३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टेक्सासको मैदानमा आज एउटा निकै प्रतीक्षित र रोमान्चक भिडन्त हुँदैछ, जहाँ युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी महाद्वीपको सरप्राइज टोली कङ्गो डीआ आमनेसामने हुँदैछन् ।
ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन लागेको पोर्चुगलले छनोट चरणमा अविश्वसनीय प्रदर्शन गरेको थियो; जहाँ उनीहरूले मात्र ६ खेलमा २० गोलको वर्षा गर्दै आफ्नो टिकट पक्का गरेका थिए ।
अर्कोतर्फ, ५२ वर्षको प्रतीक्षा समाप्त गर्दै सन् १९७४ पछि पहिलो पटक विश्वकपको मुख्य मञ्चमा फर्किएको कङ्गो डीआर उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
मेक्सिकोमा भएको विश्वकप प्ले-अफ प्रतियोगिताको फाइनलमा जमैकालाई १-० ले पराजित गर्दै ऐतिहासिक रूपमा विश्वकपको टिकट काटेको कङ्गो यो ठूलो मञ्चमा युरोपेली महारथीलाई स्तब्ध पार्दै नयाँ इतिहास रच्ने दाउमा छ।
हेड टु हेड र पछिल्लो लय
फिफा विश्वकपको इतिहासमा यी दुई राष्ट्र पहिलो पटक आमनेसामने हुन लागेका हुन् । समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहास हेर्ने हो भने पनि पोर्चुगल र कङ्गो डीआरबीच यसअघि कुनै पनि आधिकारिक सिनियर खेल भएको छैन ।
त्यसैले टेक्सासको यो भिडन्त आफैंमा एउटा ऐतिहासिक सुरुवात हुनेछ । छनोट चरणको सानदार आक्रामक रेकर्ड र फिफा वरीयताका आधारमा पोर्चुगल खेलमा निकै बलियो दाबेदार देखिए पनि, प्ले-अफ पार गरेर आएको कङ्गो डीआरको रक्षात्मक अनुशासन र जुझारू अफ्रिकी शैली पोर्चुगिज टोलीका लागि कडा चुनौती बन्न सक्छ ।
पोर्चुगल पछिल्ला ५ खेलमा अपराजित छ जहाँ ४ जित र १ ड्रको नतिजा निकालेको छ । कङ्गोले भने २ जित, २ हार र १ बराबरी खेलेको छ ।
प्लेयर्स टु वाच
पोर्चुगल
क्रिस्टियानो रोनाल्डो (स्ट्राइकर) : पोर्चुगलका कप्तान तथा विश्व फुटबलकै महान् लेजेन्ड क्रिस्टियानो रोनाल्डो टोलीको आक्रमणका मुख्य खम्बा हुन् । छनोट चरणका ६ खेलमा महत्वपूर्ण गोल गर्दै टोलीको नेतृत्व गरेका ४१ वर्षीय रोनाल्डोको यो कीर्तिमानी छैटौं विश्वकप हो । उनको खेल बुझ्ने क्षमता, बक्सभित्रको आक्रामक उपस्थिति र अचुक फिनिसिङ कला कङ्गो डीआरको डिफेन्सका लागि खेलभरि नै सबैभन्दा ठूलो खतरा बन्ने निश्चित छ ।
ब्रुनो फर्नान्डेज (मिडफिल्डर) : इङ्ग्लिस प्रिमियर लिगको प्रतिष्ठित क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज पोर्चुगिज टोलीको मिडफिल्डका मुख्य इन्जिन हुन् । छनोट चरणमा पोर्चुगलले गरेको २० गोलमध्ये अधिकांशमा उनको सिर्जनशील भूमिका वा असिस्ट रहेको थियो । मैदानको मध्यभागबाट खेलको गति नियन्त्रण गर्ने र क्रिस्टियानो रोनाल्डो जस्ता फरवार्डका लागि सटिक ‘थ्रु-पास’हरू निकाल्ने मुख्य रणनीतिक जिम्मेवारी यिनकै काँधमा हुनेछ ।
रुबेन डियाज (डिफेन्डर) : इङ्ग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका मुख्य सेन्टर-ब्याक रुबेन डियाज पोर्चुगलको रक्षापङ्क्तिका कडा चट्टान हुन् । आफ्नो कडा ट्याकल, उत्कृष्ट शारीरिक शक्ति र मैदानमा कप्तानी नेतृत्व दिन सक्ने क्षमताका कारण चिनिने डियाजले कङ्गो डीआरका तीब्रे गतिका फरवार्डहरूलाई पेनाल्टी बक्स नजिक पस्न नदिने मुख्य जिम्मेवारी पाएका छन् ।
कङ्गो डीआर
योआन विसा (फरवार्ड) : इङ्ग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्ड एफसीबाट व्यावसायिक फुटबल खेल्ने तीब्र गतिका फरवार्ड योआन विसा कङ्गो डीआरको आक्रामक पङ्क्तिका मुख्य हतियार हुन् । मेक्सिकोमा भएको प्ले-अफ खेलहरूमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका विसा प्रिमियर लिग स्तरको गति र चलाखीपूर्ण दौडाइका लागि चिनिन्छन् । काउन्टर अट्याकमा पोर्चुगलको डिफेन्सलाई समस्यामा पार्न उनको भूमिका निर्णायक हुनेछ ।
चान्सल म्बेम्बा (डिफेन्डर) : फ्रान्सेली क्लब मार्सेका अनुभवी सेन्टर-ब्याक चान्सल म्बेम्बा कङ्गो डीआरका कप्तान तथा रक्षापङ्क्तिका मुख्य मेरुदण्ड हुन् । पोर्चुगिज लिग (पोर्टो) मा लामो समय खेलेका कारण उनलाई पोर्चुगलका धेरै खेलाडीहरूको खेल शैली र रणनीतिक कमजोरीबारे राम्रो ज्ञान छ । क्रिस्टियानो रोनाल्डोलाई बक्सभित्र मार्क गर्ने र कङ्गोको डिफेन्सलाई एकताबद्ध राख्ने मुख्य जिम्मेवारी कप्तान म्बेम्बाकै हुनेछ ।
स्यामुएल मुतुसामी (मिडफिल्डर) : फ्रान्सेली लिग वान क्लब नान्टेसबाट व्यावसायिक फुटबल खेल्ने भरपर्दा डिफेन्सिभ मिडफिल्डर स्यामुएल मुतुसामी कङ्गोको मध्यभागका मुख्य इन्जिन हुन् । विपक्षीको आक्रमणलाई मिडफिल्डमै ध्वस्त पार्ने र कडा ट्याकलका साथ बल खोसेर विसा जस्ता फरवार्डलाई पास दिने उनको जुझारू शैली पोर्चुगलको बलियो मिडफिल्ड रोक्न मुख्य हतियार बन्नेछ ।
प्रतिक्रिया 4