।

लोकतन्त्रमा तपाईंले युरोपको अभ्यास हेर्नुभयो भने त्यहाँ कम्युनिस्ट पार्टीसँग खासै प्रतिस्पर्धा छैन। त्यहाँ अलिकति ‘सोसलिस्ट लेबर पार्टी’ र ‘कन्जर्भेटिभ पार्टी’ बीच प्रतिस्पर्धा छ। हामीकहाँ पनि भोलि त्यस्तो स्थिति आउन सक्छ। त्यो कन्जर्भेटिभ पार्टीको ठाउँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिने सम्भावना देखिएन। किनकि, ऊ अति नै कन्जर्भेटिभ रूपमा आयो; राजा नै ल्याउनुपर्छ भन्छ। ऊ यो परिवर्तनलाई नै अस्वीकार गर्छ।

रास्वपाका कतिपय ‘ट्रेन्ड’ हेर्दा त्यहाँ पनि कन्जर्भेटिभ चरित्र देखिन्छ। यो संविधानका केही कुराहरूमा रास्वपाको असहमति पनि देखिन्छ नि !

हो, रिजर्भेसन त हुन्छ नि ! तर त्यसलाई उसले अस्वीकार त गरेको छैन नि ! भारतमै हेर्नुस्, भारतीय जनता पार्टीको वर्तमान भारतीय संविधानका थुप्रै कुरामा रिजर्भेसन छ। तर, त्यही संविधानभित्रै बसेर उसले काम गरिरहेको छ नि ! त्यही संविधानभित्र प्रतिस्पर्धा गरेर उसले तीनवटा चुनावमा जित हासिल गरी आफूलाई अग्रणी शक्तिका रूपमा स्थापित गरेको छ। कांग्रेस लगायत पुराना पार्टीहरूलाई उसले धेरै पछाडि पारिदिएको छ।

वैचारिक र सैद्धान्तिक कोणबाट हेर्दा रास्वपामा अलिकति अस्पष्टता छ; केहीमा प्रोग्रेसिभ (प्रगतिशील) जस्तो, केहीमा रिग्रेसिभ (पश्चगामी) जस्तो देखिन्छ। त्यस्तो पार्टीलाई गएको निर्वाचनमा मतदाताले यति धेरै सिट दिएर पठाए। यसको अर्थ, आजको मितिमा कांग्रेसमा देखिएको समस्या नेताहरूको शैलीगत मात्रै हो कि कांग्रेसले बोक्दै आएको ‘प्रजातान्त्रिक समाजवाद’ लगायत सिद्धान्तबाटै ‘डिपार्चर’ खोजेको हो ?

तपाईंले भने जस्तै यो सैद्धान्तिक डिपार्चर खोजेको हो कि जस्तो लाग्न सक्छ। म राजनीतिलाई सिद्धान्तका आधारमा व्याख्या, विश्लेषण र अध्ययन गर्दै आएको मान्छे हुँ। तर, अहिले म कुन निष्कर्षमा पुगिरहेको छु भने- पछिल्लो पुस्तालाई यी सिद्धान्तहरूको कुनै चासो नै छैन। पछिल्लो पुस्तामा यो छँदै छैन।

यसको मुख्य कारण हाम्रो राजनीतिक-सामाजीकरणको ढाँचा नै बदलिएको छ। मैले २०७९ सालको चुनावमा किन राष्ट्रिय स्वतन्त्र पार्टीको यसरी अप्रत्याशित उदय भयो भनेर राम्रै अध्ययन गरेको छु। मेरो १०-१२ हजार शब्दको एउटा लेख छ, जुन अहिलेसम्म छापिएको छैन।

त्यतिखेरै मैले अध्ययन गरेको थिएँ- रास्वपाले पाएको भोट ‘सिफ्ट’ हो कि ‘स्विङ’ ? ‘स्विङ’ भनेको पीङ मच्चिए जस्तै हो, जुन एकपटक अर्कोतिर गए पनि पछि आफ्नै ठाउँमा फर्केर आउन सक्छ। तर ‘सिफ्ट’ भनेको गएको गएकै हुन्छ, फर्केर आउने सम्भावना कम हुन्छ।

उदाहरणका लागि, मधेश आन्दोलनपछि कांग्रेसको भोट ‘सिफ्ट’ भएर मधेशी दलहरूमा गयो। त्यो भोट अहिलेसम्म फर्केर आएको छैन। मधेशी दलहरू बेलाबेलामा हार्छन्, टुक्रिन्छन्; अहिले त्यत्रो ठूलो हार भयो, तर त्यो भोट फर्केर कांग्रेसमा आएन। त्यसैले रास्वपामा गएको भोट पनि अब फर्केर आउँदैन। रास्वपाको भोट अरू बढ्न सक्छ, तर कम हुँदैन। मैले यसलाई राजनीतिक सामाजीकरणको आँखाबाट हेरेको थिएँ।

यहाँको १०-१२ हजार शब्दको अध्ययनको निष्कर्ष यही हो ?

हो, राजनीतिक सामाजीकरणको ढाँचा अहिले परिवर्तन भयो। हिजो जुन किसिमबाट तपाईंको पुस्तासम्म राजनीति प्रशिक्षित र प्रभावित थियो, त्यो बढी विचार, चिन्तन र दर्शनमा आधारित थियो। विचारको आधारमा राजनीति बुझ्नेबित्तिकै तपाईं पार्टी समाउनुहुन्छ। अलिकति उदार लोकतन्त्रको विचारबाट प्रभावित हुनुभयो भने तपाईं कांग्रेसको नजिक पुग्नुहुन्छ। अलि बढी ‘मार्क्सवादी’ लाइनबाट प्रभावित हुनुभयो भने तपाईं कम्युनिस्ट पार्टीको नजिक पुग्नुहुन्छ।

यी दुवै ठीक छैनन्, अलिकति राजाको लाइनबाट हेर्नुपर्छ भन्नेहरू राप्रपाको नजिक होलान्। अब राप्रपा फेरि कन्जर्भेटिभ मात्रै होइन, पञ्चायत राजनीतिको निरन्तरता बोकेको पार्टी पनि हो। अहिले नयाँ पुस्ता आएको छ, नत्र त्यो त पुरानै पञ्चहरूले स्थापना गरेको पार्टी हो। अहिले राजेन्द्र लिङ्देनको नेतृत्व आए पनि त्यहाँ हिजो पञ्चायतमा राजनीति गरेका धेरै मानिस छन्। त्यसको ग्राउन्ड भनेकै पञ्चायतको राजनीति हो।

हिजो प्रजातान्त्रिक समाजवादका याचक हामी नै हौं, लोकतन्त्र ल्याउने हामी नै हौं भन्ने कांग्रेसको जुन दाबी थियो, अब त्यो मात्रै बेचेर कांग्रेसले पाउँदैन। कांग्रेसको त्यो भाग खोस्न अरू दल पनि आइसके।

तर अहिलेको ‘जेन-जी’ पुस्ताले राजनीति बुझ्ने यो पुरानो खालको राजनीतिक प्रशिक्षणलाई मान्दैन। उनीहरूको सोचाइ फरक छ। उदाहरणका लागि, रास्वपाले अघिल्लो चुनावमा लोकतन्त्र वा अन्य कुनै ठूला सैद्धान्तिक नारा दिएको थिएन। उसले दिएको नारा भनेकै ‘सुशासन भएन’ भन्ने हो। सुशासन भनेको अमूर्त कुरा पनि हो, यो विचारधाराको कुरा होइन। सुशासन कसरी दिने ? कांग्रेसले सुशासन दिन केही सैद्धान्तिक आधारहरू बनाउला, कम्युनिस्टले सुशासन दिन कम्युनिस्ट सैद्धान्तिक आधार बनाउलान्। तर, रास्वपासँग २०७९ सालको चुनावमा त्यस्तो कुनै सैद्धान्तिक आधार थिएन।

मान्छेलाई के भयो भन्दा- नेतृत्व भएन, कांग्रेसले सकेन, एमालेले सकेन, भ्रष्टाचार बढ्यो। त्यसैले नयाँ मान्छे चाहियो, नयाँ अनुहारको खोजी भयो। त्यो नयाँ अनुहारले कस्तो खालको राजनीतिक विचार बोकेको छ, त्यसको राजनीतिक पृष्ठभूमि के हो भनेर पटक्कै खोजिएन। त्यसकै परिणाम अहिले रास्वपाको यो विजय हो; आँखा चिम्लेर मान्छेले भोट हाले।

रास्वपा आउनुभन्दा पहिला नै कांग्रेस र कम्युनिस्ट, राप्रपा र कम्युनिस्ट, राप्रपा र कांग्रेस, मधेशवादी दल र कम्युनिस्ट मिलेर सरकार बनाएकै थिए। अनि रास्वपाको विषयमा हामीले कुरा गरिनै सक्यौं। त्यसो भए हामी आजको जुन ‘स्टेज’ मा छौं, त्यो भनेको विचारधाराको अन्त्य/मृत्यु हो ?

तपाईंले ‘डेथ’ भन्ने शब्द प्रयोग गर्नुभयो। डेथ नै त नभनौं, ‘द एन्ड अफ आइडियोलोजी’ भनेर सन् १९६० मै एक अमेरिकी पोलिटिकल साइन्टिस्ट डानियल बेलले किताबै लेखेका छन्। म विद्यार्थी छँदा पढेको किताब हो त्यो। त्यतिखेर म त्यो बुझ्दिनथें। म अलिकति विचारबाट प्रभावित मान्छे थिएँ, त्यसैले “यसले के भनेको होला ?” जस्तो लाग्थ्यो।

मलाई किन यसो भन्यो ? भन्ने लाग्थ्यो, उसले विश्लेषण गरेको छ। अनि पछि मैले आफैंले लेखें- अब दलहरू ‘वाद’ को घेराबाट माथि उठ्नुपर्छ।

त्यो एक प्रकारको ‘एन्ड अफ आइडियोलोजी’ कै कुरा थियो। मलाई लाग्छ, चार-पाँच वर्षअगाडि मैले कान्तिपुरमा लेखै लेखेको थिएँ। त्यसैले यो ‘डेथ’ नै त हुँदैन, विचार कहिल्यै पनि सकिंदैन। तर, करिब करिब अन्त्य भने हो। किनकि, कांग्रेस, एमाले, माओवादी लगायतका कम्युनिस्टहरू बीच अहिले के सैद्धान्तिक भिन्नता देखियो त ? नेपालको सामाजिक-आर्थिक विकासका लागि उनीहरूले राखेका कार्यक्रम र घोषणापत्रहरूमा के भिन्नता छ ?

एमाले वा कम्युनिस्ट पार्टीहरूको घोषणापत्रमा हामी मार्क्सवाद मान्छौं, मार्क्सवाद वैज्ञानिक विचारधारा हो भन्ने एउटा आवरण मात्र हुन्छ। यी केही स्थापनाका शब्दावली बाहेक बाँकी कुरामा कांग्रेस, एमाले र माओवादी बीच काममा केही पनि फरक देखिंदैन। न त त्यसको नेतृत्वको सामाजिक संरचनामा वर्गीय अन्तर नै छ; एउटै वर्गभित्रका मानिसहरू हुन्।

भनेपछि राजनीति गर्न र चुनावमा प्रचारप्रसार गर्दै मतदातासमक्ष जान एउटा ट्रेडमार्क वा ट्याग चाहियो। त्यो ट्यागका रूपमा ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ शब्द प्रयोग हुन्थे। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यो ट्याग पनि चाहिएन। तर उसले पनि विधान वा कतैतिर ‘संवैधानिक समाजवाद’ भनेर राखेको छ। मलाई हाँसो उठ्थ्यो- संवैधानिक समाजवाद रे! ऊ पनि त्यो ट्यागबाट बाहिर निस्किन नसकेको जस्तो देखिन्छ। तर, जेन-जी मुभमेन्टपछिको चुनावी वातावरणमा उसलाई कुनै ट्याग आवश्यक परेन। सबैभन्दा ठूलो ट्याग ‘बालेन्द्र’ बन्यो। उसको लागि बालेन्द्र शाह नै आइडियोलोजी, बालेन्द्र शाह नै विचार, बालेन्द्र शाह नै सङ्गठन र बालेन्द्र शाह नै परिचालन हो भन्ने गएको चुनावको माहोल हेर्दा देखिन्थ्यो। अहिले सरकारमा पुग्दा पनि त्यो पार्टी ‘वान-म्यान-शो’ कै रूपमा छ।

यसले के देखाउँछ भने, अबको नयाँ पुस्ताका लागि यस्तै भए पुग्छ। विचारमा अहिले बहस नै छैन। सोसल मिडियामा हेर्नुस् न, कसरी बहस हुन्छ ? एक वाक्य पोस्ट गर्छ, एउटा छोटो ‘फ्रेज’ प्रयोग गर्छ, अनि त्यसैको पक्ष-विपक्षमा सबै मत बाँडिएको छ। हामी भनेको राजनीतिक रूपमा बहस गर्ने, विचारमा खेल्ने पुस्ता हौं।

मलाई अहिले पनि पत्रपत्रिकाको विचार-विमर्शका पाना हेर्न मन लाग्छ, समाचार अलि विस्तारित रूपमा पढ्न मन लाग्छ। तर, अहिलेको पुस्ताले त्यो हेर्दैन। ऊ खाली घटना मात्र हेर्छ। कहिलेकाहीं म सुन्छु- क्रिकेटका एकदमै ‘क्रेजी’ साथीहरू खेल हेर्न नपाएको बेला कसले कति स्कोर गर्‍यो, कति विकेट गयो ? भनेर एक वाक्यको म्यासेज पाए पनि चित्त बुझाउँछन्। अहिले राजनीतिमा पनि करिब-करिब त्यस्तै अवस्था छ। एक-दुई शब्दका म्यासेजले मान्छेलाई पुगेको छ। यो प्रविधिको ठूलो चुनौती हो। अहिले मान्छेलाई किताब पढ्ने, विचार-विमर्श गर्ने बानी छुटेको छ, त्यो पुस्ता कमजोर भएर गएको छ। अहिले सरकारमा आएका धेरै मानिस प्रविधि क्षेत्रमा काम गरेका वा कानूनको डिग्री हासिल गरेकाहरू छन्। तर, कानूनको डिग्री हासिल गर्नु र कानूनको गहिरो अध्ययन गर्नु एउटै कुरा होइन।

यहाँले विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउनुभयो, यति लामो अध्ययन-अनुसन्धान छ। तपाइँको विचारमा अब यो ‘फ्युडालिजम’, ‘सोसियलिजम’ वा ‘क्यापिटालिजम’ भन्ने जुन वादहरूको बहस छ नि, त्यो नै अब निरर्थक भइसकेको हो त ?

निरर्थक र आउटडेटेड भएर गइसक्यो। त्यसले अहिलेको नयाँ पुस्तालाई छुँदै छुँदैन। यो नेपालको मात्र होइन, विश्वव्यापी कुरा हो। अहिले राजनीतिमा एउटा अर्को शब्द प्रयोग हुन थालेको छ। मैले अघिल्लो चुनावको अध्ययन गर्ने सिलसिलामा विश्वव्यापी रूपमा भइरहेको नयाँ विकास र रिसर्च खोज्दाखेरि एउटा शब्दावली चल्तीमा आएको देखें- ‘पोलिटिकल कर्पोरेटिजम’।

किन यसो भनियो होला ? मैले रास्वपाको उदयलाई त्यही कुरासँग जोडें। उसले भन्यो- म सुशासन दिन्छु। जनतालाई सुशासन चाहियो, सुशासनका लागि भोट दिने कुरा भयो। अब भोट ‘ट्रेडिङ’ (व्यापार) हुन थाल्यो। अहिले धेरै मतदाताले तिमीलाई भोट हालेबापत मैले के पाउने ? भन्न थालिसके।

हिजो मतदाताको ठूलो हिस्साले त्यो प्रश्न गर्दैनथ्यो। हिजो बुझाइ के थियो भने, मैले कांग्रेसलाई भोट हालें भने मेरो व्यक्तिगत स्वतन्त्रता र मुलुकको लोकतान्त्रिक प्रणाली सुरक्षित हुन्छ। म जस्ता धेरैको बुझाइ त्यही थियो। कम्युनिस्ट पार्टीलाई भोट हाल्यो भने विभेद र असमानताको अन्त्य हुन्छ, देश प्रगतिमा जाला भनेर मानिसहरू चीन वा हिजोको सोभियत सङ्घलाई हेर्थे।

तर, आज त्यसरी हेरिंदैन। आज मान्छे हेर्छ- तिमी त चुनाव जितेपछि मन्त्री/प्रधानमन्त्री हुन्छौ, म के हुने ? यसरी अप्रत्यक्ष र कतिपय ठाउँमा प्रत्यक्ष ‘बार्गेनिङ’ गर्ने अवस्था आइसकेको छ।

त्यसो भए कांग्रेसले पनि अब आफूले बोकेको लोकतन्त्र वा प्रजातान्त्रिक समाजवादको कुराभन्दा ‘डेलिभरी’ र तत्काल जनतालाई सम्बोधन गर्नुपर्ने कुराहरूको पछाडि जानुपर्ने हो त ?

होइन, पार्टीको एउटा दार्शनिक जग हुन्छ। त्यो दर्शनको जगभन्दा बाहिरबाट कुनै पार्टी बन्छ भने त्यो पार्टी होइन, त्यो ‘पावर ब्रोकर’ मात्र बन्छ। पावर ब्रोकर बनेर सत्तामा त पुग्न सकिएला, तर पार्टी बनिंदैन।

त्यसकारण कांग्रेस, कम्युनिस्ट पार्टी लगायत भोलि रास्वपालाई पनि एउटा बलियो पार्टीका रूपमा विकसित हुन कुनै न कुनै दार्शनिक आधार चाहिन्छ। हिजोकै वाद बोक्नुपर्छ भन्ने जरुरी छैन, तर समाजलाई हेर्ने एउटा निश्चित सोच त हुन्छ नि !

समाजलाई हेर्ने सोच के हो त ? रास्वपा सहभागी सरकारले अस्ति प्रस्तुत गरेको बजेट हेरिसकेपछि मलाई के लाग्यो भने, यो बजेट अलि बढी ‘दक्षिणपन्थी’ धारणाबाट प्रभावित छ कि ? कुरा त राम्रा छन्, त्यसमा असहमत हुनुपर्ने छैन।

दक्षिणपन्थी आर्थिक धारले पनि छिटो विकास गरेका उदाहरण छन्। तर, त्यसले समाजमा भएको विभेदलाई कसरी सम्बोधन गर्छ ? सक्नेले कमाऊ, ट्याक्स तिर, आनन्द लेऊ भन्ने नीतिले एउटा आर्थिक स्थिति त निर्माण गर्ला; पश्चिमका कतिपय पूँजीवादी देशहरू त्यसैगरी उँभो लागेका हुन्।

तर, हामीकहाँ यतिले मात्र पुग्दैन। हामीसँग यत्रो ठूलो जनसङ्ख्या छ, पब्लिक सेक्टर (सार्वजनिक क्षेत्र) को भूमिकालाई छोड्न सकिंदैन। पब्लिक सेक्टरमा कमजोरी छन्, त्यहाँ दक्षता देखिएको छैन। यसले गर्दा भोलि अवस्था कता पुग्छ ? अनि यो त अवसरवादतर्फ जान्छ। जे बोल्दा फाइदा हुन्छ, जे भन्दा तत्काल भोट पाइन्छ, त्यतातिर मात्रै जाने भयो। नत्र भने बीपी कोइराला किन तत्कालीन प्रवृत्तिको विरुद्ध कहिलेकाहीं अलोकप्रिय भएर पनि बोल्नुहुन्थ्यो त ? सिद्धान्त र दर्शनमा उभिने मान्छेले अलोकप्रिय नै भए पनि सत्य कुरा बोल्ने आधार दिन्छ।

अर्को कुरा, हिजो प्रजातान्त्रिक समाजवादका याचक हामी नै हौं, लोकतन्त्र ल्याउने हामी नै हौं भन्ने कांग्रेसको जुन दाबी थियो, अब त्यो मात्रै बेचेर कांग्रेसले पाउँदैन। कांग्रेसको त्यो भाग खोस्न अरू दल पनि आइसके। २०४८ सालयताको कुरा हेर्दा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार आयो, कम्युनिस्टहरूको पूर्ण बहुमतको सरकार पनि बन्यो; तर लोकतन्त्र खतरामा पर्‍यो भनेर तर्सिनुपर्ने अवस्था त आएन नि ! बरु ज्ञानेन्द्र शाहको उदय हुँदा लोकतन्त्र खतरामा पर्‍यो भनेर नागरिकहरू तर्सिने अवस्था भयो। माओवादी र एमालेको एकताबाट त्यत्रो ठूलो कम्युनिस्ट पार्टीको उदय हुँदा पनि नेपाल ‘कम्युनिस्ट प्रणालीमै गयो’ भनेर तर्सिनुपर्ने अवस्था बनेन।

त्यसैले, अब लोकतन्त्र भनेको सबैको साझा ठाउँ बनिसक्यो। रास्वपालाई पनि अगाडि बढ्न लोकतन्त्र नै चाहिन्छ, उसले लोकतन्त्र नमान्ने कुरा हुँदैन। त्यसकारण लोकतन्त्र कांग्रेसको मात्रै पूँजी रहेन। देशका लागि यो राम्रो कुरा हो।

तर, यो कुरालाई स्वीकार गरेर अब कांग्रेसले आफ्ना चुनौतीको सामना गर्नुपर्छ। कांग्रेसले सक्षम नेतृत्व निर्माण गर्नुपर्‍यो। जनताका बीचमा राम्रो छवि भएको अलि छरितो पार्टी बनाउन सक्नुपर्‍यो। पार्टीको सङ्गठन र सदस्य सङ्ख्या मात्रै ठूलो भएर भोट आउने रहेनछ भन्ने कुरा त यही चुनावले प्रमाणित गरिसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कति नै सङ्गठन उठेको थियो र गएको चुनावमा जाँदा ? मुस्किलले सबै ठाउँमा शाखा थिए होलान्, तर भोट त देशभरिबाट आयो। त्यसो भए अहिले विशेष महाधिवेशनबाट चयन भएर आउनुभएको कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई छरितो बनाउन लाग्ने कि पार्टीभित्र सबैलाई समेट्न लाग्ने ?

पार्टीभित्र यो विषयमा गगन-विश्वप्रकाश अलमलिनुहुँदैन। सबैलाई समेट्न सम्भव पनि छैन। उनीहरूले एउटा यस्तो बाटो र आधार निर्माण गर्ने हो, जसलाई बाहिरबाट हेर्दा ‘यो बाटो ठीक छ है’ भनेर मान्छेले पत्याउन् र सहमत हुन सकून्। त्यो आधारभित्र मान्छेहरू सहमतिमा आउँछन्, आउँदैनन् भने पछाडि पर्छन्, छुट्छन्। त्यो कुनै ठूलो कुरा होइन।

अहिलेका मतदाता आफ्नै तजबिजले पनि छनोट गर्न सक्छन्। गएकै चुनावमा पनि कुनै कांग्रेसको मान्छेले ‘कांग्रेसलाई भोट नदेऊ’ भन्दैमा भोट नदिने र ‘देऊ’ भन्दैमा खुरुक्क भोट दिने मतदाता थिएनन्।

त्यसैले, अहिले कांग्रेसको खाँचो भनेको ‘हाम्रो नेतृत्व सक्षम छ र हामीप्रति उत्तरदायी छ’ भन्ने विश्वास पैदा गर्नु हो। अस्तिको चुनावको हार गगनको नेतृत्वका लागि ठूलो धक्का थियो। उनीहरू भर्खर विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थिए, त्यसलाई औपचारिकता प्रदान गर्न अझै बाँकी नै थियो। त्यही बीचमा पार्टीको ठूलो हार भयो, उनीहरू आफू पनि हारे। त्यसले गर्दा उनीहरू दोहोरो मारमा परे।

पार्टी नेतृत्वको बारेमा मेरो बुझाइ के छ भने, चुनावमा पछाडि परेपछि नेतृत्वले जिम्मेवारी लिएर पदत्याग गर्नुपर्छ। गगनले पनि यसको नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने मेरो धारणा थियो।

गगन थापाले राजीनामा त दिनुभयो नि, पछि स्वीकृत नभएको होइन र?

त्यो त नाटक हो। वास्तवमा त्यो राजीनामाले गगनको व्यक्तित्वलाई कुनै उचाइ थप्यो भनेर म पत्याउँदिनँ।

‘अस्वीकृत गर्ने’ पूर्वसहमतिमै राजीनामा दिइयो भन्ने यहाँको भनाइ हो ?

नैतिकता भनेको त तत्काल मान्छेले स्वीकार गर्ने कुरा हो। पार्टी पछाडि परेर आफूले हारिसकेपछि तत्काल उहाँले राजीनामा दिन सकेको भए र पछि कांग्रेस केन्द्रीय समितिले होइन, अहिले तपाईंले छोड्ने बेला भएको छैन, पुनर्विचार गर्नुस् भनेको भए त्यो स्वाभाविक मानिन्थ्यो।

हो, पुराना ठूला नेताहरू एकैठाउँमा बसेर एउटा साझा वक्तव्य जारी गर्दैमा वा ‘हामी मिल्यौं’ भन्दैमा पार्टी ठूलो हुने होइन।

तर १५-२० दिन लगाएर, अब यसमा हामी यसो गर्छौं भनेर पार्टीले अस्वीकार गर्ने वातावरण बनाएपछि बल्ल राजीनामा पत्र जानु भनेको त एक प्रकारको ‘स्टेज म्यानेज’ (प्रायोजित) जस्तो देखियो। राजीनामा अस्वीकृत हुने निश्चित भएपछि मात्रै दिएको हो कि भन्ने आशङ्का गर्ने ठाउँ देखियो। तत्काल आएको भए त्यो स्वतःस्फूर्त मानिन्थ्यो।

जस्तो: २०६४ सालको संविधानसभा चुनावपछि तत्कालीन कार्यवाहक सभापति सुशील कोइरालाले तत्काल राजीनामा दिएका थिए, यद्यपि त्यो स्वीकृत भएन। माधवकुमार नेपालले पनि तत्काल राजीनामा दिएका थिए। त्यो स्पोन्टेनियस हो। तर गगनको हकमा अलि धेरै दिन सोचविचार गरेर राजीनामा दिएको जस्तो देखिन्छ। जबकि नैतिक जिम्मेवारी लिने कुरामा सोचविचार गरिंदैन, तत्काल जवाफदेही बन्ने हो।

माधवकुमार नेपाल त फेरि त्यही कारणले नै पार्टीको नेतृत्वमा कहिल्यै फर्किन सक्नुभएन नि ?

हो त नि ! उहाँले आफ्नै वचनमा आफैंलाई धोका दिनुभयो। नेतृत्वबाट राजीनामा गरेपछि फेरि किन अध्यक्ष लड्नुपर्ने ? कहिल्यै नेतृत्व नछोड्ने यो त नौटङ्की थियो नि त !

फेरि कांग्रेसमै फर्किंदा, पार्टीलाई अलि स्मार्ट तरिकाले अगाडि बढाउने हो भने पूर्णबहादुर खड्का, शेखर कोइराला, विजय गच्छदार, प्रकाशशरण महत लगायत पुराना नेताहरूसँग वार्ता मिलाउन र समय बिताउन धेरै जोड गरिरहनुपर्दैन भन्ने यहाँको भनाइ हो ?

हो, पुराना ठूला नेताहरू एकैठाउँमा बसेर एउटा साझा वक्तव्य जारी गर्दैमा वा ‘हामी मिल्यौं’ भन्दैमा पार्टी ठूलो हुने होइन। अब त तपाईं-हामी जस्ता मतदाताले स्वीकार गर्नुपर्‍यो नि त ! आज मतदाताको मानसिकता, मनस्थिति र राजनीतिक बुझाइ परिवर्तन भएको छ। कांग्रेसको पुरानो नेतृत्वले यो ‘पोलिटिकल सोसलाइजेसन’ मा आएको परिवर्तन बुझेकै छैन; न एमालेको नेतृत्वले बुझेको छ। उनीहरूले ‘हामी विना पनि चल्छ र ?’ भन्ने मानसिकता बनाएका छन्।

तर गएको चुनावमा हेर्नुभयो भने, मतदातामा झन्डै ५० प्रतिशतको हाराहारीमा युवा पुस्ता छ, जसमा हिजोको ‘पोलिटिकल सोसलाइजेसन’ को प्रभाव अत्यन्तै कम छ। त्यसैले कांग्रेसका पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण सिटौला सबै एकैठाउँमा मिलेर बसे पनि कांग्रेसको चुनावी हैसियत तुरुन्तै बदलिन्छ भनेर म पत्याउँदिनँ। त्यसका लागि नेतृत्वप्रतिको विश्वास सबैभन्दा ठूलो कुरा हो।

अहिले त कस्तो अवस्था आइसक्यो भने, ‘नेतृत्व नै पार्टी हो’ भन्ने भइसक्यो। जस्तो: बालेन्द्र शाहको नेतृत्वका पछाडि ‘फ्यान’हरू छन्; म तिनलाई पार्टीका कार्यकर्ता मान्दिनँ, फ्यानहरू हुन्। पार्टी ‘फ्यान क्लब’ जस्तो भएको छ। एउटा नायकत्व खोज्ने प्रवृत्ति आएको छ। तर, त्यो हिरोइजमको ठाउँ त बालेन्द्र शाह वा रास्वपाले लिइसक्यो नि !

अब कांग्रेसले अर्को नायकत्व देखाउने होइन। कांग्रेसले संस्थागत आधारमा जिम्मेवार भएर काम गर्नुपर्छ। उसले साँच्चै नै नेतृत्व प्रतिस्पर्धात्मक बनाउनुपर्छ। कसैले पनि पार्टी कब्जा गर्ने हिसाबले खेल्नुहुँदैन। ‘कांग्रेसको सदस्य यो हो, अधिवेशन यसरी हुन्छ र यी मानिस प्रतिनिधि भएर आउँछन्’ भनेर पारदर्शी नियमबाट अघि बढ्नुपर्छ। त्यसबाट जो आउँछ, उसले एउटा निश्चित अवधिसम्म नेतृत्व सम्हाल्छ। चार वर्षका लागि कांग्रेस नेतृत्व चुनिन्छ भने चारै वर्ष पर्खनुपर्छ भन्ने हुँदैन।

हामीले बेलायतको उदाहरण दिंदा ‘त्यो धेरै पुरानो प्रजातन्त्र भएको देश हो, हामी अहिल्यै फलो गर्न सक्दैनौं’ भन्नु गलत हो। २१औं शताब्दीमा सूचनाप्रविधिको प्रयोग नेपालका ग्रामीण भेगका निरक्षर नागरिकले पनि मज्जासँग गरिरहेका छन् भने राजनीतिक दललाई नयाँ अभ्यासमा लैजान किन नसक्ने ? हामीलाई बेलायत जस्तो हुन २०० वर्ष पर्खनुपर्ने आवश्यकता छैन।

त्यसैले सुरुआत हुनुपर्ने काम के हो भने, चुनाव लोकतन्त्रको आधारशिला हो। मतदाताले दिएको विश्वास र उनीहरूप्रति उत्तरदायी नेतृत्व हुनुपर्छ। मतदाताले नपत्याएको दिन नेताले पद छोड्ने हो। कहिलेकाहीं त एउटा महत्त्वपूर्ण उपनिर्वाचन हार्दा पनि बेलायतमा नेतृत्वले पद छोडेका उदाहरण छन्। हामीकहाँ त्यो पटक्कै छैन।

म बारम्बार उदाहरण दिने गर्छु- काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित हुँदा पाँचवटा पार्टीको गठबन्धनलाई एउटा स्वतन्त्र उम्मेदवारले हराएको होइन ? ती पाँचवटा पार्टीका नेताले अलिकति नैतिक जिम्मेवारी लिनुपर्ने थियो कि थिएन ? हार्दा पनि उनीहरूलाई नैतिक दबाब परेन। भनेपछि योभन्दा अनैतिक र अनुत्तरदायी नेतृत्व र परम्परा हाम्रा पार्टीहरूमा छ। त्यसलाई अब तोड्नुपर्छ।

अहिले अपवादस्वरूप तत्कालै गगन थापाले राजीनामा गर्नुपरेन, तर एउटा बाटो त बनाउनुपर्छ नि ! अब आउने चुनावमा (चाहे त्यो स्थानीय होस् वा प्रदेशको) कांग्रेसले अपेक्षित सुधार गर्न सकेन भने वर्तमान नेतृत्वले ‘हामी छोड्छौं’ भनेर वाचा गर्नुपर्छ।

दुवै पक्षका नेताहरूले पार्टी फुटाउँछौं भन्नुभएको छैन, तर पार्टीलाई स्मार्ट बनाउने नाममा छुट्न पुगेका असन्तुष्ट नेताहरूले अर्को पार्टी गठन गरे वा दुइटा कांग्रेस हुनगयो भने त्यसले कस्तो असर पार्ला ?

शायद कांग्रेस विभाजनको सम्भावना म अहिले देखिरहेको छैन। नेताहरूले भन्नु पनि भएको छैन। किनभने, कांग्रेसले विभाजनको पीडा भोगिसकेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला एकपटक कांग्रेस विभाजित भयो। तर, पछि चुनावको बेलामा उनीहरू मिलिहाले। चुनावकै बेलामा विभाजित भएर औपचारिक रूपमै दुईवटा कांग्रेस भएको इतिहास छैन।

तर, त्यसको आन्तरिक विभाजनका खाडल र चिराहरू कायमै छन्। कुन समूह कता हो, एकले अर्कोलाई सहयोग नगर्ने र अन्तर्घात गर्ने प्रवृत्ति छँदैछ। अन्तर्घात भनेको एउटाले अर्को ‘लबी’ लाई सहयोग नगरेको अवस्था न हो ! भनेपछि ‘प्रजातान्त्रिक कांग्रेस’ को अलि-अलि लक्षण अझै पनि छ। तर त्यो पीडा भोगिसकेको हुनाले शायद फेरि विभाजन नहोला। किनभने, अहिले गगनहरूसँग बार्गेनिङ गर्नु एउटा कुरा हो, तर विभाजित भएर जाँदा कसैलाई फाइदा छैन। न देउवा समूहलाई फाइदा छ, न शेखर समूहलाई, न त सिटौला समूहलाई नै फाइदा छ। त्यसकारण त्यहाँसम्म कुरा नपुग्ला।

अहिले कांग्रेस एकदमै ‘टफ बार्गेनिङ पोजिसन’ (कडा मोलमोलाइको अवस्था) मा छ जस्तो लाग्छ। अधिवेशन अगाडि व्यापक रूपमा बार्गेनिङ गरेर आफ्नो ‘पोजिसन’ लाई मजबुत बनाउने खेल कांग्रेसमा भइरहेको छ। यसले कांग्रेसलाई अलिकति अलमलमा पारेको छ।

दोस्रो कुरा, अहिले कांग्रेस देख्दाखेरि दिक्क लाग्छ। भ्रातृ संस्था र विभागहरू भनेर अनेक बनाइएका छन्, ती सबै वाहियात हुन्। शेरबहादुर देउवाको पालामा ७०/८० वटा विभाग पुगिसकेका थिए। त्यहाँ राख्दिन्छु, यहाँ राख्दिन्छु भनेर भाग पुर्‍याउने काम मात्रै हो त्यो। त्यसले पार्टी निर्माण र मतदातामा अनुकूल प्रभाव पारेको थिएन, बरु नकारात्मक प्रभाव थियो। त्यसैले मैले ‘स्मार्ट अर्गनाइजेसन’ भन्नुको अर्थ यस्ता नचाहिंदा भारी बोकेर बसिरहनुपर्दैन भन्ने हो। असन्तुष्टिलाई नसुन्ने भनेको होइन।

अहिले २१औं शताब्दीको दलीय राजनीति भनेको नेता र मतदाताको प्रत्यक्ष सम्बन्ध हो। हिजो जस्तो पार्टीको संरचना, शाखाहरू र कार्यकर्ताबाट हाम्रो नेताको भनाइ यस्तो छ, पार्टीको सिद्धान्त यस्तो छ भनेर पर्चा बाँड्दै हिंड्नुपर्ने अवस्था अहिले छैन।

अब कांग्रेसले अर्को नायकत्व देखाउने होइन। कांग्रेसले संस्थागत आधारमा जिम्मेवार भएर काम गर्नुपर्छ। उसले साँच्चै नै नेतृत्व प्रतिस्पर्धात्मक बनाउनुपर्छ।

मैले त पार्टी देखेको पर्चाबाट हो। पार्टी प्रतिबन्धित र भूमिगत भए पनि कीर्तिपुर विश्वविद्यालयका ठाउँठाउँमा छरिएका पर्चाहरू पाइन्थे। त्यसकै आधारमा मैले पार्टीको अस्तित्व देखेको थिएँ- ए पार्टी त यसरी हुँदोरहेछ, यो पार्टीको भनाइ यस्तो रहेछ भनेर। तर आज त त्यो होइन। आज त सोसल मिडिया र इन्टरनेटको माध्यमबाट नेताले आफ्नो कुरा सेकेन्डभरमै संसारभरि पुर्‍याउँछन्। यो प्रविधिसँगै आएको परिवर्तन हो। पार्टी सङ्गठनले मात्रै पार्टी अगाडि बढ्ने हो र ?

कतिपय अवस्था त कस्तो छ भने, कांग्रेसको कार्यकर्ता यो हो भन्ने नाम लिनेबित्तिकै भोट घट्ने स्थिति छ। त्यहाँ गगन पुग्नै पर्दैन। तल बस्ने कतिपय कार्यकर्ताको व्यक्तित्व यस्तो नकारात्मक बनेको छ कि त्यसले पार्टीलाई नै व्यापक घाटा पुर्‍याइरहेको छ।

जतिबेला जेनजी आन्दोलन भइरहेको थियो, म यही कीर्तिपुरको मान्छे हुँ, यहाँका सबैलाई चिन्दछु। त्यतिखेर सुदूरपश्चिमका युवा (जो यहाँ टोलै बनाएर बसेका छन्) एक सय जनाभन्दा बढी देउवाको घर घेर्न पुगेका थिए। तीमध्ये धेरै कांग्रेस समर्थक नै थिए। पछि बुझ्दाखेरि उनीहरू किन आक्रोशित भएका रहेछन् भने- काम पनि दिएनन्, काम दिन्छु भनेर यति पैसा लाग्छ भन्छन्; त्यति पैसा दिन सके किन चाहियो यस्तो पार्टी र नेताहरू ?” भन्ने उनीहरूको गुनासो थियो।

त्यसैले मैले भनेको के हो भने, पार्टीको सदस्य सङ्ख्या बढाएर मात्रै हुँदैन। त्यो सदस्यले दिने छवि पनि महत्त्वपूर्ण हुन्छ। हिजो बीपी वा गणेशमानको ‘इमेज’बाट कांग्रेसलाई भोट आउँथ्यो। तर आज गगनकै ‘इमेज’ बाट मात्र पनि भोट आउँदैन।

यदि २०७९ को चुनाव गगनले हाँक्न पाएको भए माहोल अर्कै हुन्थ्यो। त्यतिखेरको ट्रेन्ड हेर्दा नेपाली मतदाता कम्युनिस्ट पार्टीसँग विभाजित/असन्तुष्ट भइसकेका थिए। त्यसको फाइदा रास्वपाले पनि लियो। तर त्यो समयमा कांग्रेस भने कम्युनिस्टसँगै गठबन्धन गरेर बस्यो। त्यसकै परिणाम काठमाडौंमा पहिला एमालेले ‘स्विप’ गर्‍यो, पछि रास्वपा। जबकि २०७० सालको चुनावदेखि काठमाडौंभित्र कांग्रेसले राम्रो ठाउँ बनाउन थालेको थियो।

कांग्रेसले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको रूपमा खेलेको भूमिका चाहिं कस्तो देख्नुभएको छ ?

अहिले केही युवा सांसदहरूको प्रस्तुति सुन्दा उनीहरूको विषयगत ज्ञान र दखल राम्रो देखिन्छ। प्रस्तुति पनि आकर्षक छ। कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे, वासना थापा, निश्कल राई र अन्य सांसदहरूको बोली बेलाबेलामा भाइरल भएको पाइन्छ। ‘यस्तो पो नेता !’ भनेर सोसल मिडियामा चर्चा हुन्छ।

जति सांसद आए, थोरै भए पनि छानिएका मान्छे आएका छन्। अहिलेसम्म संसद्‌मा कांग्रेसका सांसदहरूको प्रस्तुतिमा खासै गुनासो गर्नुपर्ने ठाउँ देखिंदैन। यसले के देखाउँछ भने, सिट वा सदस्य घट्नु मात्रै ठूलो कुरा होइन, त्यो गुणस्तरीय नेतृत्व अहिले कांग्रेसले पाएको छ। भोलिको चुनावसम्म जानका लागि यसलाई राम्रोसँग उपयोग गर्ने हो भने यो एउटा ठूलो पूँजी बन्न सक्छ।

समानुपातिकतर्फको सूची बुझाउने बेलामा शेरबहादुर देउवा सभापति हुनुहुन्थ्यो, उहाँले बुझाउनुभयो। त्यसपछि प्रत्यक्षतर्फको उम्मेदवार छान्ने बेलामा गगन थापा सभापति बन्नुभयो। एक हिसाबले हेर्ने हो भने अहिलेको प्रतिनिधिसभामा कांग्रेसका सबै पक्षको प्रतिनिधित्व छ। के यो प्रतिनिधित्वले कांग्रेसलाई एकठाउँमा ल्याउन सकारात्मक भूमिका खेल्न सक्छ ?

तपाईं आफैं विचार गर्नुस् न ! अहिले गगनमाथि जुन किसिमको टीकाटिप्पणी गरिन्छ- ‘एकपक्षीय रूपमा पार्टी लैजान खोजेको र हामीलाई पाखा लगाउन खोजेको’ भनेर उहाँसँग असहमत समूहले भनेको सुनिन्छ नि ! त्यो भनाइ कति सही हो भनेर व्यवहारमा हेरौं।

समानुपातिकको सूची अघिल्लो नेतृत्वले निर्माण गर्‍यो। त्यही सूचीबाट संसद्‌मा पुगेकाहरूको कार्यसम्पादन राम्रो छ। गगनले पनि त त्यो स्वीकार गरेकै हुन् नि !

उता अर्जुननरसिंह केसी पनि नेतृत्वका लागि प्रत्यासी हुनुहुन्थ्यो। गगनसँगको सम्बन्धका कारणले त्यो निकै ठूलो पेचिलो विषय बनेको थियो। अर्जुननरसिंहले बारम्बार भन्नुभएको थियो गगन नजन्मिँदै मैले राजनीति शुरु गरेको थिएँ।

हो, उहाँको अनुभव छ, तर अनुभव भएर मात्र हुँदैन नि त ! मैले अघि नै भनें, नेतृत्व र अनुभव एउटै चिज होइन। नेतृत्व भनेको जनतालाई परिचालन गर्न सक्ने क्षमता हो। त्यसले आकर्षण दिन सक्नुपर्छ। त्यसो भए त ३६ वर्षका बालेन्द्र शाहले किन त्यो आकर्षण निर्माण गरे त ? उनीसँग न अनुभव थियो, न त लामो इतिहास नै। यसले के देखाउँछ भने, मतदाताले कस्तो खालको नेतृत्व खोज्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

म ठ्याक्कै कसैको ‘फ्यान’ त होइन। म त उल्टो ‘फ्यान क्लब’ मा जानुहुँदैन भन्ने पक्षको मान्छे हुँ। तर यथार्थ त यही हो नि- उनीहरूको व्यक्तित्वलाई नेपाली मतदाताले आम रूपमा स्वीकार गरेका हुन् नि ! त्यसैले अहिले मतदाताले आफ्नो अपेक्षालाई सम्बोधन गर्न सक्ने एउटा जादुमयी व्यक्तित्व भएको नेतृत्व खोज्छन्। ‘यो पुरानो हो’ भन्दैमा मान्छे त्यसैको पछाडि मात्रै लाग्दैनन्।

अहिले धेरै मान्छे र नयाँ पुस्ता ‘स्मार्ट’ भएको छ। मभन्दा मेरा केटाकेटीहरू र नातिनातिना स्मार्ट भइसके। ‘मैले भनेको मानेनन्’ भनेर गुनासो गर्ने कुरा आउँदैन। किनभने प्रविधिले नयाँ किसिमको सोच र परम्परा ल्याइरहेको छ।

उसको लागि बालेन्द्र शाह नै आइडियोलोजी, बालेन्द्र शाह नै विचार, बालेन्द्र शाह नै सङ्गठन र बालेन्द्र शाह नै परिचालन हो भन्ने गएको चुनावको माहोल हेर्दा देखिन्थ्यो। अहिले सरकारमा पुग्दा पनि त्यो पार्टी ‘वान-म्यान-शो’ कै रूपमा छ।

त्यसैले मलाई के लाग्छ भने, कांग्रेसले अहिलेको यथार्थलाई बुझ्न र महसुस गर्नुपर्छ। तर, पार्टी अझै त्यस अनुसार रूपान्तरण हुनसकेको छैन। रूपान्तरण हुन नसकेकै कारण आज कांग्रेस यो पीडामा छ। एकातिर रूपान्तरण हुन नदिने प्रवृत्ति छ भने अर्कोतिर रूपान्तरण गर्ने प्रयत्न छ। किनकि, रूपान्तरण हुँदा कैयौं व्यक्तिका स्वार्थहरू दाउमा पर्छन्। पार्टीको नाममा खेल्न र सुविधा लिन पल्केका मानिसहरूले त्यो सजिलै छोड्नेवाला छैनन्। कांग्रेसभित्रको डरलाग्दो आन्तरिक द्वन्द्वको एउटा मुख्य कारण यही हो।

नत्र भने २०४८ सालदेखि निरन्तर पार्टीमा हाबी भएर संसद्‌मा आइरहेका मानिसहरूको असफलता हो नि यो ! यो गगनको मात्र असफलता हो र ? पटक-पटक सत्तामा पुगेका, मन्त्री र सांसद भएका मानिसहरूकै कारणले कांग्रेसको यो हार भएको होइन र ? तर उनीहरू यो कुरा स्वीकार गर्दैनन्। यो कुरा एमाले र माओवादीलाई पनि लागू हुन्छ। हामीले अहिले कांग्रेसमा केन्द्रित रहेर कुरा गर्‍यौं, तर मेरो यो अवलोकन एउटा पार्टीमा मात्र सीमित छैन; नेपालका समग्र पार्टीहरूसँग जोडिएको छ।

यसरी आफूलाई रूपान्तरण गर्न सकेनन् भने पुराना पार्टीहरूका लागि अस्तित्व रक्षाकै चुनौती आउनसक्छ।

रूपान्तरणको बाधक चाहिं को हो ? हिजोको लिडरसिप कि स्वार्थ ?

स्वार्थ। कांग्रेसको नाममा थुप्रै फाइदा लिने मानिस छन्। नेतृत्वसँगको निकटताका कारणले सुविधा लिने धेरै छन्। उदाहरणका लागि, लामो समयसम्म कांग्रेसमा विराटनगरको ठूलो वर्चस्व थियो। अब त्यो वर्चस्व गुम्दा ‘हाम्रो पहुँच र पकड घट्ने भयो’ भन्ने पीडा उनीहरूलाई होला। त्यसपछि गएको १५-१६ वर्षमा शेरबहादुर देउवाले सुदूरपश्चिममा आफ्नो बलियो पकड निर्माण गर्नुभयो। उहाँसँगको निकटताका कारण सुविधा लिने मान्छे सुदूरपश्चिममा थुप्रै होलान्।

तर, त्यसलाई मान्ने र व्यवस्थापन गर्ने जिम्मेवारी त मूल नेतृत्वकै हो नि ! यस्ता स्वार्थहरू अघोषित हुन्छन्। कसैले पनि मेरो फाइदा हट्छ भनेर खुला रूपमा भन्दैन। बरु बाठा र पढेलेखेका मान्छेहरूले नेतृत्व निष्पक्ष भएन, एकपक्षीय रूपमा गयो, हामीलाई पाखा लगाउन खोज्यो भनेर सिद्धान्तको आवरण हाल्छन्। यहाँ प्रक्रिया मिलेन, यहाँ विधान मिलेन भनेर विरोध गर्छन्।

यस्ता नदेखिने स्वार्थहरू पार्टीभित्र हाबी छन्। अहिले कांग्रेस यस्तै स्वार्थको चरम द्वन्द्वमा छ। तपाईंले अघि भने जस्तै, यो गगनको नेतृत्वको एउटा परीक्षा पनि हो। उनी यो द्वन्द्वलाई निवारण गरेर कसरी अगाडि बढ्छन् ? द्वन्द्वमै फसेर अलमलिन्छन् कि बाटो छुट्याउँछन् ? किनभने, द्वन्द्व बढ्दै जाँदा एक ठाउँमा पुगिसकेपछि कि यो, कि त्यो भनेर बाटो छुट्याउनैपर्ने अवस्था आउँदैछ।

बुझ्न सजिलोका लागि मैले दुईवटा पक्ष भनें- हिजोको नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर। अहिलेको कांग्रेस नेतृत्व र यी दुवै पक्षलाई यहाँको के सुझाव छ ?

पहिलो- यो परिवर्तनलाई सबैले स्वीकार गर्नुपर्छ। चाहे नियमित महाधिवेशन पक्षधर हुन् वा विशेष महाधिवेशन पक्षधर; कांग्रेसभित्र सबैले यो बुझ्नुपर्छ कि मुलुक अहिले जुन अवस्थामा छ, त्यसलाई सम्बोधन गर्न कांग्रेसभित्रै आन्तरिक रूपान्तरणको खाँचो छ।

हिजोका खराबी, द्वन्द्व र स्वार्थी लबीहरू बोकेर अब कांग्रेस चल्दैन। नयाँ सुरुआत गर्नुपर्छ। यो ग्रुपलाई यहाँ राख्ने, त्यो ग्रुपलाई त्यहाँ राख्ने भन्ने हिजोका स्वार्थी लबीहरूलाई छोड्नैपर्छ। किनभने, चुनावले नै परिणाम दिइसकेको छ नि त ! गएको चुनावको हार गगनको मात्र हार हो र ? शेरबहादुर देउवा पो चुनाव लडेनन् त, शेखर कोइरालादेखि अरू थुप्रै पुराना नेताहरू पनि हारेका छन् नि !

मतदाताले कांग्रेसलाई किन पत्याएनन् ? त्यो कांग्रेस आफूलाई अद्यावधिक गर्न नसकेको सङ्केत हो। अहिले सदस्यता अद्यावधिक गर्ने भन्ने प्राविधिक शब्द मात्र हो। तर यथार्थमा, कांग्रेस अहिलेको समयका लागि लायक पार्टी बनेन भनेर मतदाताले अस्वीकार गरेको अवस्था हो।

त्यसैले पहिलो कुरा, कांग्रेसले सङ्गठनकै रूपबाट साँच्चै आफूलाई ‘अपडेट’ गर्नुपर्‍यो। आजको आवश्यकता र जनभावनालाई बुझ्ने हो भने पुराना स्वार्थ र द्वन्द्व छोड्नैपर्छ।

दोस्रो कुरा, सदस्य सङ्ख्या कति छन् भन्ने कुरा ठूलो होइन। आजको सूचनाप्रविधिको युगमा नेतृत्व त्यस्तो हुनुपर्‍यो, जसले सेकेन्डभरमै सबैसँग संवाद गर्न सकोस्। कांग्रेसको नेतृत्वले कांग्रेसका सदस्यहरूसँग मात्र संवाद गरेर पुग्दैन; समग्र समाजले कांग्रेसलाई हेरिरहेको हुन्छ। म कांग्रेस पार्टीमा छैन, मलाई चित्त बुझेन भने म कांग्रेसलाई भोट पनि दिन्नँ। तर, मेरा विचारले मसँग बहस गर्ने वा मेरो कुरा सुन्ने मानिसहरू प्रभावित हुन्छन् नि त ! यदि म कांग्रेस नेतृत्वप्रति विश्वस्त छैन भने त्यसको प्रभाव मतदातासम्म पुगिरहेको हुन्छ। त्यसैले नेतृत्वले आफ्ना कार्यकर्तासँग मात्र होइन, समग्र समाजसँग संवाद गर्न सक्नुपर्छ।

नेपाली कांग्रेसको दुर्भाग्य नै भनौं, संवादमै बस्न नसक्ने नेतृत्वले झन्डै १० वर्ष पार्टी चलायो। शेरबहादुर देउवासँग संवाद गर्ने क्षमता र हैसियत नै थिएन। तर अहिलेको नेतृत्वमा संवादको कमी छैन। संसद्‌मा भएका कांग्रेस सांसदहरू पनि संवाद गर्न सक्ने हैसियतमा छन्।

तेस्रो कुरा, पुराना कुरामा मात्र अलमलिएर हुँदैन। अहिले नेपाली कांग्रेस प्रमुख विपक्षी दल हो। संसद्‌मा सिट थोरै होला, तर ऊ वैकल्पिक सरकार हो। यही संसद्‌मा पनि ऊ सरकारमा जान सक्छ वा अर्को चुनावमा बहुमत ल्याउन सक्छ। संसदीय राजनीतिको खेलै त्यही हो।

त्यो सम्भावना कांग्रेसले जोगाएर राख्नुपर्छ र जनतालाई देखाउन सक्नुपर्छ। त्यसका लागि संसद्‌मा उसको भूमिका महत्त्वपूर्ण हुन्छ। भाषण गरेर मात्र हुँदैन; सरकारका नीतिगत कुरामा असहमति जनाउँदै ‘हामी भएको भए यस्तो बजेट वा कार्यक्रम ल्याउँथ्यौं’ भनेर देखाउन सक्नुपर्छ।

अब कांग्रेसलाई के अप्ठ्यारो छ भने, अहिले बोल्नेबित्तिकै हिजो तिम्रो बजेट र कार्यक्रम पनि त हेरेकै हो नि ! भनेर औंला ठड्याउने ठाउँ छ। तर, नेतृत्व परिवर्तनको महत्त्व यहींनेर हुन्छ। कम्तीमा गगनलाई कसैले त्यो औंला ठड्याउन पाउँदैन, किनभने उनले हिजो सरकार वा पार्टीको नेतृत्व गर्न पाएका थिएनन्। त्यसैले मलाई हिजो पनि चित्त बुझेको थिएन, म आज पनि प्रश्न गर्छु भनेर उनी अगाडि बढ्न सक्छन्।

अहिलेको सरकारका कामकारबाही र संसदीय अभ्यासभित्र कांग्रेस एउटा खरो वैकल्पिक शक्तिका रूपमा, नीति र विचार सहित प्रस्तुत हुनुपर्‍यो। मलाई लाग्छ, यी तीन-चार वटा कुरा कांग्रेसले गर्न सक्यो भने उसले जनताको भावनालाई छुन र आफ्नो भविष्य सुरक्षित गर्न सक्छ।

तस्वीर/भिडिओः कमल प्रसाईं/अनलाइनखबर

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?