News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकपको समूह चरण अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका १–१ को बराबरीमा रोकिएका छन् ।
- खेलको छैटौं मिनेटमा चेक रिपब्लिकले अग्रता लिए पनि ८३औं मिनेटमा दक्षिण अफ्रिकाका तेबोहो मोकोनाले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
- लगातार दोस्रो खेलमा जित निकाल्न नसकेका दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ ।
एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै अग्रता दिलाएका थिए ।
लामो समय अग्रता कायम गरेको चेक रिपब्लिकले अन्तिममा पेनाल्टीमार्फत गोल खान पुग्यो ।

खेलको ८३औं मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । जसलाई तेबोहो मोकोनाले सदुपयोग गर्दै बराबरी गोल फर्काएका हुन् ।
बल पोजिसन र सर्ट प्रहारमा दक्षिण अफ्रिका दबदबा रह्यो । खेलभर दक्षिण अफ्रिकाको बल पोजिसन ६१ प्रतिशत हुँदा चेक रिपब्लिकको ३९ प्रतिशतमा सिमित रह्यो ।

दक्षिण अफ्रिकाले १७ सर्ट प्रहार गर्दा ५ सर्ट मात्र ‘अन टार्गेट’ हुन पुग्यो । १२ सर्ट प्रहार गरेको चेक रिपब्लिकले ३ सर्टमात्र ‘अन टार्गेट’ हान्यो ।
सोही समूहको अर्काे खेल मेक्सिको र दक्षिण कोरियाबिच शुक्रबार बिहान ७ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा पराजित भएका दुवै टोली दोस्रो खेलमा बराबरीमा रोकिँदा नकआउट चरणमा पुग्ने सम्भावनामा धक्का लागेको छ ।
समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया एक खेलबाट समान ३ अंक जोडेका छन् । दक्षिण अफ्रिका र चेक रिपब्लिक दुई खेलबाट समान एक अंक जोडेका छन् ।
चेक रिपब्लिकसँग बराबरीपछि खेलेपछि दक्षिण अफ्रिका प्रशिक्षक ह्युगो ब्रुसले टोलीको प्रदर्शनमा गर्व लागेको बताए । ‘हामी राम्रो फुटबल मन पराउँछौं । हामी आक्रामक छौं । हामी अवसरहरू सिर्जना गर्छौ । हो, हामीले गल्ती ग¥यौं । तर म आजको प्रदर्शनमा धेरै गर्व गर्छु । चेक रिपब्लिक शक्तिशाली छ । हामीले धेरै राम्रो ग¥यौं,’ खेलपछि ब्रुसले भने ।

प्रतिक्रिया 4