News Summary
Generated by OK AI. Editorially reviewed.- विज्ञापन बोर्डले सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका आधारहीन तथा भ्रामक विज्ञापनहरू तत्काल हटाउन निर्देशन दिएको छ ।
- सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालका भ्रामक विज्ञापनमाथि कारबाही अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
- आधिकारिक प्रमाणीकरणविना औषधिजन्य सामग्रीको भ्रामक प्रचार गर्नेलाई विज्ञापन ऐन विपरीत कार्य गरेको पाइएमा कारबाही गरिने बोर्डले जनाएको छ ।
४ असार, काठमाडौं । सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता विज्ञापन गरिएको भेटिए कारबाही गरिने समेत बोर्डले जनाएको छ ।
सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटो विज्ञापन उपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए ।
सञ्चार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको हो ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार–प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी परेका छन् ।
यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दाबीका आधारमा आर्थिक ठगीसमेत हुने जोखिम बढाएको बोर्डको भनाइ छ ।
बोर्डले विशेषगरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, किड्नी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायत दाबी गरिएका औषधिजन्य पदार्थ तथा अन्य समान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको जनाएको छ ।
यस्ता सामग्रीको प्रभावकारिताबारे वैज्ञानिक आधार, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणविना आकर्षक प्रचार सामग्री तयार गरी सर्वसाधारणलाई भ्रमित बनाउने कार्य बढ्दो क्रममा रहेको बोर्डले उल्लेख गरेको छ ।
सूचनामा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुन विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्ल्याटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ ।
कानुन विपरीत विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा आर्थिक हितमा प्रतिकूल असर पुर्याउने भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन समेत बोर्डले आग्रह गरेको छ ।
त्यसैगरी बोर्डले चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गरिने औषधिको समेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो आएको जनाएको छ ।
आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधि वा सामग्रीको प्रचारप्रसारले भ्रम र अफवाह फैलाउने तथा सर्वसाधारणलाई गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम रहेको बोर्डको निष्कर्ष छ ।
यस्ता भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण भएको पाइएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न पनि बोर्डले अनुरोध गरेको छ । प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
प्रतिक्रिया 4